बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : समाजवादी पार्टी सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता होला ?

मङ्गलबार, ०८ पुस २०७६, २२ : ०७
मङ्गलबार, ०८ पुस २०७६

समाजवादी पार्टी सरकारबाट बाहिरियो 
संविधान संशोधनको माग पूरा नभएको भन्दै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । समाजवादी पार्टीबाट सरकारमा दुई जना मन्त्री रहेका छन् । 

दुबै मन्त्रीहरु उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका छन् ।  उपेन्द्र यादव उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको भूमिकामा रहेका छन् भने राई सहरी विकास मन्त्रीको भूमिकामा रहेका छन् । 

यादव र राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर एक पत्र लेख्दै पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा पत्रमा यादवले सरकार दुई बुँदे सहमतिबाट पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएको हुँदा पदबाट राजीनामा दिएको उल्लेख छ । 

यादवले पत्रमा २०७५ जेठ १४ गते संविधान संशोधन लगायत आन्दोलनमा उठाइएको माग र मुद्दाहरु सम्बेधन गर्ने सर्तसहित २ बुँदे सहमति भएर आफूहरु सरकारमा सहभागी भएको उल्लेख छन् । सोही अनुसार आफूहरुले पटक–पटक यी विषयहरु प्रवेश गराउनुका साथै संविधान संशोधनलगायत विषयहरु राखी प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण गराएको पनि स्मरण गराएका छन् ।

तर माग पूरा गर्नुको साटो सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गर्ने प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले अस्वीकार गरेर सहमतिबाट पछि हटेकाले नैतिकताको आधारमा राजीनामा दिएको यादवको राजीनामा पत्रमा उल्लेख छ । यस्तै सहरी विकासमन्त्री राईले दिएको राजीनामापत्रमा भने संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम राजीनामा दिएको उल्लेख छ । उनले अहिलेसम्म सहकार्य गर्ने अवसरमा दिएकोमा पनि प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । 

समाजवादी पार्टी २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । 

संसदीय दल बैठक

त्यसैगरी, समाजवादी पार्टीको मंगलबारको संसदीय दल बैठकमा यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आफूलाई अपमान गरेको बताएका छन् ।

यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गर्ने प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले अपमान गरेको ब्रिफिङ गरेका हुन् । 

 संशोधनको प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले आक्रोशित हुँदै ‘गेट लस्ट’ भनेर आफूलाई अपमान गरेको यादवले बैठकमा बताएका थिए ।  सो क्रममा प्रधानमन्त्री र यादवबीच चर्काचर्की नै भएको बताइएको छ । 
समाजवादी पार्टीकी सांसद रेणु यादवले प्रधानमन्त्रीबाट अपमानित भएको र संविधान संशोधन पनि हुने नदेखिएपछि पार्टीका दुई मन्त्रीले राजीनामा दिएको बताइन् । उनका अनुसार उपेन्द्र यादवले संविधान संशोधन नहुने भएपनि सरकारमा बसिरहन नैतिकताले नदिने भएरै राजीनामा दिइएको बताएका थिए । 

यादवको राजीनामा पत्रमा पनि सरकार दुई बुँदे सहमतिबाट पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएको हुँदा पदबाट राजीनामा दिएको उल्लेख छ । 

समाजवादी सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि छलफल भएको छ । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायमै राख्ने भन्नेमा छलफल भएपनि टुंगोमा नपुगिएको सांसद रेणु यादवले बताइन् । 

उनका अनुसार यस विषयमा बुधबार पार्टीको पदाधिकारी बैठक बसेर निर्णय लिइने छ । पदाधिकारी बैठकले यसबारे निर्णय लिएपछि पार्टीले बुधबार दिउँसो पत्रकार सम्मेलनको पनि आयोजना गरेको छ । 

संसदीय सुनुवाई समिति

सरकारले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायधिवक्ता लक्ष्मीबहादुर निरौला खड्कालाई सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले सार्वजनिक उजुरी माग गरेको छ 
संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले १० दिन भित्र निराला विरुद्ध समितिमा उजुरी दिन माग गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले बुधबार देखि १० दिनभित्र उजुरी दिन सकिने बताए । 

पर्यटनमन्त्री योगेश भट्टराई

पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्ने बताएका छन् । 
मंगलबार राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामूदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो बताएका हुन् । 
 पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरुसँगको छलफल महत्वपूर्ण हुने उनले बताए ।  मंगलबारसम्म ६० वटा विभिन्न राष्ट्रिय संगठनहरुसँग छलफल भएको र बुधबार पनि गरी करिब ८० वटा संगठनहरुसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उनले बताए । 

गुणस्तरिय शिक्षामा जोड
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताएका छन् । 
शिक्षा पत्रकार समूहको संघीयतामा शिक्षा स्थानीय तहका राम्रा अभ्यास, अवशर र चुनौती विषयक अन्तरक्रियामा शिक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् ।  विद्यालय शिक्षाको स्वामित्व स्थानीय सरकारलाई दिएर प्रदेश र संघीय सरकारले सहयोग गरेपछि मात्रै गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन सकिने उहाँले बताउनुभयो । मन्त्री पोखरेलले शिक्षकहरुको न्यूनतम प्रबन्ध नगरी गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन नसकिने बताए । 

कीर्तिपूर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहले हस्तक्षेप गरी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि कुनै विकृति आएको भए त्यसको जिम्मेवारी आफुले लिने बताए । 
शिक्षाविद विद्यानाथ कोइरालाले प्रदेश सरकारले स्थानीय तहलाई अधिनस्त राख्न खोजेका कारण गुणस्तरिय शिक्षाको प्रत्याभूत गर्न नसकिएको बताए । 

विकास समिति

प्रतिपक्षी सांसदहरुको असहमतिपछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने विकास तथा प्रविधि समितिको योजना मंगलबार असफल भएको छ । 
समितिमा छलफल भइरहेको विधेयकमाथि आफुहरुले राखेको संशोधनलाई बेवास्ता गरिएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएपछि विधेयक पारित हुन नसकेको हो । सांसद बहादुरसिंह लामाले उपसमितिमा छलफल भएपछि तयार पारिएको प्रतिवेदनमा आफुहरुले राखेको संशोधन प्रस्तावलाई बेवास्ता गरिएको भन्दै असहमति जनाए । 
कुलमान र डा. रुइत

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ चिकित्सक सन्दुक रुईत हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानीत हुने भएका छन् । 

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुईतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो । 

मैत्रिकला प्रदर्शनी 

नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले आगामी विहीबार राजधानीमा कलाकारद्धय धर्मराज शाक्य (नेपाली) र झेन झोन्गी(चीन) को ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ गर्ने भएको छ । 
सङ्घले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रर्दशनीबारे जानकारी गराएको हो । नेपाली कला, संस्कृति तथा नेपाली उत्पादनको विकास, निर्यात प्रवद्र्धन र बजारीकरणका लागि विहीबार देखि काठमाडौंको बबरमहल स्थित नेपाल कला परिषद्को कार्यालयमा कला प्रर्दशनी आयोजना गर्न लागेको प्रर्दशनीका संयोजक तथा सङ्घका महासचिव  शान्त कुमार श्रेष्ठले बताए । 

भौचर मेला सम्पन्न 

दुई दिने भौचर मेला मंगलबार सम्पन्न भएको छ ।  व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आयोजनामा भएको मेला मंगलबार सम्पन्न भएको हो । भौचरमा आधारित छोटो अवधिको तालिमा सहभागि हुन आवेदन दिएका मध्ये छनौट भएकाहरुलाई भौचर वितरण गर्ने उद्देश्यले सोमबार र मंगलबार गरी दुई दिने मेलाको आयोजना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप