शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको नेपाल भ्रमणमा यी सात विषय उठाउनैपर्छ : पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अन्तरवार्ता

बुधबार, २६ वैशाख २०७५, १४ : ००
बुधबार, २६ वैशाख २०७५

 नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वाभिमानसँग जोडिनुपर्छ भनेर कठोर अडान लिने नेतामध्ये एक हुन् माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश । आफ्नो पार्टी र पार्टीका नेताहरूको भारतसँगको असन्तुलित सम्बन्धलाई लिएर श्रेष्ठले पार्टी बैठकमा पनि बहस चलाउने गर्छन् । परराष्ट्रमन्त्री हुँदा श्रेष्ठले विराटनगरमा राखिएको भारतीय फिल्ड अफिस हटाउनसमेत निर्देशन दिएका थिए । एमाले–माओवादी वामगठबन्धनले नेपालको संविधानले निर्देशन गरेअनुरूप राष्ट्रिय स्वाधीनता एवम् हितलाई केन्द्रविन्दुमा राखेर स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने घोषणापत्र बनाएका थियो । संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, पारस्परिक सम्मान, समानता एवम् लाभ र राष्ट्रिय हितका आधारमा छिमेकीलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध विकास गरिने वाम घोषणापत्रमा छ । तर, प्रधानमन्त्री केपी ओलीको गत महिना भएको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको वैशाख २८ गतेबाट सुरु हुने नेपाल भ्रमणबारे अनेकौँ प्रश्न उठाउन थालिएको छ । ओलीको भारत, मोदीको आसन्न नेपाल भ्रमण र वाम गठबन्धन सरकारको परराष्ट्रनीतिमाथि केन्द्रित रहेको रातोपाटीका लागि बबिता शर्माले माओवादी नेता श्रेष्ठसँग कुराकानी गरेकी छिन् ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण भएको करिब एक महिनामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुँदैछ । पूर्वपरराष्ट्रमन्त्री पनि हुनुहुन्छ, तपाईं, यी दुई भ्रमणलाई कति स्वभाविक मान्नुहुन्छ ?
दुई छिमेकी मित्रराष्ट्रका बीचमा उच्च स्तरीय भ्रमण हुुनुलाई स्वभाविकै मान्नुपर्छ । हाम्रो देशमा निर्वाचनपश्चात बहुमत प्राप्त सरकार बनिसके पछि प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले भारत भ्रमण गर्नुभयो । त्यसैको प्रत्युत्तरका रूपमा भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हँुदैछ । दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्न यस प्रकारको उच्च स्तरीय राजनीतिक भ्रमणहरूले सकारात्मक योगदान नै गर्नसक्छ । त्यसैले हामीले भ्रमणलाई सकारात्मक रूपामा लिनुपर्छ । स्वागत गर्नुपर्छ । सफलपार्ने प्रयत्न गर्नुपर्छ ।  
 
–प्रधानमन्त्री ओली बोआओ सम्मेलनमा जाने बेला दिल्ली जानुभयो । दिल्लीबाट फर्केपछि चीन जानुहुन्छ होला भन्ने अपेक्षा थियो, ठीक यही बेला भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यतालिका आयो । यसले हाम्रो सन्तुलित कूटनीतिमा प्रभाव पार्छ होला नि ?
 
भू–राजनीतिक परिवेशले हाम्रो सम्बन्धलाई दिशानिर्देशित गर्छ । हामी त्यसमा सचेत र कुशल बन्न सक्नुपर्छ । हाम्रा दुई छिमेकी चीन र भारत दुवैसँग समनिकटताको आधारमा असल मैत्रीपूर्ण सम्बन्ध राख्न सक्नुपर्छ । त्यसैले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण र भारतका  प्रधानमन्त्रीको नेपाल भ्रमणले चीनसँगको सम्बन्धमा कुनै असर पार्दैैन । हामी चीनसँग पनि असल एवम् उच्च स्तरीय मैत्री सम्बन्ध कायम राख्छौँ । अब प्रधानमन्त्री निश्चय नै चीन भ्रमण जानुहोला । चीनको तर्फबाट पनि उच्च स्तरीय नेपाल भ्रमण हुनेछ । यस्तो भ्रमण हुनेमा म विश्वस्त छु । 

राष्ट्रियताका बारेमा हामी विचलित हुनै सक्दैनौँ । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वधीनता, स्वाभिमान र हितको रक्षामा हामी हिजो पनि दृढ र प्रतिबद्ध थियौँ । आज पनि त्यतिकै दृढ  र प्रतिबद्ध छौँ । हामी चीन वा भारतसँग झुक्ने, ढल्कने प्रश्न नै उठ्दैन । दुवैसँग समनिकटताका आधारमा मैत्री सम्बन्ध कायम राख्छौँ ।

–तपाईंहरूको संयुक्त सरकार छ । प्रधानमन्त्रीको भारत भ्रमण र मोदीको नेपाल भ्रमणलगायतका परराष्ट्रसम्बन्धी मामलामा प्रधानमन्त्रीले तपाईंहरूसँग के परामर्श गर्नुभयो ?

प्रधानमन्त्रीले यसबारेमा छलफल गर्नुभयो । खाली गठबन्धनको बीचमा मात्रै होइन, राजनीतिक पार्टीहरू, परराष्ट्र मामलाका जानकारहरू, नागरिक समाज  र बुद्धिजीवीहरू सबैसँग छलफल गर्नुपर्ने आवश्यकता छ । प्रधानमन्त्रीले म लगायतका राजनीतिक नेताहरूलाई बोलाएर परामर्श गर्नुभएको छ ।

दुई देशबीचको सम्बन्धलाई सामान्य ढङ्गले निरन्तरता दिने मात्र हो र यस्ता भ्रमणलाई औपचारिकताका रूपमा मात्र लिने हो भने त त्यसको महत्व कम भइहाल्छ । होइन, नेपाल भारत सम्बन्धका बीचमा जे–जस्ता समस्या छन् त्यसलाई समाधान गर्ने र सम्बन्धलाई पारस्पारिक सम्मान र समानताका आधारमा नयाँ उचाइमा अगाडि बढाउने हो भने हामीले पनि गम्भीर गृहकार्य गर्नुपर्छ । हामीले त्यस प्रकारको पहलकदमी अगाडि बढाउनुपर्छ । 

–तपाईंको पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे केही टिप्पणी गर्नुभएन नि ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई हामीले सकारात्मक रूपमा नै लिएका छौँ । यसमा पहिलो कुरा त नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा जाँदा सधैँ नेपाली जनतालाई एक खालको चिन्ता हुने गर्छ । कतै गल्ती कमजोरी हुने हो कि ? राष्ट्रघात र राष्ट्रिय हित विपरीत केही कुरा भैहाल्ने हो कि भन्ने । यस पटक त्यो भएन । यसअर्थमा पनि सकारात्मक लिनुपर्छ ।

अर्को कुरा संयुक्त विज्ञप्तीमा जे जति विषय आएका छन्, त्यसलाई पनि सकारात्मक रूपमै लिनुपर्ने हुन्छ । प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतको बीचमा सकारात्मक सम्बन्ध अघि बढाउन योगदान  गरेको देखिनेछ भन्ने हामीले आशा गरेका छौँ । तर सम्बन्ध असाध्यै राम्रो बनिसक्यो, समस्याहरू सबै समाधान भइसके, सम्बन्ध नयाँ उचाइमा पुग्यो भनेर जसरी प्रचार गरिँदैछ । अहिले नै त्यो खालको निष्कर्षमा पुग्नेबेला भएको छैन । हामीले आगामी दिनका व्यवहारबाट हेर्नुपर्ने हुन्छ । त्यसैले त्यस्ता अतिरञ्जित निष्कर्षमा पुग्नु वा प्रचार गर्नु गलत हुन्छ ।

–कतिपयले सरकार दक्षिणतिर ढल्केको भनेर आलोचना पनि गर्न पनि थालेका छन् । तपाईं के ठान्नुहुन्छ ?
हामी कतै ढल्कनै सक्दैनाँै । किनभने यो निर्वाचनमा नेपाली जनताले हाम्रो गठबन्धनलाई बहुमत दिनुको तीन कारण छन् । पहिलो मुख्य कारण, हाम्रो राष्ट्रियताप्रतिको दृढ अडानमा विश्वास गरेर हो । दोस्रो, राजनीतिक स्थिरताका लागि । तेस्रो समृद्धिका लागि हो । त्यसकारण राष्ट्रियताको बारेमा हामी चुक्नै सक्दैनाँै ।

राष्ट्रियताका बारेमा हामी विचलित हुनै सक्दैनौँ । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वधीनता, स्वाभिमान र हितको रक्षामा हामी हिजो पनि दृढ र प्रतिबद्ध थियौँ । आज पनि त्यतिकै दृढ  र प्रतिबद्ध छौँ । हामी चीन वा भारतसँग झुक्ने, ढल्कने प्रश्न नै उठ्दैन । दुवैसँग समनिकटताका आधारमा मैत्री सम्बन्ध कायम राख्छौँ ।

बरु भारतले बेलाबेलामा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको छ । बेला बेलामा नेपाल र नेपाली जनता  भारतीय उत्पीडनको शिकार भएका छन् । त्यो कारणले गर्दा त्यसप्रति हामी सजग र सचेत छौँ । ती समस्या समाधान गर्न हामीले दृढतापूर्वक कुरा उठाउनुपर्छ, छलफल गर्नुपर्छ र समाधानको बाटो पहिल्याउनुपर्छ भन्ने पक्षमा हामी छौँ । झुक्ने प्रश्ननै उठ्दैन । अहिल्यै प्रधानमन्त्री केपी ओली झुकिसक्नुभयो भन्नु गलत प्रचार हुन जान्छ ।

–राष्ट्रवादको मुद्दा अगाडि सारेर तपाईंहरूले चुनाव पनि जित्नुभयो । सरकार पनि बनाउनुभयो । छिमेकी भारतसँगका पछिल्ला भ्रमण आदानप्रदानले ‘राष्ट्रवाद’ माथि प्रश्न उठाउनेहरू पनि उत्तिकै छन् ?
हाम्रो राष्ट्रियतासम्बन्धी अडान वा देशभक्तिपूर्ण अडान भारतको विरोधमा आधारित होइन । भारतको विरोधवाद हाम्रो राष्ट्रियताको आधार होइन । हामी नेपालको राष्ट्रिय सौर्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र हितलाई केन्द्रविन्दुमा राख्न चाहान्छाँै । त्यसो गर्दा हामी भारत र चीन दुवै छिमेकीहरूसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहान्छौँ । छिमेकी मित्रहरू वा अरू कुनै अन्तर्राष्ट्रिय मित्रहरूले हाम्रो आन्तरिक मामलामा हस्तक्षेप वा कुनै दबाब दिनु हुँदैन भन्ने हाम्रो अडान हो । यो अडानमा कायम छौँ र रहनेछौँ ।

यो अडानमा कायम छौँ भन्नुको अर्थ हामी कूटनीतिक ढङ्गले समस्या समाधानको पहल छाडेर, अहिले सडकमा भारतको विरोधमा नारा लगाउने गरी आफूलाई प्रस्तुत गर्छौं भन्ने होइन । हामी राष्ट्रियतासम्बन्धी अडान छोड्दैनौँ । अब पनि भारतले हस्तक्षेप गर्ने वा  शोषण र उत्पीडनलाई निरन्तरता दिने काम ग¥यो भने हामी त्यसको विरुद्धमा जसरी उभिनुपर्छ उभिन्छौ ।

भारतको प्रधानमन्त्री नेपाल आउँदा के सन्देश दिन चाहनुहुन्छ भन्ने हो । नाकाबन्दीको तीतो अनुभूतिको स्मरण नेपाली जनतासँग अहिले पनि ताजै छ । त्यो भारतको गल्ती थियो भन्ने कुरा महसुस गरेर त्यसलाई सच्याउने दिशातर्फ भारतको संस्थापन पक्ष वास्तवमै गएको हो ? हो भने मोदीले नेपाली जनतासामु त्यो गल्तीप्रति आत्माआलोचित हुन तयार हुनु होला ?

–काँग्रेसले त सरकार ‘लम्पसारवाद’ उन्मुख भएको भनेर टिप्पणी गरेको छ नि ?
काँग्रेसले त्यस प्रकारको प्रतिक्रिया दिइरहँदा उहाँहरू भित्र कोठामा बसेर आफै हास्नु हुन्छ जस्तो लाग्छ, कति निकृष्ट, झूठ बोलियो भनेर । उहाँहरूले त्यो भन्नका लागि भनेको कुरा मात्र हो । घटनाक्रमबाट त्यो पुष्टि भएको छैन र हुँदैन पनि । यसबारे सजग, सचेत हुने कुरा सही छ । तर राष्ट्रियताको मामलामा देशका सबै राजनीतिक पार्टीहरू र जनसमुदाय एकजुट हुनुपर्ने बेलामा यस्तो निरर्थक आरोप लगाउनु नितान्त गलत हो ।

– मोदी सीधै काठमाडौं नआएर जनकपुरको बाटो प्रयोग गर्दैछन् । यसमा तपाईंको धारणा ?
यो बारेमा पहिले पनि नेपालमा छलफल भएको थियो । त्यो बेलामा जनकपुर भ्रमण हुन सकेन । अब अहिले पहिला हुन नसकेको जनकपुर भ्रमणलाई गर्नुपर्छ भनेर जोड दिनुभएको होला । उहाँले साच्चै धार्मिक कारणले गर्दा नै जनकपुरमा पहिला पाइला टेकूँ भन्नु भएको पनि होला । सरकारले त्यसलाई सकारात्मक रूपमा लिएर स्वागत गर्ने र त्यहाँ कार्यक्रम राख्ने निर्णय गरिसकेको हुँदा म त्यसमा अरू टीकाटिप्पणी गर्न चाहान्न ।

मुख्य कुरा चाहिँ भारतको प्रधानमन्त्री नेपाल आउँदा के सन्देश दिन चाहनुहुन्छ भन्ने हो । नाकाबन्दीको तीतो अनुभूतिको स्मरण नेपाली जनतासँग अहिले पनि ताजै छ । त्यो भारतको गल्ती थियो भन्ने कुरा महसुस गरेर त्यसलाई सच्याउने दिशातर्फ भारतको संस्थापन पक्ष वास्तवमै गएको हो ? हो भने मोदीले नेपाली जनतासामु त्यो गल्तीप्रति आत्माआलोचित हुन तयार हुनु होला ? साँच्चै नेपाली जनताको मन जित्नेगरी क्षमायाचना गर्न तयार हुनु होला ?

दोस्रो कुरा, नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने कार्य अब कहिल्यै हुनेछैन भनेर विश्वस्त पार्न सक्नु होला ? तेस्रो कुरा, नेपाल र भारतबीचमा भएका समस्याहरूलाई ठोस रूपामा समाधान गर्न सकारात्मक पहल गर्नु होला ? मुख्य कुरा त्यो हो । अरू प्राविधिक र गौण कुरा हो । नरेन्द्रमोदीले नेपाल भ्रमणको सन्दर्भमा के गर्नु हुन्छ ? के सन्देश दिनुहुन्छ ? त्यसमा नै मोदीको नेपाल भ्रमणको सफलता, असफलता निहित हुन्छ । त्यो नेपाली जनताले हेर्नेछन् । जनकपुर भएर आयो कि कहाँबाट भन्ने कुरा गौण हो ।

–तपाईंको विचारमा मोदीको भ्रमणका बेला नेपालले उठाउनै पर्ने एजेन्डा के छन् ?

पहिले त सरकारले अहिले यो भ्रमणलाई कुन रूपमा  लिएको छ, त्यसमा भर पर्छ । नेपाल र भारतको बीचमा छलफल र समाधान गर्नुपर्ने धेरै विषय छन् । एउटा त, लामो कालखण्डदेखि रहिआएको असमान सन्धि सम्झौताहरूको पुनरावलोकन र नयाँ सन्धिद्वारा त्यसको विस्थापन गर्नु एउटा एजेन्डा छ ।

दोस्रो, सीमा समस्या । अहिले पनि सीमा मिचिएको छ । नेपाली भूभाग अतिक्रमणकै अवस्थामा छ । त्यसकारणले गर्दा नेपाल भारत सीमा नक्सामा सही हुन सकेको छैन । त्यसलाई कम्प्लिट  गर्ने प्रक्रियामा कसरी अगाडि बढ्ने भन्ने बारेमा गम्भीरतापूर्वक छलफल हुनु आवश्यक छ ।

तेस्रो, भारतको सिमानामा भारततर्फको भागमा सडकहरू बनाउने नाममा बाँध जस्ता संरचनाहरू बनाइएका छन् । जसले गर्दा हरेक वर्ष नेपाली भूमि जलमग्न भई डुबान हुने अवस्था  बनेको छ । त्योे गम्भीर समस्या हो । अन्तर्राष्ट्रिय मान्यताहरू उल्लङ्घन गरेर भारतले बलमिच्याइँ गरेको छ । त्यलाई जसरी पनि समाधान गर्ने हाम्रो महत्वपूर्ण एजेन्डा हुनुपर्छ ।

चौथौ, नेपालले भारतसँग जुन–जुन सम्झौता गरेको छ, त्यसको कार्यान्वयनको गति निकै सुस्त छ । त्यसलाई सच्याउने  प्रक्रिया अघि बढाउनु आवश्यक छ ।

पाचौँ, हामीले चर्को व्यापार घाटा ब्यहोरिरहेका छौं । नेपाललाई अघि बढाउन यो विकराल व्यापार घाटा कम नगरी हुँदैन । त्यसको निम्ति मूलतः हामी आफैले निर्यात गर्न सक्ने वस्तुहरूको उत्पादन गरेर नै अघि बढ्नु पर्छ । आयात प्रतिस्थापन वस्तुहरूको उत्पादनलाई बढाउनुपर्छ । तर, भारतले कतिपय प्रक्रियामा सकारात्मक नीति लिदिएमा मात्र पनि एक हदसम्म व्यापार घाटा घटाउन सक्ने स्थिति छ । यस बारेमा छलफल गर्नुपर्छ ।

छैठौँ कुरा, नेपालको सार्वभौमिकतामाथि अहिले पनि अतिक्रमण भएको छ । उदाहरणका लागि अहिले पनि विराटनगरमा अनधिकृतरूपमा भारतको फिल्ड अफिस छ । कोशीमा बाढी आई नेपालका सडक   बिग्रिएका बेलामा भारतको भूमि  भएर चलाउनुपर्ने नेपालका यातायातका साधनहरूलाई पास दिन भनेर त्यो अफिस खोलिएको थियो । हाम्रो बाटो बनिसकेपछि त्यो अफिस बन्द गर्नु भनेर म परराष्टमन्त्री हुँदा भारतलाई पत्र लेखियो । तर अहिलेसम्म हटेको छैन । यो त हदै भयो नि । त्यसलाई बन्द गर्नु पर्छ । यो विषयलाई महत्वका साथ उठाउनु पर्छ ।

सातौं, भारतीय दूतावासबाट साना अनुदान सहयोग परियोजनाको नाममा योजनाहरू बाँड्ने गरिएको छ । यसलाई अब यसरूपमा निरन्तरता नदिने कुरा प्रष्ट गरिनु पर्छ ।

मुख्य त नेपालमाथिको हस्तक्षेपकारी उत्पीडनकारी दृष्टिकोण, नीति र व्यवहार अन्त्य गर्नुपर्छ । हामीले पारस्पारिक सम्मान एवम् समानताको आधारमा र दुवै देशको हितमा सम्बन्ध मजबुत गरौंं भनेर भन्न सक्नुपर्छ ।

–संविधान जारी गर्दा नाकाबन्दी लगाएको कुरा नेपालीले भुलेका छैनन् । तिनै मोदीको अहिले तीन ठाउँ अभिनन्दन गर्दा के सन्देश जान्छ भन्नेमा सरकार र प्रधानमन्त्री किन सचेत नभएको होला ?
यदि भारतले साँच्चै भित्रदेखि नै नेपालमाथि नाकाबन्दी लगाउनु गल्ती थियो, नेपालले आफ्नो संविधान आफैले घोषणा गर्ने प्रक्रियामा अवरोध उत्पन्न गर्नु गल्ती थियो भनेर महसुस गरेको हो र अब त्यस प्रकारको कुनै गतिविधि नगर्न ऊ प्रतिबद्ध छ भने हाम्रो छिमेकी मित्रराष्ट्रको सरकार प्रधानमन्त्रीलाई स्वागत गर्न खुसी नै हुनेछौँ । त्यसबेला हामी विगतलाई बिर्सन तयार छौं । तर यसको समग्र मूल्याङ्कन स्वयम् नेरेन्द्र मोदीले नेपाल आएर के  गर्नुहुन्छ, के सन्देश दिनुहुन्छ र त्यसपछि के गर्नुहुन्छ भन्ने आधारमा नै गर्न सकिनेछ ।

–यहाँलाई प्रधानमन्त्रीले अब कहिले चीन भ्रमण गर्नुहुन्छ जस्तो लाछ ?
छिटै जानुहुन्छ जस्तो लाग्छ । नरेन्द्र मोदी भारत फर्केलगत्तै नेपालका प्रधानमन्त्रीको चीन भ्रमण हुने सम्भावना छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप