शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मार्क्स र उनकी पत्नीबीच यस्तो थियो प्रेमसम्बन्ध

आइतबार, ०२ मङ्सिर २०७५, ११ : ५६
आइतबार, ०२ मङ्सिर २०७५

साम्यवादका प्रवर्तक तथा महान दार्शनिक कार्ल माक्र्सकी जीवनसङ्गीनी जेनी वोन वेस्टाफालेनको जन्म जर्मनीको राइन प्रान्तको सल्ज्वेडलको एक सभ्रान्त परिवारमा १२ फेब्रुवरी, १८१४ मा भएको थियो ।
जेनीको जन्मपछि उनको परिवार ट्रिरमा सरुवा भयो । त्यहाँ उनको माक्र्स परिवारसँग परिचय भयो । बालिका जेनी आफ्ना अरू स्कुले साथीसँगै कार्ल माक्र्ससँग खेल्ने गर्थिन् । 

बाल्यकालदेखिको प्रेम जेनी २१ वर्षको र माक्र्स १७ वर्षको हुँदा परिपक्व प्रेममा परिणत भयो, परिणमस्वारूप उनीहरूले सन १८३५ को गर्मी याममा विवाह गरे । तर, उक्त सम्बन्ध अभिजात वर्गका जेनीका मातापिताहरूका लागि अस्वीकार्य हुने सम्भावना थियो ।

त्यसकारण उनीहरूले यस विवाहलाई तत्काल स्वीकार गरेनन् । जेनीले कार्ल माक्र्ससँग विवाह गरेपछि उनको जीवनले नयाँ मोड लियो ।

आफूले २१ वर्षसम्म बिताएको जीवनशैलीभन्दा नितान्त फरक तर लक्ष्यप्रति अविचल अनि कठिनाइ र अभावहरूले भरिएको जीवन उनले सुरुआत गरेकी थिइन् । 

विवाहपश्चात उनीहरू राइन् नदीको बाटो भएर अक्टोबरमा पेरिस पुगे । उनीहरू पेरिस पुगेपछि माक्र्सले पत्रिका निकाल्न सुरु गरे । १ मे १८४४ मा जेनीले उनकी जेठी छोरी जेनीलाई जन्म दिइन । त्यसबेला पत्रिकाको अवस्था पनि राम्रो थिएन ।

त्यसैले उनीहरूको आर्थिक स्थिति ज्यादै कमजोर थियो । यसैबीच १८४५ को सुरुमा उनीहरू बसेको घरमा अचानक प्रहरी आएर माक्र्सलाई २४ घन्टाभित्र पेरिस छोड्नुपर्ने भन्ने प्रसियाली सरकारको आदेश सुनाएर गयो । 

तर जेनीले पेरिस छोड्नुपर्ने कुरा त्यहाँ उल्लेख थिएन । जेनीले त्यो कठिन पलमा आफ्ना घरायसी सामानहरू बेचेर केही पैसा जम्मा गरिन् । त्यो पैसाले त्यहाँबाट उनीहरू ब्रसेल्स गए । ब्रसेल्सको बसाइमा एक राति २ जना मानिसहरू उनीहरू बसेको घरभित्र पसेर कार्ल माक्र्सलाई सोधपुछका लागि भनी प्रहरी कार्यलयमा लगे । 

त्यही रात माक्र्सलाई छुटाउन प्रयासरत रहँदा जेनीलाई पनि प्रहरीले गिरफ्तार ग¥यो र यौन व्यावसायी, पाकेटमार आइमाईहरू राखिएको हिरासतमा उनीहरूसँगै राख्यो । त्यहीँ उनले एक पुरानो जिगोर नामका साथीलाई पनि भेटिन् ।

उनका साथी जिगोरले तल हेर्न इसारा गरे । जेनी झ्याल नजिक गएर हेर्दा कार्ल माक्र्सलाई सैनिकहरूले कडा सुरक्षा दिएर अन्तै लगेको देखिन् । केहीबेरको सोधपुछपछि पनि प्रहरीले जेनीबाट केही हात पार्न सकेन र अन्त्यमा उनलाई हिरासतबाट मुक्त गर्यो ।

त्यसपछि माक्र्सको परिवार जहाँ गयो, त्यहाँबाट लखेटियो । उनीहरू सन् १८४५ मा पेरिसबाट, सन् १८४८ मा ब्रसेल्सबाट, सन् १८४९ मा क्योलनबाट र अगस्ट १९४९ मा फेरि पेरिसबाट धपाइएका थिए । एक पटक त जेनी गर्भवती भएको बेलामा पनि उनीहरू निर्वासित हुनुपरेको थियो । बसाइँ सर्न कैयौँ पटक त उनीहरूसँग पैसा नै थिएन । यस्तो अवस्थामा पनि बाध्य भएर गर्भवती पत्नी र बच्चालाई छोडेर माक्र्स २६ अगस्टको दिन लन्डन पुगे ।

एकपछि अर्को निर्वासनका कहिल्यै नटुङ्गिने शृङ्खलाहरू र खस्कँदो आर्थिक अवस्थाले पनि माक्र्सलाई कहिल्यै विचलित गर्न सकेन । सभ्याता र ज्ञानले सम्पन्न, साहित्य र कलाकी ज्ञाता जेनी माक्र्सले सन् १८७५–१८७७ मा जर्मन प्रजातन्त्रवादी अखवार (फ्रयाङ्कफर्ट जेटुङ एन्ड हेन्डल्सब्लाट)मा साहित्यिक आलोचना सम्बन्धी लेखमाला प्रकाशित गरिन् ।

त्यसमा उनले लन्डनको थिएटर जीवनबारे प्रकाश पारिन् । सेक्सपियरका नाटकहरूमा मुख्य नायकको भूमिका प्रस्तुत गर्ने कलाकार हेनरी इरभिङको उत्कृष्ट अभिनयबारे लेखिन् र ब्रिटिस बुर्जुवा दर्शकहरूको अभिरुचिको हाँसो उडाइन् ।

जेनी माक्र्सले रुसलगायत देशहरूमा मजदुर तथा क्रान्तिकारी आन्दोलनका गतिविधिबारे निगरानी राखेकी थिइन् । त्यस आन्दोलनमा आफू सक्दो योगदान पनि पुर्याएकी थिइन् ।

आफ्नी सत्यनिष्ठ जीवनसङ्गीनी तथा सङ्घर्षमा निःस्वार्थ सहभागीप्रति माक्र्सले ‘पुँजी’को दोस्रो र तेस्रो खण्ड समर्पित गर्ने मनसाय राखेका थिए भन्ने एङ्गेल्सका भनाइ रहेको छ । हुन त सर्वहारावर्गको मुक्ति सङ्घर्षमा जेनी माक्र्सको योगदान बाह्य संसारका लागि विशेष छैन । तर एङ्गेल्सले उनलाई पनि ‘सर्वहारावर्गको क्रान्तिकारी समाजवादको  पुरानो योद्धादल’मा नै गणना गरेका थिए ।

तीक्ष्ण विवेकशील मस्तिष्क, राजनीतिक विनम्रता, स्फूर्ति जोसिलो चरित्र, आफ्नो श्रीमानले सम्पूर्ण जीवन बलिदान गरेको महान कार्यप्रति बफादारी र आत्मत्याग, यी सबै कुराहरूले परिपूर्ण जेनी माक्र्सबाट फ्रेडरिक एङ्गेल्स ज्यादै प्रभावित थिए । त्यसैले त उनले जेनीलाई ‘उत्कृष्ट आत्मा भएको नारी’ भनेका थिए ।

जेनी फोक्सोको निमोनियाका कारण लामो समयसम्म बिरामी भएर ओछ्यानबाट उठ्न नसक्ने भइन् । उता माक्र्सलाई पनि कलेजोको क्यान्सर भएको थियो । डाक्टरहरूले उनको जीवन खतरामा भएको कुरा बताएका थिए । अर्को कोठामा आफ्नी पत्नी मृत्यु शैयामा सङ्घर्षरत रहँदा माक्र्स पनि रोगी थिए ।

सन १८८१ को डिसेम्बर २ का दिन लन्डनमा जेनी  स्वर्गवास भइन् । तर रोगले जीर्ण भएका माक्र्स आफ्नी प्यारी जेनीको अन्त्येष्टिमा पनि सहभागी हुन सकेनन् । 

हरेक दुःखसुखका आरोहअवरोहमा सहर्ष साथ दिने जेनीजस्तै जीवनसङ्गीनी पाउनु कार्ल माक्र्सको मात्र होइन, सबैको अहोभाग्य हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिलनकान्छा किराँती
मिलनकान्छा किराँती
लेखकबाट थप