शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मनोज गजुरेल चलचित्र ‘सय कडा दश’ काे हिरो

सोमबार, ०३ वैशाख २०७५, १५ : २७
सोमबार, ०३ वैशाख २०७५


काठमाडौं – हास्यकलाकार मनोज गजुरेलको परिचय थपिएको छ । उनको मुख्य भूमिका रहने चलचित्र ‘सयकडा दश’को छायांकन आज सोमबारदेखि राजधानीमा सुरु भएको छ । 

बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरबाट चलचित्रको छायाँकन सुरु भएको हो । सोही अवसरमा अभिनेता राजाराम पौडेलले माला लगाएर गजुरेललाई चलचित्र अभिनयमा स्वागत गरे । 

‘डेब्युका लागि उपयुक्त चलचित्रको पर्खाइमा थिएँ’ गजुरेलले भने, ‘म कमेडी विधाकै भएपनि मेरो विचारमा चलचित्रको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि ।’

अभिनेता पौडेलले गजुरेललाई घरेलु चलचित्रले ‘महान’ अभिनेताको रुपमा पाउने बताउँदै उनको ट्यालेन्टको प्रशंसा गरे । चलचित्र भित्र यी दुईजना सम्धीको भूमिकामा प्रस्तुत हुँदैछन् । 

ठेगाना र प्रेमगीत २ फेम्ड निर्देशक रामशरण पाठकले चलचित्र यसपटक निर्देशन गर्दैछन् । ‘यसपटक समाजसँग सीधै कथावस्तु जोडिएको छ । ‘सदाचारको वकालत चलचित्रले गर्नेछ’ उनले भने, ‘हामीले यसभित्र प्रेम र भ्रष्टाचारको प्रभाव र अन्तर्सम्बद्ध देखाउन लागेका छौं ।’

भ्रष्टाचारविरुद्ध प्रेम चलचित्रको बटमलाइन राखिएको छ । सायद २ अभिनेता अमृत ढुंगाना, डेब्यु गर्ल करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्दैछन् । रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायत छन् । 

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत छ । युट्युव स्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन् । 

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । काठमाडौं र पोखरामा सुट गरिने फिल्मको सेड्युल झन्डै एक महिनाको हुने जानकारी निर्देशक पाठकले दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप