केन्द्रीय संस्करण

सांसारिक अनुभूति

निबन्ध

person explore access_timeसाउन २२, २०७७ chat_bubble_outline0

घडीको टिकटिक, बन्द धाराको तप्पतप्प, भाँडाकुँडाको झनन, रेल गाडीको टीँटीँ प्याँप्याँ र छुकछुक, पङ्खाको सरकसरक, चराहरूको चिरबिर, परेवाको घुरूघुरू, हावाको सरसराहट, पानी वर्षंदाको  गडगडाहट आदिका आवाजहरू सधैँसधैँ सुनेका र अनुभूत पनि गरिने रैछ । तर चेतनाको तहमा मैले विचार नै गरिनछु । जीवनको नयाँ नयाँ आयम खोज्ने मैले किन छाड्ने गरेँ यिनीहरूको ध्वनि । यी आवाजहरूमा पनि कुनै न कुनै रूपले जीवनको अस्तित्व गाँसिएकै हुन्छ नि । के बालकको तोते बोली, कलकल बग्ने नदी, झरनाको छङछङ खस्ने छाँगो, अझ समुन्द्रबाट उम्रिने सेता पानी फूलका सुसाइ, सङ्गीतको मीठो धुन, सारेगमको कर्णप्रिय आवाज मात्र जीवनका लागि हुन् त ? पक्कै पनि होइन । यो जगतका हरेक सुरहरूमा नै जीवनको लय छ भन्ने एकाकार भएकी छु । त्यसैले यसबेला मैले अनुभव गरेर पनि तरङ्गित हुन नसकेका शाश्वत र सुन्दर आनन्दको रसस्वादन गर्ने  विचारमा उद्वेलित छु म । मेरो मनमा उब्जिएका अनुभवलाई अनुभूत गरेर भरिएँछु ।

मानिसको जीवनमा अनेक विचारहरूको घुइँचो लागिरहेको हुन्छ । कुनै राम्रो कुनै नराम्रो । हरेक विचार भएको मान्छे डुङ्गाबाट डुब्न पनि सक्छ तैरिन पनि सक्छ । यसको अनुभूत सबैले गरेका हुन्छन् । तर अनुभूत भए जति सबै कुरा अभिव्यक्त गर्न नसकिने रहेछ । विचारका तह जस्तै अनुभूतिका तहहरू पनि हरेकमा फरक फरक हुन्छन् । म पनि निकै समयदेखि विचारको सयर गरिरहेछु अनुभूतिको रङ्गमा भरिएर । थाहा छैन मेरो यात्रा कहाँ कसरी अघि बढ्ने हो । यो अनुभवको अनुभूतिले मात्र पनि मन अनौठो खुसी अनुभूत गरेर रमाइरहेछु । नजाने पनि नमिले पनि  मेरो खुसी अरूसँग पनि मिलाउन सके त म अझै पो  खुसी हुन्छु कि भन्ने लोभ पनि छ । यो खुसी बाँढ्ने आजको रहर मेरा अनुभवका अनुभूतिभन्दा पर जाने छैन । यसैको वरिपरि मेरो अक्षरका भगवानलाई साक्षी राखेर मुस्कुराउनु  ठीक हुन्छ कि गलत हुन्छ यहाँहरूले नै  निर्णय गर्नु हुने छ ।

अनुभव र अनुभूति बीच थोरै फरकको आयम छ भन्ने ठान्छु म । जीवन अनुभवले खारिए पछिको अनुभूति  मनमा अनौठो रूपमा रूपान्तरित हुन्छ । अनुभवले हाम्रो मष्तिष्कमा शक्ति दिँदै अनुभूतिका साथ अगाडि बड्छ । बिभिन्न ज्ञानको मार्गबाट अभिप्रेरित भएको अनुभवलाई प्रत्यक्ष साक्षी राखेर सूक्ष्म रूपमा अनुभूत भाव पैदा गराउँछ । मनमा कुनै कुराले खुसी  वा दुःखी भएर व्यग्र हुनुको अनुभव ममा जब हुन्छ तब आनन्द वा तनावको अनुभूति पनि त्यसक्षण नै भइदिन्छ । 

अनुभवले घटनालाई विचार गर्छ अनुभूतिले कुनै संवेदनशील कल्पनाको तरङ्गबाट छचल्काएर मन उद्वेलित बनाउँछ । जिन्दगीमा जति ज्ञान विज्ञान र अध्यात्मिक कुरा पढेर सिकेर जानिन्छ त्योभन्दा बढि अर्थरत सिकाइ जीवनको अनुभवबाट हुन्छ । अनुभव मान्छेले जीवनभर कमाउने अमूल्य धनजस्तै हो । यो अनुभवलाई कालान्तरसम्म सुरक्षित अनुभूतिले राख्छ  र यो नै जीवन बचाइको तृष्णा हो जस्तो लाग्छ मलाई ।

भोगेका केही अनुभवको चिन्तनमा रहेर जब म अनुभूत गर्छु तब निमग्न त्यसैमा डुब्छु । मैले भोगेका अनुभवका हरेक अनुभूतिहरूमा जीवन्तताका जरा हुन्छ । चाहे दुःखदायी हुन् चाहे सुखदायी नै किन नहुन् । सुनेर र देखेर उब्जिएका या स्वैरकल्पनाका मेरा कतिकति अनुभूति मनबाट नै कसोकसो  सुटुक्क विलाउँछन् पनि ।

अनुभव र अनुभूतिका लागि प्रकृतिका अनेकौँ तानावानाहरू सुन्दर तन्त्र हुन सक्छन् । जसमा आफूलाई सहज र रमाइलो लाग्छ त्यही सुटुक्क अपनाउनुको अनुभूति नै स्निग्ध हुन्छ । जीवनका दुःखसुखका कुरा आफ्नै सोच विचार र अनुभवका छायामा छचल्केको अनुभूति मनबाट हट्दैन । प्रकृतिका यावत तत्वसँग मैत्रिक र प्रेमिल भावमा एकाकार भएर आफ्नो अनुभूतिलाई युगन्तकारी बनाउने प्रयत्न गरे कति शाश्वत वा त्यसक्षण आफू आफू नभई प्रकृतिमा लिन भएको अनुभूति गर्दाको आनन्द नै अवर्णनीय । यो नै ध्यानको पराकाष्टा होइन र ? 

जीवनले अनुभव गरेका हरेक कुरा अनुभूत गरिरहेको हुन्छ तर अनुभूत गरेका कतिपय कुराहरू अनुभवबिना पनि आउँछन् जुन अनन्त भावमा मनमनै अभिव्यक्ति भइरहेका हुन्छन् । जस्तै कति छोराछोरीहरूका लागि आमाको सामीप्यताको अनुभव नहुँदा पनि आमा शब्दको प्रेमिल अनुभूतिले सौन्दर्य बोध गराउँछ । आमा हुनुको अनुभव गर्नै नपाई आमा बिदा गर्ने सन्तानहरू कति छन् कति । अर्थात् आफू जन्मना साथ आमा गुम्नेले आमाको अनुभव गर्नै पाउँदैनन् । तर अनुभव नगरे पनि आमा एक सुखद अनुभूति हो । अनुभूतिमा आमा हुनु नै जीवनको सारा सुखको शक्ति हो । आमा शब्द सीमाहीन अनुभूतिले फैलिएको आभासले मन नै शीतल हुन्छ । 

जीवनको भागदौडमा कति उतारचडाव आउँछन् जान्छन् ।  सोच, विचार, मन, मस्तिष्कमा स्वाट्ट आउँछ र त्यसको अनुभव ज्ञानेन्द्रियले गर्छ तब अनुभूति स्थायी हुन्छ सायद । त्यसबेला मन शान्त पारेर आफैले बिताएको समय अनुभूति गर्नु नै जीवनको सारत्व हो । मैले आफ्नो बोध मेरै सोचविचार र अनुभवको  जलपभित्र रहेर मात्र अनुभूति गर्न सक्छु । कहिले कहीँ दिमागले एउटा कुरा सोच्छ मनले अर्को कुरा चाहन्छ । कुनै समय विभिन्न कारण उत्पन्न भएको मान्छेको गलत सोचका अनुभूत मनले गरे पनि दिमागले रोक्छ र सतर्क गराउँछ भने कहिले रोक्दैन र गलत दिशातिर निर्देशित भई हिंसात्मक हुन अभिप्रेरित गराउँछ । जसका कारण कहिलेकहीँ अपत्यारिलो  घटना सुन्नु र  बीभत्स घटना देख्नुपरेका अनुभवका अनुभूत पनि छन् । जबजब मान्छेको मन मस्तिष्कमा विचारका वादल मडारिन थाल्छन तबतब अनुभूतिको कसीमा अस्तित्वबोध जागृत हुन्छ । मानव अस्तित्वसँगै संसारका हरेक कुरा रहस्यमै रहेको छ । यो रहस्यको फेरमा कोही नलुक्न सक्छ न उम्कन सक्छ । म पनि यही अन्योलबीच अमृत या विष के पिइरहन्छु मलाई नै थाहा हुन्न र उम्कन पनि सक्दिनँ । तर मान्छेले गर्न सक्ने हरेक अभ्यास थुप्रै तरिकाबाट गरिरहे झँै म पनि आफ्नो अभ्यासमा सधैँ बाँधिएका अनुभव प्रशस्त छन् । जस्तै कुनै काम पूरा भइसकेपछि फेरि आफू खाली खाली हुनुको अनुभवले बेचैन बनाउँछ र नयाँ कामको योजनाको अनुभूति बोध ममा तुरुन्तै हुन्छ । फेरि अर्को कामको योजना कार्यान्वयन न हुइन्जेल छटपटको अनुभूतिले सताएर वाफ रे वाफ । 

अनुभवको आकासबाट अनुभूत गरेका स्वर्णिम पलका आविष्कारहरू दिन प्रतिदिन विलिन हुँदै छन् । समयसँग घट्ने हरेक घटनामा न सम्झौता हुन्छ न त स्वीकृति नै हुन सक्छ । तर परिस्थितिसँग हातेमालो गरेर हिँड्न जान्नेले नै जीवनको अनुभूति राम्ररी गर्छ । हामीले यसलाई आत्मसाथ गर्दै आइरहे छौँ । आफ्नो स्वभाव र आचरण बदलेर अरूको प्रेरक हुन सहज छैन । सहज नभए पनि मान्छेले अनेक चुनौतीको सामना गरेको परिस्थिति पनि कतिकति छन् ।  कहिलेकहीँ एक्लै हुनुपर्ने अवस्थामा सकारात्मक भाव राखेर यो त क्षणिक न हो भन्ने सोच्नु जीवनको लय हो या अरू कुनै माध्यम अपनाएर बिरक्तिबाट छुट्कारा पाउनु जीवनले प्राप्त गर्ने प्राज्ञिक आभा हो । गीत गुनगुनाउनु, गीत सुन्नु, पढ्नु, लेख्नु, ध्यानमा लिन हुने प्रयास गर्नु, सके र हुनेसम्म प्रकृतिका अवयवहरूमा मिसिएको अनुभूत गर्नु, कुनै ठाउँमा घुम्नु अर्थात् केही न केहीमा लागि रहनु । हामीले आफ्नो व्यावहारिकतासँगै मनले रोजेका कामको अनुभव अनुभूतिजन्य हुन्छ । यस्तो बहानाले पनि जीवनको त्रासदीपूर्ण क्षणबाट केही राहत भएको अनुभूति हुन्छ । यसरी मान्छेले  हरेक उपायहरू अबलम्बन गरेर अनुभवका कसीबाट माथिल्लो स्तरमा प्रतिष्ठित हुन कतिपय सफल पनि भएका छन् ।  

मान्छेले आफ्नो दुःखसुख आफैले भोग्नुपर्ने नियतिबाट पनि पन्छिन हामी कहाँ सक्छौँ र ? अर्काको साथ, सहयोग र समर्थन त सान्त्वना मात्र न हो । यहीँ सान्त्वनाका अनुभूतिले मानिसलाई शक्ति प्रभाह गर्छ । जेमा म छु त्यसमा म स्वीकार गर्छु भन्ने भाव लिन सके हरेक खाले समस्याबाट बाँच्न सकिन्छ र सबैको हित हुन्छ । यसरी सकारात्मक दृष्टिकोण राखे सम्पूर्णतामा पूर्ण भएको अनुभूति गर्नु नै जीवन हो । अनुभवले नै घटनाको प्रकृति र प्रवृत्ति अनुसारको दुःख र हाँसोको अनुभूत गराउँछ । मानिस बाँच्नुको सार्थकता त जुन घटना  जुन बेलामा घट्छ त्यसमा पूर्ण सहमतिका साथ बाँच्नु उत्तम हो जस्तो लाग्छ । प्रेममा कोही असफल भयो भने त्यो प्रेम क्षणिक थियो, अनि निरर्थक भयो भन्ने सोच राख्दा नै जीवन देखिन्छ । कतिकतिले  प्रेमको सौन्दर्यमा फेरि अर्को प्रेम प्रस्तुत गरी अनुभूति गर्नेले नै जीवन देखेको पाइन्छ । कुनै कुरामा आफू कमजोर भइयो भने आफूभन्दा कमजोरलाई हेर्ने र उनीहरूबारे सोचेर खुसी हुने । त्यसैले पनि होला अरूको जस्तै म पनि हरेक घटनामा बिचलित पक्कै हुन्छु तर हस्तक्षेप गर्ने प्रयत्न मबाट न हुन्छ न गर्न नै सक्छु । यहीँ नै मेरो जीवनले गर्ने अनुभव र अनुभूतिको उत्प्रेरित अस्तित्व हो सायद ।

विश्व प्रसिद्ध दार्शनिक तथा साहित्यकार सात्र्रले संसारको अस्तित्वलाई निरर्थक भनेका छन् । अनि मानिसको जन्म पनि सार्थक हो भन्ने पक्षमा उन थिएनन्। मान्छेको जन्म अकस्मात् हुन्छ, यो कुनै अनिवार्य नभई जीवनचक्रको संजोग मात्र भएको भन्ने उनको चिन्तन र दर्शनलाई अरू विद्वान्हरूले निराशावादीको सङ्केत दिएका छन् । जब विरक्तिएको मन उदासीन उदासीन हँुदै जान्छ तब रिस, राग, घृणा, लोभ र मोहको बादलले ढाक्छ । यस्तो अनुभवको अनुभूति जब मानिसले गर्छ तब दार्शनिक सात्र्रले भने जस्तो संसार नै मिथ्या सम्झिन्छन् । हो मान्छेमा अनेकन सोच विचारका अनुभव र अनुभूति हुनु पर्छ । तर यो भन्दैमा संसारलाई मिथ्या सोच्नु र यही अनुभूत गर्नु हो भने जीवन नकरात्मकतिर नै धकेलिन्छ ।

मानिसको सत्तालाई दुःखपूर्ण रूपले हेर्ने र परिभाषित गर्ने सात्र्र र बुद्धका कतिकति विचारहरू समान भएको हामीले अनुभूत गरेका छौँ । तर बुद्धले निराशाबाट उम्कने उपाय खोजेर विश्व शान्तिका अग्रदूत गौतम बुद्ध भगवान्कै अवतार भए । जसले हामीलाई जीवनमा प्रेम गर्न अभिप्रेरित गरायो भने उपाय नखोजी तर्क मात्र गर्ने सात्र्रले अन्योलता छाडे र उनी दार्शनिक भए । बुद्ध नबुझ्नेलाई त सात्र्रले भने झैँ यो अस्तित्व नै नभएको संसारमा मानवको जन्म निरर्थक जस्तै लाग्न पनि सक्छ । जीवन नै मिथ्या हो भन्ने सोचेर गलत निर्णय गर्न पनि पछि पर्दैनन्, जुन भइरहेको छ । हुन त विश्व परिवेशमा यही कुरालाई स्वीकारेर पनि अर्काको भलाइका लागि सकारात्मक भएका कतिकति मान्छेको विभिन्न सन्दर्भका भावहरू पनि प्रस्तुत छन् । त्यस्ता मान्छे महान र पूजनीय मानिसको कोटिमा रहे । 
 

  हरेक मान्छेको चिन्तन सकारात्मक भए यो संसारको रङ्गशाला नै कति सुन्दर हुन्थ्यो भन्ने धुन ममा बजिरहन्छ । त्यो धुन कुनै आफैले वास्ता नगरेका पनि हुन सक्छन् भने कुनै जीवन अनुभवबाट प्राप्त मेरो विश्वविद्यालयको ज्ञान जस्तो पनि लाग्छ मलाई । मेरा यस्ता अनुभवको अनुभूतिमा आनन्दको भाव खेजिरहन्छु  । मेरो जीवनको सुन्दर आयम अनुभवबाट प्रेरक अनुभूति हो भनेर ढुक्क पनि हुन्छु र मुस्कुराउँछु । यही मुस्कानसँगै काँडा पन्छाएर जीवन  फुलाउने प्रयत्नमा म लागिरहेकी हुन्छु । अनि त जतिसुकै राज र रहस्यमय यो जीवन भए पनि सृष्टिको निकै सुन्दर आयम ठान्छु ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.