बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

के हो किसान क्रेडिट कार्ड ?

यसको प्रयोग र फाइदा के छ किसानलाई ?
बुधबार, ०७ साउन २०७७, ०९ : ५८
बुधबार, ०७ साउन २०७७

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष (२०७७/७८) को मौद्रिक नीतिमा किसान क्रेडिट कार्डको विषय उठान गरेको छ । बिशेष गरी किसानले पाउने ऋण र अनुदानसँग सम्बन्धित यस कार्ड चाडै प्रयाृगमा ल्याउने गृहकार्यमा कृषि विकास बैङ्क छ । मौद्रिक नीतिमा उल्लेख भएको यसलाई कार्यान्वयनमा लैजान नेपाल राष्ट्रबैङ्कको सर्कुलरको प्रतिक्षामा बैङ्क छ  ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी २/४ दिनमै सर्कुलर जारी गर्ने बताउँछन् । उनका अनुसार कसरी कार्यान्वयनमा जाने भन्ने विषय केन्द्रिय बैङ्क र कृषि विकास बैङ्क मिलेर टुङ्गो लगाउनेछन् ।

कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय दसैँ अगाडी कार्ड जारी गरिने बताउँछन् । उनले भने, ‘हामी दसैँ अगाडी नै जारी गरिसक्छौँ । यसलाई तीन चरणमा गरेर जारी गर्छौँ, पूर्णतया कार्यान्वयनमा आउन करिब ५ महिना लाग्नेछ ।’ किसान क्रेडिट कार्ड के हो ? यसले किसानको हितमा कसरी काम गर्छ ? भन्ने आम चासोलाई सम्बोधन गर्न हामीले राष्ट्र बैङ्क र जारी गर्ने कृषि विकास बैङ्कसँगसँग कुराकानी गरेर बुझाउँन खोजेका छौ ।

किसान क्रेडिट कार्डले यसरी गर्नेछ काम

मौद्रिक नीतिको बुँदा नम्बर ८३ मा किसान क्रेडिट कार्डको व्यवस्था गरिने उल्लेख छ । यो कार्ड कृषि विकास बैङ्कले जारी गर्नेछ । नेपाल राष्ट्र« बैङ्कले कृषि विकास बैङ्कको मागपछि किसान क्रेडिट कार्ड सो बैङ्कमार्फत जारी गर्न पाउने गरी व्यवस्था गरेको हो ।

किसानले लिएको ऋणको र अनुदानको सम्बन्ध कर्जासँग जोडिएको हुन्छ  । एउटा नगद भुक्तानी र अर्को बिल भुक्तानी हुन्छ । कृषि सामाग्री, मल खाध, मेसिनरी बिक्री गर्ने सप्लायर्स कृषि बिकास बैङ्कको मर्चेन्ट (एजेन्ट) हुन्छ । उनीहरुले कार्डमा क्युआर कोड राखिएको हुन्छ सो क्युआर कोड स्क्यान गरेर भुक्तानी लिनसक्छन् । यो मोबाइल सिस्टमबाट कार्डको क्युआर कोडमार्फत भुक्तानी हुनेछ । कार्डको पहुँच हुने मोवाइल एप्लिकेसन विकास कृषि विकास बैङ्कले गर्छ । सो एपमार्फत स्क्यान गरेर भुक्तानी हुन्छ ।

सो कार्ड लिनका लागि कृषि विकास बैङ्कमा खाता खोलेको हुनुपर्नेछ । किसानले सो खातामा राखेको रकम अनुसार त्यसको निश्चित सीमासम्म बैङ्कले ऋण प्रदान गर्नेछ । यदि राज्यले किसानलाई विभिन्न शीर्षकका सहुलिय दियो भने सो कार्डमा हालिदिन्छ । जस्तै किसानलाई राज्यले कर्जामा सहायता अथवा अनुदान दिनुपर्ने भयो भने, ब्याजमा अथवा साँवामा अनुदान दिनुपर्ने अवस्था आयो भने सो बैङ्कमा रकम हालिदिन्छ । कृषि कार्डमा किसानको ब्यालेन्स हुन्छ उसले बैङ्कमा कर्जाको ब्याज तिनुपर्यो भने त्यही क्रेडिट कार्ड घुसाएर तिर्न सक्छ ।

यो पहिलो, दोस्रो र तेस्रो चरण गरी कार्यान्वयन हुनेछ । विस्तारै शुरु गर्ने, मर्चेन्ट बनाउने, प्रयोग गर्न सिकाउने, कार्यान्वयनको अवस्था हेर्ने र सफल नभएको अवस्था आयो भने पुनः सिकाउने पक्षमा कृषि विकास बैङ्क छ ।

राष्ट्र बैङ्कका डेपुटी गर्भनर शिवाकोटीका अनुसार बैङ्कबाट लिएको ऋणको ब्याज तिर्ने मिति कहिले हो सो को जानकारी पनि सो कार्डमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप