शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपीडित लाभग्राहीले अझैं पाएनन् अनुदान

आइतबार, ०२ मङ्सिर २०७५, १९ : ५२
आइतबार, ०२ मङ्सिर २०७५

–रामहरि न्यौपाने 

बेत्रावती । शिवपुरी गाउँपालिका–५ महाकालीको विभिन्न स्थानका जोखिमबस्तीका भूकम्पपीडित लाभग्राहीले आवास पुनःनिर्माणबापतको अनुदान रकम पाउनबाट बञ्चित भएका छन् । 

विसं २०७२ वैशाख १२ को भूकम्पले महाकालीको ५४ घरधुरी परिवार भूगर्भविद्को अध्ययनबाट पहिरोको जोखिमबस्तीमा रहेको भनी राष्ट्रिय पुनःनिर्माण प्राधिरकरणले सूचीकृत गरेको थियो । 

ती परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारी पक्षबाट चासो नभएपछि जोखिमस्थानमा नै घर बनाएका लाभग्राहीले आवास निर्माणबापत पाउने अनुदान रकम पाउनबाट बञ्चित भएको शिवपुरी–५ का वडाध्यक्ष सीताराम थापाले जानकारी दिए । 

जोखिमबस्तीमध्ये आवास निर्माणको प्रक्रिया शुरु गरेका ५१ परिवारको बैंक खाता पुनःनिर्माण प्राधिकरणले रोक्का गरेको छ । 

‘पुनःनिर्माण प्राधिकरणले जोखिम बस्तीका बासिन्दालाइ बढीमा रु दुई लाखसम्म दिएर सुरक्षित स्थानमा घडेरी खरीद गर्ने भए पनि ढिलाइ गरेपछि पीडितले पहिरोको जोखिममा नै घर बनाउन बाध्य भएका हुन्’, उनले भने, छतोकिएको मापदण्डअनुसार घर बनाउनेलाई सरकारले दिने अनुदान रकम निकासाको चरणमा बैंंक खाता रोक्का गर्नाले पीडित थप मर्माहित भएका छन् ।’ 

भूगर्भविद्को अध्ययनअनुसार महाकालीका कुढारटोल, मूलाबारी र कल्लेरीमा पर्ने बस्ती पहिरोको जोखिममा रहेको प्राधिकरणले जनाएको छ । 

भूकम्पपीडित लाभग्राहीले आवास पुनःनिर्माण गर्न सरकारले दिने रु तीन लाख अनुदानको बैंक खाता गत भदौ अन्तिम साता प्राधिकरणले रोक्का गरेपछि घर निर्माण शुरुदेखि सम्पन्न गर्नेले अनुदान रकम पाउनबाट बञ्चित भएका हुन् । 

सरकारले पुनःस्थापनामा लामो समयसम्म पहल नगरेपछि जोखिम स्थानमा नै घर निर्माण गर्नु आफूहरुको बाध्यता भएको भूकम्प र पहिरोबाट पीडित स्थानीय सुमन खड्काले बताए । 

जोखिम बस्तीमा घर निर्माण गर्नेलाई शुरुआती समयमा पुनःनिर्माणले अनुदान उपलब्ध गराए पनि हाल आएर खाता रोक्का गर्नु न्यायोचित नभएको उनको भनाइ छ । 

छआर्थिक अवस्था कमजोर र बस्तीसँगै जग्गा पनि जोखिममा परेपछि खेती लगाउन नपाउँदा आम्दानीको स्रोत केही छैन’, उनले भने, ‘सरकारी अनुदान पाउने आशामा ऋण खोजेर घर बनाएको थियौं, त्यो नपाएपछि अहिले ब्याज तिर्न धौधौ भएको छ ।’

बस्तीको चारैतिरबाट पहिरो बगेको स्थानका पीडितलाई पुनःस्थापनाका लागि सुरक्षित जग्गाको खोजी भइरहेको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए । 

उनका अनुसार बस्ती नजिकै तल्लो मूलाबारीमा सुरक्षित जग्गा पाइए पनि खरीदका लागि पुनःनिर्माणले उपलब्ध गराउने रु दुई लाख रकमले घडेरीका लागि आवश्यक जग्गा नआउने भएपछि थप ढिलाइ भएको हो । 

प्राधिकरणले जोखिम बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा घडेरी खरीद गर्न बढीमा रु दुई लाखसम्म र आवास पुनःनिर्माण गर्न अनुदानस्वरुप रु तीन लाख दिने प्रावधान छ । 

जोखिम बस्तीमा घर बनाउनेलाई यसअघि लिएको अनुदान रकम फिर्ता गराउँछु भनेर लिखित निवेदन स्थानीयतहमा दिएपछि प्राधिकरणले जग्गाको खोजी अघि बढाउने व्यवस्था रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गतको निजी आवास पुनःनिर्माणसम्बन्धी अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका सूचना अधिकारी सुन्दर पोखरेलले जानकारी दिए । 

उनका अनुसार जोखिम बस्तीमा घर बनाएकालाई भदौसम्म अनुदान दिए पनि हाल खाता रोक्का गरिएको छ । ‘जोखिम बस्तीमा घर बनाएर यसअघि लिइएको अनुदान फिर्ता गर्ने शर्तमा पीडित लाभग्राहीले स्थानीय तहमा निवेदन दिनुपर्छ’, पोखरेलले भने, ‘सोही निवेदनका आधारमा स्थानीय तहले प्राधिकरणलाई जग्गा खोजीका लागि पहल गर्ने कार्यविधिमा उल्लेख छ ।’ 

भूगर्भविद्को अध्ययनका आधारमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको तथ्याङ्कअनुसार भूकम्पका कारण नुवाकोटका विभिन्न बस्तीका ३७७ परिवार जोखिममा देखिएकाले सुरक्षित स्थानमा सार्नुपर्नेछ । 

तीमध्ये महाकालीका ५१ सहित ६१ परिवारले जोखिमस्थानमा घर निर्माणको प्रक्रियामा गएकाले उनीहरुको बैंक खाता रोक्का गरी सरकारी अनुदान रोकिएको छ । 

जोखिम बस्तीमा सूचीकृत भएकामध्ये हालसम्म १९० परिवारलाई प्राधिकरणले सुरक्षित स्थानमा घडेरी खरीद गरी स्थानान्तरण गराउन शुरु गरेको छ भने बाँकीको स्थानान्तरण र पुनःनिर्माण अन्योल छ । 


नुवाकोटमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने 

निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनमा तार विस्तारका लागि नुवाकोटमा दुईदिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरण, नुवाकोट वितरण केन्द्रले सूचना जारी गर्दै यही मङ्सिर ३ र ४ गते दुईदिन नुवाकोट जिल्लाभर नै विद्युत् बन्द हुने जनाएको हो । 

त्रिशूली–काठमाडौँ प्रसारण लाइनको तार विस्तारका क्रममा जिल्लामा ६६ केभी प्रसारण लाइनमार्फत वितरण भएको स्थानीय प्रसारण तारमा छोएर दुर्घटना हुनसक्ने भएकाले दुई दिन विद्युत् आपूर्ति बन्द गर्न लागिएको केन्द्र प्रमुख सन्तोष कुमारले जानकारी दिए ।

उनका अनुसार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले आग्रह गरेअनुसार सोमबार र मङ्गलबार जिल्लाको सबै स्थानमा बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् सेवा पूर्णरुपमा बन्द गर्न लागिएको हो । 

माथिल्लो त्रिशूली थ्री ‘ए’मार्फत निर्माणको काम भइरहेको त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किटको तार विस्तारको कार्य गत कात्तिक ७ गतेदेखि शुरु गरिएको थियो । 

नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म जोड्न लैजान २०६८ साल फागुन १४ देखि निर्माण शुरु भएको २२० केभी प्रसारण लाइन निर्माण अगामी पुस १५ गतेभित्र सक्नुपर्ने बाध्यकारी अवस्था छ । 

माथिल्लो त्रिशूली थ्री ‘ए’ले आगामी माघ २६ गते पहिलो युनिटमार्फत ३० मेगावाट विद्युत् उत्पादन गर्ने भएकाले सो विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन तोकिएको समयमा प्रसारण लाइन निर्माण सम्पन्न गर्न कार्य तीव्र बनाएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिए । 

सो प्रसारण लाइनमार्फत नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत् एकै केन्द्रमार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमी प्रसारण लाइन निर्माणको काम हाल ९० प्रतिशत सम्पन्न भएको छ ।

ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई) मार्फत रु दुई अर्ब ५० करोड लगानीमा निर्माणको काम भइरहेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप