शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धुम्रपानभन्दा कम छैन धुवाँ धुलोको असर

दम, फोक्सोको क्यान्सर, मुटु, मस्तिष्कघात, प्यारालाइसिसको कारणत्त्व बन्दै वायुप्रदूषण
शनिबार, १२ पुस २०७६, ११ : ३६
शनिबार, १२ पुस २०७६

काठमाडौँ । चिटिक्क परेर बिहान अफिस जानुस्, बेलुका फर्कँदा धुलोले तपाइँको कपडा पुरै कुरुप बनाइदिन्छ । धुवाँ धुलोको कारणले पनि काठमाडौँमा भनेजस्तो लगाउन र भनेको ठाउँमा घुम्न जान पनि एक पटक सोच्नै पर्छ । झन् अन्य ठाउँबाट उपत्यकामा आएका व्यक्तिहरु सुरुमै काठमाडाँैको फोहोर धुलो धुवाँदेखि दिक्क हुन्छन् । उपत्यका लगायत सहरी क्षेत्रमा बढ्दै गइरहेको धुवाँ धुलोले हाम्रो दैनिक जीवनमा मात्रै होइन, मानव स्वास्थ्यमा समेत गम्भीर असर पु¥याउन थालेको छ ।    

अव्यवस्थित जीवनशैली र खानपानका कारण रोगीको संख्या बढ्दै गएको मानिन्छ धुवाँ धुलो पनि अर्काे प्रमुख कारक बन्दै गइरहेको छ । धुवाँ धुलोको असर धुम्रपानभन्दा कम नभएको छाती रोग विशेषज्ञहरु बताउँछन् । 

वायुप्रदूषणको असर सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा देखिएको छ । यहाँका नागरिक  वायुप्रदूषणको कारण दैनिक रोगी बन्दै गइरहेका छन् । सँगै बढ्दो सहरीकरणले नेपालको मुख्य मुख्य सहरमा पनि यो समस्या बढ्दो मात्रामा छ । अव्यवस्थित बसोबास, शहरीकरण, फोहोर मैला तथा पर्याप्त मात्रामा पानीको व्यवस्था गर्न नसक्दा देशको केन्द्रीय राजधानी कुरुप बन्दै गइरहेको छ । यसले सहरलाई मात्रै कुरुप बनाएको छैन, नागरिकको स्वास्थ्यमा समेत गम्भीर समस्या देखिन थालेको छ । धुलो—धुवाँबाट बच्नका लागि मास्कको प्रयोग गर्नुपर्ने स्वास्थ्यविज्ञहरुको सुझाव छ । 

यस्तो मास्क प्रयोग गर्नुस्
बजारमा विभिन्न किसिमका मास्कहरु पाइन्छ । सबै मास्कको उद्देश्य भनेको वायुप्रदूषणबाट जोगाउने नै हो । तर सबैखाले मास्कले प्रदूषणबाट जोगाउँछ भन्ने छैन । सामान्य कपडादेखि पेपरको मास्क र केही राम्रा मेडिकल मास्क पनि छन् । एन ९० र एन ९५ मेडिकल मास्क अन्य मास्कभन्दा स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । तर यस्तो मास्क सहज रुपमा उपलब्ध छैन, साथै शुल्क पनि निकै महङ्गो पर्ने हुँदा सधैँ प्रयोग गर्न सकिन्न । यो मास्क विशेषतः अस्पतालको अप्रेशन थिएटरमा संक्रमण कम गर्नका लागि प्रयोग गरिन्छ, नागरिकको पहुँचमा निकै कम छ ।

वीर अस्पतालका छाती रोग विभागका प्रमुख डा. अशेष ढुङ्गाना भन्छन्, ‘जुन मास्क सहज रुपमा उपलब्ध छ, त्यही मास्क प्रयोग गर्नुस् । यदि मास्क पनि छैन, वायुप्रदूषण धेरै भएको ठाउँमा हुनुहुन्छ भने सलले पनि नाक, मुख छोप्न सकिन्छ ।’ 

हामीले सामान्य सोच्ने प्रदूषणलाई पनि विभिन्न भागमा विभाजन गरिएको छ । पिएम २.५, पिएम १०, पिएम ५ धुलोको कणका साईजहरु हुन् । यी धुलोका कणहरुलाई हामीले प्रयोग   गर्दै आएको मास्कले शत प्रतिशत वायुप्रदूषणबाट बचाउन नसके पनि केही हदसम्म कम हुने छाती रोग विशेषज्ञहरुको भनाइ छ ।

धुम्रपानसरह असर
एक दुई दशक पहिला दम, फोक्सो, मुटु, विभिन्न क्यान्सरसम्बन्धी रोगहरुको मुख्य कारकतत्त्व धुम्रपान भन्ने गरिथ्यो । डा. ढुङ्गाना भन्छन्, ‘वायुप्रदूषण पनि दुई किसिमका हुन्छन् । सहरी क्षेत्रमा हुने वाह्य प्रदूषण र सवारी साधनबाट निस्कने धुवाँ र विभिन्न उद्योगधन्दा कलकारखानाबाट निस्किएको धुवाँ तथा धुलोका कणहरुले पनि शरीरको फोक्सो र विभिन्न अङ्गमा गर्ने असर धुम्रपान भन्दा कम छैन ।’ धुम्रपान र वायुप्रदूषणले मानव स्वास्थ्यमा उस्तै उस्तै असर गर्ने उनको तर्क छ ।

वायुप्रदूषणले धेरैजसो सिओपीडी दमको समस्या, फोक्सोको क्यान्सर, मुटु, मस्तिष्कघात, प्यारालाइसिसको समस्याहरु बढ्दै गइरहेको डा. अशेष बताउँछन् । साथै, गर्भवती महिला, बालबालिका, दीर्घरोगीहरुको स्वास्थ्यमा झन् समस्या निम्त्याउनुमा बढ्दो वायुप्रदूषण पनि मुख्य कारण मानिएको छ । दीर्घ रोगीमा पनि मधुमेह, मिर्गाैलाले र मुटु फेल भएका नागरिकमा धुवा धुलोले धेरै असर गर्छ । 

धुवाँ धुलोमा क्यान्सर गराउने तत्त्व
वायुप्रदूषणमा भेटिएको धुवाँमा क्यान्सर गराउने तत्त्व पनि भेटिएको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । उपत्यकाको वायुप्रदूषणमा पनि भएको विज्ञहरुको भनाइ छ तर अहिलेसम्म यो विषयमा भने सुक्ष्म रुपमा अध्ययन भएको पाइँदैन । वायुप्रदूषण मानव स्वास्थ्यका लागि प्रमुख समस्या नै बन्दै आइसकेको छ । प्रदूषण न्यूनीकरण गर्नका लागि नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ । 

शरीर स्वस्थ्य राख्न दैनिक व्यायाम र सकेसम्म हिँड्नु नै राम्रो व्यायाम भएको चिकित्सकहरुको सुझाव आउँछ । तर अचम्म के छ भने काठमाडौँ उपत्यकाको वायु प्रदूषणलाई हेर्ने हो भने हिँडडुल गर्न सक्ने अवस्था छैन, सकेसम्म घरमै व्यायाम गर्न चिकित्सकहरु सुझाउँछन् । प्रदूषित हावामा व्यायाम गर्ने हो भने विभिन्न श्वासप्रश्वास सम्बन्धी समस्याहरु बढ्दै जाने पनि अध्ययनहरुले देखाएको छ । 

चिकित्सकका अनुसार काठमाडौँको वातावरणमा बाहिर निस्केर व्यायाम गर्नुभयो भने तपाइँको शरीर स्वस्थ्य होइन, उल्टै दम, छातीसम्बन्धी विभिन्न समस्याहरु थपिन सक्छन् । व्यायमै गर्ने हो भने सफा हावामा गर्न जरुरी छ । सहरको वातावरण, व्यस्त सडक, कार्यालय समयमा सवारी साधनको आवागमन बढी हुने समयमा हावामा प्रदूषणको मात्रा बढी हुन्छ । खुल्ला ठाउँ, हावा प्रवाह राम्रो नभएको ठाउँमा व्यायाम नगर्दा नै राम्रो हुने डा. अशेषको सुझाव छ । 

उनका अनुसार हावाको राम्रो प्रभाव भएको स्थान, खुल्ला ठाउँ, पार्क, धेरै बोटविरुवा भएको स्थानहरुमा व्यायाम गर्न सकिन्छ । व्यायाम गर्ने नै हो भने घरभित्रै पनि गर्न सकिन्छ र यी व्यायामले पनि शरीरलाई उति नै फाईदा दिन्छ । वायुप्रदूषण, मुख्य सडक, सवारी आवागमन बढी भएको बेलामा र वायु प्रदूषणको मात्रा बढी भएको बेलामा व्यायाम गर्दा श्वासप्रश्वास सम्बन्धी समस्यालाई झन् बढाईदिन सक्छ । 

काठमाडौँका यी ठाउँमा व्यायाम नगर्दा नै राम्रो
सरकारले पनि विभिन्न ठाउँमा प्रदूषण मापन गर्ने मेसिन राखेको छ । ती मेसिनले काठमाडौँका विभिन्न स्थानको हावामा पिएम २.५ (विश्व स्वास्थ्य संगठनको मापदण्ड) भन्दा पनि ४/५ गुणा बढी धुलोका कणहरु रहेको देखाएको छ । ती धुलोका कण नेपालकै राष्ट्रिय मापदण्ड भन्दा पनि २÷३ गुणा बढी भएको विज्ञहरुको भनाइ छ । काठमाडौँ उपत्यकाको हकमा त्यो वातावरणमा व्यायम गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । जस्तै, रत्नपार्कको वरिपरी, कलंकी, चावहिल जहाँ सवारी आवागमन धेरै हुन्छ, त्यस्ता ठाउँमा वायु प्रदूषणको मात्रा धेरै भएको देखिन्छ । 

काठमाडौँको ब्यस्त सहर, सवारीको आवागमन हुने ठाउँमा बढी प्रदूषण देखिएको छ भने सहायक सडकहरुमा कम देखिएको छ । व्यस्त समयमा काठमाडौँको वातावरणमा व्यायामै नगर्न पनि चिकित्सकहरुको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप