शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा एकता बन्यो भ्यागुताको धार्नी : कमल थापा राणासँग यसकारण सशंकित

शनिबार, १९ साउन २०७५, १३ : ११
शनिबार, १९ साउन २०७५

काठमाडौँ । गत चुनावमा भएको लज्जास्पद पराजयपछि तीन राप्रपाबीच पुनः एकताको प्रयास थालिएको भएपनि एजेण्डा र नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा सार्थक रुप लिन नसकेको राप्रपाका नेताहरुले बताएका छन् । 

गत वर्षको साउन तेस्रो साता पशुपति शमशेर राणाले कमल थापा नेतृत्वको राप्रपा विभाजन गरेर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका  थिए । सोअघि नै डा. प्रकाशचन्द्र लोहनीले कमल थापाले पार्टीलाई मनपरी ढंगले सञ्चालन गरेको लगायतका आरोप लगाउँदै पार्टी परित्याग गरी राप्रपा राष्ट्रवादी नामको पार्टी गठन गरेका थिए । 

टुटफुटकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निश्कर्ष निकाल्दै तीनै पार्टीबीच एकता गर्ने भनिए पनि एकता प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढ्न सकेको छैन । बरु, पछिल्लो समय थप  अविस्वासको वातावरण पैदा भएको छ । 

डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीको तुलनामा  कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा राष्ट्रवादीबीचको एकता बेचिलो बन्दै गएको हो । राप्रपा प्रजातान्त्रिकको स्पष्ट एजेण्डा नदेखिएकाले एकता प्रक्रियामा समस्या भएको राप्रपाले बताउँदै आएको छ । 

कमल थापा नेतृत्वको राप्रपाले राणा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था बारे प्रष्ट र आधिकारिक धारणा माग गर्दै आएको छ ।  राप्रपाका प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा समान विचारधारा भएका शक्तिहरु बीच एकताको सम्भावना बारे छलफल अघि बढाउन गठित वार्ता समितिलाई हिन्दु राष्ट्र र राजसंस्थाबारे प्रष्ट र आधिकारिक धारणा एवं प्रतिबद्धता नआएसम्म राप्रपा प्रजातान्त्रिकसँग वार्ता स्थगन गर्न निर्देशन दिएको रातोपाटीलाई जानकारी दिए । 

राप्रपा प्रजातान्त्रिकको एजेण्डा के ?

अध्यक्ष कमल थापाले राणा नेतृत्वको पार्टीको स्पष्ट लाइनको माग गर्दै वार्ता स्थगत गर्न निर्देशन दिएसँगै वार्ता प्रक्रिया हालको लागि अबरुद्ध बनेको छ । राप्रपा प्रजातान्त्रिकले पार्टीको आधिकारिक डकुमेन्टमा सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्र एवम् सर्वद्र्धनवादको सिद्धान्त मान्ने उल्लेख गरेको छ । तर, पार्टीको लाइनविपरित पार्टीका जिम्मेवार नेताहरुबाटै परस्पर विरोधी अभिव्यक्ति आएपछि थापा नेतृत्वको राप्रपाले आधिकारिक धारणा खोजेको हो । 

राप्रपा प्रवक्ता राजेन्द्र गुरुङले पार्टीका नेताहरुले जे जस्तो अभिव्यक्ति दिएपनि आधिकारिक लाइन सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्र एवम् सर्वद्र्धनवाद नै भएको रातोपाटीलाई बताए ।

 ‘जेठ २५ गते सम्पन्न केन्द्रीय समिति बैठकले सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्र एवम् सर्वद्र्धनवादको सिद्धान्त अंगीकार गरेको छ । यो नै पार्टीको आधिकारिक विचार भनेको हो ।’ उनले वृहत राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको पनि बताए । 

यही विषयमा राप्रपा प्रजातान्त्रिकले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मका सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई घोषित उद्देश्य र लक्ष्य प्राप्तिमा अविचलित रुपमा क्रियाशील रहन पनि आग्रह गरेको छ । 

दुई पार्टीबीच गठीत वार्ता टोलीबीच एक महिनाअघि एकताका सन्दर्भमा वार्ता भइ विस्वासको वातावरण तयार भएपनि केहि दिन अघि  राप्रपा प्रजातान्त्रिकका प्रभावशाली नेता सुशील बहादुर थापाले ‘राप्रपासँग सैद्धान्तिक कुरा नमिल्दा छुट्टिन बाध्य भएको’ भन्ने अभिव्यक्ति दिएपछि समस्या पैदा भएको हो । उनको अभिव्यक्ति राप्रपा प्रजातान्त्रिक  गणतन्त्र पक्षधर रहेको भन्नेमा लक्षित रहेको राप्रपा प्रजातान्त्रिककै नेताहरु बताउँछन् । 

उनको अभिव्यक्तिलाई नै लिएर सो पार्टीका नेता सुरेश आचार्यले औपचारिक रुपमै कडा आलोचना समेत गरेका छन् ।  एक विज्ञप्तिमार्फत आचार्यले थापाले राप्रपा (प्रजातान्त्रिक) पार्टीलाई नै अर्को पार्टीमा बिलय गर्ने, र त्यो षडयन्त्रमा बिफल भएमा आफै अर्को पार्टीमा बिलिन हुने चलखेल सुरू गरेको आरोप लगाएका छन् । 

उनले थापाको अभिव्यक्ति पार्टीको राजसंस्था र हिन्दु अधिराज्यको धारणा विरूद्ध आएको बताउँदै भनेका छन्, ‘पार्टीको विधान, चुनावी घोषणापत्र र केन्द्रीय कार्य समितिको बैठकबाट सर्वसम्मतिले पारित राजनीतिक नीतिपत्रको अक्षर र भावनाको पूर्ण विपरित भएको कुरातर्फ म पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबरा, वरिष्ठ उपाध्यक्षद्वय र सम्पूर्ण पार्टी नेता–कार्यकर्ताहरूको ध्यान आकृष्ट गराउन चाहन्छु ।’

बाटो हेर्दै लोहनी

कमल थापा नेतत्वकै राप्रपाबाट फुटेर गएका लोहनी पनि अब एकता गएर अघि बढ्नुपर्नेमा सकारात्मक बनेका छन् । हालै बसेको सो पार्टीको बैठकले एकतासम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार लोहनीलाई सुम्पिएको थियो । लोहनीले  समान विचारधारा भएका समूह र शक्तिसँग आफ्नो पार्टी सहकार्य र एकता गरेर अघि बढ्न तयार रहेको बताउँदै आएका छन् । 

राप्रपा राष्ट्रवादीले संवैधानिक राजसंस्थासहितको हिन्दू राष्ट्रलाई मूल एजेण्डा मान्दै आएको छ । आफ्नो पार्टीको नीति र एजेण्डासँग सहमत हुने शक्तिसँग एकता गर्न कुनै समस्या नरहेको पार्टीका सहप्रवक्ता जनकराज पाठकले जानकारी दिए । 

पार्टी  स्रोतका अनुसार एकताका लागि राणा र थापा नेतृत्वको वार्ता टोलीका सदस्यले लोहनीलाई एक पटक भेटेर छलफल गरेका छन् । यद्यपि, यसबारे कुनै निश्कर्षमा नपुगिएको र अझैं नेतृत्व, एजेण्डालगायतका विषयमा छलफल हुन बाँकी नै रहेको प्रचार विभाग सदस्य सुन्दर पाण्डले जानकारी दिए ।  

राप्रपा राष्ट्रवादीले लोहनीलाई एकताबारे निर्णय गर्न पूर्ण अधिकार दिएपनि राप्रपा र राप्रपा प्रजातान्त्रिकले भने ३–३ सदस्यीय वार्ता टोली गठन गरेका छन् र सोहि वार्ता टोलीमार्फत द्विपक्षीय छलफल हुँदै आएको छ । 

वार्ता टोलीमा राप्रपाको तर्फबाट बुद्धिमान तामाङ, टंक ढकाल र राजेन्द्र लिंदेन रहेका छन्  भने प्रजातान्त्रिकबाट सुनील थापा, दीपक बोहरा र विक्रम पाण्डे रहेका छन् । 

राणासँग थापा सशंकित

तत्कालिन राप्रपा र राप्रपा नेपाल मिलेर २०७३ मंसिर दुई पार्टीबीच एकता भएको थियो । सो एकता प्रक्रियापछि राणा, थापा, लोहनीसहित लोकेन्द्रबहादुर चन्द सम्मका पञ्चायतकालिन पृष्ठभूमिका हस्तीहरु एकठाउँमा हुन पुगे । तर, एकताको ८ महिनामै पार्टी छिन्नभिन्न त भयो नै कमल थापालाई एकता हुनुअघि भन्दा पनि बढी क्षति पुग्यो । पार्टी फुटाउँदा राणाले थापा निकटकै सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा पारेका थिए । 

नेपालका राजनीतिक दलबीच एकता हुँदा होस् वा विभाजन केही आन्तरिक र केही बाह्य ‘फ्याक्टर’ सतहमा आउँछन् । यतिसम्म भएको छ कि, सामान्य ‘फ्याक्टर’ मा पार्टी एकता वा विभाजन भएको मान्नेहरु कोही भेटिदैनन् । अर्थात आममानिसलाई लाग्छ, यस्तो एकता वा विभाजनमा विशेष ‘फ्याक्टर’ ले काम गरेको ठानिन्छ र कहिलेकाही सत्य पनि हुन्छ ।

परस्परविरोधी एजेण्डा (राजतन्त्र र गणतन्त्र) बोकेको राप्रपा र राप्रपा नेपालबीचको एकता र विभाजन हुँदा  पनि त्यही फ्याक्टरको  ‘फ्याक्टर’ खोजी भएका थिए । अहिले फेरि एकता हुँदा पहिले जस्तै आन्तरिक स्वार्थ र नखुलेका फ्याक्टरको सहायतामा राणाले धोका दिने त होइन भन्नेमा थापा सशंकित रहेको बताइन्छ । यस्तो अवस्थामा थापा निकै सुझबुझपूर्ण रुपमा एकतालाई अघि बढाउने पक्षमा रहेको बताइन्छ । 

राप्रपा प्रचार विभाग प्रमुख श्रेष्ठ भन्छन्–

राणा समूहले चुनावको मुखमा बिना कारण पार्टी फुटाए । तर यसको औचित्य पुष्टि गर्न सकेनन् । सुनील थापा आफै वार्ता समितिमा हुनुहुन्छ तर राप्रपासँग सैद्धान्तिक कुरा नमिल्दा हामी छुट्टिन पुगेका हो भन्नु भएको छ । उहाँले भनेजस्तो हुँदै होइन । राप्रपाको राजासहितका प्रजातन्त्र र हिन्दुराष्ट्रको एजेण्डा हिजो पनि थियो, आजपनि छ र भोलि पनि रहिरहेछ ।  महाधिवेशनले सर्वसम्मत प्रस्ताव पारित भएको थियो । स्थानीय तहको चुनावको परिणाम आइसकेपछि केन्द्रीय चुनावको मुखमा एकाएक पार्टी विभाजन गर्नुभएको हो । 

पार्टीलाई चुनावमा असर पुगेको विभाजनकै कारण हो । यदी विभाजन नभएको भए पशुपति शमशेर राणा, दीपक बोहरा, सुनील थापा र  कमल थापा सबैले चुनाव जित्ने सम्भावना बलियो थियो । माहोल त्यस्तै बनेको थियो । तर, त्यस्तो हुन सकेन । चुनावपछि वीरगन्जमा बसेको बैठकबाट हामीले नै  समान विचारधारा भएकाहरुसँग सहकार्य र  एकता गर्ने लाइन पारित गरेका हौं । बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको आवश्यकता देखिएकाले नै हामीले समान विचार धारा भएकाहरुसँग  एकताको लागि आह्वान गरेका हौं । 

हामी हिन्दू र राजतन्त्रको एजेण्डामा अडिग छौं । नेतृत्व व्यवस्थापनको विषयमा कुरा हुन सक्ला तर एजेण्डाको विषयमा कुनै सम्झौता गर्न सक्दैनौं ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप