सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एयरलाइन्सले खाइदिए यात्रुको पैसा, टिकटको पैसा फिर्ता गरेनन्

कसले पाए कसले पाएनन्, सबै हेरेर बस्न सकिँदैन: मन्त्रालय
मङ्गलबार, ०२ भदौ २०७७, १९ : २१
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । नुवाकोटकी उर्मिला लामाले गत चैत १ गते ओमनबाट काठमाडौं आउन हवाईजहाजको टिकट लिइन् । विश्वव्यापी महामारीका कारण लकडाउन सुरु हुने क्रम जारी रहँदा वैदेशिक रोजगारीको लागि ओमनमा गएकी लामाले सलाम एयरलाइन्सको टिकट लिएकी थिइन् । तर, उडान हुने अघिल्लो दिन सो एयरलाइन्सले तत्काल फ्लाइट हुन नसक्ने भन्दै उडान रद्द गर्यो । सलामको उडानका लागि लामाले १८ हजार ५ सय रुपैंया तिरेकी थिइन् । उनको उडान त भएन नै, अहिलेसम्म पैसा फिर्ता समेत भएको छैन । 

सलामको विमान नउड्ने पक्का भएपछि नेपाल आउनकै लागि लामाले फेरि अर्को टिकट काटिन् फ्लाइ दुबईको । चैत ४ गते काटिएको उक्त टिकट चैत ५ गतेका लागि थियो । तर, त्यो फ्लाइट पनि रद्द गरियो । दुईवटै फ्लाइट रद्द भएपछि उनी त्यतै अलपत्र परिन् । 

चैत ९ गतेदेखि सरकारले नेपाल आउने सबै उडानलाई प्रतिबन्ध लगाएको थियो । त्यो प्रतिबन्ध अझै पनि कायमै छ । तर, असार १ गतेदेखि भने पर्यटन मन्त्रालयले अलपत्र नेपालीहरुको उद्दारका लागि उडान सुरु गरेको थियो । त्यही उद्दार उडानमार्फत् महँगो शुल्क तिरेर उनी काठमाडौं आइन् । उनी सलाम एयरकै विमानबाट काठमाडौं त झरिन् । तर, त्यसका लागि अर्को शुल्क तिर्नुपर्यो, त्यो पनि निकै महँगो । पहिले उनले तिरिसकेको हवाई शुल्कलाई त्यसमा समायोजन गर्न समेत उनले पाइनन् । 

यी दुईवटै टिकट लामाको परिवारका सदस्यले काठमाडौंबाटै काटिदिएका हुन् । तर उडान हुन नसकेपछि यसबीचमा उनीहरुले कयौं पटकसम्म एयरलाइन्स कम्पनीसँग पैसा फिर्ताको मागिसके । तर, अहिलेसम्म उनले तिरेको पैसा फिर्ता भएको छैन । बरु उडान सुरु भएपछि टिकट बेचेर मात्रै पैसा फिर्ता हुनसक्ने जवाफ ती कम्पनीहरुले दिएर पठाउने गरेका छन् ।

त्यस्तै पीडा भोगे सरोज श्रेष्ठ र चन्द्र कठायतले । उनीहरुले मार्च २२ (चैत ९ गते) नेपाल आउनको लागि एयर अरेबियाको टिकट काटेका थिए । उनीहरु दुईजनाले १ हजार ४ सय दिराम तिरेर युएईबाटै नेपाल आउने एकतर्फी टिकट काटेका थिए । तर, उनीहरुले काटेको यो टिकटबाट उनीहरु नेपाल आउन पाएनन् । उद्दार उडानमार्फत् महँगो शुल्क तिरेर उनीहरु अहिले नेपाल आइसकेका छन् । तर उतै काटेको टिकटको पैसा फिर्ता आउने, नआउने टुंगो छैन । 
अर्घासाँचीका माधव भुसालको अवस्था पनि अरुभन्दा कम छैन । लकडाउन सुरु हुनुअघि उनले पनि ७ सय दिरामै युएईबाट नेपाल आउने टिकट लिएका थिए । तर, त्यो टिकटबाट आउन नपाएपछि पछि तेब्बर शुल्क तिरेर २ हजार १ सय तिरेर उनी पनि नेपाल आइसकेका छन् । अब त उनले सुरुमा टिकट काटेको टिकटको पैसा फिर्ता हुने आश पनि मारिसकेका छन् ।  

यी त उदाहरण मात्रै हुन् । हजारौं नेपालीहरु यसरी टिकट काटेर पनि उडान गर्न नपाउने र पैसा समेत फिर्ता नपाउने अवस्थामा छन् । तीमध्ये कति महँगो शुल्क तिरेर नेपाल आइसके, कतिपय अझै उतै अलपत्र परेर बसेका छन् ।  
मंगलबार बिहानमात्रै युएईमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्न गएको नेपाल एयरलाइन्सको जहाज रित्तै फर्कियो । उद्दार गर्न जहाज गइसकेको अवस्थामा उच्चस्तरीय कोरोना रोकथाम समन्वय केन्द्र (सीसीएमसी) ले ले उद्दार उडान रोक्न पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्यो । यो निर्णयसँगै नेपाल आउन लागेका एक सयभन्दा बढी यात्रुको समेत भाडा त्यसरी नै ‘फ्रिज’ भयो । तर उनीहरुको उडान कहिले हुन्छ, अझै अनिश्चित भएको छ । 
समस्या त्यतिमात्रै होइन । कतिपय यात्रुलाई अन्तिम समयमा मात्रै आएर उडान रद्द हुने जानकारी दिइयो । फ्लाइट नै नहुने भएपछि उनीहरुको विमान भाडा फ्रिज मात्रै भएन, अब खाने बस्ने ठेगान समेत भएन । उनीहरु पहिले जहाँ बस्थे, त्यो ठाउँ छोडेर आइसकेका छन् । जहाँ जान लागेका थिए, त्यहाँ जान नपाउने भए । उनीहरु अब अनिश्चितकालसम्म महँगो र अनिश्चित बसाइँको बाध्यतामा छन् ।

नेपालमा अहिले ३० भन्दा बढी अन्तराष्ट्रिय एयरलाइन्स कम्पनीले उडान अनुमति पाएका छन् । उडान अनुमति पाएर पनि नियमित रुपमा सञ्चालनमा नरहेका केही उडान कम्पनीमध्ये सबैजसो कम्पनीले अहिले यात्रुहरुसँग उठाएको भाडा फिर्ता दिएका छैनन् । नेपालमा उडान नभर्ने तर ट्रान्जिट उडानका लागि प्रयोग गर्ने अरु कम्पनीहरुको तथ्यांक त कति छन् कति !

के भन्छन् एयरलाइन्स कम्पनी ? 
एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीहरुमार्फत् टिकट बिक्री गर्ने भएकोले यात्रुले टिकट फिर्ताका लागि टिकट काटेकै ठाउँमा सम्पर्क गर्छन् । तर, एयरलाइन्स कम्पनीहरुले एजेन्सीमार्फत् नै उडान खुला भएपछि नयाँ टिकट बेचेर मात्रै पैसा फिर्ता गर्नसक्ने जवाफ दिएर फिर्ता पठाउने गरेका छन् । नेपालमै दुईवटा एयरलाइन्सबाट टिकट काटेकी उर्मिला लामालाई अहिले दुईवटै कम्पनीले यस्तै जवाफ दिएर फिर्ता पठाएका छन् । 

आफैं अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपाल एयरलाइन्सले भने यात्रुहरुको पैसा फिर्ता गरिरहेको दाबी गरेको छ । निगमकी प्रवक्ता अर्चना खड्काले आफूहरुले चाहेर कुनै पनि उडान नरोकिएको बताउँदै सरकारको निर्णयका कारण गर्न नसकिएको उडानको पनि ग्राहकले मागेको अवस्थामा पैसा फिर्ता गरिरहेको बताइन् ।  पैसा फिर्ता नलिने ग्राहकलाई सरकारले अनुमति दिनेबित्तिकै टिकट अनुसार नै उडान भर्ने बताइन् । तर, उडान कहिले हुन्छ भन्ने अवस्थामा आफूहरुले समेत भन्नसक्ने अवस्था नरहेको उनको भनाई छ । 

‘तपाइँहरुले देखिहाल्नुभयो, हिजो हामी प्यासेञ्जर लिएर दुबई गयौं, आज रित्तै फर्किनुपर्यो । प्यासेञ्जर लिएर आउन पाएको भए हामीलाई पनि राम्रो हुन्थ्यो । त्यो हाम्रो कारणले भएको होइन,’ खड्काले भनिन्, ‘फेरि उडान भर्ने अनुमति पाउने बित्तिकै हामी अर्को उडान भर्छौं ।’

लकडाउन अघिको सबै पैसा फिर्ता नभएको भने हुनसक्ने उनले बताइन् । ‘हामीले माग गरेको टिकटको पैसा फिर्ता गर्दै आएका छौं । तर केही बाँकी हुन पनि सक्छ । ट्राभल एजेन्टबाट टिकट काट्न सकिन्छ, तर पैसा फिर्ता चाहिँ केन्द्रीय कार्यालयमै आउनुपर्छ । कोही आउन सक्नुभएको छैन भने नपाउनुभएको हुनसक्छ  तर दिँदै नदिएको भने होइन ।’ अहिले सयौं विभिन्न कम्पनीहरुले यात्रुहरुको करोडौं रकम अपचलन गरिरहेका छन् । 

सबै हेर्न सकिँदैन  ः मन्त्रालय
यात्रुले ठगिइरहँदा त्यसलाई चासो दिएर हेर्नुपर्ने सरकारले हो । तर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने यात्रुहरुले संसारका सयौं देशका हजारौं एयरलाइन्स कम्पनीको टिकट लिनसक्ने भन्दै सबैले पैसा फिर्ता पाए कि पाएनन् भनेर हेर्न नसक्ने बताउँछ । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख सहसचिव बुद्धिसागर लामिछाने आफूहरुले नेपालमा उडान भर्ने सबै एयरलाइन्सलाई यात्रुसँग लिएको टिकट फिर्ता गर्न पत्र लेखिसकेको बताउँदै सबै एयरलाइन्सले पैसा फिर्ता गरे कि गरेनन् भनेर अनुगमन गर्नसक्ने अवस्था अहिले नभएको बताए । 

‘कतिपय एयरलाइन्स कम्पनीहरु अहिले आफैं टाट पल्टिएका छन्, उनीहरुले दिन चाहेर पनि पैसा फिर्ता गर्न नसक्ने अवस्था छ, कतिले दिइसकेका पनि छन्, त्यो मन्त्रालयसँग भन्दा पनि सम्बन्धित कम्पनीसँगै कुरा गर्ने विषय हो’ सहसचिव लामिछानेले भने । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भने उडान भर्न नसकेको अवस्थामा टिकट फिर्ता गर्नु एयरलाइन्स कम्पनीहरुको कर्तव्य हुने बताउँछन् । ‘यो विषय प्राधिकरणको भन्दा मन्त्रालयले नै हेर्नुपर्ने विषय हो । तर, बिक्री गरिएको टिकटअनुसार उडान गर्न नसकेपछि सामान्यतया टिकट फिर्ता गर्छु भन्दा दिनुपर्छ’ क्षेत्रीले भने । 

घर फर्कन नपाउँदा डिप्रेसनमा
खाडी क्षेत्रमा रोजगारीको लागि गएका तर पछिल्लो समय रोजगारी गुमाएर पनि घर फर्किन नपाएकाहरु यतिबेला डिप्रेसनमा जान थालेका छन् । कतिपयको बस्ने र खाने ठेगान नहुँदा तनावमा छन् । कति जना बस्नेखाने व्यवस्था भए पनि घरबाट खर्च मगाएर बस्नुपर्दा तनावमा छन् । यस्तो तनाव बढ्दै जाँदा दीर्घकालीन मानसिक समस्यामा समेत कतिपय फसेका उदाहरण समेत पाइएका छन् । 

अहिले नेपालमा पनि दैनिक सयौं जना कोरोना संक्रमितहरु देखिन थालिसकेका छन् । सरकारले स्वीकार नगरे पनि स्वास्थ्य विज्ञहरुले अहिलेको संक्रमण समुदायमा फैलिसकेको बताउँदै आएका छन् । संक्रमण समुदायमै फैलिन थालेपछि कतिपय जिल्ला र स्थानीय तहहरुले लकडाउनको घोषणा समेत गरिसकेको अवस्थामा आफ्नै खर्चमा स्वदेश आउन र क्वारेन्टिनमा बसेर संक्रमण नरहेको पुष्टि भएपछि घर जान समेत सरकारले प्रतिबन्ध लगाइरहेको छ । यस्तो अवस्थामा एयरलाइन्स कम्पनीहरुले समेत यात्रुलाई मार पर्नेगरी टिकट काट्ने तर उडान गर्न नसकेपछि पैसा फिर्ता गर्न चाहिँ आनाकानी गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप