शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन हाइड्रो एक्स्पो २०१९ः सयभन्दा बढी स्टल बुकिङ्ग

बिहीबार, २६ पुस २०७५, १६ : २२
बिहीबार, २६ पुस २०७५

काठमाडौं–स्वतन्त्र उजाृ उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेजले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

एक्स्पोमा सहभागि हुन ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टल बुकिङ्ग गरेका छन् । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आगामी माघ ४ गतेबाट सुरु हुने एक्स्पोमा १ लाख बढीले अवलोकन गर्ने आयोजनकको विश्वास छ ।

एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा बीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहनेछ । जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन गइरहेको एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् ।

साथै  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी लि. तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् । 

चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुँदै छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ ।

आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने छन् । 

यसका अलावा विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र  रहेका छन ।

यसै गरी एक्स्पोमा सहभागि भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

यो अभियानका साथै समग्र एक्स्पोले हाइड्रो टूरिजममा नेपाललाई विश्व बजारमा चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।  जलविद्युत उत्पादनको गति तिब्र भईरहेका बेला आयोजना निर्माणमा महत्वपुर्ण योगदान दिँदै मुलुकलाई जलविद्युतमा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने लक्ष्यमा अघि बढ्न एक्स्पोले टेवा पुर्याउने विश्वास आयोजकको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप