शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दण्डकारण्यका साथीहरू माझ

मङ्गलबार, १० साउन २०७४, १० : ४४
मङ्गलबार, १० साउन २०७४

विकल्पसँगको भलाकुसारीपछि गौतम र मलाई खाना खाने ठाउँँतिर पठाइयो । हामी दिनभरिको यात्राले असाध्यै थाकेका थियौँ । खाना खाइसकेपछि म डायरीमा यात्राबारे कोर्न लागेँ । गौतम अघि नै घुर्न थालिसकेछ । 

कास्मिरदेखि कन्याकुमारी, कुहिमादेखि कच्छसम्म फैलिएको विशाल भारत हजारौँ जाति जनजाति र असङ्ख्य क्षेत्रीय र भाषिक सांस्कृतिक विविधताले भरिएको एसियाली मुलुक हो । संसारकै ठूलो लोकतन्त्रिक मुलुक भनिए पनि दण्डकारण्य क्षेत्र वरपरको लोकतान्त्रिक हावामा लोकतन्त्रभन्दा दमनको गन्ध आइरहन्थ्यो । निलो आकाशलाई कर्पोरेट लुटको कालो छायाँ र सैन्य यातनाका गुँजहरूले छोपिसकेका थिए । 

समग्रमा निलो आकाश डरलाग्दो आकाशमा परिणत भइसकेको थियो । हामी कथित लोकतान्त्रिक मुलुकको कालो आकाशमुनि सास लिइरहेका थियौँ । 

नेपाली समाजमा देखेको गरिबीभन्दा कठोर गरिबी, महाशक्तिको होडमा छिमेकीलाई सताइरहेको भारतीय राज्यको राज्यविहीनता म दण्डकारण्यमा स्पष्ट देखिरहेको थिएँ । भारतीय राज्यसत्ताका अवयवहरू त्यहाँ सक्रिय थिए, जहाँ उनीहरू नभए पनि केही फरक पर्दैन्थ्यो । तर ती त्यहाँ सक्रिय थिएनन् जसलाई लोककल्याकारी राज्यको न्यूनतम मापदण्ड मानिन्छ । 

जल, जङ्गल, जमिन र त्यहाँका आदिवासीको संरक्षणमा आधुनिक भनिएको पुरानो सोचले ग्रसित भारतले प्रशस्त उदासिनता देखाएको थियो । भोलिपल्ट कबिराको चिनजानका एकजना वकिलले हामीलाई त्यस वरपर भएका सैन्य ज्यादती र माओवादीहरूले गर्ने फौजी कार्यवाहीको परिणामबारे हामीलाई बताए । 
त्यसपछि शङ्खिनी र डङ्किनी नामका दुई नदीको काखमा रहेको दन्तेवाडाको दन्तेश्वेरी मन्दिरमा हामी केहीबेर घुम्न गयौँ । त्यस दिन दिउँसोको खानापछि रातिको निन्द्रा नपुगेकाले म सुत्न गएँ । अपरान्ह ३ बजे अचानक हामी ओडिसा–छत्तिसगढ जोनल कमिटीका सदस्य नागेश रहेको स्थानतर्फ जानु पर्ने भयो । 
गौतम अलिक आत्तिएर मतिर हेर्दै थियो । हिजो त राति–राति हिँडियो आज दिउँसै जङ्गलको बाटो नयाँँ अनुहार लिएर हिँड्नु कम गाह्रो थिएन । बेलाबेलामा नजिकैको राष्ट्रिय निकुञ्जमा सीपीआरएफ (सीआरपीएफ) र सलवा जुडुमका क्याम्पबाट फायरिङ्गको आवाज आउँथ्यो । 

मैले हामी अब जगदलपुर हुँदै रायपुरतिर जान्छौँ होला भनेर सोचेको थिएँ । तर योजना त्यसको विल्कुल उल्टो रहेछ । हामी त दन्तेवाडाभन्दा पनि उत्तै बिजापुर जानुपर्ने रहेछ । विजापुर बजार क्षेत्रबाट लगभग १ घण्टाको मोटरको यात्रापछि हामी एउटा सुनसान सडकमा उत्रियौँ । 

गौतम, कबिरा र म रवि भन्ने एउटा सादा पोसाकका माओवादी छापामारसँग अर्को आधा घण्टा पैदल हिँड्यौँ । हाम्रो अगाडि पातलो बस्ती भएको एउटा गाउँ थियो । पहाड भनौँ भने नेपालको जस्तो भीरपाखा पनि होइन र समथर भनुँ भने कतै समथर छैन । तर मानिसहरू भने कति मिलनसार ।


सालका ठुटाहरू गाँसेर बनाएको बस्ने मेच झुप्राको पालीमा राखिएको थियो । हाम्रो गाइड बनेका रविले त्यो मेच निकाले र हामी सुस्तायौँ । सालको पातले बनाएको टपरीमा जङ्गली तरुल हाम्रा अगाडि आइसकेको थियो । स्थानीय आदिवासी गृहिणी हाम्रो सत्कार तन्मन्यताले गर्दै थिइन । उनीसँग दिनलाई मन र मायाबाहेक अरू कुराको पक्कै पनि धौ–धौ थियो । 

नेपालमा जनयुद्ध चलिरहँदा सर्लाहीको उत्तरी भेग अत्रौली, डाबरी हुँदै क्यामानचुलीको बाटो भएर सिन्धुलीको मरिन पुग्ने माओवादी छापामारको भूमिगत बाटोमा पाइने केही जङ्गली तरुल र पानी अमला त कति खाइयाथ्यो तर बिजापुरको जङ्गली तरुल अनि आदिवासीको फरक शैलीले ममा ‘एक फाँको सातु दिएको भोकमा सम्झना जुनीभरिलाई’ भनेझैँ मानसपटलमा ताजै छ ।

केही बेरको आरामपछि हामी फेरि रविको कमाण्डमा जङ्गल बीचबीचै मान्छे हिँडेको डोब पहिल्याउँदै हिडिरह्यौँ । दिल्ली छोडेर यहाँको यात्रा गर्दासम्म मेरो दिमागमा एउटै कुरा खेली रह्यो– राज्यले दमन गरेमा आखिर मान्छे व्यवस्थाविरुद्ध विद्रोहमा आइहाल्छ । त्यसपछि विद्रोह र दमनको चक्र छँदैछ । 
चे ग्वेभाराले भनेको सम्झन्छु– तिमीहरू यहाँँ मलाई मार्न आएका हौ, मार डरपोकहरू हो । तिमीहरूले एउटा साधारण मान्छे मार्दैछौ र विद्रोही जन्माउँदैछौ । 

राज्यसत्ता जहिले पनि गरिब आदिवासीहरूको इच्छामा कुठाराघात गर्छ । आदिवासी भने जमिन जङ्गलबाट हामीलाई बेदखल नगर भनिरहन्छन् । जब जब गरिबले आवाज उठाउँछ उसमाथि सत्ताले शक्तिको निर्मम लठ्ठी बर्साइरहन्छ । अहिले लठ्ठी बर्साउनेमा गृहमन्त्री पी चिदम्बरम छन् । 
दण्तेवाडा र बिजापुर आसपासका आदिवासी जनजातिप्रतिको भारतीय राज्यको रबैया यही क्रूरताबाट सुरु हुन्छ र यही क्रूरतामा सकिन्छ । लोकतन्त्र त देखाउने र शोषण गर्ने दाँत हो आदिवासी र गरिबहरूको नजरमा । सबै आदिवासी जङ्गलमा बस्छन् । तर अप्रेसन ग्रिनहन्ट र अप्रेसन ग्रेहाउन्डमा खटिएका सबै सुरक्षा बलले जङ्गलमा बस्नेलाई माओवादी मात्र देख्छ । 

हामीले नागेशलाई भेट्यौँ । उनी अलिक ख्याउँव परेका दखिन्थे । पहिलो नजरमा यसले पनि के गरी खाला र ? भन्ने कुरा मनमा खेल्नु स्वभाविकै लाग्यो तर म गलत थिएँ । राजनीतिक छलफलमा उनी निकै पोख्त भएझैँ प्रस्तुत भए । तर मैले यो युद्ध कहिलेसम्म टिकाइ राख्न सम्भव होला भनेर सोधेको रणनीतीक प्रश्नको उत्तर भने उनले दिन चाहेनन् । यसको उत्तर भोलि दिउँला है मात्रिकाजी भनेर उनले कुरा अन्यत्र मोडे ।

जोनल कमिटीका अर्का सदस्य चारुलाई भने यो प्रश्नले निकै छोएछ । उनी पछिसम्म पनि यसबारे गफिरहेका थिए । कुरा फिडेल क्यास्त्रो, चे ग्वेभारा हुँदै नेपाली जनयुद्धसम्म पुग्यो । चारु हामी विस्वस्त छौँ भन्दै दृढता व्यक्त गर्दै थिए । 

नेपालको जनयुद्धको कुरा हुँदा उनले एउटा तीतो हामीलाई सुनाए– अब नेपाली कमरेडहरू हाम्रा दुस्मन झैँ भएका छन । यो क्रान्तिप्रतिको उहाँहरूको विचलन हो । छलफल गर्दागर्दै रातको १० बजेछ ।      

          
भोलिपल्ट गौतम, कबिरा र म बिजापुरबाट दन्तेवाडा आयौँ । कबिराले चिनेको वकिलको सहयोगमा हामीलाई रायपुरसम्म लगिदिन एउटा जिपको बन्दोबस्त गरिएको रहेछ । रायपुरबाट हामी जबलपुर हुँदै त्यसको भोलिपल्ट दिल्लीतर्फ लाग्यौँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मातृका पौड्याल
मातृका पौड्याल

लेखक नेकपा माओवादी केन्द्र, विदेश विभाग सदस्य एवम् परराष्ट्र मामिलाका अध्येता हुनुहुन्छ ।
 

लेखकबाट थप