शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसङ्घको म्याद माघ १० गतेसम्मलाई थपियो

बुधबार, ०२ माघ २०७५, २३ : ०३
बुधबार, ०२ माघ २०७५

काठमाडौँ– नेपाली काङ्ग्रेसले आजदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । 

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत मङ्सिर २ गतेको बैठकको निर्णयबाट नेविसङ्घ केन्द्रीय समितिको थप गरिएको दुई महीनाको पदावधि आज माघ २ गतेसम्म कायम थियो । काङ्ग्रेसले सङ्घ केन्द्रीय समिति तथा मातहतका निकायको पदावधि आजसम्म मात्र भए पनि अब उप्रान्तका लागि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आगामी माघ १० गते बस्ने बैठकले निर्णय गरेअनुसार हुने गरी दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको हो । काङ्ग्रेस केन्द्रीय समितिको बैठक माघ १० गतेका लागि बोलाइएको छ । 

यस अघि नेविसङ्घको केन्द्रीय नेतृत्वले महाधिवेशनको मिति पटकपटक घोषणा गर्ने तर समयमा गर्न नसक्ने देखिएपछि पदाधिकारी र सदस्यले शृङ्खलाबद्ध रुपमा पदबाट राजिनामा गरेका थिए । 

काङ्ग्रेस सभापति शेरबहादुर देउवा समक्ष सङ्घका सात पदाधिकारीले गत पुस २७ गते पदबाट राजीनामा गरेको दुई दिनपछि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष ४५ केन्द्रीय पदाधिकारी तथा सदस्यले पनि पदबाट सामुहिक राजीनामा बुझाउनुभएको थियो । नेविसङ्घको वर्तमान केन्द्रीय कार्यसमिति १६६ सदस्यीय छ । 

वर्तमान कार्यसमितिको विसं २०७३ भदौ २ गते दुई वर्षे कार्यकालका लागि निर्वाचन भएको थियो । गत भदौ २ गते कार्यकाल समाप्त भएपछि विधान तह तीन महीना र पछि पार्टीको पहलमा दुई महीना समयावधि थप भएको थियो । 

वर्तमान कार्यसमितिले गत पुस २८, २९ र ३० गते महाधिवेशन गर्न मिति तय गरे पनि एकातिर उक्त समयमा महाधिवेशन हुन सकेन भने अर्कातिर वर्तमान कार्यसमितिको समयावधि नै माघ २ गते समाप्त भएकाले पार्टीले तत्काल दैनिक काम गर्न निर्देशन दिएको पार्टी कार्यालयले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप