बोल्ड लेडी बैङ्कर बोल्ड लेडी बैङ्कर

बैङ्किङ क्षेत्र हाँक्दै यी महिला सारथी !

‘महिलालाई डरको होइन, ज्ञानको भारी बोकाऔँ’

person explore access_timeफागुन २५, २०७६ chat_bubble_outline0
तस्विरहरुः कृष्ण खड्का

नेपालको बैङ्किङ इतिहास जति लामो छ, बैङ्किङमा महिला सहभागिता उति नै छोटो छ । १९९४ सालमा नेपाल बैङ्क स्थापना भएसँगै नेपालमा संस्थागत रूपमा बैङ्किङ सेवाको सुरुवात भएको थियो । २०४२ सालमा निजी क्षेत्रले पनि बैङ्क तथा वित्तीय क्षेत्र सञ्चालन गर्न पाउने नीति बनेपछि भने बल्ल बैङ्क तथा वित्तीय संस्था खुल्ने क्रम सुरु भयो ।


बैङ्क तथा वित्तीय संस्थाहरुमा विगतमा फाट्ट फुट्ट महिला कर्मचारी देखिए पनि आजभोलि पुरुषभन्दा महिला कर्मचारीको सङ्ख्या बढी देखिन थालेको छ । अहिले हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गइरहेको छ । यसले लामो समयदेखि पुरुष र महिला बीचको खाडल पुर्न भएका प्रयासहरुले विस्तारै गति लिइरहेको देखाउँछ ।



हाल बैङ्किङ क्षेत्रमा ४० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । जसमा ४० प्रतिशत महिला सहभागिता छ । बैङ्किङ क्षेत्रका दिग्गजहरु अबको आठ दस वर्षमा बैङ्कमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी हुने र नेतृत्व तहमा पनि महिलाहरु बराबरी हुने बताउँछन् ।



बैङ्किङ क्षेत्र पारिश्रमिक, स्थायित्व र भविष्य सुनिश्चितताका लागि भरपर्दो क्षेत्र मानिएको छ । विगतमा कतिपयले पारिश्रमिक र स्थायित्वका लागि मात्रै बैङ्किङलाई रोज्ने गरे पनि आजभोलि यो क्षेत्र निकै प्रतिस्पर्धी र चुनौतीपूर्ण बन्दै गएको छ । यसको अर्थ चुनौतीसँग जुध्न सक्ने आँट र हिम्मत बोकेर यस क्षेत्रमा होमिने महिलाको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ ।

नेपालमा बैङ्क तथा वित्तीय क्षेत्रको विकाससँगै महिलाहरुमा पनि शिक्षाको पहुँच, सामाजिक र आर्थिक रूपमा महिलाको अग्रसरता बढेको पाइन्छ । घरधन्दामा सीमित रहेका महिलाहरुको व्यवस्थापकीय क्षेत्रमा रुचि बढ्नु अनि प्रतिस्पर्धी बन्न सक्नुमा शिक्षा नै प्रमुख कारण हो । सँगसँगै सामाजिक रूपमा पनि नेपाली महिलाहरु अगाडि आउन थालेका छन् । पुरुषसरह हरेक क्षेत्रमा क्रियाशील छन् र पुरुषभन्दा कुनै पनि अर्थमा कम नरहेको यथार्थलाई प्रमाणित पनि गरिदिएका छन् ।

महिलाको सहभागिताबिना कुनै पनि विकास सम्भव छैन । सबै वर्ग, लिङ्ग र क्षेत्रका मानिसको सहभागिताले नै देश विकास सम्भव छ भन्नेबारे विश्व जगत सचेत भएको अवस्थामा महिलाहरुले अवसर पाउन थालेका छन् । 

महिलाप्रतिको कमजोर सोचकै कारण नेपालको इतिहासले महिलालाई नेतृत्व तहसम्म पुर्याउन नसकेको हो । तर आज महिलाप्रतिको धारणामा परिवर्तन आएको छ र महिलाहरु पनि नेतृत्व तहमा पुगेका छन् । महिलाहरु जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम छन् भन्ने उदाहरण बैङ्किङ तथा वित्तीय क्षेत्रमा उनीहरुको सहभागिताले पुष्टि गरिसकेको छ ।

नेपालको बैङ्किङ क्षेत्रमा यसअघि राष्ट्रिय वाणिज्य बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा शिवादेवी काफ्ले र एच एन्ड बी डेभलपमेन्ट बैङ्कमा जोसुदा सैंजुले नेतृत्व लिइसकेका छन् । त्यसयता नेपालका निजी क्षेत्रका वाणिज्य बैङ्कहरुमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनिन् अनुपमा खुञ्जेली । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हामीले नेपालको बैङ्किङ क्षेत्रमा छुट्टै पहिचान बनाएका उदाहरणीय महिला बैङ्करहरुको सफलतालाई प्रस्तुत गर्न खोजेका छौँ । यी बैङ्कर महिलाहरु नयाँ पुस्ता र अगाडि बढ्न नसकेका महिलाहरुका लागि प्रेरणा बन्न सक्नेछन् ।

‘आफूभित्रको हिरोलाई पहिचान गरौँ’

अनुपमा खुञ्जेली, प्रमुख कार्यकारी अधिकृत (सीईओ), मेगा बैङ्क नेपाल

भविष्यमा नेपालको बैङ्किङ इतिहासमा लेखिने एक नाम हो– अनुपमा खुञ्जेली । निजी क्षेत्रको वाणिज्य बैङ्कहरुमा पहिलो महिला सीईओकोे रूपमा नाम लेखाउन सफल खुञ्जेली बैङ्किङ क्षेत्रका लागि मात्रै होइन समग्र महिलाहरुका लागि प्रेरणा हुन् ।

मेगा बैङ्क नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हालेको दुई वर्ष नपुग्दै उनले बैङ्कलाई उत्कृष्ट बैङ्कको अवार्ड दिलाउन सफल भइन् भने उत्कृष्ट महिला व्यवस्थापकको अवार्ड प्राप्त गर्न पनि सफल भइन् ।

जस्तोसुकै चुनौतीको सामाना गर्न पछि नपर्ने अनुपमाको हक्की स्वभाव, कडा मिहिनेत, लगनशीलता, आँट, प्रतिस्पर्धामा खरो उत्रिन सक्ने अनि कर्मचारी र सञ्चालकसँगको सहकार्यबाट आज उनी नेपालको बैङ्किङ क्षेत्रको सबैभन्दा उत्कृष्ट महिला बन्न सफल छिन् ।

नयाँ पुस्तालाई जिम्मेवार र प्रतिस्पर्धी बन्न सधैँ प्रेरित गर्ने उनी नयाँ पुस्तालाई नेतृत्व तहमा पुग्नका लागि आँट र निष्ठाका साथ अगाडि आउन सुझाव दिन्छिन् ।

ग्रिनलेज बैङ्क (हालको स्ट्यान्डर्ड चाटर्ड बैङ्क)मा १३ वर्ष, नविल बैङ्कमा ६ वर्ष बिताएर मेगा बैङ्कमा डीजीएम लेभलबाट प्रवेश गरेकी थिइन् खुञ्जेली । मेगा बैङ्कमा सुरुवाती चरणबाटै प्रवेश गरेका कारण बैङ्कको नीति निर्माणदेखि योजना बनाउन र कार्यान्वयनमा प्रत्यक्ष भूमिका रह्यो उनको ।

२९ वर्षको बैङ्किङ करिअरमा धेरै तलमाथि भोगेकी उनले धैर्यता, लगन र दृढ इच्छा शक्तिलाई हतियारका रूपमा प्रयोग गरिन् । जसको परिणाम आज उनले चुमेको सफलता हो ।

आधा आकाश ढाकेका महिलालाई उनी आर्थिक रूपले आफू कसरी बलियो हुनेबारे सोच्न, व्यापार व्यवसायमा हात बढाउन, नेतृत्व लिन अग्रसर हुन, नीति निर्माणमा भूमिका खेल्न, आत्मविश्वास बढाउन सुझाव दिन्छिन् । महिलाहरुलाई पनि अवसर छन्, हिम्मत लिएर अग्रसरता देखाउन उनको आग्रह छ । उनी भन्छिन्, महिलाहरुले आफूलाई असक्षम छु भन्ने सोचबाट माथि उठाएर प्रतिस्पर्धामा लैजान जरुरी छ ।’

आफूमाथि विश्वास र भरोसा राख्यौँ, जागरुकता देखायौँ भने अवश्य सफल भइने उनको विश्वास छ । ‘राष्ट्रको आर्थिक समृद्धिको पाटोमा महिलाको योगदानको जरुरी छ, ‘हाम्रा लागि अवसर र अधिकार कसैले ल्याइदेला भनेर कुर्ने होइन, आफ्नो क्षमता र दक्षता पहिचान गरी आत्मविश्वासका साथ अगाडि बढौँ, अवश्य सफल भइन्छ ।’

महिला जागिर खाने मात्रै होइन, जागिर दिने तहमा पनि पुग्न सक्छन् भनेर बुझ्न जरुरी छ । महिला पछिपर्नुको प्रमुख कारण उनीहरुको हुर्काइको तरिका पनि हो, त्यसैले छोरा र छोरीको हुर्काइमा हुने कुनै पनि विभेद अन्त्य गरेर बराबरी पोषण, शिक्षा अनि अवसर दिनुपर्छ । 

उनका अनुसार शारीरिक र मानसिक रूपमा बलियो बनाउन बच्चैदेखि प्रतिरक्षा पनि सिकाउन जरुरी छ ता कि महिलाले अफूमाथि हुने कुनै पनि शारीरिक र मानसिक दुर्व्यवहारलाई प्रतिकार गर्न सकून् ।

खुञ्जेली थप्छिन्, ‘हाम्रो देशमा महिलाहरु पुरुषसरह नेतृत्व तहमा देखिन थाल्नु सकारात्मक पाटो हो । बैङ्किङ क्षेत्रमै हेर्ने हो भने महिला सहभागिता बढ्दो छ र नेतृत्व पनि लिइसकेका छन् । अबको केही वर्षमा नेपालका वाणिज्य बैङ्कहरुको नेतृत्व तहमा महिलाहरु पुरुषको हाराहारीमा हुनेमा दुई मत छैन । ‘हाम्रै बैङ्कमा हेर्ने हो भने बैङ्कको पहिलो, दोस्रो र उच्च व्यवस्थापनमा ९ जना त महिला मात्रै छन्,’ उनले भनिन्, ‘महिलाहरु पनि नेतृत्व लिन सक्छन् भन्ने यसले पनि देखाउँछ ।’

नेपालका ठूला बिजनेस घरानामा महिला सहभागिता फाट्ट फुट्ट भए पनि बैङ्किङमा भने ग्लास सिलिङ नै ब्रेक भएको उनको भनाइ छ । ‘यसले महिला पनि सक्षम छन् भन्ने देखाएको छ।’


महिलालाई सुझाव दिँदै उनी सपनालाई मर्न दिन नहुने बताउँछिन् । ‘महिलालाई अगाडि बढ्न परिवार र समाजको पनि भूमिका उत्तिकै हुन्छ,’ उनले भनिन्, ‘परिवारले छोरा अनि ज्वाइँ लगायतलाई जति कामका लागि प्रोत्साहन र प्रेरित गर्छ, त्यसैगरी आफ्ना छोरी र बुहारीलाई पनि गर्न सक्ने हो भने उनीहरु आफ्नो लक्ष्यमा पुग्ने छन् ।’

नेपालका ठूला बिजनेस घरानामा महिला सहभागिता फाट्ट फुट्ट भए पनि बैङ्किङमा भने ग्लास सिलिङ नै ब्रेक भएको उनको भनाइ छ । यसले महिला पनि सक्षम छन् भन्ने देखाएको छ ।

अन्तर्राष्ट्रिय एक अध्ययनअनुसार ‘महिलाले नेतृत्व गरेको संस्थाले ५ देखि १० प्रतिशत नाफा स्वतः कमाउँछ । यसले पनि देखाउँछ कि महिलाको सक्षमता । २०१८–१९ को विश्व आर्थिक फोरमको अनुसन्धानले लैङ्गिक विभेद अन्त्य हुन अझै १०८ वर्ष लाग्ने बताए पनि यो वर्ष यो दुरी घटेर ९९ वर्ष भनेको छ ।

एउटा अन्तर्राष्ट्रिय उक्ति छ, ‘महिलाको आवाज पुरुषको तुलनामा ४ गुना कम सुनिन्छ ।’ यो अवस्थामा सुधार आउन पक्कै पनि समय लाग्नेछ । तर हामीले यो भन्दैमा आफूलाई कमजोर महसुस कहिल्यै पनि गर्नु हुँदैन, उनले भनिन्, ‘नीति निर्माणको तहमा महिला सहभागिता जरुरी भएकाले हरेक तहमा आफूलाई उभ्याउन सक्नुपर्छ । ४० प्रतिशत महिला बैङ्किङमा आउनुले पनि परिवर्तन भएको आभास गराएको छ अहिले ।’

खुञ्जेली महिलाका लागि एक रोल मोडल हुन् । उनी महिलाहरुलाई प्रेरित गर्छिन् । तमाम महिला दिदी बहिनीहरुलाई उनी अपिल गर्छिन् ‘आफूभित्रको हिरोलाई पहिचार गरेर अगाडि बढौँ, सफलता हामीलाई कुरिरहेको छ ।’

‘सपना ठूला देखौँ, अगाडि बढ्न सहज हुन्छ’

आरती राणा, नायव महाप्रबन्धक (डीजीएम), सनराइज बैङ्क

बैङ्किङ क्षेत्रमा आफ्नो बोल्ड छविका कारण सुपरिचित व्यक्तित्व मध्येकी एक हुन् आरती राणा । सनराइज बैङ्कको नायव महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत राणा नेपाली बैङ्किङ क्षेत्रकै एक उदाहरणीय महिला प्रतिनिधि हुन् ।

सन् २००२ मा एभरेस्ट बैङ्कबाट म्यानेजमेन्ट ट्रेनीका रूपमा बैङ्किङ करियर सुरु गरेकी उनले एभरेस्टमा ५ वर्ष बिताएकी थिइन् । त्यसपछि ग्लोबल आईएमई बैङ्कमा डेपुटी म्यानेजरका रूपमा प्रवेश पाएकी राणा सहायक महाप्रबन्धक (एजीएम) भइन् । उनी बैङ्किङमा प्रवेश गर्ने हजारौँ महिलाका लागि प्रेरणा बनिन् । ग्लोबल बैङ्कको १२ वर्षको यात्राबाट मोडिएर सनराइज बैङ्क पुगेकी उनी अवसर र चुनौतीलाई सहर्ष स्वीकार गर्दै अगाडि बढ्नुपर्ने बताउँछिन् ।

आरती मानिसको जीवनमा कोही न कोही रोल मोडल हुनुपर्ने आवश्यकता औँल्याउँछिन् । जसले अगाडि बढ्न सधैँ प्रेरित गर्ने उनको तर्क छ । उनको जीवनमा पनि कोही रोल मोडल छ, जसले उनलाई सफलताको बाटोतिर अगाडि बढाइरहेको छ ।

पेप्सीकी पूर्वसीईओ तथा विश्वका शक्तिशाली १०० जनामध्येकी दोस्रो हुन्– इन्द्र नुई । नुईलाई आरती आफ्नो रोल मोडल मान्छिन् र नुईको हरेक पक्षलाई अनुसरण गर्छिन् । नुईको ‘फाइभ सी (5C)’ मोडेललाई आत्मसाथ गरेकी राणा अन्य महिलालाई पनि यसबाट पाठ सिक्न सुझाव दिन्छिन् ।

नुईको फाइभ सीमध्येको एक हो– कम्पिटेन्स: आफूलाई अगाडि लैजान हरेक दिन केही न केही सिक्न जरुरी छ । आफ्नो वरपर के भइरहेको छ र विश्व कतातिर जाँदैछ भन्नेबारे हामीले खोजी गर्नुपर्ने र अध्ययन गर्नुपर्छ र आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्छ ।

करेज एन्ड कन्फिडेन्सः ज्ञान मात्र भएर हुँदैन आत्मविश्वास त्यसमा महत्त्वपूर्ण हुन्छ । आफूलाई अगाडि बढाउन आत्मविश्वासलाई सधैँ कायम राख्नुपर्छ । ज्ञान छ, आत्मविश्वास पनि छ तर त्यसलाई लागू गर्ने साहस छैन भने पनि काम छैन त्यसैले दृढ आत्मविश्वासलाई अगाडि लैजान साहस चाहिन्छ ।

एभरेस्ट बैङ्कमा काम सुरु गर्दा उनको काम थियो– चेक च्यात्ने । उनलाई महसुस भयो कि एमबीए गरेर आएको व्यक्तिले योभन्दा माथिको जिम्मेवारी लिन सक्छ । उलने सीईओसँग आफूले थप जिम्मेवारी लिन चाहेको बताएसँगै मार्केटिङ विभागको नेतृत्व सम्हाल्ने अवसर पाएकी थिइन् । सधैँ चुनौतीसँग खेल्न चाहने उनी आफ्नो आत्मविश्वासलाई ढल्न दिन नहुने बताउँछिन् ।


कम्युनिकेसनः कम्युनिकेसन नेतृत्वका लागि अति नै महत्त्वपूर्ण पक्ष हो । नेतृत्वकर्ताले ग्राहकदेखि सञ्चालकसम्म कम्युनिकेट गर्नु अत्यावश्यक हुन्छ । कम्युनिकेसन विना केही पनि सम्भव छैन ।

कम्पासः नेतृत्वमा पुग्न निष्ठा जरुरी हुन्छ । निष्ठाको बाटो समाउनेले आफू र आफ्नो कम्पनीलाई एउटा सही दिशा दिन सक्षम हुन्छ । दिशाविहीन व्यक्ति कहिल्यै लक्ष्यमा पुग्न सक्दैन, त्यसैले एउटा मार्ग निर्धारण गरेर अगाडि बढ्नु पर्छ ।

बैङ्कका सुरुका दिन केही कठिन भए पनि नेतृत्व तहमै बसेर काम गर्न पाएकी आरती आफूमा क्षमता छ भने अवरोधलाई सजिलै चिर्न सक्ने बताउँछिन् ।

एभरेस्ट बैङ्कमा काम सुरु गर्दा उनको काम थियो– चेक च्यात्ने । उनलाई महसुस भयो कि एमबीए गरेर आएको व्यक्तिले योभन्दा माथिको जिम्मेवारी लिन सक्छ । उलने सीईओसँग आफूले थप जिम्मेवारी लिन चाहेको बताएसँगै मार्केटिङ विभागको नेतृत्व सम्हाल्ने अवसर पाएकी थिइन् । सधैँ चुनौतीसँग खेल्न चाहने उनी आफ्नो आत्मविश्वासलाई ढल्न दिन नहुने बताउँछिन् ।

उनलाई त्यही दिनदेखि लागेको थियो कि हामीले बोल्न सक्नुपर्ने रहेछ । त्यतिबेला नबोलेको भए सायद उनी त्यही कहीँ रुमल्लिरहेकी हुन्थिन् । त्यसैले हरेक महिलाले आत्मबल बलियो बनाएर आफ्नो क्षमता देखाउन सक्नुपर्ने उनको भनाइ छ ।

त्यहीबेला हो उनले बजार बुझ्ने अवसर पाएको र सम्बन्ध विस्तार, बैङ्कसम्म जनता र जनतासम्म बैङ्क, सङ्घसंस्था अनि मिडियासम्म बैङ्कलाई जोड्ने कामको अवसर र जिम्मेवारी पाएको । योसँगै नीति निर्माण तहदेखि जनस्तरमै पुगेर चेतना जागृत गर्नमा उनको भूमिका अहिलेसम्म पनि जारी छ । उनी भन्छिन्, ‘आफ्नो कामलाई माया गरेर समय दिन सकियो भने सफल भइन्छ ।’

एभरेस्ट बैङ्कमा सहायक महाप्रबन्धक रहेकी उनी सन् २००७ मा उपमहाप्रबन्धक पदमा ग्लोबल आईएमई बैङ्क प्रवेश गरिन् । ग्लोबलमा सहायक महाप्रबन्धक (एजीएम) तहसम्मको यात्राबाट नेपालको बैङ्किङ संस्कारलाई राम्रैसँग केलाउने अवसर पाएकी उनले आफ्नो व्यावसायिक जीवनमा महिला भएकै कारण विभेद खेप्नुपरेको छैन ।

महिलाको क्षमता अभिवृद्धि गर्न शिक्षा अत्यावश्यक छ । राणालाई परिवारले छोरी भएकै आधारमा कहिल्यै विभेद गरेन शिक्षालाई प्राथमिकतामा राख्यो, जसको परिणाम उनले आफ्नो क्षमताअनुसार आफूलाई अगाडि बढाउन सफल भइन् ।

उनी थप्छिन्, ‘हरेक अभिभावकले आफ्ना छोरीहरुलाई एउटा महत्त्वपूर्ण उपहार दिऔँ, शिक्षा । अशिक्षा नै हो महिला पछिपर्नुको प्रमुख कारण । मेरो परिवारले छोरा र छोरीमा विभेद गरेन, शिक्षामा बराबरी गर्यो र शिक्षामै हामीलाई केन्द्रित गरायो । त्यसको परिणाम म आज यो स्थानमा छु । शिक्षामा हरेक सन्ततिको पहुँच हुने बित्तिकै उनीहरु आफ्नो भविष्य आफैँ कोर्छन् र कसैको भरमा उनीहरु बाँच्नु पर्दैन ।’

उनका अनुसार क्षमता, आत्मविश्वास र कार्यकुशलताले नै मानिसलाई सफलतातिर डोर्याउँछ । महिलाहरु क्षमतावान, सक्षम र जिम्मेवार भए पनि समाजले उनीहरुलाई असहयोग गरिदिँदा पछिपरेको उनी बताउँछिन् । हरेक व्यक्तिको सफलताको पछाडि परिवार हुने भए पनि कति महिलाहरु बुहारी भइसकेपछिको अवस्थामा पारिवारिक असहयोगकै कारण काम छाड्नु परेको तीतो अनुभव पनि उनले सुनाइन् ।

बैङ्कमा क्षमता, दृढ सङ्कल्प, समर्पण र निष्ठाको जरुरी रहेको आरतीको भनाइ छ । ‘बैङ्कमा काम गर्न चाहनेले समयसँग सम्झौता गर्न सक्नुपर्छ, १० देखि ५ को ड्युटी नसोचौँ, लक्ष्य लिएर अगाडि बढौँ,’ उनी भन्छिन्, ‘आफ्नो कामलाई जागिर नसोचौँ, कामसँगै व्यक्तिगत विकासमा पनि ध्यान दिने गरौँ । अध्ययनविना अगाडि बढ्न मुस्किल छ, त्यसैले अध्ययन गरौँ र आफूलाई अपडेट गरौँ, सफलताले हामीलाई कुरिरहेको छ ।’

आफू नीति निर्माण तहमा रहेर नै महिलाका लागि योजना बनाएको र कार्यान्वयनमा ल्याएको उनी बताउँछिन् । ‘सनराइज बैङ्कले महिलाहरुको उत्थानका लागि भनेर कर्जा सुविधा अगाडि सारेका छौँ । महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्दै महिला उद्यमी कर्जा ल्याएका हौँ,’ उनले भनिन्, ‘हामी चाहन्छौँ महिलाहरु आत्मनिर्भर बनून् । बैङ्कले विभिन्न सङ्घसंस्थाहरु एफएनसीसीआई, चेम्बर, सीटीईभीटीसँग सहकार्य गरेर महिलाहरुलाई सीप सिकाउनका लागि महिला उद्यमी कर्जा ल्याएको छ । यसमा महिलाले कुनै पनि उद्यमका लागि कर्जा लिएर काम गर्न सक्नेछन् ।’

राणाका अनुसार ‘नारी दिवस महिलाहरुको सफलताको उत्सव हो । यो दिन महिलाको सफलताको कथा सुनाइनुपर्छ, यसले अगाडि आउन नसकेका महिलाहरुलाई अगाडि बढ्न प्रोत्साहन गर्नेछ ।’ 

उनको सुझाव छ, हरेक महिलाले आफूले आफैँलाई विश्वास गर्नुपर्छ । आफूलाई कहिल्यै कमजोर नठान्नुस्, तपाईंले जस्तो सोचाइ राख्नु हुन्छ, त्यस्तै नै बन्नुहुन्छ । त्यसैले, सोचाइ बलियो बनाएर अगाडि बढ्नुस्, सफल पक्कै भइन्छ ।

‘समाजले हामीलाई बोकाइदिएको डरको भारी अब बिसाऔँ’

शान्ता सिवाकोटी, ग्लोबल आईएमई बैङ्कको बजार तथा व्यवसाय प्रवद्र्ध्रन विभाग प्रमुख

सन् २००० बाट बैङ्किङ क्षेत्रमा प्रवेश गरेकी शान्ता शिवाकोटी नेपालका महिला बैङ्करहरुका लागि एक उदाहरण हुन् । आफ्नो १९ वर्षे बैङ्किङ करियरमा थुप्रै उतार चढावको सामना गरेकी उनले महिला भएकै कारण कहिल्यै आफूलाई कमजोर महसुस गर्नु परेन । परिवार, समाज अनि कार्यालयमा उनको आत्मविश्वास दरिलो पिल्लर बनेको छ ।

एनआईसी (हालको एनआईसी एसिया) बैङ्कमा एसिस्टेन्ट तहबाट बैङ्किङ यात्रा सुरु गरेकी थिइन् शान्ताले । दोलखामा जन्मिएकी उनले काठमाडौँकै एपेक्स लाइफ स्कुलबाट एसएलसी गरेकी थिइन् । स्कुलमा सधैँ पहिलो हुने उनी एसएलसी लगत्तै सोही स्कुलमा अध्यापन गर्न थालिन् । उनलाई त्यतिबेला नै लागेको थियो कि आफूमा क्षमता छ भने अवसरले खोजी खोजी बोलाउँने रहेछ । स्कुलका प्रधानाध्यापकले उनको क्षमता देखेर एसएलसी लगत्तै अध्यापनका लागि अफर गरेका थिए । अध्यापन र पढाइलाई सँगसँगै अगाडि बढाएकी उनले प्लस टु सकिने बित्तिकै एनआईसी बैङ्कबाट बैङ्किङ क्षेत्रमा प्रवेश पाइन् ।

एनआइसीको फाइनान्स र ट्रेजरी विभागमा ६ वर्षसम्म काम गर्दा उनलाई दक्षता दिलायो । सन् २००७ बाट सञ्चालनमा आएको ग्लोबल आईएमई बैङ्कमा २००६ बाटै आबद्ध भइन् सिवाकोटी । ग्लोबल बैङ्कको संस्थापक कर्मचारीको रूपमा आजसम्म कार्यरत उनले ट्रेजरी, अपरेसन, मार्केटिङ, विजनेस प्रमोसन, ब्रान्डिङ, ब्रान्च म्यानेजरदेखि सरकारको एपीसी (अल्टरनेटिभ प्रोमोसन सेन्टर) फन्ड लगानीसम्बन्धी प्रोजेक्टको नेतृत्व सम्हालिसकेकी छिन् । चिफ अपरेटिङ अफिसर (सीओओ)को भूमिका हुँदै हाल चिफ मार्केटिङ अफिसरको भूमिकामा रहेकी उनी जस्तोसुकै चुनौतीलाई स्वीकार गरेर अगाडि बढ्ने हो भने कसैको कृपा नचाहिनेमा विश्वास गर्छिन् ।

बैङ्किङमा विगतको तुलनामा अहिले अवसरहरु प्रशस्त भएको महसुस हुन्छ उनलाई । अहिले समाजमा सचेतना बढेको र शिक्षामा छोरीहरुको पहुँच बढिरहेको छ । विगतको तुलनामा बैङ्कमा प्रवेश गर्ने महिलाहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । यही तुलनामा बढ्ने हो भने अबको केही वर्षमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी हुने र नेतृत्व तहमा पनि महिलाहरुको सङ्ख्या बढ्नेमा उनी ढुक्क छिन् ।

अझै पनि बैङ्कहरुको नेतृत्व तहमा औँलामा गन्न सकिने महिलाहरु मात्रै छन् भने तल्लो तहमा महिला पुरुष बराबरीजस्तै छन् । वाणिज्य बैङ्कको कार्यकारी जस्तो उच्च पदमा एकजना मात्र महिला भए पनि दोस्रो वा तेस्रो तहमा महिलाको सङ्ख्या बढेको छ । प्रबन्धक तहमा थुप्रै महिला पुगिसकेका कारण पनि बैङ्कलाई नेतृत्व दिन अब महिलाहरु तयार भएको उनको बुझाइ छ ।

बैङ्क तथा वित्तीय क्षेत्र कार्यगत सुरक्षा, स्थायित्वका लागि हेरिने भए पनि यो क्षेत्र चुनौतीले भरिएको शान्ताको बुझाइ छ । उनी भन्छिन्, ‘यहाँ हरेक सेकेन्ड चुनौतीसँग जुध्नुपर्ने हुन्छ । बैङ्कको जागिरलाई १० देखि ५ को ड्युटीसँग कहिल्यै पनि तुलना नगरौँ ।’

बैङ्किङमा क्षेत्रमा बिताएको १९ वर्षको अवधिमा उनले खासै विभेदको सामना गर्नु परेन । यसको मतलव बैङ्किङ क्षेत्रमा विभेद नै छैन भन्ने होइन । तर क्षमता र दक्षताअनुसार आफूलाई निखार्दै लैजान सक्ने, महिला भएकै कारण कमजोर नसम्झिने र कुनै पनि जिम्मेवारी लिनबाट पछि नहट्नेहरु नै अगाडि बढेको उनी बताउँछिन् ।


बैङ्किङमा क्षेत्रमा बिताएको १९ वर्षको अवधिमा उनले खासै विभेदको सामना गर्नु परेन । यसको मतलव बैङ्किङ क्षेत्रमा विभेद नै छैन भन्ने होइन । तर क्षमता र दक्षताअनुसार आफूलाई निखार्दै लैजान सक्ने, महिला भएकै कारण कमजोर नसम्झिने र कुनै पनि जिम्मेवारी लिनबाट पछि नहट्नेहरु नै अगाडि बढेको उनी बताउँछिन् । उनको विश्वास छ 'एउटा लक्ष्य लिएर अगाडि बढौँ, परिवार र समाजको असहयोगलाई आफ्नो लक्ष्यको बाधक नबनाऔँ, आफ्नो सक्षमतालाई प्रयोग गरौँ, हामी महिला कोहीभन्दा कम हुने छैनौँ सफल अवश्य भइन्छ।’

महिला पछाडी पर्नुमा पारिवारिक र कार्यालय अनि व्यवस्थापनको असहयोग कारक तत्व रहेको उनको बुझाइ छ । सिवाकोटीको सुझाव छ, महिलाहरु घर परिवार समाज अनि कार्यालय सवैको भूमिकामा हुुनुपर्ने र विशेष गरेर बच्चाको हुर्काइमा महिलाको प्रत्यक्ष सहभागिता हुने भएकाले त्यो समयमा घर परिवार अनि कार्यालयले पनि सहयोग गर्नुपर्छ । 

सिवाकोटीका अनुसार धेरै महिलाहरुले विवाहपश्चात बच्चा हुने र बच्चा हुर्काउनका लागि जागिर नै त्याग्नुपरेको अवस्था छ । पारिवारिक साथ र सहयोग हुने हो भने ती महिलाले आफ्नो जागिर त्याग्नु पर्दैन थियो र कसैको भरमा बाच्नु पर्दैन थियो भन्ने उनको मान्यता छ । ‘तर आजभोलि महिलाहरुले यसलाई पनि ह्यान्डिल गर्न थालेका छन् । शिशु स्याहार केन्द्रहरुको विकास भएसँगै सहरमा बस्ने महिलाहरुले बच्चालाई निश्चित उमेरपछि शिशु स्याहारमा राखेरै भए पनि कामलाई निरन्तरता दिएको पाइन्छ । यस्तोमा कार्यालयहरुले शिशु स्याहारका लागि व्यवस्था गरेर महिलाहरुलाई कामप्रति प्रोत्साहन गर्न सक्छन् ।’

यो तहसम्म आइपुग्दा कहिल्यै महिला भएकै कारण कमजोर सोचाइ नराखेको बताउने सिवाकोटी दुई छोरीकी आमा हुन् । उनी बच्चा जन्मेको ४६ दिनबाटै काममा फर्किएको अनुभव सुनाउँछिन् । भन्छिन्, ‘मलाई त परिवार तथा श्रीमानको सहयोग थियो, जसका कारण काम र अभिभावकत्वलाई सँगसँगै अगाडि बढाउन सकेँ, सवैले यसरीनै साथ पाए भने अगाडी आउन सक्छन् ।’

उनको विचारमा विश्वमै महिला र पुरुषमा समानता छैन तर हामी बराबरी हौँ भन्ने बुझ्न सक्नुपर्छ। राज्यले महिलाहरुलाई आरक्षण दिएर खुम्च्याउनुभन्दा पनि जागरुक बनाउने, क्षमता अभिवृद्धि गर्न र शिक्षाको पहुँचमा पुर्याउन सहयोग गर्ने र अगाडि आउन प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

उनी भन्छिन्, ‘हामीले आफैँलाई माथि उठाउने कोसिस गरौँ, विश्वबारे जानकारी राखौँ, नयाँ नयाँ टेक्नोलोजीबारे जानकारी राखौँ, लक्ष्य निर्धारण गरौँ, अगाडि बढ्का लागि के कुराले बाधा गरेको छ त्यसलाई चिर्ने कोसिस गरौँ, सफल र प्रेरणादायी व्यक्तित्वहरुलाई अध्ययन गरौँ त्यसले हामीलाई अगाडि बढ्न ऊर्जा दिन्छ, आफ्नो अधिकार कसैले देला भनेर कुरेर नबसौँ अधिकारका लागि लडौँ अनि आत्मविश्वासका साथ अगाडि बढौँ हामीलाई कसैले रोक्न सक्दैन ।’

सिवाकोटी महिलाहरुलाई सशक्त रुपमा अगाडी आउन आग्रह गर्छिन । भन्छिन्, ‘समाजले महिलालाई जन्मैदेखि विभिन्न डरको भारी बोकाएर कमजोर बनाइदिएको छ । किशोरावस्थादेखि नै कहिले महिनावारी हुँदा छोइछिटोको डर, कहिले इज्जतको डर, कहिले पुरुषसँगको डर, कार्यालय, परिवार अनि समाजसँगको डर, जतासुकैबाट डरको भारी बोकाइदिएको छ । यस्ता कुराले महिलाहरुलाई कमजोर मानवको रुपमा चित्रण गराउन मद्दत मिलेको देखिन्छ । त्यसैले हामीले बुझ्न जरुरी छ कि महिला कोहीभन्दा कम छैनन् । समाजले बोकाइदिएको डरको भारीलाई आजैबाट बिसाइदिऊँ, अनि मात्रै हामी महिला सशक्त र बलियो हुनेछौँ । महिलाविना त यो सृष्टि नै सम्भव छैन किन डर बोकेर बस्ने हामी ? त्यसैले त भनिएको छ, ‘महिला रोकिए संसार रोकिन्छ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।