शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने

शनिबार, ३० जेठ २०८३, १७ : ५१
शनिबार, ३० जेठ २०८३

सारांश

  • भारतका गृहमन्त्री अमित शाहले सीमावर्ती क्षेत्रमा भइरहेको जनसांख्यिकीय परिवर्तनको वैज्ञानिक अध्ययन गर्न सम्बन्धित आयोगलाई निर्देशन दिएका छन् ।
  • मन्त्री शाहले सीमावर्ती क्षेत्रमा मात्र नभई प्रमुख महानगर र औद्योगिक सहरहरूमा समेत जनसांख्यिकीय संरचनाको अवस्था जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
  • भारत सरकारले सीमा क्षेत्रमा अवैध बसाइँसराइ र जनसांख्यिकीय असन्तुलनलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेरेको छ ।

काठमाडौँ । भारतका गृहमन्त्री अमित शाहले सीमावर्ती जिल्लाहरूमा भइरहेको जनसांख्यिकीय परिवर्तनको अवस्थाबारे विशेष चासो राखेका छन् । 

जनसांख्यिकीय परिवर्तनसम्बन्धी एक उच्चस्तरीय बैठकको आज अध्यक्षता गर्दै मन्त्री शाहले सीमावर्ती क्षेत्रहरूमा भइरहेको जनसङ्ख्याको बनोटमा आएको परिवर्तनको वैज्ञानिक अध्ययन गर्न सम्बन्धित आयोगलाई निर्देशन दिएका हुन् । नेपाल–भारतबिच सीमा विवाद भइरहेको बेला गृहमन्त्री शाहको यस्तो निर्देशन आएको हो । 

बैठकमा मन्त्री शाहले सीमावर्ती क्षेत्रमा मात्र नभई प्रमुख महानगर र औद्योगिक सहरहरूमा समेत जनसांख्यिकीय संरचनाको अवस्था जटिल बन्दै गएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेको भारतीय सञ्चारमाध्यममले जनाएको छ । उनले आयोगका अधिकारीहरूलाई ती क्षेत्रहरूको यथार्थ अवस्थाको मूल्याङ्कन गरी त्यसको स्थलगत भ्रमणमा गर्न निर्देशन दिएका छन् । 

आयोगले तयार गर्ने प्रतिवेदनले आउने दिनमा लिइने नीतिगत निर्णय तथा राष्ट्रिय सुरक्षाको रणनीतिमा महत्त्वपूर्ण हुने बताइएको छ । भारत सरकारले सीमा क्षेत्रमा अवैध बसाइँसराइ र जनसांख्यिकीय असन्तुलनलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेरिरहेको छ । स्थलगत अध्ययनपश्चात् आउने प्रतिवेदनका आधारमा आगामी दिनमा थप कदम चालिने स्रोतहरुले जनाएका छन् । 

भारतसँग नेपाल, बङ्गलादेश, पाकिस्तान, चीन, भुटान, अफगानिस्तान र म्यानमारको सीमा जोडिएको छ । सबैभन्दा बढी बङ्गलादेशसँग जोडिएको छ । नेपालसँग मात्र भारतको खुल्ला सीमा रहेको छ । नेपालसँग खुल्ला सीमा भएका कारण घुसपैठ हुने गरेको र नेपालका मान्छेहरू भारतमा घरजम गरेर बस्ने गरेको रिपोर्ट गरिएको छ । सोही क्रममा भारतले सीमावर्ती क्षेत्रमा अध्ययन गराउन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप