केन्द्रीय संस्करण
स्वास्थ्य

खतरनाक बन्दै जङ्कफुड

साढे १४ लाख बालबालिकामा पुड्को, ख्याउटेपन तथा तौल कमको समस्या

person explore access_timeभदौ १०, २०७६ chat_bubble_outline0

काठमाडौँ । केही समय पहिला विश्व स्वास्थ्य सङ्गठनले काठमाडौँका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकामा पोषण जाँच ग¥यो । पोषण जाँचमा ७ सय ४५ घरधुरीका बालबालिकालाई समावेश गराइएको थियो । पोषण जाँचमा बालबालिकाको स्वास्थ्यमा विभिन्न पोषणको अभाव देखियो । त्यसो हुनुको प्रमुख कारण चाहिँ ती बालबालिकाहरुले बढी मात्रामा बजारमा पाइने प्याकेटका खानेकुराहरु (जङ्कफुड) खाने गरेको पाइयो ।

स्वास्थ्य सेवा विभागको परिवार योजना महाशाखा अन्तर्गतको पोषण शाखाका अनुसार काठमाडौँमा गरिएको सो परीक्षणमा नेपालको दुई वर्षका बालबालिकाले आवश्यकभन्दा पनि धेरै मात्रामा जङ्कफुड खाएको पाइयो । सामान्यतः अमेरिकाको १० देखि १५ वर्षसम्मको बालबालिकाले खाने जङ्कफुड नेपालका दुई वर्षभन्दा कम उमेरको बालबालिकाले खाने गरेको पाइयो । यसरी बालबालिकालाई बजारमा पाइने प्याकेटको अनावश्यक खानेकुरा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा आवश्यक पोषण तत्वको कमी देखिएको छ ।

बालबालिकामा पुड्को, ख्याउटे र कम तौलको समस्या देखिनुमा जङ्कफुडको पनि प्रमुख कारक भएको चिकित्सक तथा पोषणविद्हरुले बताउँदै आएका छन् । अनुसन्धान सानो भए पनि नेपालका बालबालिकाको पोषण अवस्थाबारेको खतरनाक पक्षलाई उजागार गरेको छ । परम्परागत खानेकुरा बनाउन झन्झटिलो हुने कारण बजारका तयारी खानेकुराहरु निर्भर हुने देखिएको छ । आधुनिक समाजका परिवारलाई, सरकारलाई समेत त्यो अध्ययनको नतिजाले गतिलो झड्का दिएको देखिन्छ ।

के हो पोषण ?

बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा बौद्धिक विकासका लागि पोषण दरिलो जग हो । राम्रो पोषण पाएका बालबालिका राम्ररी सिक्न र हुर्कन सक्छन् । समुदायमा सहभागी हुन, योगदान दिन, रोग, विपत्तिलगायत अन्य विश्वव्यापी सङ्कटसँग लड्न सक्षम हुन्छन् । तर कुपोषणबाट पीडित लाखौँ बालबालिकाको लागि वास्तविकता निकै तीतो छ । लाखौँ बालबालिका चरम कुपोषणका कारण पुड्का हुन जान्छन् जसको उपचार सम्भव छैन । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई वास्तविक रूपमै छोट्याउने गर्छ ।

 पोषण पूर्ण मात्रामा नपाएको खण्डमा बालबालिकामा होचोपन, पुड्कोपन, ख्याउटेपन, माटोपन, दुब्लोपनको समस्या देखिन्छ । पछिल्लो समय यी रोग लाग्नुमा बजारका प्याकेटको खानेकुरा पनि प्रमुख कारक हुन् भन्ने धेरै आधार भेट्टाउन थालिएको छ । पोषण तत्वको कमी मात्रै होइन बढी हुँदा पनि शरीरमा असामान्य अवस्था  देखिन्छ, जसलाई कुपोषण भनिन्छ । नेपालमा रहेका साढे २६ लाख बालबालिकामध्ये ७ लाख ३६ हजार (३६ प्रतिशत) मा पुड्कोपन, २६ हजार (१० प्रतिशत)  मा ख्याउटे  र ७ लाख १५ हजार ५ सय (२७ प्रतिशत) मा कम तौलको समस्या देखिएको छ । यी समस्या सबैभन्दा धेरै प्रदेश नं. २ र कर्णाली प्रदेशमा देखिएको छ ।

पुडकोपन पनि सबैभन्दा धेरै कर्णाली प्रदेशमा

विश्व स्वास्थ सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार सामान्यतः जन्मदा बच्चाको उचाइ ४५ देखि ५० सेन्टिमिटर हुनुपर्छ । बच्चा जन्मदा ५० सेन्टिमिटरको छ भने एक वर्षमा ७५ सेन्टिमिरको हुनुपर्छ । दुई वर्षमा साढे १२ सेन्टिमिटर र ३, ४ र ५ वर्षमा हरेक वर्ष ७ देखि ९ सेन्टिमिटर उचाइ थपिँदै जानुपर्छ । वयस्क अवस्थामा महिलाको औसत उचाइ १६३ सेन्टिमिटर र पुरुषको १७६ सेन्टिमिटर हुनुपर्छ । यसरी उमेरअनुसार हुने न्यूनतम उचाइ नहुनुलाई पुड्कोपन भनिन्छ । यसको मापन उमेर र उक्त उमेरमा हुनुपर्ने उचाइका आधारमा गरिन्छ ।

नेपालमा ५ वर्षमुनिका बालबालिका २६  लाख ५० हजार छन् । सन् २०१६ को एक अध्ययनलाई हेर्ने हो भने नेपालमा पुड्कोपनको समस्या भएका बालबालिकाको सङ्ख्या ३६ प्रतिशत अर्थात ७ लाख ३६   देखिएको छ  । प्रदेशगत रूपमा हेर्ने हो भने प्रदेश नं. ५ मा सबैभन्दा कम १९ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएको छ । सबैभन्दा धेरै पुड्कोपन कर्णाली प्रदेशमा देखिएको छ जहाँ ५५ प्रतिशत बालबालिकामा यस्तो समस्या देखिएको छ ।  

हरेक क्षेत्रबाट पछाडि परेको कर्णालीका बालबालिका पनि खाद्य सुरक्षाको राम्रो व्यवस्था मानिदै आएको प्रदेश नं. २ मा पनि पुड्कोपन सोचेभन्दा धेरै भएको देखिन्छ । प्रदेश नं. २ को कुल बालबालिकाको सङ्ख्यामध्ये ३७ प्रतिशत बालबालिकामा देखिएको छ । प्रदेश नं. २ मा खानेकुराको अभाव नभए पनि खानपान नमिलाउँदा पुड्कोपन बढी भएको सरकारको भनाइ छ । यस्तै प्रदेश नं. ३ मा २९ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनको एसडीजी गोल्ड अर्थात सन् २०३० सम्ममा विश्वको सबै बालबालिकामा पूर्ण पोषण पुर्याउने लक्ष्य लिएको छ । तर पोषणको अवस्था १५ प्रतिशतसम्म पुर्याउन सकेको खण्डमा मात्रै डब्लूएचओको यो लक्ष्यमा नेपाल सहभागी हुन पाउने छ  । १५ प्रतिशतको नजिक प्रदेश ५ बाहेक अन्य प्रदेश पुगेको देखिँदैन । यस्तै अवस्थामा रहने हो भने नेपालले डब्लूएचओको लक्ष्यमा समावेश हुने मौका गुमाउने छ ।

अबको ११ वर्ष अर्थात सन् २०३० सम्ममा कर्णाली प्रदेशको पुड्कोपनलाई ५५ प्रतिशतबाट २५ प्रतिशत घटाउने र प्रदेश नं .२ को ३७ प्रतिशलाई १५ मा ल्याउन सकेको खण्डमा विश्व स्वास्थ्य सङ्गठनको योजना अनुसार काम हुने पोषण शाखा प्रमुख केदार पराजुली बताउँछन् । 

 

२६ हजार बालबालिकामा ख्याउटेपन

 नेपालको २६ हजार अर्थात १० प्रतिशत  बालबालिकामा ख्याउटेपनको समस्या देखिएको छ । प्रदेशगत रूपमा हेर्ने हो भने ख्याउटेपनको समस्या सबैभन्दा धेरै प्रदेश नं. २ मा १४ प्रतिशत देखिएको छ । प्रदेश नं. ३ र ४ मा ख्याउटेपन भएका बालबालिकाको सङ्ख्या अन्य प्रदेशको तुलनामा कम छ । गण्डकी प्रदेशमा ६ प्रतिशत, प्रदेश नं. ५ मा ८ प्रतिशत र कर्णाली प्रदेशमा ८ प्रतिशत ख्याउटेपन देखिएको छ ।

पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार शरीरको उचाइअनुसार तौल नबढ्नुलाई ख्याउटे पन भनिन्छ ।  उनका अनुसार कडा रोगजस्तै झाडापखाला, निमोनिया लाग्दा बालबालिकाको तौल घट्छ । यस्तो अवस्थाले ख्याउटेपन उत्पन्न हुन सक्छ । यस्तो खालको कुपोषणलाई शीघ्र कुपोषण भन्ने गरिन्छ । स्वास्थ्य बच्चा जन्मदा पाखुराको मोटाइ १० देखि ११ सेन्टिमिटर हुनुपर्छ  । जन्मेको एक वर्ष १६ सेन्टिमिटर, एक वर्षपछि ५ वर्षसम्ममा प्रत्येक वर्ष एक एक सेन्टिमिटर बढ्नुपर्ने हुन्छ । बालबालिकामा उचाइ अनुसारको तौल हुनका लागि ५ वर्षको उमेरमा बायाँ पाखुरा १७ सेन्टिमिटरको दरले वृद्धि हुनुपर्छ । ११ भन्दा कम सेन्टिमिटर भएको खण्डमा अति कुपोषण भएको मानिन्छ । नेपालमा भने अझै २६ हजार अर्थात (१० प्रतिशत) बालबालिकामा ख्याउटेपनको समस्या देखिएको छ । यस्ता बालबालिकामा रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । अति कडा कुपोषण भएका बालबालिकाको मृत्युदर सामान्य बालबालिकाको भन्दा १० गुणा बढी हुने गरेको पाइन्छ ।

७ लाख १५ हजार ५ सय बालबालिकामा कम तौल

जन्मदा बच्चाको तौल साढे २ किलोदेखि साढे ३ किलोको हाराहारीमा हुनुपर्छ । पहिलो ५ महिनामा तौल जन्मेको भन्दा दोब्बर र एक वर्षमा तेब्बर हुनुपर्छ । तर नेपालको २७ प्रतिशत अर्थात् ७ लाख १५ हजार ५ सय बालबालिकामा कम तौल देखिएको छ । यो तथ्याङ्कलाई प्रदेशगत हेर्ने हो भने सबैभन्दा धेरै प्रदेश नं. २ का बालबालिकामा ३७ प्रतिशत कम तौल देखिएको छ । कर्णाली प्रदेशमा ३६ प्रतिशत, गण्डकी प्रदेशमा १५ र प्रदेश नं. ३ मा १३ प्रतिशत बालबालिकामा कम तौल भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

मानिसको दिमागको तीव्रतर विकास हजार दिनसम्म हुने भएको हुँदा शिशु जन्मेको हजार दिनसम्म पनि विशेष हेरचाह गर्नुपर्ने देखिन्छ । शिशु गर्भमा  हुँदा ३० प्रतिशत,  जन्मेको पहिलो वर्षमा २५ र दोस्रो वर्षमा २५ प्रतिशत गरी गर्भमा बच्चा बसेदेखि दुई वर्षभित्रमा ८० प्रतिशत बौद्धिक विकास भइसकेको हुन्छ भने  १०, १० प्रतिशत ५, ५ वर्षमा हुने शाखा प्रमुख पराजुलीले बताए । कम तौल, पुड्कोपन, ख्याउटेपनका कारणले गर्दा बालबालिकामा मापदण्ड अनुसारको विकास भएको पाइँदैन । अहिले नेपालका बालबालिकामा देखिएको यस्तो समस्याको कारक अहिले बजारमा आउने प्याकेटको खानेकुरकालाई पनि मान्दै आइरहेको छ । 

यस्ता समस्या निम्तिन जङ्कफुड नै मुख्य जिम्मेवार

बालबालिकाको स्वास्थ्यमा देखिएको माथि उल्लेखित समस्यालाई  थप गर्नुमा जङ्कफुडको पनि महत्त्वपूर्ण भूमिका देखिएको छ । जङ्कफुड खानमा धेरै चासो दिने बालबालिकामा पुड्को र मोटोपनको समस्या देखिएको पराजुलीले बताए । पराजुली भन्छन्, ‘जङ्क फुडमा कुन पोषण तत्व तथा भिटामिन कति छ भनेर उल्लेख गर्नुपर्ने हुन्छ तर नेपालमा पाउने जङ्कफुडमा त्यो भएको पाइँदैन । कुरकुरे, चाउचाउ, बिस्कुट, चकलेट जस्ता खाद्य वस्तुहरु खानयोग्य छैन्न ।’

 हामी पनि पाहुना जाँदा होस् या खाजाको समयमा सजिलोका लागि पनि जङ्गफुडक प्रयोग गर्दै आइरहेको पाइन्छ । जुन कारणले गर्दा बालबालिकाले दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता आवश्यक खानेकुरा खान छोड्ने र कुपोषण हुने समस्या भएको पाइन्छ । अहिलेको जङ्कफुडको प्रयोगले बालबालिका, किशोर–किशोरी तथा प्रजनन् उमेरका महिला र पुरुषमा तौल बढ्ने समस्या देखिएको छ । 

सोचेअनुसारको काम भएन

दैनिक बालबालिकाको स्वास्थ्यमा विकराल रूप लिइरहँदा यस क्षेत्रमा हेर्ने निकाय भने सुस्तगतिमा चलेको देखिन्छ । ३ तहको सरकार भए पनि बालबालिकाको स्वास्थ्यमा देखिने पोषणको समस्यामा भने खासै चनाखो भएको पाइँदैन । जसले गर्दा बालबालिकामा देखिने पुड्को, ख्याउटेपन र कम तौल अर्थात दुब्लो पनको सङ्ख्या खासै घटेको पाइँदैन । शाखा प्रमुख पराजुली भन्छन्, ‘बजेट अभावका कारणले पनि पोषणको क्षेत्रमा सोचेअनुसारको काम गर्न सकेको छैन । अर्काे त सम्बन्धित निकाय दत्तचित्त भएर लाग्नुपर्छ । पोषणको क्षेत्रमा वर्ष दुई अर्ब बजेट हुनुपर्ने अहिले एक अर्बको भरमा पोषण कार्यक्रम सञ्चाल भइरहेको छ ।’

यस्ता समस्याबाट बालबालिकाको स्वास्थ्यमा आउने समस्या न्यूनीकरणका लागि भने अविभावकको महत्त्वपूर्ण भूमिका हुन्छ ।

 धेरै जङ्कफुड प्रयोग हुने स्थानमा विद्यालय पनि एक हो । विद्यालयमा जाने हरेक बालबालिकाले खाने दिवा खाजामा जङ्गफुड धेरै लाने र प्रयोग गर्ने गरेको देखिन्छ । सरकारी विद्यालय वरपर जङ्गफुड बिक्री वितरण गर्न नपाइने कुरा पनि उठाउँदै आइरहेको छ ।  तर अहिलेसम्म देशभरकै विद्यालयलाई समेट्ने खानको नीति नियम बनेको भने पाइदैन । यस्तै कतिपय विद्यालय भने जानेर पनि विद्यालय वरपरको क्षेत्रमा जङ्कफुड बिक्री वितरणमा   रोक लगाउँदै आइरहेका छन् ।  

 नेपालमा विपद्को समयमा भने जङ्कफुड नै बाँड्ने गरेको देखिन्छ । स्वास्थ्य समस्या निम्त्याउने जङ्कफुड सेवनको न्यूनीकरण गर्न अति आवश्यक भएको सम्बन्धित निकायले बताउँदै आएका छन् ।

जङ्क फुडले ल्याउँछन् यस्ता समस्या

पोषणका बारेमा कुरा गर्ने हो भने नेपालीहरूको खानेकुरा एकदमै राम्रो हो । भात, दाल, तरकारी, अचार, दही, दूध, कोदो, फापर, गहुँ, धान, मकैबाट शरीरलाई चाहिने कार्बाेहाइड्रेड र प्रोटिन पाइन्छ । तर समस्या के छ भने एकातिर कुपोषण त छँदै छ, अर्काेतिर हाम्रा स्थानीय खानेकुरालाई प्रयोग नगर्दा मानिसहरू मोटोपनको सिकार भएका छन् । स्वास्थ्यसम्बन्धी पछिल्लो अध्ययनले २३ प्रतिशत पुरुष र १७ प्रतिशत महिला मोटोपनको सिकार भएको पाइएको छ ।

 डा. अरुणा उप्रेतीले केही विद्यालयमा अनुसन्धान गर्दा धेरै बालबालिकालाई खाजाका लागि ५० देखि सय रुपियाँसम्म पैसा दिएर पठाउने गरेको बताइन् । अभिभावकले विद्यालयमा छोराछोरी खाजा के खान्छन् भन्ने कुराको खोजी नगर्दा ९० प्रतिशत बालबालिकाले चाउचाउ लगायतका जङ्कफुड खाने गरेको बताइन् ।  यस्ता खानेकुराले बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या देखिने गरेको छ । चाउचाउ, कुरमुरे, चिप्स जस्ता खानेकुरा मोटोपनको प्रमुख समस्या भएको डा. उप्रेतीको भनाइ छ ।

गाउँघरमा मकै, भटमास, चना, चिउरा खाने बानी बिस्तारै हट्दै बजार पाउने प्याकेटको खानेकुरालाई प्राथमिकता दिँदै जाने हो भने अबको ५ देखि १० वर्षमै ५० प्रतिशत मोटोपनको समस्या आउने डा. उप्रेतीको भनाइ छ ।

उनले रातोपाटीसँग भनिन्, ‘मोटोपनले बालबालिकामा बिस्तारै चिनी रोग र रक्तचापको समस्या, वयस्कमै मधुमेह, ३० देखि ४० वर्षको उमेरमा घँुडा दुख्ने, कम्मर दुख्नेलगायतका धेरै समस्या देखिन्छन् । पोषणले मानिसको जीवनमा ठूलो समस्या ल्याउँछ भन्ने बारेमा कतिलाई थाहा छैन भने कति थाहा भएर पनि वास्ता गर्दैनन् ।’

पुड्कोपन कम गर्न जान्नुपर्ने उपाय

पुड्कोपन कम गर्न गर्भवती हुँदादेखि नै कम्तीमा पनि ४ पटक गर्भजाँच गर्ने । टीटीखोप लगाउने, आइरन, औषधि लगायत औषधि सेवन गर्ने । अन्य समयको भन्दा थप खानेकुरा खाने  । खानमा पहेँलो फलफूल, सागसब्जी, दहीदूध, अण्डा, माच्छामासु बढी सेवन गर्ने । गर्भवतीलाई जति स्याहार गर्न सक्यो बच्चा त्यति नै स्वास्थ्य जन्मिने हुँदा पुड्कोपनबाट जोगिनका लागि पनि गर्भअवस्थामा विशेष ध्यान दिनुपर्छ । गर्भवस्थामा आमालाई खुशी पार्न सकेको छैन भने बच्चालाई पनि असर पर्छ । गर्भवती बेलामा कसैले मन दुखाइदिनुभयो भने गर्भमा भएको शिशुको पनि मन दुख्छ । त्यस्ता बच्चापछि छिटो रिसाउने खालका हुन्छन् ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...