शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय तहका ‘प्राटिक्स बुक’ को बिक्री वितरणमा सरकारले रोक लगायो

सोमबार, १२ साउन २०७७, १८ : ५५
सोमबार, १२ साउन २०७७

काठमाडौं । सरकारले विद्यार्थीहरुलाई  उपयोगी मानिएको प्रश्नपत्रको संगालो र प्राटिक्स बुकको बिक्री वितरणमा रोक लगाएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ मा यस्तो व्यवस्था गरिएको हो । केन्द्रको निर्देशिकामा यो व्यवस्था गरिएपछि अब प्रश्नपत्रहरुको संगालो, प्राटिक्सबुकलगायतका सामग्रीहरु छपाइ, बिक्री वितरण गर्न रोक लागेको छ । 

निर्देशिकाको परिच्छेद–९को पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकनसम्बन्धी व्यवस्थाको २५ को ६ मा यस्ता सामग्री विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान नगरिने उल्लेख छ ।  अब स्वीकृति प्राप्त नभएका यस्ता सामग्रीहरु प्रकाशन गर्न, बिक्री वितरण गर्न र विद्यार्थीलाई खरिद गर्न लगाउन नपाइने पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराइले जानकारी दिए । यो निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको भन्दै भट्टराइले त्यसको कार्यान्वयन मात्रै केन्द्रले गर्ने स्पष्ट पारे । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ कात्तिक २० गते यस्तो निर्णय गरेको थियो । सोही निर्णयका आधारमा केन्द्रले निर्देशिका संशोधन गरेको हो । सरकारले यसअघि नै परीक्षा लक्षित गेसपेपर र गाइडहरुमाथि प्रतिबन्ध लगाएको थियो । तर, गेस र गाइडभन्दा भिन्न प्रकृतिको प्राटिक्सबुक र प्रश्नपत्रहरुको संगालोमाथि रोक लगाएपछि सरोकारवालाहरुले भने यसको विरोध गरेका छन् ।

केही उत्कृष्ट भनिएका सामुदायिक विद्यालयहरुले विद्यालयमा विभिन्न प्राटिक्सबुकहरु लागू गरी विद्यार्थीहरुलाई थप अभ्यास गराउँदै आएका थिए । निजी विद्यालयहरुले पनि विभिन्न प्राटिक्स बुकहरुलाई लागू गर्ने गर्दछन् ।सरकारको प्राटिक्स बुक्समाथि प्रतिबन्ध लगाउने निर्णयले सामुदायिक विद्यालयलाई सिधा असर गर्ने तिलिंगाटार मावि धापासी काठमाडौंका प्रअ सरोजकुमार पाण्डे बताउँछन् ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले पनि प्राटिक्स बुकमा रोक लगाउने सरकारको निर्णय अदूरदर्शी भएको बताए । गरिब विद्यार्थीले किन्न नसक्ने कुरालाई ध्यानमा राखेर गरिएको निर्णय भए पुस्तकालयमा राखेर सबै विद्यार्थीलाई अभ्यासको अवसर दिने विकल्प अप्नाउन सकिने उनको भनाइ छ ।

सरकारले यो उमेरका विद्यार्थीलाई पाठ्यपुस्तक बाहेकको ज्ञान बोझ हुन्छ भन्ने आशयले यो निर्णय गरेको भएपनि यो आशय पनि गलत हुने कोइरालाको भनाइ छ । फरक–फरक तरिका र विधिअनुसार फरक स्रोतबाट ज्ञान लिने प्रचलन विश्वभर रहेको भन्दै कोइरालाले पश्चिमा देशहरुमा एउटै  विषय फरक–फरक विद्यालयका शिक्षकहरुबाट लिनेदिने अभ्यास रहेको बताए । 

बन्द गर्ने होइन प्राटिक्सबुक अझै धेरै बनाउन दिनुपर्छ, यसका लागि शिक्षकहरुलाई प्रोत्साहित गर्नुपर्छ भन्दै कोइरालाले सिक्ने ज्ञान लिने विषयमा अंकुश लगाउँदा त्यसले उल्टै नोक्सान गर्ने तर्क गरे । कमजोर विद्यार्थीलाई कमजोर नै राख्ने काम सरकारबाट हुन नहुने भन्दै सिकाइका लागि विद्यार्थीहरुलाई सबैखाले विकल्पहरु खुला राखिदिनुपर्ने उनको भनाइ छ ।

शिद्धबाबा मावि तम्घास गुल्मीका प्रअ डोरविक्रम श्रीस पनि प्राटिक्स बुकमा रोक लगाउने सरकारको निर्णय सामुदायिक विद्यालयको सिकाइ कमजोर पार्नेगरी आएको बताउँछन् । ‘यो सामुदायिक विद्यालय विरुद्धको कदम हो’,प्रअ श्रीसले भने,‘विद्यालयले आफ्नै प्रयासमा विभिन्न प्राटिक्सबुक लागू गरेर सिकाइ सुधारको प्रयास गरिरहेका छन्, अब बन्द हुन्छ ।’

विद्यालयले ९ र १० का विद्यार्थीहरुलाई विभिन्न प्राटिक्स बुकबाट अभ्यास गराउने गरेको भन्दै प्रअ श्रीसले भने– ‘रिडमोरलगायत प्रकाशकका प्राटिक्स बुक पढाएका विद्यार्थीको सिकाइ धेरै आएको अनुभव हामीसँग छ ।’ विद्यालयले विद्यार्थीहरुलाई समूहमा विभाजन गरेर कसैलाई रिडमोर, कसैलाई भुँडीपुराणलगायतका प्राटिक्स बुक किन्न लगाएर पुनः आपसमा साटफेर गर्दै सिक्न प्रोत्साहित गर्ने गरेको प्रअ श्रीसले बताए ।  श्रीसले भने, ‘सरकारको यो निर्णय सामुदायिक विद्यालयलाई निजीको जिम्मा लगाउने निर्णयजस्तै घातक छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप