बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालमा बालकको मृत्यु प्रकरणः आफन्तले शव बुझ्न मानेनन्, अस्पतालको आफ्नै दाबी

मङ्गलबार, २६ चैत २०७५, १५ : ५४
मङ्गलबार, २६ चैत २०७५

बुटवल– रुपन्देहीको बुुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा उपचारको क्रममा बालकको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै मृत्यु भएको १८ घण्टा बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । 

सोमबार साँझ ७ बजे बुुटवल उपमहानगरपालिका ११ का नारायण दर्लामीका दश महिनाका छोरा ओमको मृत्युु भएको थियो । 

चिकित्सक समयमै उपचार गर्न नआउँदा बालकको मृत्युु भएको आफन्तले आरोप लगाउँदै क्षतिपुर्ति माग गरेका छन् । उनीहरुले  उचित क्षतिपूर्ति र दोषी चिकित्सकलाई कारवाहिको माग गरेका छन् । 

मृतकका बुवा नारायणले समयमा डाक्टर नआउदा छोराको मृत्यु भएको दाबी गरे ।  उनले आम्दा अस्पतालमा यस्ता केसहरु पटक पटक हुने भएकाले उचित क्षतिपूर्ति र दोषीलाई कारवाही  हुनुपर्ने माग गरे ।  

 अस्पताल पुर्याएको एक घण्टामै बालकको मृत्युु भएको थियो । अस्पतालका चिकित्सक डा. सन्तोष पोखरेलले वान्ता सर्केर मृत्युु भएको हुुन सक्ने बताए । उनले भने, ‘हामीले बिरामीलाई आउनेवित्तिकै सिरिन्जबाट औषधि दिएका थियौं । तर, निमोनिया भएको रहेछ । वान्ता गर्दा सर्केर मृत्यु भएको हुुन सक्छ ।’

परिवारका अनुसार ओम केही दिनदेखि बिरामी भएका थिए । रोगले च्याप्दै लगेपछि आइतबार बुुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो ।

अस्पतालले त्यहाँबाट भैरहवास्थित मेडिकल कलेज रिफर गरेको थियो । मेडिकल कलेजले फेरि बालकलाई अम्दामा रिफर गरेको थियो ।

जहाँ इमरजेन्सीमा पुुयाएको एक घण्टासम्म पनि चिकित्सक नआउँदा बालकको मृत्युु भएको बुबा नारायणले दावी गरे ।  

अस्पताल प्रमुख डा. बिनोद पराजुलीले नर्सहरुले औषधि चलाउँदै गर्दा डाक्टरहरु आएको बताए  । उनले रातोपाटीसँग भने, ‘अस्पतालको दोष छैन, उहाँहरुले क्षतिपूर्ति मागिरहुन भएको छ । हामीले दिनसक्ने अवस्था छैन । बरु छानविन कमिटी बनाउन सकिन्छ ।’ 

बालकको केस हेरेका डा. सन्तोष  पोखरेलले उपचारमा आफूहरूको कुुनै गल्ती नभएको बताए ।

आम्दा अस्पताल बच्चाहरुको यस क्षेत्रमै राम्रो र सुविधा सम्पन मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप