मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

साग : नेपालका लागि बलियो प्रतिद्वन्द्वी भारतलाई जित्नै पर्ने दबाब

शुक्रबार, १३ मङ्सिर २०७६, ०९ : २०
शुक्रबार, १३ मङ्सिर २०७६

१३औ दक्षिण एसियाली खेलकुद (साग) पुरुष भबिलको दोस्रो खेलमा नेपालले आज बलियो टोली भारतसँग खेल्दैछ । 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा साँझ ५ः०० बजे सुरु हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ । 

पहिलो खेलमा बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई हराउनु पर्ने बाध्यता छ । नेपालले बंगलादेशसँग अन्तिम सेटमा हार खेपेको थियो । 

भारत नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । पुरुष भबिलमा नेपालले भारतलाई हराउन सकिरहेको छैन । एसियाकै बलियो टोली भारतसँग सागअघि नेपालले मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल सोझो सेटमा पराजित भएको थियो । त्यसैले आजको खेल नेपाललाई गर या मरको अवस्था छ । भारतलाई हराउन नेपाललाई त्यति सजिलो छैन । 

भारतले बंगलादेशलाई सोझो सेटमा हराएर सेमिफाइनलमा पुगिसकेको छ । नेपालका लागि बंगलादेशसँगको हार निकै महंगो भएको थियो । सोही हारसँगै पुरुष भबिलमा नेपालको पदक सम्भावना कमजोर बनेको हो । 

पुरुष भबिलमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र बंगलादेश छन् । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स छन् । आजै साँझ ७ः०० बजे श्रीलंका र माल्दिभ्स पनि भिड्दैछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप