शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार : पूर्वीय दर्शनको विकासका लागि अनुसन्धानमा जोड

शनिबार, ०१ मङ्सिर २०७५, १९ : ०४
शनिबार, ०१ मङ्सिर २०७५

बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको छ । विज्ञान सभ्यताअघिको प्राचिन सभ्यताको पुर्नउत्थान, खोज अनुसन्धान र प्रवद्र्धन गर्ने उद्देश्यले यो सेमिनार आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने सेमिनारमा तीन देशका विज्ञहरुले २४ वटा कार्यपत्र प्रस्तुत गर्दैछन् । पूर्वीय दर्शनको प्रभाव विश्वव्यापीकरण भइरहेका बेला यसको अध्ययन पूर्वी क्षेत्रबाट नै हुनुपर्ने लक्ष्यसहित आयोजना भएको सेमिनारले आगामी दिनमा खोज अनुसन्धानका लागि कार्यदिशा तय गर्नेछ । 

लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा आयोजित सेमिनारको उद्घाटन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति एव रजिष्टार तिलक आचार्यले पूर्वीय सभ्यताले विश्वलाई मार्गदर्शन गरेको बताउँदै यसको थप खोज अनुसन्धानका लागि विश्वविद्यालयले काम थालेको बताए । चीन, भारत, श्रीलंकालगायत देशका विश्वविद्यालयसँग सहकार्य गरी बौद्ध दर्शन र यसको विकासको काम शुरु भएको उनले बताए ।

‘पूर्विय सभ्यताले विश्वलाई नै शान्तितर्फ प्रेरित गरेको छ, त्यसको मुहान नै लुम्बिनी हो,’ उनले भने, ‘लुम्बिनीबाट नै विश्वशान्ति र बौद्ध दर्शनको शुरुआत भएको छ ।’ उनले पूर्वीय दर्शनलाई विज्ञानसम्म अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै बेइजिङ नर्मल युनिर्भसिटीका प्रोफेसर लिउ स्याओ थिङ्गले पूर्वीय दर्शनलाई बहु–आयामिक रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए । २६ सय वर्षअघि बुद्धले दिएका उपदेश पछि–पछि व्यवहारिक र प्रयोगसिद्ध भएको भन्दै यसले नै पूर्वीय दर्शनमा कति बल छ भन्ने दर्शाउने उनले बताए ।

चीनले वान रोड वान बेल्टसँग जोडिने देशसँग भाषिक र सांस्कृति सम्बन्ध विस्तार गर्ने शुरु गरिसकेको भन्दै नेपालमा पनि चिनियाँ भाषा र संस्कृतिको अध्ययन बढाउँदै लैजाने उनले बताए । त्यसका लागि यहाँका विश्वविद्यालयसँग अनुभव साटासाट निरन्तर गरिने उनले बताए ।

बरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले चिनियाँ यात्रुकै यात्रा विवरण अनुसार लुम्बिनी र बौद्ध स्मारकहरुको पहिचान हुन सकेको भन्दै चीन लुम्बिनीको विकासमा पाँचौ शताब्दीदेखि नै साझेदार रहेको बताए । 

नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान केन्द्र प्रमुख प्रा. डा. काशिराज न्यौपानेले पूर्वीय दर्शनका करोडौं हस्तलिखित दस्तावेजहरु अनुसन्धान हुनुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राचिन हस्तलिखित ग्रन्थमाथि अनुसन्धान, प्रकाशन र अध्ययनमा जोड दिनुपर्ने उनले सुझाव थिए ।

लुम्बिनी विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले बौद्ध शिक्षा र दर्शनको विकास, अध्ययनका लागि खुलेको विश्वविद्यालयले सिक्ने चरणमै महत्वपूर्ण काम थालनी गरेको बताए । यसका लागि विदेशी विश्वविद्यालयसँग निरन्तर साझेदारी रहने उनको भनाई छ । 

सेमिनार उद्घाटनमा लुम्बिनी विश्वविद्यालयका क्याम्पस प्रमुख फणिन्द्र न्यौपाने, उपप्राध्यापक इन्द्र काफ्ले, डा. शारदा पौडेल, डा. सागर न्यौपाने लगायतले एशियाली दर्शनको विषय बोलेका थिए ।

सेमिनारमा नेपालीका तर्फबाट ८, चिनियाँका तर्फबाट १३ र ३ भारतीय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दैछन् । बौद्ध दर्शन, हिन्दु दर्शन, कन्फुयुसियजिम, ताओजिअम दर्शनका विषयमा कार्यपत्र रहेका छन् ।

सेमिनारमा चिनको बेइजिङ नर्मल विश्वविद्यालयबाट १३ जना प्रोफेसर सहभागि छन् भने नेपालको त्रिभुवन विश्वविद्यालय, संस्कृत विश्वविद्यालय र बौद्ध विश्वविद्यालयका विज्ञ तथा अध्येताहरुको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप