बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री पार्वत गुरुङ: मलाई पुरुष भएर पनि किन महिला मन्त्री ? भनेर धेरैले भन्छन्, तर....

मङ्गलबार, ०१ पुस २०७६, १९ : ३२
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला, बालबालिका तथा जेष्ठ नागरिकका क्षेत्रमा आफूले सशक्त ढंगले काम गर्न कार्ययोजना बनाइरहेको बताएका छन् ।  मंगलबार ललितपुरमा राष्ट्रिय महिला आयोगले गरेको नवनियुक्त मन्त्रीलाई स्वागत तथा लैङ्गिक हिंसा नियन्त्रणका कामबारे जानकारी दिन गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आगामी योजनाका लागि विभिन्न पक्षसँग छलफल थालेको जानकारी दिएका छन् । 

उनले आज बालबालिकाका क्षेत्रमा क्रियाशील सरोकारवाला पक्षसँग छलफल गरेको बताउँदै छिट्टै जेष्ठ नागरिक र महिलाका क्षेत्रमा क्रियाशील पक्षसँग सुझाव लिएर आगामी नीति तथा कार्यक्रमका लागि योजना बनाउने उल्लेख गरे । 

उनले भने– ‘विभिन्न पक्षसँग अन्तरक्रिया गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर मास्टर प्लान निर्माण गर्न लागेको छु । यस्तो अन्तरक्रिया हप्ता दश दिनसम्म गर्ने योजना छ ।’ उनले  विगतमा आफू संसदीय सुनुवाई समितिको सदस्य भएर सरकारलाई यसरी काम गर्नु भनेर सुझाव दिने ठाउँमा रहेको मान्छे अहिले आफै सरकारमा रहेकोले अभियानकर्मीहरुले दिएको सुझाव कार्यान्वयन गर्न सहयोग गर्ने जानकारी गराए । 

मन्त्री गुरुङले काम नगर्ने गैरसरकारी निकायलाई नियन्त्रण गर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने कामको सुरुवात गर्ने बताए ।  उनले भने– ‘अब नराम्रो गर्नेलाई नियन्त्रण र राम्रो गर्नेलाई पुरस्कृत गर्ने अभियान पनि सुरु हुन्छ । महिलाको नाममा संघ संस्था खोल्ने र महिला बेचबिखन गर्ने संस्थाहरुको खोजी किन नगर्ने ?’

उनले महिला मन्त्रालयले गर्नुपर्ने काम विभिन्न संस्थाले पनि गरिरहेको बताउँदै अब महिला, बालबालिका, तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने संस्थाहरुको सूची तयार गरेर एकद्धार नीति अनुसार काम अघि बढाउने जानकारी दिए । 

मन्त्री गुरुङले महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुको कडाईका साथ अनुगमन गर्ने पनि जानकारी दिए ।  आफूलाई पुरुष भएर पनि महिला मन्त्रालयमा किन भनेर धेरैले प्रश्न गर्ने गरेको बताउँदै आफू पुरुष भए पनि महिलाको क्षेत्रमा राम्रो काम गर्ने मन्त्रीको रुपमा प्रमाणित गर्ने उल्लेख गरे । 

कार्यक्रममा महिला आयोगका सचिव दिपेन्द्र काफ्लेले आयोगमा पदाधिकारी नभएका कारण प्रभावकारी काम हुन नसकेको उल्लेख गरे । उनले आयोगले महिला हिंसाको गुनासो सुन्न सुरु गरेको पैसा नलाग्ने टेलिफोन नम्बर ११५५ निकै प्रभावकारी भएको बताए । २४ सै घण्टा फोन गर्न सकिने सो नम्बरमा हालसम्म ८ हजार १ सय केश रेकर्ड भएको, २४ सय ५३ दर्ता भएको र ३ हजार १ सय २९ मुद्धा कारवाहीका लागि सिफारिस गरेको जानकारी दिए । 

यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नेपालमा महिला, बालबालिकाको क्षेत्रमा गौरव गर्न लायक काम भएको बताए । उनले अन्य देशको तुलनामा नेपालमा विभिन्न क्षेत्रमा महिला सहभागिता उच्च भएको बताए । 

कार्यक्रमको एक सहयोगी संस्था महिला, कानून र विकास मञ्चका अध्यक्ष मिरा ढुङ्गानाले मानसिक अवस्था कमजोर रहेको महिलामाथि अन्य महिलाका तुलनामा बढी हिंसा हुने गरेको बताइन् । उनले देवानी संहितामा महिलाले सम्बन्ध बिच्छेद गर्न चाहे अंश नपाउने व्यवस्था न्यायोचित नभएको बताइन् । 

उनले भनिन्–‘बिहेपछि महिला पुरुषको घरमा जान्छन्, १७ घण्टासम्म विना पारिश्रमिकको झै काम गर्छन् । पछि महिलाले चाहे सम्बन्ध बिच्छेमा पुरुषको सम्पत्ति नपाउने जुन असमान कानून छ, त्यसलाई संशोधन गर्न आवश्यक छ ।’

उनले ९ लाख बालबालिका एकल महिलासँग रहेको र ७० हजार बालबालिका एकल पुरुषसँग रहेको बताउँदैं ९ लाख बालबालिकालाई राज्यबिहिन हुनबाट जोगाउन आमाको नामबाट नागरिकता दिन सहज व्यवस्था गर्न मन्त्री गुरुङ्को ध्यानाकर्षण गराइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप