बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेश सरकारको नीति कार्यक्रमबारे टिप्पणीः ‘नीति तथा कार्यक्रम एक्सन ओरिन्टेड भएन’

सोमबार, २६ चैत २०७४, १५ : ३२
सोमबार, २६ चैत २०७४

बुटवल– प्रदेश नम्बर ५ सरकारले आइतबार ल्याएको नीति कार्यक्रममाथि टीप्पणी शुरु भएको छ । सरकारले हतारमा ल्याएको नीति कार्यक्रम अपुरो भएको सरोकारवालाले टीप्पणी गरेका हुन् । रिपोर्टस् क्लब प्रदेश नम्बर ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने सरोकारवालाले पार्टीको घोषणापत्र जस्तो नीति कार्यक्रमले जनतामा आशा जगाउन नसकेको बताए ।

नेपाली कांग्रेस प्रदेश नम्बर ५ का प्रमुख सचेतक सुरेन्द्र बहादुर हमालले  नीति तथा कार्यक्रम परम्परागत शैलीको रहेको दाबी गरे । ‘ नीति तथा कार्यक्रम पार्टी घोषणपत्र जस्तो छ, प्रतिपक्षको किन सुझाव मागिएन ? उनले गुनासो गरे । ‘अहिले ६ वटा प्रदेश एउटै पार्टीका नेता छन् चाहना भए काम गर्न कुनै अप्ठ्यारो छैन ’उनको भनाई थियो ।

खेलकुद क्षेत्रमा पनि नीति तथा कार्यक्रम नबोलेको भन्दै उनले त्यसलाई नसमेटको भन्दै आपत्ति जनाए ।  विश्लेषक डा.आरसी आर्चायले नीति कार्यक्रमबाट आशावादी नभएको बताए  । उनले भने— ‘पूरानो रक्सीमा नयाँ बोतल जस्तै छ ।’

प्रा.डा.बुद्धबहादुर थापाले किटानै गरेर सरकारले कुनै बुँदामा पनि खास योजना बनाएको नदेखेको बताए । उनले भने— ‘पूरानै केन्द्र र स्थानीय तहले ल्याएका नीतिको मिसावट जस्तै छ ।’ 

भौतिक समस्या, आर्थिक समस्या  थुपै छन् तर अरु प्रदेशको तुलनामा यहाँका नागरिक सम्बृद्ध बनाउनुपर्नेमा उनको जोड थियो । त्यस्तै पूर्व सभासद तथा माओवादी केन्द्रका नेता विनोद पहाडीले सरकारको सुस्तताले आशा नपलाएको बताए  ।  समृद्ध प्रदेश बनाउन सबै जुट्नुपर्ने उनको भनाई थियो । 

नीति तथा कार्यक्रम र बजेटलाई हेर्दा धेरै आशा गर्ने ठाउँ नभएको र जनता बलियो बन्नेगरि नीति नआएको उनको भनाइ थियो । 

२ महिनाको लागि ल्याएका नीतिहरु अपुरो 
सामजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ लाई एक बर्षभित्रमा साक्षर प्रदेश बनाएरै छाड्ने दाबी गरे ।  २ महिनाको लागि ल्याएका नीतिहरु अपूरो रहेको स्वीकार्दै उनले प्रदेशलाई छुवाछुत मुक्त  क्षेत्र घोषण गर्ने बताए ।  स्रोत साधनको सिमित, कर्मचारी नआएको अवस्थाले पनि काम गर्न असहज भएको उनको ठहर छ ।

बजेटका लागि नीति कार्यक्रम फस्ट स्टेप हुन्ः उपाध्यक्ष श्रेष्ठ

प्रदेश योजना आयोगका उपाध्यक्ष डा.प्रकाश श्रेष्ठले सरकार हतारोमा भएकाले नीति कार्यक्रम सक्दो राम्रो आएको दाबी गरे ।  उनले ‘अब यसले बजेट बनाउन फष्ट स्टेपको काम गर्छ, सम्भावित आधार तयार गरेको छ, सरकारको नयाँ संरचना भएकाले तत्काललाई प्रदेशले सबै आफ्नो श्रोत जुटाउन सक्दैन,’ उनले भने । 

उनले राजश्वको दायरा वढाउने, आन्तरिक तथा  बैदेशिक सहायता बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो जस्तो विकासशील देशमा धेरै ऋण हुन राम्रो होइन्, हाम्रो २४ प्रतिशत क्रण छ ।’
‘सम्भावनाको क्षेत्रलाई पहिचान गरेर लगानी बढाउनुपर्छ गतबर्ष १३ अर्ब थियो अहिले  १४ अर्ब छ, यो  निकै उत्साहजनक हो,’ श्रेष्ठले भने ।

फोरमका प्रदेश सांसदद्वय सहश्राम यादव र  विजयबहादुर यादवले सरकारको नीति तथा कार्यक्रम पनि पार्टीको घोषणापत्र जस्तै भएको टीप्पणी गरे । नेपाली जनताले गरेको नयाँ नेपाल जस्तो नभएको र  केन्द्र तथा स्थानीय तह  प्रदेशको समन्वय अभाव रहेको उनको भनाई थियो ।

 एमाले नेता तथा प्रदेश सांसद  बिष्णु पन्थीले प्रदेश सरकारको प्रयासलाइ नराम्रो भन्न नमिल्ने बताए । पन्थीले भने—‘पहिलो अभ्यास भएकाले केही कमी कमजोरी भएको होला तर सुधारेर ब्यापक छलफल गरेर अघि बढ्नुपर्छ ।’  उनले कृषिमा आर्कषण बढाउनुपर्ने भन्दै कित्ताकाट गरेर व्यावसायिक बन्न नसकिने धारणा राखे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप