सर्वोच्चले सरकारसँग माग्यो संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त नहुनुको कारण

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त नहुनुको कारण पेश गर्न संवैधानिक परिषद र सरकारलाई १५ दिनको म्याद समय दिएको छ । संवैधानिक आयोगहरुमा तत्कालै पदाधिकारी नियुक्तिका लागि सिफारिश गर्ने वातावरण मिलाउन माग गर्दै जुरी नेपालले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
आइतबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशबाट विभिन्न ७ वटा संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिका लागि सिफारिश नहुनुको कारण के हो सोको लिखित जवाफ पेश गर्नका लागि संवैधानिक परिषद्, संघीय संसद् सचिवालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मुख्यसचिवको नाममा परमादेश जारी भएको हो ।
साथै संवैधानिक आयोगहरु लामो समयसम्म गठन नभएको विषय गम्भीर संवैधानिक महत्वको विषय भएकाले यसलाई अग्राधिकार प्रदान गरिएको पनि परमादेशमा उल्लेख छ ।
अग्राधिकार पाएको यो मुद्दा अब निरन्तर सुनुवाईमा जानेछ । बाटोको म्यादबाहेक १५ दिनको समय दिइएको यो मुद्दामा त्यसपछि निरन्तर सुनुवाई भई टुङ्गो लाग्नेछ ।
राजनीतिक भागबन्डा नमिल्दा विभिन्न २ वटा संवैधानिक आयोगहरु पदाधिकारीविहीन तथा ५ वटा आयोगहरुमा एक एकजना मात्रै पदाधिकारी रहेका छन् ।
नयाँ संविधान जारी भएपछि राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगमा एकजना पनि पदाधिकारी नियुक्त गरिएको छैन ।
त्यसैगरी राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा एक–एक जनामात्र पदाधिकारी नियुक्त भएका छन् । तर एकजना मात्रै पदाधिकारीले संविधान तथा कानून बमोजिमको भूमिका निर्वाह गर्नसक्ने अवस्था रहँदैन । जसका कारण यी आयोगहरुले काम गर्न नपाएको भन्दै जुरी नजेपालका तर्फबाट अधिवक्ताहरु विष्णुप्रसाद पाखरेल, मोहनलाल आचार्य, शशी बस्नेत, बालमाया विश्वकर्मा, सुन्दर बहादुर सेनी र कमल बहादुर बसेलले संयुक्तरुपमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु