केन्द्रीय संस्करण
वेथिति

ग्रान्डी अस्पतालको यो कस्तो चर्तिकलाः फ्याक्नै नपर्ने पित्तथैली झन्डै फ्यालियो !

गलत रिपोर्ट र गलत सल्लाहको शिकार बन्नबाट बचेका बिरामीको रामकहानी

person explore access_timeचैत २१, २०७५ chat_bubble_outline4
मदन ढुङ्गाना

रातोपाटी

ताराप्रसाद ढुङ्गेल मलेसियामा बस्न थालेको लामो समय भयो । उनी परिवारसँगै मलेसियामै व्यापार व्यवसाय गरेर बसिरहेका छन् । वर्षमा एक दुई पटक उनी नेपाल आउने गर्छन् ।

यस वर्ष उनी दसैँको समय पारेर नेपाल आएका थिए । नोभेम्बर २०१८ अर्थात् असोज महिनामा उनी मलेसियाबाट केही समयको छुट्टी मिलाएर नेपाल आए ।

नेपाल आएपछि उनको स्वास्थ्यमा केही समस्या भएको जस्तो भयो । ४५ वर्षका तारालाई पेट दुख्न थाल्यो । त्यसपछि उनी पुगे अन्तर्राष्ट्रिय स्तरको अस्पताल ।

तारा टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि नोभेम्बर ५ अर्थात् असोज १९ गते शुक्रबार पुग्छन् । त्यहाँ सामान्य चेकजाँच गरेपछि प्रोफेसर डाक्टर प्रेमराज ज्ञवालीले रेडियोलोजिस्टलाई रेफर गरिदिन्छन् । मिर्गौलामा पत्थरी भएको अनुमान गर्दै डाक्टरले उनलाई रेडियोलोजिस्ट डाक्टर प्रकाश कायस्थकोमा रेफर गरेका थिए ।

५ नोभेम्बरकै दिन ग्रान्डी अस्पतालका रोडियोलोजिस्ट डाक्टर प्रकाश कायस्थले ताराको स्वास्थ्य चेकजाँच गराए । पेटदेखि कम्मरक्षेत्रको अल्ट्रासाउन्ड गर्दा उनको रिपोर्टमा कलेजोको साइज बढेको तथा पित्त थैलीमा रहेको पोलिप अर्थात् मासु पलाएको समेत देखियो ।

पहिले हेर्नुहोस् ग्रान्डी अस्पतालले नोभेम्बर ५ तारिखका दिन चेकजाँच गरी तारालाई दिएको यो रिपोर्ट ।

यो रिपोर्ट हेर्नुभयो भने यहाँ ताराको कलेजोको लम्बाइ १६ दशमलब १ सेन्टिमिटर  देखाइएको छ । एक, ४५ वर्षको उमेर भएको स्वस्थ मानिसको कलेजोको औसत लम्बाइ करिब १४ सेन्टिमिटरसम्म हुनुपर्ने हो । तर ग्रान्डी अस्पतालमा गरिएको चेकजाँचमा ताराको कलेजोको लम्बाइ र मोटाइ पनि सामान्यभन्दा बढी देखियो, जुन स्वास्थ्यमा समस्याको सङ्केत हो ।

त्यसपछि यही अस्पतालले सोही रिपोर्टमा पित्त थैलीको परीक्षण गरेकाबारे लेखेको छ । अस्पतालले जारी गरेको रिपोर्टमा ताराको पित्त थैलीमा ६ दशमलब ३ मिलिमिटरको पोलिप अर्थात् मासुको डल्लो पलाएको लेखेको छ । यो भनेको क्यान्सर हुने सम्भावनाको पहिलो चरण पनि हो ।

पित्तथैलीमा सामान्यभन्दा केही ठूलो पोलिप अर्थात् मासुको डल्लो देखिएपछि ग्रान्डी अस्पतालका डाक्टर प्रकाश कायस्थले तत्कालै अप्रेसन गरेर पित्तथैली निकाल्न सुझाव दिन्छन् । यो अंगमा समस्या आएको खण्डमा सामान्यता त्यसलाई शल्यक्रियामार्फत् हटाउने गरिन्छ । खानपीनको तालिकालाई व्यवस्थित गर्ने हो भने यसलाई समस्या आएर हटाउँदा खासै ठूलो शारीरित असर चाहिँ  परिहाल्दैन ।

स्वास्थ्यसम्बन्धी जागरुक भए पनि यससम्बन्धी ज्ञान भने ताराप्रसाद ढुङ्गेललाई थिएन । अब डाक्टरले नै पछि क्यान्सरसम्म हुन सक्ने भन्दै ‘सजग’ गराउँदै अप्रेसन गरेर फाल्न सुझाएपछि तारा अप्रेसनको तयारीमा लागे । समय छोटो भएकाले एक वा दुई दिनमै अप्रेसन गर्ने तयारी भयो ।

तर हिँडेरै अस्पताल पुगेका व्यक्ति एकाएक अप्रेसन गर्नुपर्ने अवस्थामा पुग्नु तारा आफैंलाई अनौठो लाग्यो । उनले यही कुरा आफ्ना एक मित्रलाई बताए । ताराका साथीले ‘ राम्रो अस्पतालमा गएर अर्कै डाक्टरबाट समेत सल्लाह लिएर निश्चित भएपछि मात्रै अप्रेशन गर्न उचित हुने’ सल्लाह दिएपछि उनी फेरि स्वास्थ्य परीक्षण गराउन असोज २० अर्थात् नोभेम्बर ६ मा नख्खुको नेपाल मेडिसिटी अस्पताल पुगे ।

उनले ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराएको कुरा मेडिसिटी अस्पतालका रेडियोलोजिस्टलाई बताएनन् । मात्र लाग्ने शुल्क तिरेर उनी स्वास्थ्य परीक्षणका लागि तयार भए । मेडिसिटी अस्पतालले ताराको स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दियो ।

हेर्नुहोस् मेडिसिटी अस्पतालले भोलिपल्टै जारी गरेको ताराको अर्को रिपोर्ट

मेडिसिटी अस्पतालले जारी गरेको यो रिपोर्टमा ताराको कलेजोको लम्बाइ १२ दशमलब ८ सेन्टिमिटर देखियो । जब कि ग्रान्डी अस्पतालले जारी गरेको रिपोर्टमा १६ दशमलब १ सेन्टिमिटर लामो देखाइएको थियो । ग्रान्डीले जारी गरेको रिपोर्टमा कलेजोमा बोसोको मात्रा रहेको समेत देखाइएको छ ।

तर ग्रान्डीमा चेकजाँच गरेको भोलिपल्टै नेपाल मेडिसिटी अस्पतालमा गरेको स्वास्थ्य परीक्षणमा भने ताराको कलेजोको लम्बाइ वा आयतन सामान्य नै देखियो ।

त्यसैगरी मेडिसिटीमा गरिएको पित्त थैलीको परीक्षणमा मासुको डल्ला त देखियो । तर ग्रान्डी अस्पतालले दिएको रिपोर्टभन्दा आधा मात्रै ।

ग्रान्डी अस्पतालले जति ठूलो आयतन छ भनेको थियो र जति धेरै डर देखाइदिएको थियो, मेडिसिटी अस्पतालको परीक्षणमा त्यसको आधा मात्रै देखियो । ग्रान्डीले ६ दशमलब ३ मिलिमिटरको पोलिप अर्थात् मासु पलाएको रिपोर्ट दिएकामा मेडिसिटी अस्पतालमा भने जम्मा ३ दशमलब ८ मिलिमिटर मात्रै देखायो । यसरी ग्रान्डी अस्पतालले जटिल भन्दै तर्साएको पित्तथैलीको पोलिप अर्थात् मासुको डल्लो त अर्को अस्पतालमा साह्रै सानो देखियो ।

यो सानो पोलिप भएकाले यसले तत्कालै क्यान्सर नगराउने र वार्षिक २ मिलिमिटरभन्दा बढी बढ्न थालेमा मात्रै अप्रेसन गरेर निकाल्नुपर्ने चिकित्सीय सल्लाह पनि तारालाई दिइयो ।

दुईवटा अस्पतालमा दुईवटा फरक फरक रिपोर्ट आएपछि तारा झनै सशंकित भए । उनी दुवै रिपोर्ट बोकेर पुनः ग्रान्डी अस्पताल नै पुगे । आफ्नो दुईवटा रिपोर्ट देखाउँदै भएको के हो भनी पहिले अल्ट्रासाउन्ड गर्ने डाक्टर प्रकाश कायस्थलाई नै भेटे ।

उनले फेरि ताराको अल्ट्रासाउन्ड गराए । त्यो अल्ट्रासाउन्डमा भने ताराको पित्तथैलीमा रहेको पोलिपको आयतन ३ दशमलब ८ मिलिमिटर नै देखियो । त्यो अल्ट्रासाउन्डमा ताराको कलेजोको लम्बाइ पनि पहिलेभन्दा कम आयो । तर डाक्टर कायस्थले त्यो रिपोर्ट भने तारालाई दिएनन् ।

यस्तो किन भयो भनेर सोध्दा डाक्टर कायस्थले आलेटाले जवाफ दिँदै कहिलेकाहीँ यस्तो ‘इरर’ आउनसक्ने भन्दै त्यो सामान्य रहेको बताए ।

दसैँको केही समय तारा नेपालमा रहे भने त्यसलगत्तै उनी मलेसिया पुगे । तर उनलाई छटपटी भने भइरह्यो कि कुन अस्पतालको रिपोर्ट सही हो । आफ्नो स्वास्थ्यप्रति चिन्तित भएर उनी मलेसियाबाटै थाइल्यान्डको समितिभेज अस्पतालमा स्वास्थ्य परीक्षण गराउन पुगे ।

थाइल्यान्डमा गरिएको स्वास्थ्य परीक्षणमा पनि ताराको रिपोर्ट नेपाल मेडिसिटी अस्पतालमा गरिएको जस्तै आयो । उनको कलेजोको लम्बाइ र पित्तथैलीमा रहेको पोलिपको आयतन बराबर भएको र दुवै सामान्य अवस्थामा रहेको भनेपछि उनी ढुक्क भए ।

रातोपाटीको टिम मलेसिया पुगेको बेला ताराले आफ्नो बेलिबिस्तार लगाउँदै ग्रान्डी अस्पतालमा आफूलाई जबरजस्ती अप्रेसन गराउन खोजेको बारे बताए ।

एक पटक दुवै रिपोर्टलाई सँगै राखेर हेर्नुहोस्

के हो पोलिप ? के अप्रेसन गर्नैपर्छ ?

मेडिकल भाषामा पोलिप भनेको मासुको डल्लो हो । पित्तथैलीमा रहेको पोलिप भनेको छालाहरुमा यदाकदा पलाउने सानो मुसाजस्तै हो । मानिसहरुको उमेर बढ्दै गएपछि पित्तथैलीमा यस्तो पोलिप आउन सक्छ । विभिन्न रिसर्चहरुले देखाएअनुसार १० मिलिमिटरसम्मको पोलिप अर्थात् मासुको डल्लो सामान्य हुन्छ । यस्तो पोलिप निकाल्न अप्रेसन गरिहाल्नु पर्दैन ।  पोलिपको अप्रेसन भनेको पित्तथैली नै निकालेर फाल्नु हो ।

पित्तथैलीको खास काम हामीले खाने चिल्लोलाई पचाउन कलेजोले उत्पादन गर्ने पाचन रसलाई जम्मा गरेर राख्नु हो । हामीले खानेकुरा खाएपछि त्यो रस आवश्यकताअनुसार सानो आन्द्रामा गएर पाचन प्रक्रियालाई सहज तुल्याइदिने गर्छ । शल्यक्रिया गरेर पित्तथैली फालिएको रहेछ भने पनि कलेजोले त्यो रस उत्पादन गरिरहेकै हुन्छ । तर आवश्यक पर्दा चाहिने मात्रामा त्यो पाचन रस आन्द्रासम्म पुग्ने प्रणालीले चाहिँ राम्रो काम नगर्ने अनि पाचनप्रणालीमा गडबडी, विशेष गरेर चिल्लोयुक्त खानेकुराहरु नपच्ने समस्या आउन सक्छ । तर खानपीनमा नियन्त्रण गर्ने हो र थोरै खाने बढी पटक खाने शैली अपनाउने हो भने पित्तथैली निकालेर फाल्दा पनि खासै फरक भने पर्दैन ।

विभिन्न रिसर्चहरुले १० मिलिमिटरसम्मको पोलिपले केही असर नगर्ने र यसले तत्कालै क्यान्सर नगराउने भन्दै यसलाई अप्रेसन गरिहाल्नु पर्ने अवस्था नहुने बताएको छ । यद्यपि ग्रान्डी अस्पतालले भने ताराको पोलिपको आयतन ६ दशमलब ३ मिलिमिटर देखाएर खतरा हुने भन्दै तत्कालै अप्रेसन गर्न सुझाएको थियो ।

‘मनी मेकिङ’मा ग्रान्डी अस्पताल, डाक्टर ‘मतियार’

खासमा ग्रान्डी अस्पतालले यस्तो गलत रिपोर्ट दिनुमा उसको निहित स्वार्थ लुकेको आशंका गर्न सकिन्छ । उसले कलेजोको लम्बाइ नै बढी देखाइदिने र ठूलो देखाएर तर्साइदिने मात्रै गरेन पित्तथैलीमा भएको पोलिपको आयतन ठूलो देखाएर तत्कालै अप्रेसन गर्न सुझाएको थियो ।

यदि ताराले अन्य अस्पतालमा गएर नजँचाएको भए र ग्रान्डी अस्पतालमै अप्रेसन गराएको भए अस्पतालले कम्तीमा १ लाख ५० हजार कमाउन सक्थ्यो । अधिकतम ४८ घण्टा अस्पतालमा राखेर अप्रेसन गरी उपचार गर्दा ताराले अस्पताललाई राम्रै रकम तिर्ने थिए ।

ग्रान्डी अस्पतालका एक वरिष्ठ कर्मचारीका अनुसार ग्रान्डी अस्पतालमा पित्तथैली (गल ब्लाडर)को अप्रेसन गर्दा डाक्टरको शुल्क न्यूनतम ७० हजार रुपैयाँ रहेको छ । डाक्टरका अनुसार यो शुल्कमा पनि परिवर्तन आउन सक्छ । त्यसैगरी महँगो औषधि र महँगो रुम चार्ज जोड्दा एक व्यक्तिले १ लाख ५० हजारको हाराहारीमा शुल्क बुझाउँछन् । यदि बिरामीमा कुनै कम्प्लिकेसन आएमा बिरामीलाई थप समय अस्पतालमै राख्नुपर्ने हुन्छ र त्यो शुल्कमा पनि वृद्धि हुन्छ । यसको उद्देश्य निकालेर फाले पनि केही फरक नपर्ने पित्तथैली निकालेर फालिदिने र त्यसबापत पैसा कमाउने अस्पतालको स्वार्थ रहेको स्पष्ट बुझिन्छ ।

अस्पताल भन्छ निकालेर फाल्दा के हुन्छ र !

यसै विषयमा रातोपाटीले ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेसँग कुराकानी गरेको छ । दुवै रिपोर्ट लिएर ग्रान्डी अस्पताल पुगेको रातोपाटीको टिमलाई डाक्टर पान्डेले पहिले मेडिकल टर्मिनोलोजी नबुझेको भन्दै यो सामान्य रहेको बताए ।

मुख्यतः पित्तथैलीको सम्बन्धमा मात्रै कुराकानी गरेका डाक्टर पान्डेले समाचार आए पनि केही फरक नपर्ने भन्दै बरु जनताले यसबारे थाहा पाउने बताए ।

किन र केका लागि यस्तो गरियो ? भन्ने रातोपाटीको प्रश्नमा आक्रोशित हुँदै डाक्टर पान्डेले भने ‘अप्रेसन गरिसकेको हो र ? अप्रेसनका लागि सुझाव दिएको मात्रै हो । अप्रेसन गर्ने रेडियोलोजिस्टले होइन ।’

अनि अप्रेसन नै गरिसकेको भए के हुन्थ्यो नि ? भन्ने प्रश्नमा थप आक्रोशित हुँदै डाक्टर पाण्डेले भने ‘त्यो पित्त थैलीको अप्रेसन गरे पनि केही फरक पर्दैनथ्यो । त्यो राखेर पनि केही काम छैन । भएको भए हुन्थ्यो ।’

यति भन्दै ग्रान्डीका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पान्डे बाहिर निस्किए ।

पैसा कमाउन ‘रङ डाइग्नोसिस’ र जबरजस्ती अप्रेसन !

पैसा कमाउनकै लागि निजी अस्पतालले गलत रिपोर्ट दिने मात्रै होइन, जबरजस्ती अप्रेसनसमेत गराउने प्रचलन विकाशील मुलुकहरुमा कुनै नौलो होइन । सामान्य समस्यालाई पनि भारीभरकम चिकित्सीय भाषाको प्रयोग गर्दै ठूलो पारेर व्याख्या गरिदिने, त्यसले ज्यानै जोखिममा पर्न सक्छ, क्यान्सर हुन सक्छ जस्तो कुरा गरेर जँचाउन आएकालाई मानसिक रुपमा आतंकित पारेर उनीहरुले भनेजस्तै गर्न तयार पार्न खोज्नु कुनै नौलो कुरा होइन । सम्भवतः त्यसै प्रवृत्तिको पुनरावृत्तिको एउटा गज्जबको उदाहरण हो यो । घटनापछि अस्पतालका जिम्मेवार पदाधिकारीको आक्रोश र प्रतिक्रिया हेर्दा त यस्तो प्रतीत हुन्छ, शायद पित्तथैली निकालेर फाल्दा पनि केही फरक नपर्ने भएपछि अस्पतालले यो जुक्ति निकालेको थियो । यद्यपि बिरामी जागरुक नागरिक परेपछि अस्पतालको उक्त लापरवाही, जसलाई चिकित्सीय एवं कानूनी भाषामा ‘मेडिकल इरर’ पनि भन्ने गरिन्छ, को शिकार हुनबाट उनी बचे ।

कमेन्ट

  1. April 5, 2019, 8:22 a.m. NARAYAN JSHI
    "Believe in god ...care yourself having good foods good thoughts and think positive add walk / work /excersise on daily activities do meditate everyday it makes us a doctor away...and this is a last solution to be safe from this type of fraud....."
  2.  0 Reply
  3. April 4, 2019, 6:27 p.m. DEV GURUNG
    naam chahi prakash ani kaam chahi kina yasto adhyaro??....bachha bela ma vitamin A khwayenachan kya ho aama baa le!!
  4.  0 Reply
  5. April 4, 2019, 6:20 p.m. Toyanath Khanal
    yasto paati saati ma lekhera hunna....sidai adalat janu parcha!!
  6.  0 Reply
  7. April 4, 2019, 11:47 a.m. Kalavati Paudel
    मेरो एकजना दाइलाइ ग्राण्डीले प्रोटेस्ट क्यान्सर भएको र अपरेशन गर्नु पर्छ भन्यो । पछि हरिसिद्धिमा डा. सुदिपलाइ देखाएपछि केहि नभएको थाहा भयो । कैयन् स्वस्थ मानिसहरूको रिपोर्ट बिगारेर अपरेशन गर्ने, डर देखाएर कैयन् दिन अस्पतालमा भैन्टिलेटरमा राख्ने, अपरेशनमाथि अपरेशन थपेर पैसा झार्ने, केहि नभएको स्वस्थ मानिसलाइ गिजोलेर मानिस मर्ने र पैसा असुल्ने त्यो अस्पतालको खोती नै हो ।
  8.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...