शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकी सैन्य क्याम्पमा हमलापछि इरानले भन्यो– यो त झाँकीमात्र हो

बुधबार, २३ पुस २०७६, १५ : ०७
बुधबार, २३ पुस २०७६

तेहरान । इराकस्थित अमेरिकी सैन्य क्याम्पमा गरेको हमलालाई इरानले ‘यो एउटा झाँकीमात्र’ भएको जनाएको छ । अमेरिकाले फेरि पनि हमला गरेमा कडा ढङ्गले जवाफ दिइने इरानको चेतावनी छ ।

इरानी सेनाका मेजर जनरल मोहम्मद बाकरीले भने, ‘इरानले अहिले आफ्नो सैन्य क्षमताको झाँकीमात्र देखाएको हो, फेरि पनि अमेरिकाले हमला गरेमा कडा जवाफ दिइने छ ।’

यसैबीच इरानका सर्वोच्च नेता आयातुल्लाह खमेनीले इरानको जवाफी हमला ‘अमेरिकाको मुखमा थप्पड’ भएको जनाएका छन् ।

तेहरानको दक्षिण–पश्चिमस्थित प्रान्तमा हजारौं सर्वसाधारणलाई सम्बोधन गर्दै उनले भने, ‘दुनियाँलाई धम्की दिनेहरुलाई पाठ सिकाउन इरान सक्षम छ, अमेरिकाविरुद्ध यस्ता हमलामा पर्याप्त होइनन्, बढी महत्वपूर्ण कुरा यो छ कि यस क्षेत्रबाट अमेरिकाको उपस्थिति अन्त्य होस् ।’

उनले ‘अमेरिकी दादागिरी’विरुद्ध इरानले सधैँ संघर्ष गर्दै आएको उल्लेख गरे । उनले इरान कहिल्यै हार नमान्ने प्रष्ट पार्दै जस्तोसूकै शक्तिशालीसँग संघर्षका लागि एकजुट हुने बताए ।

यसअघि इरानी विदेशमन्त्री मोहम्मद जवाद जरीफले इरान युद्ध नचाहने तर इरानसँग पनि आत्मरक्षाको अधिकार रहेको भन्दै अमेरिकी सैन्य क्याम्पमा भएको हमलालाई ‘आत्मरक्षाको कारवाही’ भनेका थिए ।

इरानले ब्यालिस्टिक क्षेप्यास्त्रबाट इराकस्थित अमेरिकाको दुई सैन्य अखडालाई निशाना बनाएको थियो । इरानको सरकारी टेलिभिजन च्यानलले कासिम सुलेमानीको हत्याको बदलामा इरानका तर्फबाट यस्तो कारवाही गरिएको जनाएको छ । केही दिनअघि अमेरिकी हवाई कारवाहीमा सुलेमानी मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप