शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फास्ट ट्रयाक अनियमितता प्रकरण : पूर्वप्रधानसेनापति क्षत्रीले गरेको भ्रष्टाचारको फाइल संसदको सुशासन समितिमा खुल्यो

आइतबार, ०४ फागुन २०७६, १० : ३१
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले गरेको भ्रष्टाचारको फाइल खोलेकोे छ । पूर्वप्रधानसेनापति क्षत्रीले सैनिक नेतृत्व सम्हाल्दा भ्रष्टाचार र अनियमितता गरेको उजुरी समितिमा परेपछि गठित समितिको कार्यदलले तयार पारेको फाइल संसदको समितिले खोलेको हो ।

पूर्व प्रधानसेनापति क्षेत्रीमाथि सैनिक मुख्यालय बनाउँदा र राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ फास्ट ट्रयाक निर्माणमा घोटाला गरेको आरोप छ । सैनिक नेतृत्वमा रहँदा पदीय दुरुपयोग गर्दै अनियमितता गरेर अकूत सम्पत्ति आर्जन गरेको क्षेत्रीमाथि आरोप छ ।

यसबारे बिहीबार र शुक्रबार समितिमा व्यापक छलफल भएको छ । शुक्रबारको छलफलपछि समितिमा परेका उजुरीमाथि छलफल गर्न रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मीराज पाण्डेलाई समितिले चाडै बोलाउने निर्णय पनि गरेको छ ।

पूर्व प्रधानसेनापति क्षत्रीले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ फास्ट ट्रयाक निर्माणमा व्यापक घोटाला गरेको उजुरी परेको छ । सेनाभित्र हुने भ्रष्टाचार अख्तियारले समेत हेर्ने काुननी प्रवाधान नभएको अवस्थामा सेनालाई कसरी आर्थिक अनुशासनमा राख्ने भन्ने सवाल अहिले विशेष रुपमा उठेको छ ।

त्यसका लागि समितिले सरोकारवालासँग छलफल गरेर उचित कानुन बनाउने र भ्रष्टाचारीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको छ । सोही विषयमा छलफल गर्न रक्षामन्त्री, सचिव र प्रधानसेनापतिलाई समितिमा डाक्ने निर्णय गरेको समिति सदस्य डा. डिला सङ्ग्रौला पन्तले जानकारी दिइन् ।

पूर्वप्रधानसेनापति क्षत्रीले आफ्नो कायर्यकालमा भ्रष्टाचार गरेर सम्पत्ति जोडेको उजुरी संसदीय समितिमा परेपछि समितिले उक्त उजुरीबारे अध्ययन गर्न कार्यदल नै गठन गरेको थियो ।

क्षत्रीमाथि परेका उजुरीमाथि प्रारम्भिक छानविन गर्न गत असोजमा सांसद रेखा शर्माको संयोजकत्वमा गठित कार्यदलले क्षत्रीमाथि छानबिन हुनुपर्ने निष्कर्ष निकालेको थियो । कार्यदलमा सांसद नवराज सिलवाल र काँग्रेस सांसद दिलेन्द्र बडू सदस्य थिए । कार्यदलको प्रतिवेदनमा समितिमा प्राप्त उजुरीलाई अगाडि बढाउँदै थप छलफल र छानबिन गर्नुपर्ने सुझाव दिइएको छ ।

‘नेपाली सेनाभित्र भूतपूर्व र वहालवाला दुवैतिर र बहालवाला दुवैतिर भ्रष्टाचार रहेको गुनासो समितिमा परेको छ । त्यसबारे सेनाभित्रै पनि छानविन र कारवाही हुने गरेको छ । तर त्यतिले मात्रै सेना भित्रको आर्थिक अनुशासन कायम हुने सम्भावना नदेखिएकाले छलफल गर्न जरुरी देखिएको हो,’ कार्यदल सदस्य दिलेन्द्र बडूले रातोपाटीसँग भने ।

नेपाली सेनाभित्र समेत काठमाडौँ–निजगढ द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएका अनियमितताबारे छानबिन भइरहेको छ ।

द्रूतमार्ग आयोजनाको प्रमुख हुँदा पूर्व प्राविधिक जर्नेल योगेन्द्र खाँणले आयोजनामा अनियमितता गरेको उजुरी सेनाभित्र परेपछि छानबिनको भैरहेको नेपाली सेनाले जनाएको छ । खाँणले आफूले पूर्व सेनापति क्षत्रीको निर्देशनमा आफुले काम गरेको बयान दिएका थिए । त्यसपछि यो प्रकरणमा पूर्व प्रधानसेनापति क्षत्री तानिएका हुन् ।

आयोजनामा रहँदा खाँणले अर्बौँ अनियमितता गरेको आरोपसहित जंगी अड्डामा उजुरी परेको थियो । द्रूतमार्गमा अग्लो पुल र सुरुङ बनाउने काममा अन्तर्राष्ट्रिय टेन्डर गर्ने प्रचलन विपरीत खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको निर्देशन अनुसार आफ्ना मान्छेको डोजर, लोडर लगाएर जमिन मिलाउने काममा मात्रै करोडौँ घोटाला गरेको आरोप लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप