आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

'मृत्युमार्ग' भनेर चिनिने सिद्धबाबामा बन्ने भयो नेपालको दोस्रो सुरुङ्गमार्ग

अर्थ मन्त्रालयको सहमतिसँगै टेन्डर आह्वानको तयारी
मङ्गलबार, ०३ मङ्सिर २०७६, ११ : ३९
मङ्गलबार, ०३ मङ्सिर २०७६

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबावा क्षेत्र पहिरोको कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार  गर्नुपर्ने बाध्यता रहेको छ ।

अझ बर्खाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने र माथीबाट ढुङ्गा खसेर सवारीमा क्षति पुग्ने घटना हरेक वर्ष हुने गरेको छ । यही क्षेत्रमा धेरै यात्रुले ज्यान गुमाएका छन् भने कयौँ घाइते बनेका छन् । जोखिमयुक्त यो सडक खण्डमा दुर्घटना भइराख्ने भएकाले कतिपयले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरेका छन् ।

दुर्घटनाको खतरालाई ध्यानमा राख्दै अब सो क्षेत्रमा सुरुङ्गमार्ग बन्ने भएको छ । अर्थ मन्त्रालयको एक पत्रपछि सुरुङ मार्ग निमार्णको प्रकियामा जाने भएको हो  ।

यसअघि, पहिरोको अति जोखिम क्षेत्रका रुपमा रहेको बुटवल–पाल्पा सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि सुरुङ मार्ग, हाफ टनेल, बेञ्च कट वा रकनेटलगायत आधा दर्जन प्रविधिमध्ये कुनै एक प्रविधि अपनाउन सकिने विषयमा लामो बहस भएको थियो ।

यता, स्थानीय, प्रदेश र संघीय निर्वाचनको बेला प्रायः हरेक दलहरुले सिद्धबावा सडक चुवानी एजेन्डा बन्ने गरेको थियो । सुरुङ मार्ग निमार्णको लागी अर्थ मन्त्रालयले वार्षिक बजेटमा १० अर्व १५ करोडको सीमा भित्र रहेर बहुवर्षीय ठेक्काको माध्यमबाट निमार्णको खरिद प्रकृया अगाडि बढाउन निर्णय अनुसार अनुरोध गरेपछि अब एक महिनाभित्र महिनाभित्र टेन्डर आह्वान हुने  सडक विभागका महानिर्देशक केशव शर्माले रातोपाटीलाई बताए ।

सुरुङमार्ग बनाउन अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै वार्षिक बजेटमा १० अर्व १५ करोडको सीमाभित्र रहेर बहुवर्षीय ठेक्काको माध्यमबाट निमार्णको खरिद प्रकृया अगाडि बढाउन निर्णय अनुसार अनुरोध गरेको छ ।

शर्माले भने, ‘हिजो हामीलाई अर्थ मन्त्रालयले पत्र लेखेको छ । अब हामी एक महिनाभित्र टेन्डर आह्वान गर्ने छाँ ।’

सुरुङ मार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ वमोजिमको प्रक्रिया पुरा गरी डिपीआर वमोजिम हुने गरी डिजाइन, निमार्ण तथा सञ्चालन मर्मत कार्यमा प्राविधिक सेवाको सुनिश्चित गरी लागत अनुमान वमोजिम प्रत्येक वर्ष खर्च हुने अनुमानित रकम मध्यकालिन खर्च संरचनामा समावेश गरी सोही वमोजिम वार्षिक वजेटमा प्रस्ताव गर्ने गरी १० अर्ब १५ करोडको सीमा भित्र रही प्रक्रिया अगाडि बढाउन मन्त्रालयले भनेको छ ।

सिद्धबाबा दोस्रो सुरुङ्ग मार्ग  

प्रधानमन्त्री केपी शर्माओलीले कार्तिक ४ गते देशकै पहिलो नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको शिलान्यास गरेका थिए । 

अब सिदार्थ राजमार्गको सिद्धबाबा मा देशकै दोस्रो सुरुङ्गमार्ग बन्ने सडक विभागका महानिर्देशक शर्माले रातोपाटीलाई बताए ।

उनले सडक विस्तारबारे अनेक विकल्पहरुमा छलफल र अध्ययनपछि कतिपय यस्ता ठाउँहरुमा  सुरुङ्ग मार्ग चाहिने देखिएकाले सोही प्रकृया अन्य ठाउमा पनि शुरु गरिने बताए ।

मन्त्रालयले अब कसरी काम गर्देछ  ?

लामो समय कुन विधीमा गएर काम गर्ने छलफल र अध्ययनमा रहेको मन्त्रालयले  सुरुङ्ग मार्ग जाने निर्णयमा  अन्ततः पुगेको छ । सोही आधारमा मन्त्रालयले आन्तरिक तयारी गरेको छ ।

अर्थ मन्त्रालयको यो निर्णय र सहमतीसँगै अब सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोवल टेण्डरमा जाने बाटो खुलेको यातायात मन्त्रालयले जनाएको छ ।

सडक विभागका महानिर्देशक केशव शर्माले अर्थ मन्त्रालयले सुरुङ्गमार्गका लागि बजेटको सुनिश्चितता गरेको जानकारी दिँदैै सडक विभागले बाँकी प्रक्रिया  अब छिट्टै अगाडि बढाउने बताए ।

नेपाल सरकारको आग्रहमा स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबाको सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको हो । स्वीसले तयार पारेको विस्तृत सम्भाव्यता प्रतिवेदन सडक विभागलाई असारमै हस्तान्तरण गरिएको थियो । सोही प्रतिवेदनको आधारमा भौतिक मन्त्रालयले अर्थ मन्त्रालयसँग वजेट माग गरेको थियो ।

प्रतिवेदनमा सुरुङ मार्ग निर्माण गर्न लाग्ने वजेट तथा मोडालीटीका बारेमा अध्ययन गरिएको थियो । सुरुङ्गमार्ग निर्माण गर्न आठ अर्ब ७६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । तर वातावरणीय प्रभावको मूल्यांकन नेपाली पक्षले गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।  डीपीरआर तोके अनुसार नै अर्थ मन्त्रालयले १० अर्ब १५ करोड को सिमा तोकेको छ  ।

गत वर्ष स्वीस प्राविधिक टोलीले एकसाता लामो भौगोलिक अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाएको थियो । यो परियोजना निर्माणको अवधारणा महासचिव पौडेल अर्थमन्त्री हुँदा नै अघि बढेको थियो । उनी यस क्षेत्रका प्रतिनिधी सभा सदस्य हुन् । स्रोत सुनिश्चिततासहित अर्थमन्त्रालयले दिएको स्वीकृतिपछि यस क्षेत्रका जनताको सपना साकार हुन लागेको महासचिव पौडेलले बताएका छन् । सिद्धबाबामा दैनिक ३ हजारभन्दा धेरै सवारी साधान आवतजावत गर्ने गरेको ट्राफ्रिक प्रहरीको रेडर्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप