अमेरिकासँगको ट्रेड-वारमा चीन विजयी हुने झलनाथ खनालको ठोकुवा
काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले अमेरिकासँगको ट्रेड वारमा चीन विजयी हुने ठोकुवा गरेका छन् ।
शनिबार राजधानीको संवाद डबलीमा लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा संग्रहको विमोचन समारोहमा खनालले ७÷८ वर्षमा चीनले अमेरीकालाई पनि उछिन्ने धारणा राखे ।
खनालले लामो संघर्ष पश्चातको ४० वर्षको छोटो समयमै चीन महाशक्ति राष्ट्रको दर्जामा उभिन सक्नु संसारका कम्युनिस्ट तथा समाजवादी देशहरुको लागि उदाहरणीय भएको बताए ।
पुस्तकका लेखक भण्डारीले नेपालको वर्तमान सामाजिक तथा सांस्कृतिक विकृति तथा विसंगतिका विरुद्धमा पुस्तकमार्फत खरो उत्रेकोप्रति धन्यवाद दिए । उनले १९६६ देखि ०७६सम्मको चिनियाँ सांस्कृतिक क्रान्तिलाई उग्रबामपन्थी भड्काववादी आन्दोलनको संज्ञा दिदै उनले भने,“समाज रुपान्तरण विस्तारै हुन्छ, कतिपयले चीनको वर्तमान विकासको अधारलाईसमेत प्रतिक्रान्तिको नजरले हेर्छन्,जुन गलत हो ।”
नेता खनालले दुइ तिहाइको कम्युनिस्ट सत्तालाई पनि कर्मचारी तन्त्र र प्रशासनले नर्टेनु दुःखद भएको धारणा राखे ।
साहित्यकार तथा लेखक भानु भण्डारीले सांस्कृतिक रुपान्तरण भन्दा पनि समाजको आमुल परिवर्तन आजको आवाश्कता भएको बताए ।
लेखक भण्डारीले समाजको परिवर्तनकै आधारमा सांस्कृतिक परिवर्तन हुने भएकाले सबैले अधुरो क्रान्ति आ–आफ्नो स्थानबाट पूरा गर्ने आधार तयार गर्नु पर्ने बताए ।
नेकपा नेता तथा सांस्कृतिक विभाग प्रमुख मणि थापाले लेखकप्रति इगिंत गर्दै भने, “भण्डारी जीले वर्तमान अवस्थाप्रति चिन्ता जाहेर गर्दै पुस्तक लेख्नु भएको छ, त्यो राम्रो कुरा हो र उहाँलाई धेरै धन्यवाद ।”
समालोचक तथा विश्लेषक प्रा.डा.गोपिन्द्र पौडलले लेखक भानु भण्डारी भूगोलको विद्यार्थी भए पनि संस्कृति र साहित्यमा राम्रो दखलता राख्नु ठूलो क्षमता भएको बताए ।
उनले पुस्तकको विषयवस्तुमा भारतीय विस्तारवादको हस्तक्षेपका साथै समाजमा विद्यमान विकृति विसंगतिको विषयमा राम्रो चित्रण गरिएकोप्रति प्रशंसासमेत गरे ।
प्राध्यापक निर्मला पोखरेलले पुस्तकको समालोचना गर्दै भनिन्, “३ सय भन्दा बढी रिसर्चचरहरुको अध्ययन गर्नु, विश्वदेखि नेपाल भित्रका सयौं अध्ययताको अध्ययन गर्नु चानेचुने विषयको कुरा होइन ।”