शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यी तीन कारणले प्रचण्डले बोलाएको दोस्रो बैठक टर्‍यो

मङ्गलबार, १७ भदौ २०७६, १३ : ३८
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौँ–कार्यकारी अध्यक्षको जिम्मा पाएको चार दिनपछि अर्थात भदौ ९ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालय बैठक बोलाए । पार्टी एकताको १५ महिनापछि पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एकतासँग जोडिएका केही विषय टुङ्ग्यायो भने पार्टी अनुशासनका विषयमा पनि महत्वपूर्ण निर्णय लियो । 

त्यसबाहेक टुङ्ग्याउन बाँकी एकीकरणका काम केही दिनमै सचिवालयको अर्को बैठकले गर्ने निर्णय भएको नेताहरुले बताएका थिए । तर, एक साता बितिसक्दा पनि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । अघिल्लो बैठकमा भएको सहमति अनुसार प्रचण्डले भदौ १३ गते बिहान ११ बजेलाई सचिवालयको अर्को बैठक बोलाउनेबारे नेताहरुसँग परामर्श गरेका थिए । 

तर, अन्तिम समयमा आएर बैठक बस्न सकेन । बरु सोही दिन प्रचण्डको हस्ताक्षरमा नेकपाले अन्तरपार्टी निर्देशन–२ जारी गर्र्यो । अन्तरपार्टी निर्देशनमा सहमतिका आधारमा एकता प्रक्रिया टुंग्याउन थालेपछि त्यो लम्बिएको र त्यससँग सम्बन्धित काम अब छिट्टै सकिने उल्लेख छ । यस्तै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बस्ने पनि बताइएको छ ।

तर, एकीकरणका काम टुङ्ग्याउन बस्ने भनिएको सचिवालय बैठक भदौ ९ यता भने बस्न सकेको छैन । योबीचमा बैठक किन बस्न सकेन त ? सचिवालयका एक नेताका अनुसार कुनै विवाद वा नीतिगत समस्या नभई प्राविधिक कारणले बैठक बस्न नसकेको बताउँछन् । ती नेताका अनुसार बैठक बस्न नसक्नुका तीन कारण छन् । 

पहिलो, भदौ ९ गते बसेको सचिवालय बैठक पछि अर्को बैठक १३ गतेलाई तय भएको थियो । तर, त्यतिबेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विदेश भ्रमणमा निस्के । साउन ३१ गते बसेको सचिवालय बैठकले गरेका केही निर्णयपछि लिखित रुपमै असन्तुष्टि दर्ज गराएका नेता नेपालको अनुपस्थितिमा सचिवालय बैठक बस्नु उपयुक्त नहुने सुझाव केही नेताले प्रचण्डलाई दिएका थिए । त्यसपछि भदौ १३ गतेलाई तय भएको बैठक स्थगित भएको थियो । नेता नेपाल सोमबारमात्रै स्वदेश फर्केका छन् । 

दोस्रो, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारको लागि भदौ ५ गते सिंगापुर प्रस्थान गर्नुअघि बसेको सचिवालय बैठकले उनको अनुपस्थितिमा पनि एकीकरणका बाँकी काम टुङ्ग्याउने निर्णय गरेको थियो । 
सोही निर्णय अनुसार प्रचण्डको पहिलो अध्यक्षतामा बसेको सचिवालय बैठकले केही महत्वपूर्ण निर्णय गरेपनि एकीकरणका सवै काम टुङ्ग्याउन भने सकेन । बैठकले नवप्रवेशी चार नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्र्यो । विभिन्न जिल्ला, जनवर्गिय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर गर्र्यो । 
यस्तै पार्टी नेताका बारेमा सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्न नेता कार्यकर्तालाई निर्देशन जारी गर्र्यो । नेकपामा प्रवास कमिटी, आयोग, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, केही केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ । 
नेकपाले एकतासम्बन्धी काम टुंग्याएलगत्तै कार्ययोजना बनाउने तयारी पनि गरेको छ । पछिल्लो समय पार्टीमा रहने तीन आयोगको नेतृत्वलाई लिएर नेताहरुबीच सहमति जुट्पनि सकेको छैन । त्यसकारण यस्ता गम्भीर एजेण्डामा केही नेताको अनुपस्थितिमा बैठक बसेपनि निर्णय गर्न सक्ने स्थिति थिएन । 

तेस्रो कारण भने पार्टी महासचिव विष्णु पौडेल मंगलबार (भदौ १७ गते) प्रधानमन्त्री ओलीले बोलाएपछि सिङ्गापुर प्रस्थान गरेका छन् । नेता नेपाल विदेशबाट फर्किएको भोलिपल्टै महासचिव पौडेल प्रधानमन्त्रीलाई भेट्न सिंगापुर गएका कारण नेकपाको सचिवालय बैठक फेरी केही समयलाई टरेको छ । महासचिव पौडेल शुक्रबार प्रधानमन्त्रीसँगै स्वदेश फर्कने भएका छन् । सम्भवतः अब सचिवालय बैठक प्रधानमन्त्री ओली स्वदेश फर्केपछि नै बस्ने भएको छ । 
नेकपामा तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता हुँदा दुवै अध्यक्षले पालैपालो बैठकको अध्यक्षता गर्ने सहमति भएपनि १५ महिनासम्म प्रचण्डले त्यस्तो अवसर पाएका थिएनन् । तर, अहिले प्रधानमन्त्री ओली उपचारको सिलसिलामा सिंगापुर छन् । 
उनको अनुपस्थितिमा पनि सांगठनिक एकताका बाँकी काम टुंग्याउने जिम्मा प्रचण्डले पाएका थिए । तर, प्रचण्डको अध्यक्षतामा दोस्रो बैठक बस्नै सकेन । प्रधानमन्त्री ओली फर्केपछि अब बस्ने सचिवालय बैठकको अध्यक्षता गर्ने अवसर प्रचण्डलाई हुन्छ वा हुँदैन त्यसको लागि भने केही दिन कुर्नुपर्ने हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप