केन्द्रीय संस्करण
सन्दर्भ: २०१७ पुस १ काे शाही कू

प्रतिगमनको काँचो वायु

person explore access_timeपुस १, २०७५ chat_bubble_outline0

फर्सीमा चोट लागेको छैन भने त्यसलाई ‘बोक्सी’ले पनि कुहाउन सक्दैन । गाउँघरतिर अत्यन्तै प्रचलित रहेको एउटा भनाइ हो यो । यो भनाइले भूतप्रेत, बोक्सी, जादूटुना जस्ता घोर अवैज्ञानिक, अन्धविश्वासी र पछौटे चिन्तनलाई प्रतिनिधित्व गर्ने गर्छ । तर जब जब नेपालमा स्वनामधन्य नेताहरुको मुखबाट नेपालमा प्रतिगमनको खतरा बढेको, राजतन्त्र फर्कने सम्भावना रहेको जस्ता चिन्ताको बाढी ओकिलिएको सुन्छु, मलाई गाउँघरतिर प्रचलित त्यो अन्धविश्वासी भनाइको सम्झना आइहाल्छ ।

समाज विकासको सामान्य नियम नै होः एउटा गतिशील, चलायमान समाजमा सधैं अगाडि बढ्ने र पछि फर्कने खोज्नेको बीच द्वन्द्व चलिरहेको हुन्छ । नेपालको हकमा पनि यो सत्य हो । हिजो राज्यसत्तामा एकल हालीमुहाली चलाएका, राज्यको सम्पूर्ण स्रोत, साधन र सम्पत्तिहरुमाथि एकाधिकार कायम गरेर लूटको ‘स्वर्ग–सुख’मा बाँचिरहेका मुठ्ठीभर सम्भ्रान्त वर्गहरु र ती वर्गहरुको छत्रछायामा मात्रै आफ्नो लोक –परलोक सुरक्षित हुने मीठो भ्रममा बाँचिरहेका सीमित जनहरुले अहिलेको राज्य–व्यवस्थालाई नरुचाउनु, यो राज्य–व्यवस्थालाई ध्वंश गरेर पुरानै राज्य व्यवस्थालाई फर्काउने लालसासहित त्यसका लागि न्वरानदेखिको बल निकालेर त्यस दिशातर्फ प्रयत्न गर्नु कुनै अनौठो कुरा होइन । समाजविज्ञानको नियमअनुसार यस्तो हुनु अति सामान्य कुरा हो । इतिहासलाई फर्केर हेर्ने हो भने, युगीन सामाजिक आर्थिक उत्पीडनका विरुद्ध भएका परिवर्तनहरुले सही गति, दिशा र ढंग पक्रन नसक्दा त्यस्ता परिवर्तनहरु संस्थागत हुन नसकेको र प्रतिगमनले पुनः शिर उठाउन सफल भएका दृष्टान्तहरु विश्वमा अनि नेपालमै पनि पर्याप्त पाइन्छ । खासगरी, समाज परिवर्तनका लागि लडेकाहरु आम जनताका इच्छा, आकांक्षा, चाहना र आवश्यकताहरुलाई सम्बोधन गर्दै समाज परिवर्तनको महान् यज्ञमा आफूलाई होम्नुको साटो आफ्नो निजी  र आसेपासेहरुको लोकपरलोक सुधार्ने चिन्तामा मात्रै लिप्त हुने गरी परिवर्तित हुँदा अग्रगामी भनिएका परिवर्तनहरुले पनि बल्ड्यांग खाएर पुरानै शासन व्यवस्था फर्केको वा नयाँ ढङ्गको प्रतिगमनकारी शासन व्यवस्था लादिएको दृष्टान्तहरु छरपष्ट पाइन्छ । उदाहरण हेर्नका लागि धेरै पर पुग्नै पर्दैन, संसारलाई हल्लाउने गरी सोभियत रुसमा भएको महान् अग्रगामी परिवर्तनले बल्ड्यांग खाएको घटना, कम्बोडियामा फ्याँकिएका राजतन्त्रका प्रतिनिधि राजकुमारलाई बोलाएर राष्ट्रपति बनाइएको घटनाहरु अनि अझ पर जाने हो भने बेलायतमा फ्याँकिएका राजतन्त्रलाई पुनःस्थापित गरिएका जस्ता घटना यी कुराहरुको दशी प्रमाण हुन् ।

संघीय गणतन्त्रमा प्रतिगमनको सबैभन्दा ठूलो खतरा कतैबाट छ भने अहिलेका सत्तासीन र सत्ता बाहिर रहेका तर सत्तामा जानका लागि ‘सुरसाको मुख’ खोलेर बसेका राजनीतिक दलहरु तथा तिनको जनविरोधी प्रतित हुने खालका क्रियाकलापबाटै छ ।

संघीय गणतन्त्रमा प्रतिगमनको सबैभन्दा ठूलो खतरा कतैबाट छ भने अहिलेका सत्तासीन र सत्ता बाहिर रहेका तर सत्तामा जानका लागि ‘सुरसाको मुख’ खोलेर बसेका राजनीतिक दलहरु तथा तिनको जनविरोधी प्रतित हुने खालका क्रियाकलापबाटै छ । लामो समयदेखि चलेको जनआन्दोलन, जनसंघर्ष तथा जनयुद्धको संयुक्त जोडबलबाट इतिहासको रछ्यानमा फ्याँकिइसकेको राजतन्त्र निभिसकेको त्यो बत्ती हो, जो पुतपुताउन त सक्छ, तर आफ्नै जोडबलले मात्रै त्यो पुनः बल्न वा जाग्न सम्भव छैन । त्यसैले राजतन्त्रको काँचो वायुले उतर्सिएर मुलुकमा पुनः प्रतिगमन हुने खतराको हौवा फैलाउनु वा आतंकित हुनुको सट्टा नेपालका सत्ता–खेलाडीहरुले आफ्नो व्यवहार र कर्ममा सुधार गर्नु, त्यसलाई अधिकतम् जनमुखी बनाउने प्रयत्न गर्नु र मुलुकको शासनसत्ता हिजोको जस्तो मुठ्ठीभर चुसी खाने वर्गको नभई बहुसंख्यक खटीखाने जनताको पक्षमा छ भन्ने कुराको व्यवहारमा प्रत्याभूत गर्नु जरुरी छ । हिजो परिवर्तनका लागि संघर्षहरुको उठान र नेतृत्व गर्दाखेरि आफूहरुले गरेको बाचा, जनतामाझ जगाएका आशाहरुलाई व्यवहारमा कार्यान्वयन गर्दै जानु, त्यसक्रममा आफूलाई साथ दिने जनसमुह तथा योद्धाहरुको पीडामर्मलाई सही ढंगले सम्बोधन गर्न तत्पर भई व्यवहारतः त्यसलाई सम्बोधन गर्ने प्रक्रियाको थालनी गर्नु र हिजो परिवर्तनका लागि भएका आन्दोलन संघर्षहरुमा साथ दिने ठूलो हिस्साले परिवर्तनको प्रक्रिया र प्रतिफलबाट आफू बहिष्करणमा परेको अनुभूत गर्ने अवस्थालाई अन्त्य गर्नु पनि उत्तिकै जरुरी छ ।

हिजो युगीन सामाजिक आर्थिक शोषणको अन्त्यको लागि आफूलाई साथ दिने सहयात्रीहरु एवं आम जनताको काँधमा टेकेर अहिले शासन सत्ताको सुखभोग भोग्ने मौका पाएका नेताहरुले यसलाई जनताको टाउकोमा गीर खेल्ने अवसर ठानेर ‘नयाँ बोतलमा पुरानै रक्सी’को शैलीमा व्यवहार गर्न नछोड्ने हो भने, हिजोको राजसी अन्दाजमा आफूलाई ढालेर जनताबाट पूरै कट्निे, आफूलाई नवसम्भ्रान्त वर्गमा रुपान्तरित गरेर आफू आम जनताभन्दा नितान्त भिन्न वर्गको रुपमा स्थापित गर्दै लाने हो भने अहिले नेताहरुले स्याल हुइँया गर्न थालेको प्रतिगमन साँच्चै नै नयाँ रुपमा अवतरित हुन कुनै आइतबारले छेक्ने छैन । त्यसै गरी, इतिहासबाट पाठ सिकेर आफूलाई नसच्चाउने, संस्कार बचाउने नाममा सीमित वर्गको मात्र प्रतिनिधित्व गर्ने र तिनलाई मात्रै रिझाउने खालका हिजोको राजतन्त्रले अंगालेका कुहिगन्धे संस्कारहरुलाई ग्वार्लाम्मै अंगाल्न नछोड्ने हो भने फेरि पनि त्यसले जनताका शासनव्यवस्थाप्रति आशा र अपनत्व जगाउने छैन, बरु त्यसले उल्टै प्रतिगमनको लागि आधारभूमि मात्रै तयार गरिदिनेछ ।

त्यसैगरी, समृद्धिको बखान गर्ने तर त्यसलाई व्यवहारमा जनतालाई त्यो कुरा अनुभूत गराउने क्रियाकलापहरुतिर आफूलाई होम्नु र ध्यान केन्द्रीत गर्नुभन्दा  ‘मोस्ट वान्टेड’ अपराधीको तस्बिर झुण्डाएरजस्तै गरी पोलमा तस्बिर झुण्डाएर मूतको न्यानोमा रमाउने प्रवृत्तिलाई बढावा दिन थाल्ने हो भने त्यसले जनतामा आशा, उत्साह उमंगको सट्टा उल्टै निराशा, कुण्ठा र क्रोध पैदा गराउन सक्छ भन्ने कुराको हेक्का सत्ता सत्तासञ्चालक तथा तिनका सल्लाहकार–शुभचिन्तकहरुले राख्नै पर्छ । विश्वप्रसिद्ध बादशाहको नांगो पोशाक कथाका चाटुकार ‘क–कस’ भारदारहरुको हावादारी गफ सुनेर नांगै हिँड्ने बादशाहको पदचाप पछ्याउनेतिर लाग्नुको सट्टा कतै भुइँतहका जनताले आफूहरुतिर हेरेर ‘राजा त नांगै पो छ’ भन्ने बालकले जस्तै साँचो र सत्य कुरा त भनिरहेका छैनन् भन्ने कुराको चेत, हेक्का अनि डरशंका सत्ता सञ्चालकहरुले हरक्षण राखिराख्ने हो भने जनतामा कुण्ठा, निराशा र क्रोध जाग्ने खालका क्रियाकलापहरुमा स्वतः अंकुश लाग्नेछ । त्यसको सुखद परिणाम के पनि हुनेछ भने, त्यो स्थितिमा प्रतिगमनले आफ्नो शिर उठाउने आधारभूमि तयार हुने सम्भावना स्वतः निषेध हुनेछ र अन्ततः सत्तासञ्चालकहरुले ‘प्रतिगमनको काँचोवायु’बाट उतर्सिनुपर्ने वा त्यो सम्भावनाको कोकोहोलो मच्चाएर आफ्ना असक्षमता, कमजोरी र कुण्ठालाई ढाकछोप गर्नुपर्ने अवस्था नै आइलाग्नेछैन ।

हेक्का राख्नै पर्ने कुरा के हो भने, कुनै पनि वस्तुको ध्वंश हुनुमा बाह्यभन्दा पनि आन्तरिक कारण नै प्रधान हुने गर्छ । जबसम्म शरीर स्वस्थ रहन्छ, किटाणुहरुले जतिसुकै जोडबल र आक्रमण गरे पनि स्वस्थ शरीरलाई ढलाउनै सक्दैन ।

देश र जनताका लागि लडेका भनिएका तथा परिवर्तनका लागि भएका जनसंघर्ष – सशस्त्र संघर्ष – जनयुद्धका भट्टीहरुबाट खारिएर आएका राजनीतिज्ञ तथा सत्ताका वर्तमान खेलाडीहरुले आफूलाई आमजनताभन्दा फरक र उँचो, भिन्न ग्रहबाट आएका विशिष्ट प्राणी हौं भन्ने भ्रम त्याग्ने हो र पुराना सत्ताका अवशेषका रुपमा रहेका कर्मचारीतन्त्र एवं सुरक्षा संयन्त्रले लादेका आम जनतासँग पूरै कटाउने खालका जनविरोधी सुरक्षा प्रणाली एवं तथाकथित् पोर्टफोलियोलाई पुराणहरुमा वर्णित मरिसकेको सतिदेवीलाई महादेवले च्यापेजस्तै गरी अंगाल्ने मोह त्याग्ने हो भने त्यसले आम जनतासँग हरदम भुँइतहसम्मै जोडिएर रहिरहने वातावरण स्वतः सिर्जना गर्ने छ । यो भनेको फेरि पनि प्रतिगमनले फणा उठाएर खडा हुने मलिलो भूमि बन्न नपाउने स्थितिको सिर्जना हुनु नै हो । हिजो जनसमर्थन र जनसंघर्षको भर्याङ्ग चढेर सत्ता सुख भोगिरहेका तथा भोग्न लालयित हाम्रा सत्ताका खेलाडीहरुले हरदम जनताले आफूलाई निगरानी गरिरहेको हुन्छ र हरदम आफू परिक्षामा उत्रिरहेका हुन्छौं भन्ने हेक्का राख्नु अति जरुरी छ । यस सन्दर्भमा बालबालिकाहरुका लागि लेखिएको तर जीवन र जगतमा सबैका लागि उत्तिकै सान्दर्भिक र लागू हुने प्रसिद्ध प्रगतिशील साहित्यकार श्यामप्रसादको यो कविता उल्लेख गर्नु पनि उचित नै होलाः

स्कुलमा मात्र होइन घरमा पनि जाँच हुन्छ

बाटोघाटो हिँड्दा पनि मानिसको जाँच हुन्छ

खान बस्दा, खेल्न लाग्दा, कुरा गर्दा जाँच हुन्छ

पाइलैपिच्छे जहिले पनि तिम्रो हाम्रो जाँच हुन्छ

बढ्ता भई उम्लिएर फुइँ गर्ने फेल हुन्छ

अरुलाई पनि गन्ने नम्र मान्छे पहिला हुन्छ ।

(केटाकेटीका गीतहरुबाट)

हेक्का राख्नै पर्ने कुरा के हो भने, कुनै पनि वस्तुको ध्वंश हुनुमा बाह्यभन्दा पनि आन्तरिक कारण नै प्रधान हुने गर्छ । जबसम्म शरीर स्वस्थ रहन्छ, किटाणुहरुले जतिसुकै जोडबल र आक्रमण गरे पनि स्वस्थ शरीरलाई ढलाउनै सक्दैन । विज्ञानको यो सामान्य नियमलाई ख्याल राख्ने हो र त्यसअनुसार, आफूले विगतमा जनतासामु गरेका वाचाहरु अनि खाएका कसमहरुलाई सम्झेर त्यसअनुसार आफ्ना व्यवहार र आचरणलाई ढाल्ने हो भने नेपालमा प्रतिगमनले शिर उठाउन सम्भव छैन । तर हरेक जनसंघर्ष, सशस्त्र संघर्षहरुपछि आधा अपूरो सम्झौतामा भएका परिवर्तनले आम जनतामा परिवर्तनको थोरै अंश मात्र पुग्ने तर त्यस परिवर्तनको नेतृत्व गरेका वर्ग चाहिँ पुराना शासक वर्गलाई विस्थापन गरेर वा तिनीहरुसँगको गठजोडमा नवसम्भ्रान्त शासक वर्गमा परिणत हुने अहिलेको स्थिति र प्रवृत्तिमा रोक नलाग्ने हो भने त्यसले अनिवार्यतः निम्त्याउने परिणाम भनेको नयाँ रुप वा आवरणमा हुने प्रतिगमन या त मुलुकलाई साँचो अर्थमा परिवर्तको दिशातिर डोर्याउने अर्को भीषण हिंसात्मक द्वन्द्व नै हो । त्यसैले नेपालमा प्रतिगमन भइहाल्यो भने, त्यो बाहिरी जोडबलको कारण हुनेछैन, त्यसको मुख्य जड कारण, परिवर्तनकारी भनिएका शक्तिहरु आफैंको प्रतिगमनलाई आधारभूमि खडागरिदिने क्रियाकलाप नै  हुनेछ भन्ने कुराको हेक्का राखिनु अति जरुरी छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...