बैतडी डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो
बैतडी – दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशीले बताए ।
गौरीलाई नेपालगञ्जमा उपचार गरी घर ल्यायँदै थियो । उनलाई बाटोमा असहज भएपछि थप उपचारका लागि भारत लगिएको हो । जगदिशका दाजु बिसनदत्त जोशीका अनुसार गौरीलाई उपचारका लागि भारत लगिएको र आफू उपचार खर्च जुटाउन घर फर्किएको बताए । “उपचार गराउन खर्च अभाव भएको छ, मजदूरी गरेर खाने मान्छे उपचार गराउन कहाँबाट पैसोको जोहो गर्नु”, उनले भने ।
नेकपाको ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा भएको डोजर प्रकरणमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाले गत सोमबार स्थानीयवासीबीच विवाद हुँदा घटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालले आज विज्ञप्ति जारी गर्दै दशरथचन्द नगरपालिकाले नै सुणन्नाखानदेखि पार्स जोड्ने सडक खन्नका लागि अनुमति दिएको, नगरप्रमुख आफैँले सडकको उद्घाटन गरेको र दुई सडक निर्माणका लागि नगरपालिकाले आश्वासन दिएको बताए । नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य गोपालदत्त जोशीलाई समितिको अध्यक्ष बनाई अर्को सडक खन्न लगाउँदा विवाद भएको पालको आरोप छ ।
काङ्ग्रेससँग आबद्ध शिक्षक दुर्गादत्त जोशीको उक्साहटमा सडक निर्माण गरिरहेका बेला एक्कासी निर्माण गर्ने पक्षमाथि आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दशरथचन्द नगरपालिकाले विगतदेखि बिना योजना दर्जनौँ सडक निर्माण गरी करोडौँ रुपैयाँ खर्च गरेकोप्रति नेकपाले आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारावाही गर्न नेकपाले आग्रह गरेको छ ।
उक्त घटना सत्ता र शक्तिका आडमा भएको काङ्ग्रेसको केन्द्रीय छानबिन समितिको निष्कर्ष छ । काङ्ग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले यहाँ पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको छानबिन समितिका संयोजक बहादुरसिंह थापाको आरोप छ । काङ्ग्रेसको छानबिन टोलीले घटनास्थलमा पुगेर स्थानीयसँग छलफल गरेको थियो ।
बिना सम्झौता सडक खनियोः नगरपालिका
दशरथचन्द नगरपालिकाले उक्त सडक खन्न आर्थिक वर्ष २०७४÷७५ मा रु चार लाख विनियोजन गरिएको र सो रकम बराबरको काम सम्पन्न भइसकेको जनाएको छ ।
हाल सो सडकका लागि बजेट विनियोजन नभएको र डिजाइन स्टमेट पनि नबनाएको नगरपालिकाले जनाएको छ । “योजना निर्माणका लागि नगरपालिकासँग सम्झौता भएको छैन”, नगरप्रमुख नरेन्द्रसिंह थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चालकसहित चार जनाविरुद्ध मुद्दा
गौरीलाई डोजर लगाएर हुत्याउने चालक किशोर बोहरा, डोजर मालिक भानीदत्त जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।
कात्तिक ४ गते चिलाउने–पार्स सडक खन्ने क्रममा डोजरले हुत्याउँदा गौरी घाइते भएकी थिइन् । सडक खन्ने क्रममा दुई पक्षबीच झडप हुँदा अन्य सात जना सामान्य घाइते भएका थिए । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
-
यी हुन् कार्कीलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)
-
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
-
सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारी बर्खास्त
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश