शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई चीनतिर ढल्किन नदिने मोदी सूत्र !

शुक्रबार, ०१ असार २०७५, १० : २३
शुक्रबार, ०१ असार २०७५

एसके यादव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि असार ५ गते चीन भ्रमणमा जान लागेका छन् । 

चैत २३–२५ गतेसम्म भारतको भ्रमण गरिसकेका प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लाग्दा सबैको ध्यान चीनतिर केन्द्रित भएको छ ।

खासगरी नेपालले चीनसँग कस्तो सम्झौता गर्ला भन्नेमा सबैभन्दा बढी भारतले चासो लिएको छ । 

भारत के चाहन्छ भने आफ्नो प्रतिकुलको सम्झौता चीनसँग नहोस् । 

त्यसका लागि उनले नेपालदेखि चीनसम्म विभिन्न पहल गरिरहेको छ । हालै मात्र नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनले काठमाडौँको भ्रमण गरेर लगानी बोर्डका अधिकारीसँग छलफल गरे । 

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला २०७२ चैत ७ गते चीनको भ्रमण गरेका थिए । त्यतिबेला भारतले सोचेको भन्द धेरै फरक सम्झौता भएका थिए, जो आफ्नो हितभन्दा फरक थिए भन्ने भारतको बुझाइ थियो ।

ओलीले पहिलो पटक चीनको भ्रमण गर्दा दुई देशको बीचमा १० बुँदे सम्झौता भएको थियो भने १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको थियो ।

त्यसमा अरूण तेस्रो किमाथांका जलविद्युत परियोजना, रसुवागढी केन्द्र अन्तरदेशीय विद्युत प्रसारण लाइन, अन्तरदशीय रेलमार्ग, पोट्रोलियम खानीको अन्वेषण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सहुलियत बैङ्किङ ऋणलगायतको सम्झौता भएको थियो । 

यीमध्ये कुनै पनि भारतको हितमा नरहेको भारतीय पक्षको विश्लेषण छ । यी सम्झौताहरू हुनको कारक त्यतिबेला भारत नै थियो ।

भारत कारक 

भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । 

भारतले नाकाबन्दी खोले पनि नेपालसँग सम्बन्ध सुधार गर्ने कुनै छाँटकाँट नदेखाएपछि प्रधानमन्त्री ओली भारतबाट फर्केको एक महिनापछि चीन भ्रमणमा गएका थिए । 

हुन त त्यतिबेला प्रधानमन्त्री ओलीले सुरुमै चीनको भ्रमण गर्ने तयारी गरिरहेका थिए । चीनका लागि तत्कालीन नेपाली राजदूत डा. महेश मास्के भन्छन्, ‘भारतले केही दिन अझै नाकाबन्दीको निरन्तरता दिएको भए प्रधानमन्त्री ओली चीनको भ्रमणमा जानुहुन्थ्यो ।’ मास्केले आफ्नो एउटा लेखमा यो कुरा उल्लेख गरेका छन् । 

त्यतिबेला प्रधानमन्त्री ओलीको चीन भ्रमणका तयारीका लागि तत्कालीन परराष्ट्रमन्त्री कमल थापा चीन पुगेका थिए । सम्पूर्ण तयारी पूरा गरी जब थापाले त्यहाँका परराष्ट्रमन्त्री वाङ यीसँग संयुक्त पत्रकार सम्मेलनको आयोजना गरे त्यसपछि भारत झस्किएको थियो ।

अब पनि ढिलो गरियो भने नेपालसँगको सम्बन्धले अर्को मोड लेला भनी भारतले आँकलन गरिसकेको थियो । त्यति नै बेला भारतले नेपालमाथि लगाएको नाकाबन्दी फिर्ता लिएर प्रधानमन्त्री ओलीलाई हतार हतारमा भारत बोलाएको थियो । 

ओली भारत भ्रमणमा गए पनि त्यहाँ खासै उपलब्धि हुन सकेन । 

यतिसम्मको कटुता थियो कि दुई देशबीच संयुक्त विज्ञप्तिसमेत जारी हुन सकेन । 

चीन भ्रमण
निराश र क्रोधित भएर भारतबाट फर्केका ओली २०७४ चैत ७ गते चीन भ्रमणमा गएका थिए । त्यतिबेलाको भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, तत्कालीन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, तत्कालीन अर्थमन्त्री विष्णु पौडेल, तत्कालीन वाणिज्यमन्त्री दीपक बोहोरा, तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतका थिए ।

दोस्रो पटक प्रधानमन्त्री बन्दा पनि प्रधानमन्त्री ओली पहिलो भ्रमण चीनकै गर्न चाहन्थे । त्यसको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन पुगेका थिए । तर मन्त्री ज्ञवाली चीनबाट नफर्किंदै भारतले एकतर्फी रूपमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति सार्वजनिक ग¥यो । 

नेपाली अधिकारीहरू अनभिज्ञ थिए । नेपाललाई भारत भ्रमणको विषयमा कुनै औपचारिक जानकारी नहुँदै भारतीय पक्ष त्यसको तयारीमा जुटिसकेका थिए ।

प्रधानमन्त्री ओलीले चैत्र २३ देखि २५ सम्म भारतको भ्रमण गरेका थिए । 

२५ गते काठमाडौँ फर्केर २६ गते चीनको हाइनानस्थित बोआओमा हुने बोआओ एसिया फोरममा सहभागी हुन जाने ओलीको तयारी थियो । 

ओलीले चीन जाने भएर नै त्यतिबेला भारत भ्रमणलाई तीन दिनमा सीमिति गरेका थिए । 

भारतले चैत २४ देखि ओलीलाई भ्रमण गराउन चाहेको थियो । तर, नेपालले नै २३ गतेदेखि बनाएको थियो ताकि तीन दिनमा भ्रमण सकेर २६ गते चीन जान सकियोस् । ‘तर, भारतको दबाबका कारण प्रधानमन्त्री ओली बोआओ सम्मेलनमा समेत भाग लिन गएनन् ।’ कतिपयको दाबी छ । 

उनी आफै नगए पनि अरू उच्च तहका प्रतिनिधिलाई सो सम्मेलनमा सहभागी गराउन सक्थे । तर उनले त्यतिसम्म पनि गर्न सकेनन् । जब कि त्यसअघि राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री स्तरका नेपाली प्रतिनिधिले भाग लिएका थिए । 

प्रधानमन्त्री ओली भारत भ्रमण सकेर फर्केको १८ दिनपछि प्रधानमन्त्री मोदी चीन पुगे । मोदीको त्यो भ्रमण अनौपचारिक थियो । 

अनौपचारिक भए पनि नेपाल भ्रमण गर्नुअघि उनी चीन भ्रमणमा गएका थिए । 

त्यतिबेला चीनमा उनी चिनियाँ राष्ट्रपति सी जिन पिङलगायत अन्य उच्च पदस्थ व्यक्तिसँग भेटेका थिए । उनले सो क्रममा नेपाल, भारत र चीन सम्बन्धमा पनि कुरा गरेको विषय भारतीय सञ्चार माध्यममा आएको थियो । 

तीन दिनपछि चीनबाट स्वदेश फर्केका भारतीय प्रधानमन्त्री मोदी १३ दिनपछि नेपालको भ्रमण गरेका थिए अर्थात् वैशाख १५ गते चीनबाट फर्केका मोदी २८ गतेदेखि नेपालको भ्रमण गरेका थिए । 

चीनबाट फर्केको डेढ महिनापछि प्रधानमन्त्री मोदी पुनः सङ्घाई सहयोग सङ्गठन (एससीयो) मा भाग लिन चीन पुगेका थिए । 

भारतीय प्रधानमन्त्री मोदीले त्यहाँ चिनियाँ राष्ट्रपतिदेखि लिएर विभिन्न देशका प्रमुखलाई छुट्टा छुट्टै भेटेका थिए ।

जब कि त्यो एससीयो सम्मेलनमा भाग लिनका लागि नेपाल पनि जानुपर्ने थियो । त्यसको सदस्य राष्ट्र (डयलग पार्टनर) नेपाल पनि हो । 

तर चीनले नेपाललाई निमन्त्रणा नै गरेन । स्रोत भन्छ, ‘चीनले बोआओ सम्मेलनका लागि नेपाललाई निमन्त्रणा गरे पनि सहभागी भएको थिएन, त्यही भएर एससीयोमा बोलाएन ।’

यसरी प्रधानमन्त्री ओलीलाई चीन जाने पटक पटक अवसर आए पनि त्यो अवसरलाई सदुपयोग गर्न नसकेको देखिएको छ । 

तर दुवै देशका बीच राम्रो सम्बन्ध नभए पनि प्रधानमन्त्री मोदी पटक पटक चीन गएका छन् । 

यसरी प्रधानमन्त्री मोदी पटक पटक चीन जाँदा भारतमा उनको आलोचना पनि भएको छ । 

भारतीय प्रधानमन्त्री मोदी चीनबाट फर्केको एक हप्तापछि प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन् । मोदी जेठ २८ गते चीनबाट फर्केका हुन् । 

प्रधानमन्त्रीकै रूपमा केपी शर्मा आलीले दोस्रो पटक एक वर्ष तीन महिनापछि चीनको भ्रमणमा जाँदैछन् । भारतसँग राम्रो सम्बन्ध नभएको बेला प्रधानमन्त्रीका रूपमा पहिलो चोटि ओली चीन भ्रमणमा गएको बेला गरेको सम्झौतालाई अपडेट गर्नेछ कि पुनः अर्को नयाँ सम्झौता गर्नेछ, त्यो भ्रमण सकिएपछि मात्र थाह हुन्छ ।

तर चीनका लागि नेपाली पूर्व राजदूत टङ्क कार्की भन्छन्, ‘नेपाल–भारतको सम्बन्धले प्रधानमन्त्री अ‍ोलीको चीन भ्रमणलाई कुनै प्रभाव पार्दैन र पार्नु पनि हुँदैन ।’ 

२०७२ सालमा नेपाल र भारतको सम्बन्ध विग्रिएको अवस्थामा नेपालले चीनसँग १० बुँदे सम्झौता गरेको थियो । जुन नेपाली जनताको लागि लामो समयदेखिको अपेक्षा थियो, यस पटकको भ्रमणमा पनि त्यही ‘फ्रेमवर्क’ भित्र रहेर सम्झौताहरू हुने कार्कीको बुझाइ छ ।’

प्रधानमन्त्री ओलीले पहिलो पटक चीन भ्रमण गएका बेला राम्रा राम्रा सम्झौता गरेको बताउँदै उनले अहिले पनि रेल, तेल र ट्रान्जिटको विषयमा सम्झौता गर्नुपर्ने उनले सुझाव दिए ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप