शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेड बढ्यो बढेन बजेट : सकसमा भरतपुर क्यान्सर अस्पताल

बुधबार, २९ फागुन २०७५, १३ : ०४
बुधबार, २९ फागुन २०७५

काठमाडौँ । सफा सडक । रातो र सेतो कलर पोतिएका लाइनबद्ध अशोकका बोट ।  वरिपरि हराभरा फूल र बगैँचा । सुरुमा जाँदा धेरैलाई अस्पताल आएको मान्छे अर्काे ठाउँमा झुक्किएर आइयो कि क्या हो भन्ने महसुस हुन्छ । यो दृश्य हेर्दा अस्पताल होइन रिसोर्टमा पसेको भान हुन्छ । यस्तो पनि अस्पताल हुन्छ भन्ने कुरा कमैले कल्पना गरेका थिए होलान् । तर भरतपुरको क्यान्सर अस्पतालको बाहिरको दृश्य निकै लोभलाग्दो र सुन्दर छ ।

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दैनिक ६ सयले उपचार सेवा लिँदै आइरहेका छन् ।

सन् १९९८ मा चाइना सरकार र नेपाल सरकारको सहकार्य स्थापना गरिएको यस क्यान्सर अस्पतालले देशको आधाभन्दा बढी क्यान्सर रोगीको उपचार गर्दै आइरहेको छ । क्यान्सर परीक्षणदेखि अप्रेसन, किमोथेरापी र रेडियोथेरापीलगायतको सेवा प्रदान गर्दै आइरहेको छ ।  

यो वर्ष २५६ बेड थपियो

बीपी मेमोरियल क्यान्सर अस्पताल सय बेडबाट सुरु गरिएको हो । त्यसपछिका क्यान्सर अस्पतालका सबै काम नेपाल सरकारले नै हेर्दै आएको छ  । हाल यो अस्पताल ४ सय ५० बेडमा विस्तार गरिएको छ ।

नेपाल सरकारबाट क्यान्सर अस्पतालको नाममा दुई किसिममा बजेट विनियोजन गर्ने गरिन्छ ।  गएको वर्ष सरकारले क्यान्सर अस्पतालाई ३१ करोड ६० लाख रकम विनियोजन गरेको थियो । यो रकम अघिल्लो आ.व. भन्दा केही कम हो । अर्थमन्त्रालयले उठाउँदै आएको सुर्तीजन्य पदार्थ र मादक पदार्थको हेल्थ ट्याक्स सबै क्यान्सर अस्पतालले पाउने गरेको थियो । यो निणर्य स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य करकोष स्थापना गरी अस्पताललाई दिने भनिएको थियो ।

तर अहिले सरकारले सो नियमलाई मिचेर कर कोषमा उठेको रकम सुर्तीजन्य पदार्थबाट हुने रोगलाई उपचार गर्ने अस्पताललाई दिने भन्ने नयाँ निर्देशिका बनाइयो । आ.व. २०६७÷०७८ बाट क्यान्सर अस्पताललाई आउँने गरेको रकम सबै अस्पताललाई बाँढ्न थालियो । गत वर्ष क्यान्सर अस्पतालको भागमा २७ करोड ५० लाख परेको थियो । यो वर्ष भने क्यान्सर अस्पतालले २५ करोड रकम करकोषबाट परेको छ । सेवा विस्तार गर्दै जाने तर बजेट घट्दै जाँदा सेवा सञ्चालमा समस्या हुने अस्पतालका कार्यकारी निर्देशक क्यान्सर रोग विशेषज्ञ डाक्टर विजयचन्द्र आचार्य  बताउँछन् ।

३० करोड आम्दानी, ३५ करोड तलब भत्ता

केही समय पहिला पर्याप्त उपकरण नभएको हुँदा सेवा प्रभावकारी नभएको क्यान्सर अस्पतालमा गुनासो नआएको होइन । पछिल्लो समय उपकरण थप गरेपछि उपचार सेवामा खासै गुनासो नआउने गरेको अस्पतालको दाबी छ ।

 हाल अस्पतालले वार्षिक आन्तरिक आम्दानी ३० करोड गर्ने गरेको छ । यो वर्ष अस्पतालको पूर्वाधार र उपकरण थपिएको हुँदा आउँदो वर्षमा ४० करोड आम्दानी हुने अस्पतालको अनुमान छ । कर्मचारीको तलब भत्ता शीर्षकमा बजेट नआउने हुदा अहिले अस्पतालको आन्तरिक स्रोतबाट तलब भत्ता खुवाइने गरेका अस्पतालले जनाएको छ । ७ सयको हाराहारीमा रहेका कर्मचारीलाई वार्षिक ३५ करोड तलब भत्तामा नै सकिने निर्देशक डा. आचार्य बताउँछन् । 

क्यान्सर प्रतिष्ठान बन्नुपर्छ

अब प्रभावकारी सेवातर्फ क्यान्सर अस्पताल जानुपर्ने अवस्था देखिन्छ । यसअन्तर्गत क्यान्सर रोगको उपचार गर्ने विद्यार्थीको र विशेषज्ञ उत्पादनका लागि क्यान्सर अस्पताललाई क्यान्सर प्रतिष्ठानमा लानुपर्ने अस्पतालको माग रहेको छ । पूर्वाधार, जनशक्ति र प्रशस्त जग्गा भएको हुँदा पनि क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूपमा अघिसार्न सके नेपालले क्यान्सर उपचारको क्षेत्रमा फड्को मार्न सकिने अस्पतालको विश्वास छ । यसका लागि स्वास्थ्य मन्त्रालय र नेपाल सरकारसँग प्रतिष्ठानको विषयमा छलफलको काम पनि भइरहेको छ । क्यान्सर  अस्पताललाई प्रतिष्ठान बनाएको खण्डमा क्यान्सरको अध्ययन अनुसन्धानको कामलाई अघिसार्न सकिने छ ।

उपत्यकाबाहिर हुँदा सरकारले यस अस्पतालमा हेर्ने दृष्टिकोणमा पनि धेरै फरक भएको अस्पतालको भनाइ छ । क्यान्सर अस्पताल केन्द्रस्तरीय अस्पताल भए पनि सरकारले विनियोजन गर्ने हरेक कार्यक्रममा अन्य अस्पतालाई भन्दा कम बजेट आउने गरेको अस्पतालको गुनासो छ । निर्देशक आचार्य भन्छन्, ‘कि त सरकारले आफ्नै तरिकाले अस्पताल सञ्चालन गर भन्न सक्नु प¥यो होइन भने केन्द्रको अन्य अस्पतालसरह नै यसलाई हेर्नुपर्यो ।’

लोक सेवाबाट कर्मचारी भर्ना

भरतपुर क्यान्सर अस्पताल नेपाल सरकारको अनुदानमा सञ्चालन भएको स्वायत्त संस्था हो । यस अस्पतालमा कर्मचारी भर्ना, उपकरण खरिद सबै नेपाल सरकारको नियम कानुनबाट हुँदै आएका छन् ।

स्वायत्त संस्था भए पनि सरकारको नीति नियमअनुसार चल्नुपर्ने अर्काेतिर नागरिकले यस अस्पतालबाट निजी अस्पतालसरहको सेवा खोज्ने हुँदा सेवा सञ्चालनमा केही असर भएको हो कि भन्ने भान अस्पताललाई भए पनि आफूहरूले निजी अस्पतालसरह नै नागरिकलाई सेवा दिएको बताउँछन् ।

सरकारी मूल्याङ्कनमा अन्य सरकारी अस्पतालको तुलनामा क्यान्सर अस्पतालको सेवा विशिष्ट किसिमको भएको अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर विजयचन्द्र आचार्य बताउँछन् ।

निःशुल्क खाना

अस्पतालमा भर्ना भएका हरेक बिरामीलाई बिहान बेलुकाको खाजा र खाना ४ छाक अस्पतालले निःशुल्क खुवाउने गरेको छ । अस्पतालले बिरामीको खानाका लागि वार्षिक ढेडदेखि २ करोड रुपैयाँ खर्च गर्दै आएको छ । अस्पतालको आम्दानीको १० प्रतिशत ‘क्यान्सर सेवा समाज’बाट अस्पतालमा उपचार गर्न जाने विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने गरेको छ । नेपाल सरकारले प्रदान गरेको १ लाख सहयोग पनि विपन्न नागरिकलाई प्रदान गर्दै आएको छ ।

एक वर्षमा २० करोड रुपियाँ बराबरको विपन्न नागरिकले औषधि उपचार खर्च गर्दै आएका छन् । तर क्यान्सरका बिरामीलाई सरकारले उपलब्ध गराएको १ लाख बराबरको उपचार खर्च भने निकै कम भएको निर्देशक विजयचन्द्र आचार्य बताउँछन् । क्यान्सर रोग लागे पनि बाचुन्जेल नियमित स्वास्थ्य परीक्षण गरिरहनु पर्छ । यस्तो खर्चिलो रोगलाई एक लाख सहयोग एकदमै कम भयो भन्ने अस्पतालको भनाइ छ । सरकारले क्यान्सरका बिरामीले पाउने उपचार खर्च वृद्धि गर्नुपर्ने अस्पतालको माग रहेको छ । सन् २०१७ मा ४ हजार ९ सय ७५ नयाँ क्यान्सरका बिरामी थपिएकामा ५ सय ४४ लाई पाठेघरको मुखको क्यान्सर देखिएको छ ।

फोक्सोको क्यान्सर उपचारमा पहिलो नम्बरमा

भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन आउने क्यान्सर रोगीमध्ये पहिलो नम्बरमा फोक्सो क्यान्सरका रहेका छन् । त्यसपछि क्रमशः पाठेघरको मुखको क्यान्सर, आन्द्रा, कलेजो, नाक, कान, घाँटी, पिसाब थैलीका क्यान्सर देखिएका छन् । स्तन क्यान्सर पनि धेरैमध्येमा परेको छ ।

क्यान्सरलाई पहिलो, दोस्रो, तेस्रो र चौथो स्टेजमा विभाजन गरिएको छ । सुरुवातको अवस्थामा उपचार गर्ने हो भने सजिलै निको हुन्छ र उपचार खर्च पनि धेरै लाग्दैन । तर भरतपुर क्यान्सर अस्पतालमा धेरैजसो तेस्रो स्टेजका बिरामी आउने गरेका छन् । ७० वर्षभन्दा माथिका वृद्धवृद्धा र १५ वर्षमुनिका बालबालिकाको उपचार अस्पतालले निःशुल्क गर्दै आएको छ । भरतपुर क्यान्सर अस्पतालमा कम्तीमा ३ देखि बढीमा ५ लाखसम्म खर्च हुने निर्देशक आचार्यले बताए ।

सबै क्यान्सरको उपचार नेपालमै

नेपालमा अब सबै प्रकारका क्यान्सर रोगको उपचार सम्भव भएको छ । समयमै अस्पताल आएर उपचार गर्ने हो भने सबै किसिमका क्यान्सरको उपचार सम्भव भएको अस्पतालका निर्देशक डाक्टर आचार्य बताउँछन् । ९० देखि ९५ प्रतिशत बिरामीको उपचार नेपालमा नै हुने सम्भावना हुँदाहुँदै पनि ठूलो सङ्ख्यामा नेपालीहरू उपचारका लागि विदेश गइरहेका छन् । डाक्टर आचार्य भन्छन्, ‘नजिकको तीर्थ हेला भनेजस्तै नेपालको उपचारलाई विश्वास नगर्ने अर्काे हुने खाने वर्ग ‘सो अफ’ गर्नका लागि पनि विदेश जाने प्रवृत्ति छ, साथै खर्च धेरै गर्यो भने राम्रो हुन्छ भन्ने चलन ।’

कतिपय चिकित्सकले आफ्नो अस्पतालमा रोग निको नभएपछि अर्काे अस्पतालमा रेफर गर्नुको सट्टा सिधै विदेश जानु भनेर सल्लाह दिने गरेकाले पनि नेपालको उपचारमा विश्वास नगरेको अस्पतालको भनाइ छ । तर जति बिरामी बाहिर गएका छन् उनीहरू विदेश जान आवश्यक नभएको निर्देशक आचार्य बताउँछन् ।

सरकारले पनि क्यान्सरका क्षेत्रमा लगानी गरेको छ भने  निजी क्षेत्रले पनि अन्तर्राष्ट्रिय स्तरका क्यान्सर अस्पताल सञ्चालन गरेका छन् । ‘महँगो मूल्यमा उपचार गर्ने हो भने निजी अस्पताल छन्, सस्तोमा गर्ने हो भने सरकारले लगानी गरेका अस्पताल छन् । त्यसैले उपचारका लागि विदेशिनु नै पर्ने अवस्था भने छैन । बाहिर जानु एकदमै नराम्रो बानी हो । आचार्य भन्छन् ।’

नेपालमै स्वास्थ्य क्षेत्रका बारेमा थाहा नहुने, विदेश जाने अनि नेपालमा राम्रो उपचार हुँदैन भन्ने म्यासेज दिने कुरा नेपालीबाट नै भइरहेको निर्देशक डाक्टर विजयचन्द्र आचार्य बताउँछन् । 

पछिल्लो समय खानपानमा भएको परिवर्तनले पनि केही हदसम्म क्यान्सरका बिरामी बढेको अनुमान छ । पहिला पहिला मान्छेको निधन हुँदा कारण खोजिँदैनथ्यो । तर अहिले उपचारको पहुँच, रोगको पहिचान हुने हुँदा पनि क्यान्सरका बिरामी बढी देखिएको अस्पतालको धारणा छ ।

विपन्न नागरिक उपचार केन्द्र बन्दै

भरतपुर क्यान्सर अस्पताको उपचार सेवा देशकै राम्रो सेवा रहेको अस्पतालको दाबी छ । त्यसैले सरकारले क्यान्सर अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनीहरूको माग छ । क्यान्सर अस्पतालमा आउने अधिकांश बिरामी निम्न र मध्यम वर्गका धेरै छन् । सम्पन्न परिवार आए पनि निजी अस्पतालमा पैसा सकेर अन्तिम अवस्थामा भरतपुर पुग्नेको सङ्ख्या धेरै छ । धेरै विपन्न नागरिकको उपचार भरतपुर क्यान्सर अस्पतालले गर्नेगरेको हुँदा सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने अस्पतालको माग छ ।

एकदेखि ढेड अर्ब बजेट हुने हो भने अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउन सकिन्छ । अस्पतालमा बिरामी आएपछि अन्त जानु नपर्ने वातावरण अस्पतालले बनाउनुपर्ने हुन्छ । यसका लागि सहयोग हुने हो भने अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउन सकिनेछ । 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अन्य निजी अस्पतालभन्दा ५० प्रतिशत कम शुल्कमा उपचार प्रदान गरेको भेटियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप