केन्द्रीय संस्करण

डेङ्गु नियन्त्रण नहुँदा पर्यटन व्यवसायी चिन्तित

person explore access_timeभदौ २७, २०७६ chat_bubble_outline0
File Photo

चिप्लेढुङ्गा – गण्डकी प्रदेश सरकारले यतिबेला आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको छ । यही समयमा कास्कीलगायतका अन्य जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ । डेङ्गु नियन्त्रणका लागि स्थानीय टोल विकास संस्था, वडालगायतले आ–आफ्नो किसिमले जनचेतना जगाउने काम गरे पनि त्यसको परिणाम सोचेजस्तो सकारात्मक देखिन सकेको छैन ।

कास्कीमा साउनको पहिलो साता एक जनामा देखिएको डेङ्गु दोस्रो साताबाट ह्वात्तै बढ्दै अहिले करीब एक हजार ३०० मा यसको सङ्क्रमण देखिसकेको छ जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

दिन प्रतिदिन बढ्दो डेङ्गु सङ्क्रमण नियन्त्रण नहुँदा पोखराका पर्यटन व्यवसायी चिन्तित देखिएका छन् । डेङ्गु सङ्क्रमणको त्रासले पर्यटन क्षेत्रमा असर गर्ने भन्दै उनीहरु चिन्तित देखिएका हुन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल भने, “एक त सरकारको प्रभावकारी कार्ययोजना नहुँदा आन्तरिक पर्यटन वर्ष त्यति उपलब्धिमूलक बन्न सकेको छैन, अर्कोतर्फ डेङ्गुको सङ्क्रमणको त्रासले पर्यटनमा प्रभाव पार्ने देखिन्छ ।”

जनचेतनाका कार्यक्रमबाट पनि निर्मूल गर्न सकिने यस रोगको नागरिकस्तरबाट सजकता नदेखिँदा यो बढ्दो रुपमा रहेको उनको भनाइ थियो । उनले भने, “अहिलेको मौसममा नियन्त्रण बाहिर गएको छ, डेङ्गुले पर्यटनलाई पक्कै असर गर्छ, यसमा स्वास्थ्य निर्देशनालय र सरोकारवाला हामी सबैले प्रभावकारी कदमका लागि सोच्नुपर्छ ।”

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचल पनि डेङ्गुको त्रासले पर्यटन आगमनमा सुस्तता आउने स्वीकारे । उनले भने, “मान्छे सबैभन्दा पहिला आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्छ तर मनोरञ्जन र आनन्द लिन आउँदा मनोवैज्ञानिक रुपमा त्रसित भएर आउन चाहँदैन । अहिले डेङ्गुको सङ्क्रमण जुन तरिकाले बढिरहेको छ, यसले मौसम शुरु हुने बेलामा आन्तरिक र बाह्य पर्यटकलाई स्वभाविक रुपमा असर पार्छ ।” 

बेलैमा प्रभावकारी कदम नचाल्ने हो भने पर्यटन क्षेत्रलाई तहसनहस गराउने उनको भनाइ थियो ।

पर्यटन व्यवसायी गणेश थापा डेङ्गु प्रकोपले पर्यटनमा असर गरेको बताउछन् । “हरेक व्यक्ति डेङ्गुको बारेमा थाहा पाएजस्तो गर्छन् तर जोगिनका लागि सावधानी नअपनाउँदा यो फैलिरहेको छ”, पर्यटनमा यस्तो प्रकोपले स्वतः असर गर्ने उनको भनाइ थियो । 

उनले भने, “यसको नियन्त्रणको लागि औषधि उपचार निःशुल्क गरेर सामान्य रुपबाट सचेतना जगाउनु पर्छ । नत्र महँगो ल्याब परीक्षणले झनै असर गर्दै जान्छ ।” 

बजारमा डेङ्गु परीक्षणको रु एक हजारदेखि दुई हजार ५०० सम्म लिने गरेको उनले बताए ।

डेङ्गु नियन्त्रणका लागि विभिन्न सरोकारवालाले सचेतना एवं अन्तरक्रिया कार्यक्रम गरेर नियन्त्रणको लागि पहल गरिरहेको पोखरा महानगरपालिका–५ का वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली बताउछन्। 

“गत वर्ष पनि ६०० हाराहारीमा डेङ्गु देखिएको थियो । यस वर्ष करीब एक हजार ३०० मा डेङ्गु देखिसकेको छ । यसका लागि स्थानीय तहसँगै नागरिक स्वयंको अग्रसरता र सजकतानै महत्पूर्ण हुन्छ”, प्रवक्ता नेपालीले भने । सामान्य सतर्कता र सामान्य औषधिले  सञ्चो हुने भए पनि लापर्वाही बढी भएकाले यो चुनौतीको रुपमा रहेको उनको भनाइ थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बराल सबै क्षेत्रबाट डेङ्गु नियन्त्रणका लागि प्रचारप्रसार र सचेतना भइरहेको र यति हुँदाहुँदै पनि नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय भएको बताए ।

“एउटा रोगी लामखुट्टेले १०० सम्म फुल पार्ने र ती सबै रोगी लामखट्टे जतिलाई टोक्छ त्यतिलाई डेङ्गु हुने भएकाले यो जटिल भएको हो”, उनले भने, “मुख्य कुरा पानी जम्न नदिने, पानीलाई छोपेर राख्ने, घर वरिपरिका निर्माण सामग्रीलगायत अन्य सामग्री खुलारुपमा नराख्ने र पानी जम्न नदिने हो भने धेरै नियन्त्रण हुन्थ्यो ।”

यो स्वास्थ्य कार्यालयको मात्र विषय नभई सम्पूर्ण नागरिक आफ्नो स्वास्थ्यप्रति सजकता देखाउनु पर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका सिनियर मेडिकल अफिसर डा भोजराज गौतमले भने, “सञ्चारमाध्यमबाट यसलाई त्रासको रुपमा नभई जनचेतनाको रुपबाट यसबाट बच्ने उपायको बारेमा प्रचार गर्दै जाने हो भने कम हुन्छ ।”

जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका अनुसार डेङ्गु भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले मानिसमा डेङ्गु सार्ने गर्दछ । 

यसले टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नीमा धेरै दुख्ने, ग्रन्थी सुन्निने र शरीरमा बिमिरा निस्कनेजस्ता लक्षण देखिने उहाँले बताए । विशेष गरी रोगमा मांसपेशी तथा हड्डीमा निकै पीडा हुने भएकाले यसलाई ‘ब्रेकबोन’ ज्वरो पनि भन्ने गरेको डा पाण्डेको भनाइ थियो ।

डेङ्गुविरुद्ध प्रभावकारी खोप आइसकेको छैन । यस्तै डेङ्गु ज्वरो भाइरल सङ्क्रमण भएकाले यसको ठोस उपचार पनि छैन ।

“ज्वरो आदिको लाक्षणिक उपचार, आराम तथा प्रशस्त मात्रामा झोल पदार्थ सेवन एवं अस्पतालमा भर्ना गरेर स्लाइन दिएर उपचार गरिन्छ”, डा पाण्डेको भनाइ छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.