आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

लाखमरी बनाउन भ्याइनभ्याई

बिहीबार, ०७ कात्तिक २०७६, १२ : ११
बिहीबार, ०७ कात्तिक २०७६

एक–एक हातको दूरीमा बलिरहेका चारवटा एकमुखे ग्यास चुलो, करिब ११ लिटर तेल अट्ने क्षमताका चारवटा फलामे कराइमा तातेको तेल । कोठाभरी तेलको खार ।

ललितपुरको पाटनस्थित स्वीट्स होटलको दृष्य हो यो । उक्त होटलको भान्छामा ८ जना कामदारलाई लाखामारी लगायत तिहारका लागि कोसेलीका रुपमा चाहिने विभिन्न प्रकारका रोटी बनाउन भ्याइनभ्याइ छ ।

हिन्दुहरुको दोस्रो ठूलो महान पर्व तिहार नजिकिएसँगै उनीहरुलाई विभिन्न थरिका रोटी बनाउन आजभोलि भ्याइनभ्याइ भएको हो । कराइमा भकभक उम्लिएको तेलमा लाखमरी रोटी फर्काउन व्यस्त थिए सन्दिप तामाङ । उनलाई विभिन्न २० प्रकारका लाखमरी रोटी बनाउन आउँछ ।

सन्दिपले धेरै थरिका लाखमरी रोटी र मिठाइ बनाउन थालेको करिब १८ वर्ष भयो । तिहारमा थरिथरिका लाखामारी रोटीको माग धेरै हुने भएकाले अघिपछि भन्दा कामको चाप अली बढि हुने उनी बताउँछन् ।

‘तिहारमा दिदीबहिनीले दाजुभाईलाई मिष्ठान्न परिकार खुवाउने क्रममा नेवार समुदायका अतिरिक्त अन्य समुदायका दिदीबहिनीले पनि लाखामारी रोटी खोज्ने गरेका छन्,’ उनले भने, ‘सोमबारदेखि लाखमरी रोटी बनाउ सुरु गरेका हौँ ।’

आर्यन लामा पनि बेलाबेला निधारको पसिना पुछ्दै तातो तेलको कराइ नजिकै बसेर पिठोको लामो लामो तान्द्रा हातले बनाउन तलिन थिए । चामल अनि मासको पिठो, तिल र नेपाली घ्यूबाट हाते अइठामरी लाखमरी रोटी बनाउदै थिए उनी । आर्यन अइठामरी लाखामारी रोटीको आकार दिन व्यस्त थिए भने दिपक तामाङ कराइमा लाखामारी रोटी फर्काउन व्यस्त थिए । दिपक लिङ्की, बिनी, पन्जाम, बालबारा, आचीँ लगायतका २० थरिका लाखमरी रोटी बनाउन अभ्यस्त छन् ।

‘तिहारको बेलामा लाम्चो अइठा लाखमरी रोटीको माग सबैभन्दा बढी हुन्छ,’ उनले भने, ‘अरु रोटीको तुलनामा यो रोटी धेरै बन्छ ।’ प्रायः सबै खालका लाखामारी रोटी किलोअनुसार बिक्री गरिने सन्दिपले बताए । विगतमा तिहार अघि दैनिक ६० हजार देखि १ लाखसम्मको व्यापार भएको उनको भनाइ छ ।

पाटनकै डेढसय बर्ष पुरानो श्रीनन्द मिठाइ भण्डारमा पनि तिहार नजिकिएसँगै लाखमरी बनाउन भ्याइनभ्याइ छ । तीन दिनदेखि लाखामारी जोगप्रसाद रोटी बनाउन सुरु गरेको भण्डारका राधाकृष्ण राजकर्णिकारले बताए । उनीसँगै १३ जना कामदार विभिन्न थरिका लाखामारी रोटी बनाउन व्यस्त थिए । लाखमरी जोगप्रसाद रोटीको डंगुर देखाउदैँ उनले भने, ‘रोटी बनाएको एक महिनासम्म बिग्रिदैँन, त्यसैँले यसको माग बढी छ ।’

तिहारमा लाखमरी, बर्फी र ख्वाका परिकारको अत्याधिक माग हुने उनले बताए । उनले भने, ‘माग अनुसार रोटी पु¥याउन सक्दैँनौ ।’

यद्यपि, चाडपर्वमा पहिलाजस्तो व्यापार भएको भन्न नसुहाउने उनले बताए । मिठाइको पसलको संख्यामा वृद्धि भएकाले पहिलाजस्तो व्यापार नहुने उनले बताए । हजुरबुवाको पालादेखि पसललाई निरन्तरता दिदैँआएको उनको भनाइ छ । पहिला पहिला अन्य जातजातिमा लाखमरी किन्ने चलन थिएन, आजभोलि सबै जातजातिले किन्ने गरेको उनले बताए ।  

‘पहिलापहिला मिठाइ भण्डार कम भएकाले काम गर्ने जनशक्ति धेरै हुनुका साथै व्यापार रामो हुन्थ्यो,’ राजकर्णिकारले भने, ‘माग धान्न नसके पनि पहिलाको तुलनामा व्यापार राम्रै भयो भन्ने लाग्दैन ।’

तिहारमा भुमरी, आचीँ, लाखमरी, जोगप्रसाद, आइठा, बर्फी, डेनिस रोटीको माग पनि धेरै हुने उनले बताए । बर्फी एक केजीलाई ८ सय ५० रुयैँया पर्छ । तिहारमा सेल रोटीको माग भए पनि अन्य रोटी बनाउदा नभ्याउने उनले बताए ।

लाखामारी रोटी एक महिनासम्म राखेर खान मिल्ने भएकाले विदेशमा समेत माग हुने गरेको उनको भनाइ छ । दशैंमा लाखामारी रोटी अमेरिका, अष्ट्रेलिया लगायत युरोपेली राष्ट्रमा समेत जाने गरेको उनले बताए । ‘माग धान्न समस्या भएकाले होलसेलरुपमा विक्री गर्दैनौँ,’ उनले भने, ‘कहीलेकाही पकाउँदा पकाउँदै कुरेर रोटी लाने गर्छन् ।’

स्पेशल लाखामारी रोटी चामल र मासको पिठो, तिल र नेपाली घ्यूबाट बनाइनछ । अन्य समयमा पनि यसको माग धेरै हुने गरेको व्यवसायीहरु बताउँछन् ।

तस्विर : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप