मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकाले जवाफी हमला गरे इजरायल र दुबईमा बमबारी गर्ने इरानको धम्की

बुधबार, २३ पुस २०७६, १२ : ४६
बुधबार, २३ पुस २०७६

एजेन्सी । इरानले इराकस्थित दुई अमेरिकी हवाई–आधारमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रको तनाव निकै तनावपूर्ण स्थितिमा पुगेको छ ।

इरानले गत शुक्रबार आफ्नो शीर्ष सैन्य कमाण्डरको हत्याको बदलामा अमेरिकी फौज बस्ने ती स्थानमा आक्रमण गरेको बताएको छ ।

मिसाइल आक्रमणपछि अमेरिकाले इरानविरुद्ध जवाफी कारबाही गर्ने अनुमान गरिएको छ । 

यस अनुमानमाझ इरानले भने आफूविरुद्ध अमेरिकाले कुनै पनि जवाफी कदम उठाएमा इजरायल र संयुक्त अरब इमिरेटको दुबईमा बमबारी गर्ने चेतावनी दिएको छ । 

इजरायल र संयुक्त अरब इमिरेट मध्यपूर्व क्षेत्रमा अमेरिकाको नजिकका मित्र शक्ति हुन् ।  

इरानी सैन्य दस्ता रिभोलुसनरी गार्डले एक चेतावनीपूर्ण वक्तव्यमा आफूमाथि आक्रमण भए अमेरिका र उसका क्षेत्रीय मित्रशक्तिले पछुताउनु पर्ने धम्की दिएको छ । 

उसको चेतावनीयुक्त वक्तव्य इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको हो । 

‘अमेरिकाको आतंकवादी सेनालाई आधार दिएका अमेरिकाका मित्रशक्तिहरु कुनैको भूमिबाट पनि इरानविरुद्ध आक्रामक कदम उठाइएमा इरानले तिनमाथि आक्रमण गर्नेछ ,’ रिभोलुसनरी गार्डको वक्तव्यमा उल्लेख छ । 

रिभोलुसनरी गार्डको टेलिभिजन च्यानलले पनि संयुक्त अरब इमिरेटको दुबई र इजरायलको हइफामाथि बमबारी हुने धम्की दिएको छ । 

मिसाइल आक्रमणपछि इरानले कैयौं लडाकू विमान परिचालन गरेर आफ्नो हवाई आकास निगरानी गरिरहेको छ । 

सुलमानीको हत्या र इरानी मिसाइल हमलामा धेरै पछि अमेरिका र इरानले छद्म शक्तिको प्रयोग नगरी सिधैं एकअर्कामाथि आक्रमण गरेका छन् । 

यी तनावले दुई देशबीच खुल्ला युद्धको खतरा बढेको छ । दुई देश सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै एकअर्काका शत्रु रहदै आएका छन् । 

इरानी सरकारी टेलिभिजनका अनुसार इरानले पछिल्लो मिसाइल आक्रमणलाई ‘सहिद सुलेमानी’ नाम दिएको छ । इरानी टीभीकै अनुसार आक्रमणलाई रिभोलुसनरी गार्डभित्रको वायुसेनाले कार्यान्वयन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप