शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के हो निपाह भाइरस, कसरी बच्ने यो खतरनाक भाइरसबाट ?

शुक्रबार, ११ जेठ २०७५, १३ : ५८
शुक्रबार, ११ जेठ २०७५

निपाह भाइरस  पशुबाट मानिसमा सर्ने नयाँ रोगको रुपमा विकसित हुँदै गरेको एक खतरनाक भाइरस संक्रमण हो । यसले मानिस र पशु दुबैलाई संक्रमण गर्न सक्दछ । यस भाइरस प्राकृतिक रुपमा टेरोपस भन्ने प्रजातिको चमेरोमा रहने गर्दछ । 

निपाह (Nipah) भाइरस पारामिक्जोभाइरिडि परिवार भित्र पर्ने हेप्नीभाइरस भन्ने समूहको एक सदस्य हो जसमा यस  बाहेक हेन्ड्रा( Hendra ) भाइरस पनि पर्दछ । सन १९९४ मा घोडा र मानिस हरुमा स्वासप्रस्वास सम्बन्धी रोगको कारक तत्वको रुपमा यस भाइरस पहिलो पटक पत्ता लागेको थियो । 
त्यस्तै पहिलो पटक सन १९९८ मा मलेसियामा यो भाइरस संक्रमणले महामारिको रुप लिएको थियो त्यस बखत सुंगुरको माध्यमबाट यो भाइरस मानिसमा सरेको थियो।  त्यस पश्चात सिङ्गापुरमा र सन २००४ मा बङ्लादेश हुँदै भारत सम्म देखा परेको थियो । हालसालै भारतको केरलामा निपाह भाइरसको संक्रमण बाट १४ जनाको मृत्यु भैसकेको तथ्यांक सार्बजनिक भएको छ ।  

कसरी  सर्दछ निपाह भाइरस ? 
बैज्ञानिक अनुसन्धान अनुसार निपाह भाइरस (Virus particle) लाई मानिस अथवा जनावरले स्वासप्रस्वास द्वारा निल्नाले यसको संक्रमण हुने गर्दछ र यसले स्वासनलिमा रहने इपिथेलियल सेलमा आक्रमण गरि संक्रमण सुरु गर्दछ र ततपस्चात मुख्य रुपमा दुइओटा बाटो मार्फत   केन्द्रिय स्नायु प्रणालिमा प्रबेश गर्दछ । इपिथेलोयलबाट भाइरस अल्फ्याक्टोरी भन्ने नसा हुँदै अथवा रगतको बाटो हुँदै कोरोइड प्लेक्सस र स्नायु रक्त सन्चार प्रणालिमा प्रवेश गर्दछ ।
 प्रमुख रुपमा आफ्नो प्राकृतिक भाण्डारण चमेरो बाट कुनै मध्यस्त जनावर जस्तै  घोडा , सुँगुर , गाई गोरु इत्यादि अथवा प्रत्यक्ष रुपमा चमेरोको संसर्गमा आएको फलफुल बाट सर्ने गर्दछ । पछिल्लो पटक बंगलादेशमा भएको माहामारी चमेरोले खाएको सुपारीबाट भएको अनुसन्धान बाट पत्ता लागेको थियो । त्यस पश्चात् भाइरस जनावर बाट जनावर , जनावर बाट मानिस र मानिस बाट मानिसमा पनि सर्न सक्दछ ।

 

संक्रमणको लक्षणहरु 
निपाह भाइरस संक्रमणको लक्षण फरक फरक हुने गरेको पाइएलो छ । कोहि ब्यक्तिहरुमा यश भाइरसले कुनै पनि लक्ष्ण बिना नै संक्रमण गर्न सक्छ भने कुनै ब्यक्तिहरुमा सामान्य स्वासप्रस्वास प्रणालिमा समस्या ल्याउने देखि खतरनाक इन्सेफलाइटिस सम्मको लक्षण देखा पर्न सक्दछ ।  सुरुको अबस्थामा यस भाइरस संक्रमणको लक्षण इन्फुएन्जा (फ्लु) को जस्तै ज्वरो आउने , टाउको दुख्ने , मांसपेसी दुख्ने, वाकवाकी लाग्ने र टन्सिलाइटिस जस्ता लक्षण हरु देखा पर्दछ । यस भाइरसले स्नायु प्रणालिमा आफ्नो संख्या बृद्दी संगै रिंग्गटा लाग्ने , झुम्म बनाउने , कहिलेकाहिँ बेहोस बनाउने जस्ता इन्सेफ्लाइटिस को लक्षण हरु देखा पर्न थाल्दछ ।  केही ब्यक्तिहरुमा यसले निमोनिया र स्वासप्रस्वासमा बाधा ल्याउन पनि सक्दछ भने रोगले अझै गाल्दै लैजाँदा हातगोडा काम्ने र मस्तिष्क सुन्निने लक्षण हुँदै मानिस लक्षण देखा पर्न थालेको २४ देखि ४८ घण्टामा कोमामा जान सक्दछ ।  
यो रोगको संक्रमण समय ४ देखि १४ दिन सम्म रहेको बैज्ञानिक हरुले दाबी गरेका छन । यस रोग लागेको लगभग ४० देखि ७५ % मानिसको मृत्यु हुन सक्ने र २० % मानिस कुनै न कुनै स्नायु प्रणालिको समस्या जस्तै शरीर काँप्ने , ब्यक्तित्व परिवर्तन जस्ता समस्या देखा पर्न सक्दछ भने सामान्य मस्तिष्क सुन्निने लक्षणलाई जित्न सक्ने मानिस भने पुर्ण रुपमा निको हुन सक्दछ । 

कसरी पत्ता लगाउने ? 
रोगलागेको प्रारम्भिक रुपमा लक्षण हरु हेरेर र रोगको  आसंका लागेमा सारिरिक तरल पदार्थ हरुको प्रयोगशालामा परिक्षण गरेर रोग पत्ता लगाउन सकिन्छ । यस भाइरसको लागि प्रयोगशालमा शरीरले पैदा गर्ने तदल पदार्थ हरु जस्तै ( पसिना, र्याल) आदिको नमुनाको ELISA, PCR र भाइरस कल्चर गर्ने विधि द्वारा संक्रमण प्रमाणित गर्न सकिन्छ ।                                                                                 

उपचार 
यश रोगको लागि हाल सम्म कुनै औषधि र भ्याक्सिनको विकास भैसकेको छैन । रोगको लक्षण अनुसार सघन उपचार कक्षमा राखी स्नायु प्रणालिमा देखा पर्ने लक्षणको आधारमा उपचार गर्ने बिधीलाई WHO ले उपचार बिधिको रुपमा सुझाएको छ । 

बच्ने उपाय  
चमेरो यसको मुख्य स्रोत भएकोले चमेरोले जुठो हालेर छोडेको फलफूल  ( विशेष गरि रुखमा पाकेर आदि खाइएको ) नखाने , फलफुल राम्रोसंग पखालेर तथा तरकारी सकेसम्म पकाएर खाने गर्नाले प्रत्यक्ष रुपमा चमेरो बाट हुने संक्रमणबाट वचन सकिन्छ । यसको साथै जनावरको गोठ , फार्म  सफा राख्ने , मासु काट्दा पकाउदा पन्जा र मास्कको प्रयोग गर्नाले जनावर बाट हुन सक्ने संक्रमण बाट बंच्न सकिन्छ । संक्रमित मानिसहरुबाट बंच्नको लागि हात मिलाउने , अंकमाल गर्ने , भिडभाडमा जाँदा बिरामीलाई भेटन जाँदा मास्क लगाउनु राम्रो हुन्छ ।  
 
जितेन्द्र श्रेष्ठ ( साइमन)
माइक्रोबायोलोजी, 
विद्यावारिधी सोधकर्ता 
हाल द. कोरिया

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप