बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियोमा हेर्नुहोस् दिनभरका समाचार

आइतबार, १९ माघ २०७६, १९ : १८
आइतबार, १९ माघ २०७६

नेकपाको राजनीतिक प्रतिवेदन पारित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गरेको छ । 

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा समूहगत छलफल भएपछि आइतबार हलले सर्वसम्मत रुपमा प्रतिवेदन पारित गरेको हो । बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ समेत दिएका थिए ।  सो क्रममा प्रचण्डले केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने बताए । 

यस्तै बैठकको समापन गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा भ्रष्टाचार बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् । 

 प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण भइरहेको दावी पनि गर्नुभयो । उहाले जनतामा सुशासन र स्वच्छताका लागि पार्टी र सरकार लागि रहेको भन्दै सरकारमा रहेका कुनैपनि व्यक्ति भ्रष्टारमा मुछिन नहुने बताए । 
उनले नेकपा एकताबद्ध र सुदृढ अवस्थामा रहेको र कसैले तलमाथि पार्न नसक्ने ठोकुवा पनि गरे । 

अनुशासन आयोग 

अध्यक्ष ओलीले भ्रष्टाचार नबढेको भनिरहँदा बैठकले केन्द्रीय नेतृत्वको सम्पत्ति छानबिन गर्न अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ ।

 बैठकले नेताहरुको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिने निर्णय गरेको हो । केन्द्रीय समिति बैठकमा नेताहरु सम्पत्ति कमाउने होडवाजीमा लागेको तथा पार्टी पुँजीपति वर्गको कव्जामा पुगेको भन्दै नेताहरुको सम्पत्ति छानविन र सार्वजनिक गर्नुपर्ने माग उठेको थियो । 

नेकपाको अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा रहेका छन् ।  यस्तै, नेकपाले २०७७ को चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । बैठक तीनै तहका सरकार सञ्चालनमा समन्वय गर्न समिति निर्माण गर्ने निर्णय गरेको छ ।

एमसीसीबारे नेकपा
नेकपा केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी)बारे सुझाव दिन पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । 

समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेका छन् । एमसीसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न ५१ अर्ब  दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ ।

ओली प्रचण्डको फोटो नराखिने

अबदेखि नेकपा बैठकमा नेताहरुको फोटो नराखिने भएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेको भन्दै चर्को विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो । 

आइतबार केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबदेखि बस्ने नेकपाका बैठकमा नेताहरुको फोटो नराख्ने जानकारी दिए । उनले  बैठकमा मार्क्स, एंगेल्स र लेनिनको भनाइ ‘कोट’ का रुपमा राखिने जानकारी दिए । यसअघि नेताहरु राजेन्द्र राई, जगन्नाथ खतिवडा लगायतले बैठकमा नेताहरुको फोटो राखेर राजावादी शैली देखाएको भन्दै आपत्ति जनाएका थिए । 

चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १७७ जना विद्यार्थीलाई नेपाल ल्याउने तयारी भएको जानकारी दिएको हो । चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन लागिएको हो । 

बेइजिङस्थित नेपाली दूतावासले उहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तबरले नेपाल ल्याउनका लागि फाराम भर्न शनिबार नै सूचना जारी गरिसकेको छ । 

उनीहरुलाई नेपाल ल्याइँदा चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वस्थ्य परीक्षण हुनेछ भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ ।

चेकजाँचको क्रममा संक्रमण भएको पाइए उपत्यकाको विभिन्न अस्पतालमा व्यवस्था गरिएको आइसोलेसन वार्डमा राखी उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ ।


नेविसंघको तदर्थ समिति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत माघ १६ गते गठित ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ मा पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गरेका छन् । 

आइतबार देउवाले तदर्थ समिति २ जना उपसभापति र ५ जना महामन्त्री थप गरेका हुन् । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार  झापाकी तुलसा पन्त  र रुपन्देहीका मुक्तिराज पौडेलले उपसभापतिको जिम्मेदवारी पाएका छन् । 

यस्तै  तनहुँका दिपक भट्टराई , धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सीना  र स्याङ्जाका युवराज पाण्डेले महामन्त्रीको जिम्मेवारी पाएका थिए । 

तदर्थ समितिको अध्यक्षको जिम्मेवारी देउवाले यसअघि नै सुनसरीका राजीव ढुंगानालाई  दिएका थिए । सोही बेला देउवाले काठमाडौँका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई महामन्त्री बनाएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति

सभामुख अग्निप्रसाद सापकोटाले देश भक्ति र सदाचारमा कहिल्यैपनि सम्झौता नगर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभामुख सापकोटाले आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण कुरा नै देश भक्ति र सदाचार रहेकाले आफूले त्यसमा कहिल्यैपनि सम्झौता गर्न नसक्ने बताए । 

बैठकमा सांसद माधवकुमार नेपाले आन्दोलनका अनेक जटिलताहरुलाई पार गर्दै सफलताको विन्दुमा मुलुकलाई पु¥याउन भूमिका खेलेका व्यक्ति सभामुख बनेको भन्दै शुभकामना व्यक्त गरे । 

सांसद दिव्यमणि राजभण्डारीले जनताको सेवा गर्नुपर्छ भन्ने भावना भएको व्यक्ति सभामुख चयन भएको भन्दै संसदको गरिमालाई कायम राख्न सफल हुने विश्वास व्यक्त गरे । 

आगलागी 
ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी २ जना घाइते भएका छन् । 

आगलागीबाट लाखौँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागी सुरक्षाकर्मी र दमकलको सहयोगमा नियन्त्रमा आएको थियो ।

सञ्चारमन्त्रीको राजीनामा माग

समितिमा भएको छलफलमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले नै संचारमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेका छन् । 

नेकपा सांसद सुदन किँरातीले सञ्चारमन्त्री बास्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामाको माग गरे ।  सरकारका प्रवक्ताले एमसीसी जुनसुकै हालतमा पास हुने र यो देशका नेताहरुलाई चाह्यो भने अमेरिकाले सुलेमानी बनाईदिन्छ भनि दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताए । 

त्यसैगरी, सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा नीजि धारणा राख्ने गरेको बताए । 

अर्का सांसद नारदमूनी रानाले चीनमा कोरोना र नेपालमा एमसीसीको विषयमा निकै भाइरल भएको बताए । उनले संसदमा समेत दुईथरी अतिवादी विचारहरु सार्वजनिक भइरहेको बताए । 

समिति सभापति पवित्रा निरौला खरेलले एमसीसीको विषयमा एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताइन् । 
एमसीसीका विषयमा सत्तारुढ दलभित्र पारित गर्नुपर्ने र गर्न नहुने विचारहरु व्यक्त भइरहेका छन् । प्रधानमन्त्री ओलीले भने हिउँदे अधिवेशनबाट नै एमसीसी अनुमोदन गराउनुपर्ने धारणा राख्दै आएका छन् । 
राष्ट्रियसभा अख्तियार विधेयक

सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छविलाई निश्पक्ष र पारदर्शी बनाउदै अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने माग गरेका छन् । 

राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै उनीहरुले आयोगको छविलाई नै निश्पक्ष र पारदर्शी र जनविश्वासी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सदस्य राधेश्याम अधिकारीले विधेयमा रहेका संविधान विरुद्धका प्रावधान हटाउनुपर्ने माग गरे । 
 
अर्का सदस्य प्रकाश पन्थले विधेयकले संघीय र प्रादेशिक सरकारलाई नीतिगत रुपमा नै भ्रष्टाचार गर्न मिल्ने गरि विधेयक ल्याईएको दाबी गरे ।  प्रदेश सरकारको मन्त्रीपरिषद्ले गरेको निर्णयलाई बचाउने र संरक्षण गर्ने गरि विधेयकमा व्यवस्था गरिएको भन्दै उनले भ्रष्टाचार भएमा क्याविनेटको निर्णय पनि छानविन गर्न पाउने गरि आवश्यक व्यवस्था गरिनुपर्ने बताए । 

यता, राष्ट्रियसभाको विशेष समयमा बोल्दै सदस्यहरुले आधारभूत स्वास्थ्योपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरोना जस्ता भाइरसबाट बच्न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् । 

लेखा समिति बैठक

राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन ठुला करदाता कार्यालयलाई पत्राचार गरेको बताएका छन् । 

सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा राजश्व सचिव ढुंगानाले सर्वोच्च अदालतको आदेशपछि निर्धारण भएको करको २० प्रतिशत रकम भूक्तानी गरिसकेको र बाँकी ८० प्रतिशत जुन महिनाभित्र चार किस्तामा तिर्ने प्रतिवद्धता सहितको पत्र ठूला करदाता कार्यालयमा पठाएको बताएका हुन् । 

उनले सर्वोच्च अदालतको २०७६ भदौ ९ गतेको आदेशले २०७६ मंसिर १९ गते आयकर ऐन २०५८ को दफा १ सय २० बमोजिम पूँजीगत लाभकर बापत २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ ५ पैसा निर्धारण गरेको बताए ।  त्यससँगै २०७६ पुस ६ गते एनसेललाई लाभकर बुझाउन ठुला करदाता कार्यालयले पत्राचार गरेको र २०७६ पुस १५ गते एनसेलले ४ अर्ब ५० करोड बुझाएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप