बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सादा जीवन र उच्च विचारका राजनेता  किसुनजी  !

मङ्गलबार, ०८ पुस २०७६, १३ : ३६
मङ्गलबार, ०८ पुस २०७६

कुशल राजनीतिज्ञ, समाजवादी चिन्तक अब्बल पत्रकार, सफल लेखक र दर्शनशास्त्रका अध्येता सन्त नेता किसुनजी नेपाली राजनीतिका रोलमोडल पुरुष हुन्  । राजनेताहरूमा हुनपर्ने विशिष्ट गुणहरू धेरै मात्रामा भएकैले  उनले सुराही, छाता र ट्याङ्कालाई बिम्ब बनाएर सादा जीवन उच्च विचारकै राजमार्गमा  जिन्दगीका अन्तिम समयसम्म नेपाली राजनीतिलाई आदर्श, आस्था तथा मूल्यको उदात्त क्षितिजतिर उठाइरहे । सत्, चित् र आनन्दको त्रिवेणीमा आफूलाई समाहित गरेका उनी भन्छन्– ‘जीवन भगवान्को उपहार हो, यसलाई जति सक्यो त्यति नै सदुपयोग गर्नुपर्छ ।

ईश्वर मानिसले प्राप्त गर्ने सबैभन्दा ठूलो चिज हो, इतिहासको लोभले मैले काम गरेको होइन । कस्ता कस्ता पतित मानिसहरू इतिहासमा ठूला भएर गए । अहिलेसम्म पनि ठूलै छन् । तिनीहरूलाई सारा संसारले नै ठूलो देख्छन् । त्यो मलाई थाहा भएपछि इतिहासको मोह जागेन । काललाई जित्ने कोसिसमा मानिसले जति दर्शन लेखेका छन्, ती सबै खालि प्रयत्न मात्र हुन् । यही जन्ममा नै मैले सत्यलाई अनुभूति गर्न सक्नुपर्छ । राजनीतिमा स्वार्थ नलिईकन काम गर्न सक्नुपर्छ ।

नेपालको पहिलो चुनौती गरिबी हटाउने हो भने दोस्रो चुनौती नेपालको स्वतन्त्रता र सार्वभौमिकताको जर्गेना गर्न, यहाँका राजनेताहरूले बढी जागरुकताका साथ काम गर्नुपर्छ । दोस्रो, पुस्ताले ठीक तरिकाले काम गर्दै गयो, एकता बनाएर चल्न सक्यो अनि छोटोपन देखाएनन् भने नेपाली काँग्रेसको भविष्य उज्ज्वल छ । सत्य, साधना, एकता, दया र सम्बन्धजस्ता नैतिकताका मूल्यहरूलाई अपनाउँदै ईश्वरलाई साक्षी राखी अगाडि बढ्नुपर्छ ।  पञ्चायत ‘थर्ड ग्रेड’ व्यवस्था हो ।  म यसलाई मान्दै मान्दिन, म पञ्चायतको १ नं. को शत्रु हुँ ।” यी माथिका सङ्कल्प, प्रण र वाचाका अभिव्यक्तिभित्र उनको जीवनका बहुआयामिक कोण–प्रतिकोणहरू सुन्दर ढङ्गले मुखरित भएर सिङ्गो शाश्वततालाई उचालिएको छ ।

    सन्त कवीरले एक प्रसङ्गमा भनेका छन्– “बुरा जो  खोजन मैं चला, बुरा नमिलिया कोय । जो दिल देखा अपना मुझसा बुरा नकोय ।” अर्थात्– संसारमा म नराम्रो मान्छे खोज्न हिँडे नराम्रो कहीँ भेटिनँ, जब मैले आफूभित्र हेरँे । मभन्दा नराम्रो कोही देखिनँ । औपचारिक शिक्षालयको ढोकै नपसेका  कवीरको यो भनाइ प्रत्येक आध्यात्मिक साधकको अनुभूति हो । यही सङ्कथनलाई वरण गरेरै होला सन्त किसुनजीले ठूलो नैतिक साहसका साथ भने “म अविवाहित भए पनि कुमार होइन, बजारमा दूधको तयारी पोका पाइन्छ भने गाई पाल्ने झन्झट किन गर्ने ।” कति यथार्थ धरातलमा आत्मालोचित हुन चाहन्थे किसुनजी । त्यसैले त उनले बालुवाटारको प्रम निवासलाई ‘सित्तैँको पाँचतारे होटल’ को घतलाग्दो संज्ञा दिए ।

सत्ता शिखरमा आरोहण गर्दा होस् वा प्रम पदबाट अवरोहण गर्नुपर्दा होस् उनको मुखमा उही आभा, क्रान्ति, ज्योति र छवि टल्किरहेको हुन्थ्यो । अहिलेका र पहिलेका सत्ता हस्तगत गर्ने उन्मादीहरुलाई उनको यो सोच बोक्रे आदर्श भनेर नाक पनि चेप्य्राउलान् तर सारांशमा भन्नुपर्दा राज्य सत्ताको ढोँग र दम्भले उनलाई कहिल्यै पाखण्डी बनाएन । सत्ताच्युत हुँदा उनी न हतासमा थिए न सत्ता प्राप्तिमा तमासामा निमज्जित थिए । यसैले त उनमा राजनेताको जस्तो आलोक थियो । उनको यही आकर्षक व्यक्तित्वप्रति नतमस्तक हुँदै बीबीसीका वरिष्ठ पत्रकार मार्कटलीले भनेका थिए– ‘किसुनजीको सरलता र विनोदप्रियताबाट म कायल भएको छु, उनी गान्धी पछिका खाटी गान्धीवादी नेता हुन् ।” 


२०४८ सालको आम निर्वाचनमा किसुनजी पराजित भएपछि टलीले प्रश्न गरेका थिए– तपाईं स्वयं प्रधानमन्त्री हुँदा पनि कसरी चुनाव हार्नुभयो ? उत्तरमा किसुनजीले भने– मिस्टर टली, मेरो हारबाट अब तपाईं निश्चिन्त हुनसक्नु हुन्छ, नेपालमा निर्वाचन कतिसम्म निस्पक्ष थियो भनेर ।” ओसोका अनुयायी स्वामी अरुणको शब्दमा  भन्नुपर्दा ‘आफ्ना आस्थामा अडिग हुनसक्ने र एक्लै हिँड्न सक्ने बहादुर मानिस किसुनजी  नेपालमा गान्धीयुगको दीप बाल्ने नेता हुन्’ । सारा संसार अर्कोतिर भए पनि उहाँ एक्लै आफ्नो कुरा राख्न सक्नुहुन्थ्यो  । पूर्वराष्ट्रपति रामवरण  यादव किसुनजीको लावण्यमा चुम्बकिए बोल्छन्– “गान्धी, जयप्रकाश बीपीकै धाराको एउटा जिउँदो इतिहास हो किसनुजी ।” समाजवादी सिद्धान्तका व्याख्याता काँग्रेस नेता रामचन्द्र पौडेल– “सत्याग्रही, अहिंसावादी र लोकतन्त्रका पुजारी थिए, किसुनजी २०२७ सालमा काङ्ग्रेसले सशस्त्र सङ्घर्ष गर्नेभन्दा यिनले म विदेश पनि जान्न बन्दुक पनि उठाउन्न भनेर हाइ कमानसित अड्डी कसे ।” उनको यो शान्तिपूर्ण आन्दोलन र देशप्रतिको निष्ठा अनुकरणीय छ । 

    ‘मेरो जीवन अवधि सम्पूर्ण रूपमा ईश्वरले नै निर्देशित गर्ने छन्, सबै खालका कमी कमजोरी मात्र मेरा हुन् ।’ साँच्चै कुनै सन्तवाणीजस्तो लाग्ने उनको यो मार्मिक सङ्कथन कति गम्भीर तथा मननीय छ ।  त्यसैले त पूर्व कुलपति विद्वान पूर्णचन्द्र ढुङ्गेल उनप्रति  श्रद्धानत हुँदै बोल्छन्– “प्रजातन्त्रका उपासनाका लागि घरबार र परिवार त्यागी आजीवन ब्रह्मचारी बनेर राष्ट्रको सच्चा भक्त हुन पुगे उनी ।” हँसीमजाक जगत्को एक मात्र मातृभाषा हो, जुन सबैले बुझ्दछन् भन्ने भनाइलाई पारख गरेकै कारण समय समयमा उनले यही शैलीमा हरेक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई व्यङ्ग्यको चटनी र चुड्काका घुड्का पिलाएर रसरङ्ग प्रदान गरी सुधारिने परिवेश पनि दिन्थे ।

म मन्त्री बन्न पाए अर्को घर बनाउँथेँ । म बियर खान सांसद भएको हुँ । राम्री तरुनी देख्दा को पुलकित हुँदैन र ? आफूलाई बढी क्रान्तिकारी देखाउनेहरू गुप्तचर पनि हुन सक्छन् । जस्ता भनाइहरू समय सन्दर्भका  निकै चोटिला उक्ति थिए । २०६६ मार्ग २८ गते किसुनजीको ८६औँ जन्मोत्सवमा सहभागी हुँदा प्रचण्डले किसुनजीमा यसरी आदर पोखेका थिए– “आधुनिक नेपालको आदर्श पुरुष हुन् उनी । जसको त्याग, आदर्श समकालीन राजनीतिमा मात्र नभएर आउँदो पुस्ताका लागि प्रेरणा हुने छ । उहाँ सच्चा लोकतन्त्रवादी राष्ट्रवादी र मेरो प्रेरणास्रोत हुनुहुन्छ ।” त्यही जन्मोत्सवमा तत्कालीन प्रम माधवकुमार नेपालले किसुनजीको अग्लो व्यक्तित्वलाई यसरी आँकेका थिए, ‘किसनुजीले जीवनभर कसैप्रति दुर्भाव राख्नु भएन, उहाँको  हृदय र आत्मा शुद्ध छ ।’ खै त यी नायकहरुले  किसुनजीको प्रेरणा  कति लिए त ? ओठे प्रशंसा मात्रै हो ? के आचारमा अनुवाद छन् त वर्तमान अगुवा ?


    २०४६ सालपछि विभिन्न चरणमा सरकार निर्माण गरेका नेतृत्वहरूले आफ्नो सरकार सङ्कटमा पर्नासाथ संसद् विघटनको सिफारिस गरेर शक्ति परीक्षण गर्ने अभियान प्रकट गरे किन्नु संसदको गरिमालाई राम्ररी बुझेका किसुनजीले आफ्नो कालमा भने यस्तो काम गरेनन् । पार्टीभित्रै उनलाई सङ्कटमा पुर्याउँदा पनि संसद विघटन नगरेर सरकारबाट बाहिरिए । गजबको कुरा त के छ भने काङ्ग्रेसले किसुनजीलाई नै प्रमको रूपमा अघि सारेर तत्कालीन अवस्थामा जनमत पाएर  विजयको सिन्दुर पहिरिएको थियो । किसनुजी नीतिशास्त्र र दर्शनका मर्मज्ञ थिए र नै “यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किम् ? लोचनाभ्यां विहीनस्य  दर्पणं किं करिष्यति । । अर्थात् जोसँग प्रज्ञा छैन त्यसलाई शास्त्रले के गर्छ र ? जस्तै आँखा नभएकालाई ऐना काम लाग्दैन । भन्ने जस्ता श्लोकलाई व्यवहारमा उतार्थे । 


२०३६ सालमा टुँडीखेलको आमसभामा उनले प्रकट गरेको यो भनाइ कति सटिक छ,  “ईश्वरबाहेक संसारमा सबै कुरा सविकल्प छन्, निविर्कल्प भनेर प्रणाली र पद्धतिलाई सम्झनु दम्भोक्ति मात्र हो ।” त्यस्तै प्रम भएर भ्रमणमा जाँदा तत्कालीन भारतीय समकक्षीसँग उनले गरेको छलफल र दिएका जवाफले उनी एक राष्ट्रवादी, लोकतन्त्रप्रेमी र स्वतन्त्रताका पुजारी भनेर चिनिएका छन् । त्यसैगरी अन्तरिम सरकारमा प्रम बनेका बेला तत्कालीन सेनाका जर्नेलले संविधानमा राजाको भूमिका के हुन्छ ? भनेर धम्क्याउँदा उनले प्रत्युत्तरमा– “म प्रत्येक हप्ता राजासित भेट्छु, तपाईंभन्दा म राजासित नजिक छु, तपाईंभन्दा म बढी राजावादी हुँ भनेर फर्काइदिए ।

संवैधानिक राजतन्त्र जहाँँ राजाको आलाङ्कारिक अस्तित्व मात्रलाई स्वीकार्ने उनको मान्यता अन्तिम समयसम्म नै विचलन भएन । बरु काङ्ग्रेसनै  छाडिदिए ।   वि.सं. १९८१ पौष कृष्ण एकादशी मार्ग  सन् १९२४ डिसेम्बर २२ का दिन सङ्कटाप्रसाद र उनकी कान्छी श्रीमती ललितादेवीको गर्भबाट कान्छा छोराका रूपमा आँखा खोलेका भट्टराई बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका पूर्वीय एवं पाश्चत्य दर्शन र वाङ्मयका गम्भीर अध्येता थिए ।

उनलाई गीताका सातै सय श्लोक कण्ठस्थ थियो । कालीदास, किट्स, सेक्सपियर जस्ता थुप्रै कविहरूका काव्यमा घोत्लिएर कामु, सात्र्रजस्ताका ग्रन्थलाई साङ्गोपाङ्गो विचरण गरेका यिनी साँच्चैका मेधावी र प्रत्युत्पन्नमतिका प्रतिभा थिए । स्वयं बीपी जस्ता चिन्तकले आफ्नो अन्तिम समयमा कार्यकर्तालाई भनेका थिए– 
‘किसुनजीसित प्रत्युपन्नमति छ” अर्थात् मौकामा तत्काल युक्तिसङ्गत उत्तर दिनसक्ने, मौकामा सही निर्णय गरेर सेफल्यान्डिङ दिनसक्ने खुबी छ । ‘प्रत्युत्पन्न मति’ भनेका गुरु वा पिताहरूबाट  निर्देशित ज्ञानभन्दा पनि सहज उत्पन्न हुने अलौकिक क्षमता जसमा विवेक मुछिएको हुन्छ, त्यही बिम्ब हो प्रत्युत्पन्नमति ।

 १४ वर्षसम्म पञ्चायती शासकले जेल हालेर पनि उनको आस्थालाई डगमगाउन सकेन । साँच्चै सन्त नेता समाजवादी धाराका अगुवा, मानवतावादका हिमायती, स्वअस्तित्वप्रति सचेत भएकैले नेपाली जनताका साझा राजनेता हुन् । किसुनजीले सङ्गीन सङ्क्रमणकाललाई पार लगाउन २०४६ पछि  खेलेको उच्च राजनेताको  भूमिकालाई मार्ग दर्शन बनाउन वर्तमान नेताहरूलाई पे्ररणा मिलोस् ।

शान्त, समृद्ध र समुन्नत नेपालको  स्वप्नद्रष्टा र योजनाकार किसुनजीको अन्तर आसयमा  यतिखेर दोतिहाइ बहुमतको उन्मादले भुइँमा न भाँडामा भएका र अर्काथरी हारको अवसादमा खलबल मच्चाइरहेका शीर्षस्थ नेताहरुले उनको स्वप्नालाई सुशासन, लोकतन्त्र, राष्ट्रिय एकता, समृद्धि र विकास अगाडि बढाउलान्, जनता गतिलोसित अध्ययन गरिरहेका छन् । यही सुकाम नै किसुनजी प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । अन्त्यमा स्वप्नद्रष्टा सन्त नायक  किसनुजीप्रति मेरो शब्दश्रद्धा ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
लेखकबाट थप