सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय
जयपृथ्वी बहादुर सिंह जन्मजयन्ती विशेष

एउटा सार्वजनिक बुद्धिजीवी, जसले सही ज्ञानका लागि आजीवन खोजी गरिरहे

शुक्रबार, ०५ भदौ २०७७, ०८ : ५२
शुक्रबार, ०५ भदौ २०७७

अंग्रेजी बोल्नेहरूको संसारमा, एसियाली बौद्धिकहरुको विचारप्रति खासै ध्यान दिइएको पाइँदैन। आफ्नो पुस्तक ‘ओरिएंटलिज्म’ (पहिलो संस्करण सन् १९७८ र पछिल्लो संस्करण २००३) मा एडवर्ड सइदले पश्चिमी ‘ओरिएंटलिस्ट’ बुद्धिजीवीहरूले लेखेका पौराणिक कथाको व्याख्या गर्छन्। पुस्तकमा सइदले न पूर्ण रुपमा ‘ओरिएन्ट’को पहिचान गरेका छन्, न त ओरियन्टका बुद्धिजीवीहरूका बारे विवरण नै दिएका छन्।

भारतीय लेखक पंकज मिश्राले आफ्नो पुस्तक ’फ्रम द रुइन्स अफ एम्पायर’ (२०१३)मा तीन विशिष्ट एशियाई सार्वजनिक बुद्धिजीवीका बारेमा लेखेका छन्। एक चिनियाँ बुद्धिजीवी ली याङ किचाओ (१८७३– १९२९)) हुन् र उनी कन्फ्युसियाली विद्वान र आफ्नो समयको सुधारवादी थिए। अर्को भारतीय बुद्धिजीवी, कवि र दार्शनिक रवीन्द्रनाथ टैगोर (१८६१– १९२४) हुन्। लीको तुलनामा टैगोर बढी प्रसिद्ध छन् किनकि उनलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो। तेस्रो बौद्धिक व्यक्ति पर्सियन मूलका जमाल अलदीन अलअफगानी (१८३८– १८९७) हुन्, जो मिश्राका अनुसार कार्ल मार्क्ससँग तुलना गर्न सकिने व्यक्ति थिए l तर, पश्चिमी विश्वमा उनीबारे त्यति धेरै चर्चा गरिएको छैन।

यद्यपि उल्लेखनीय लेखनहरू छोडे पनि र विश्व मानवताका लागि स्तुत्य योगदान गरे पनि ली, टैगोर र अलअफगानीका समकालिन नेपाली सार्वजनिक बुद्धिजीवी जयपृथ्वी बहादुर सिंह (१८७७– १९४०)लाई सइद वा मिश्रले सम्झना गरेनन्।

आन्टोनियो ग्राम्सी (१८९१– १९३७) का समकालीन पनि थिए जयपृथ्वी बहादुर सिंह। ग्राम्सीको आलोचनात्मक सोच सिंहको मानवीय चासोसँग घनिष्ट समानता देखिन्छ । ग्राम्सी जसरी नै सिंह पनि सक्रिय रुपमा मानवको समस्याको समाधानमा संलग्न रहे। सिंह महात्मा गान्धीका पनि समकालीन थिए। सिंहले १९२८ मा भारतमा एक गैरव्यापारिक, गैरराजनीतिक र गैरधार्मिक मानवतावादी क्लबको स्थापना गरे, टैगोर जसको मानार्थ सदस्य थिए। 

टैगोर र सिंहको पनि धेरै विषयहरूमा समान विचार थियो। दुबैले प्रथम विश्वयुध्दपछि हिंसा त्याग्न आग्रह गरे। टैगोर जस्तै सिंह पनि प्रथम विश्व युद्धलाई रोक्न नसक्ने लीग अफ नेसनन्सको असफलताको कारण निराश थिए। प्रथम विश्व युद्ध पश्चात सिंह एउटा समर्पित शान्तिकामी कार्यकर्ता भए। सन् १९३५मा सिंहले अबसानियामा मानवीय सहयोगका लागि साझा सुरक्षा र शान्ति मन्च गठन गरे।  प्रथम विश्व युद्धको निन्दा गर्दै सिंहले भने, 'मेरो दर्शन सरल छ, तपाईं कुनै काम गर्नु भन्दाअघि दुई पटक सोच्नुहोस्। म के आग्रह गर्दछु भने तपाईंको प्रत्येक कार्य तपाईंको सोचाई, कारण र औचित्यबाट निर्देशित होस्।’ सन् १९३० को दशकमा सिंहले शिकागो, लन्डन, वारसा, बर्लिन, पेरिस, भियना र सांघाईको यात्रा गर्दै विश्व शान्तिको पक्षमा व्याख्यान गरे। जापान टाइम्स, नर्थ चाइना समाचार, न्युयोर्क इभिनिंग जर्नल जस्ता अखबारहरूले विश्व शान्तिको लागि उनको चासोको बारेमा समाचार प्रसारित गरेका थिए (धनबहादुर लामाको पुस्तक, ए ह्युमनिस्ट लाइफ एण्ड डेथ, २००३)।

मानवतावादलाई विभिन्न दृष्टिकोणबाट हेर्ने गरिन्छ। कतिपय मानिसका लागि यो धारणा धर्महरूको निरपेक्ष विकल्प हो। अरुको लागि मानवतावाद धर्मभन्दा अलग प्राकृतिक वैज्ञानिक र लोकतान्त्रिक चासोको विषय हो। अझै अरूहरूको लागि यो एक साझा चिन्ताको विषय हो अर्थात् मानवतावाद खतरामा रहेको एउटा विषय हो । खासगरी, खतरामा रहेको मानव सभ्यताको बचाउको लागि एक उपाय हो । यो खतरा प्रारम्भिक रुपमा मानवतावादी शिक्षाको वास्तविक लक्ष्य प्राप्त गर्न नसकेको कारण देखा परिरहेको छ, यो सिंहको निष्कर्ष हो ।

शिक्षाविद्
जयपृथ्वी बहादुर सिंहले पूर्ण ज्ञानको लागि आजीवन खोजी गरे। उनको लागि, पूर्ण ज्ञान प्राप्त गर्नको लागि एक आदर्श अवस्था भनेको हाम्रो मष्तिष्क र अन्तर्दृष्टिले अरूमा आफूलाई देख्नु हो।
सिंह आफ्नो समयका असाधारण शिक्षाविद् थिए। सिंहको ‘हुमानिज्म’ (१९२८) प्रकाशित भएको ठीक ७५ वर्षपछि, एडवर्ड सइदको हुम्यानिज्म र डेमोक्राटिक क्रिटिसिज्म (२००४) प्रकाशित भयो। मानवतावादी शिक्षाको सम्बन्धमा दुई विद्वानका विचारहरूबीच धेरै समानता छन्।
सिंहको पुस्तक ’मानवतावाद’ (सन् २०१९ पुनः मुद्रण गरिएको) पहिले प्रकाशित तीन खण्डहरूको संगालो हो। यो आलेख केवल मानवतावादी शिक्षासँग सम्बन्धित अध्यायमा केन्द्रित छ।

दक्षिण एशियाको परम्परागत युगिन शिक्षा
दक्षिण एशियाको परम्परागत युगको शिक्षा प्रणालीको बारेमा जयपृथ्वी बहादुर सिंह लेख्छन्, 'शिक्षा दैनिक जीविकाको माध्यम नभएर यो ज्ञानको खातिर मात्र प्रयोग गरिएको थियो । यसको लागि विशेष किसिमको लगाव र विशेष दृष्टिकोण चाहिन्थ्यो र यसमा लामो बाटो हिँड्न खतरा उठाउने, खर्च वहन गर्न सक्ने साथै संस्कृतिको मूल्य मान्यता पालन गरी रहन सक्ने मात्र यो प्राप्त गर्थे ।' सिंह यो पनि लेख्छन्, 'पुरानो समयमा शिक्षा व्यापक थिएन । धनी मानिसहरूले ब्यक्तिगत रुपमा शिक्षामा लगानी गरेका थिए। केही निश्चित विद्यार्थीहरूबाट शुल्क लिइँदैनथ्यो।'

सिंहले उल्लेख गरे अनुसार कुनै पनि मानिस विशेष किसिमको लगाव र आर्थिक क्षमताको आधारमा विद्यार्थी छनोट हुन्थे र शैक्षिक अवसरहरू प्राप्त गर्दथे। गौतम बुद्ध र महाभारत पुराण तथा रामायण महाकाव्यमा वर्णन गरिएका पुराना ऋषि मुनि जस्ताले शैक्षिक अवसर पाए।

सिंहले परम्परागत युगमा खोलिएका स्थानीय गाउँका स्कूलहरूले छानिएका विद्यार्थीहरूलाई आधारभूत पठन, लेखन र आधारभूत गणित सिकाउने बारेमा पनि विस्तृत उल्लेख गरेका छन्। सबैलाई शिक्षा उपलब्ध नभएकोले दक्षिण एशियामा जाति र जाति प्रणालीको विभाजन व्याप्त थियो। सिंहले देखाएको मानवतावादी शिक्षाको लागि चिन्ता, मानव समस्या र दु:खको उपचारको लागि खोजी अहिलेसम्म जारी छ।
दक्षिण एसियाका धेरै आध्यात्मिक गुरुहरू जस्तो नभई, जयपृथ्वी बहादुर सिंहले विज्ञान र सामाजिक विज्ञानको अध्ययनलाई बराबर महत्त्व दिएका थिए ।

मानवतावादलाई विभिन्न दृष्टिकोणबाट हेर्ने गरिन्छ। कतिपय मानिसका लागि यो धारणा धर्महरूको निरपेक्ष विकल्प हो। अरुको लागि मानवतावाद धर्मभन्दा अलग प्राकृतिक वैज्ञानिक र लोकतान्त्रिक चासोको विषय हो। अझै अरूहरूको लागि यो एक साझा चिन्ताको विषय हो अर्थात् मानवतावाद खतरामा रहेको एउटा विषय हो । खासगरी, खतरामा रहेको मानव सभ्यताको बचाउको लागि एक उपाय हो । यो खतरा प्रारम्भिक रुपमा मानवतावादी शिक्षाको वास्तविक लक्ष्य प्राप्त गर्न नसकेको कारण देखा परिरहेको छ, यो सिंहको निष्कर्ष हो ।

हामी आफैंलाई अरूमा कहिले देख्छौं ?
जयपृथ्वी बहादुर सिंह र सइदको लेखाईमा देखा पर्ने साझा विषयवस्तु मानिसमा कृत्रिम विभाजनको विरोध हो, दुवै विद्वान् हामी र उनीहरू भनी विभाजन गर्न चाँहदैनन् । तर, मानवहरुलाई देश, जाति, धर्म र संस्कृतिको आधारमा हामी र उनी भनी विभाजन गर्ने नवउदारवादी  बुध्दिजीवीहरुको साझा बिषय भएको छ (जस्तै, शमूएल हन्टिंग्टन र फ्रान्सिस फुकुयामा)।

'मानवको रूपमा एकात्मकतालाई अनदेखा गर्नु अधुरो ज्ञान हो',  सिंह भन्छन्। उनी यसलाई हिंसा र मानव दु:खको मुख्य कारण मान्छन्। 'अधुरो ज्ञानको कारण मानिस अरूसँग एकतामा रहन सक्दैन। उ तिनीहरूमा केवल विभाजन र विविधता देख्छ। उसको आँखामा विविधताको संगालो रहेको छ, जहाँबाट प्रत्येकले मौन अवरोध वा खुला विद्रोहबाट भाग्न खोज्छ। उसको दर्शन केवल उसको नजिकको परिवेश र वर्तमान क्षणमा सीमित हुन्छ। उसले आफूलाई असमान मानसिक अवस्थामा राख्छ र जहाँ उ अपूर्ण बुद्धिजीवी, कुनै अर्थ नभएको भावुक र क्रुरतासहितको हिंसक बन्न जान्छ।'

सइदको मानवतावादी शिक्षाको धारणा पनि सिंहको जस्तै अरूको वास्तविकता बुझेर आफ्नै पृष्ठभूमि, भाषा, आफ्नो राष्ट्रियताभन्दा माथि उठेर गरिने मानवतावादी एकात्मकतासँग मिल्दोजुल्दो देखिन्छ। सइद ब्याख्या गर्छन्, 'आफ्नुभन्दा अरुको बारेमा सोच्नु गाह्रो हुन्छ तर सहानुभूतिपूर्वक अरूको बारेमा सोच्न सक्यो भने लाभदायिक र ज्ञानप्रद हुन्छ। तर, यसको मतलब यो अरूमाथि शासन गर्ने कोशिश गर्नु होईन, न त उनीहरूलाई वर्गीकरण गर्नु वा उनीहरूलाई पदानुक्रममा राख्ने कोशिस गर्नु नै हो। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने त्यसमा ’हाम्रो’ संस्कृति वा देश एक नम्बर छ वा छैन भनेर निरन्तर दोहो-याइँदैन।'
सिंह र सइद दुवै बौद्धिक ज्ञानको सत्यतामा विश्वास गर्छन्, जुन सुकरातले शताब्दीयौंअघि शुरू गरेका थिए । बौद्धिकहरू प्रायः एकल यात्रा गर्ने ब्यक्तित्व देखिएका छन् वा तीमध्ये कोही जेलमा रहेका थिए (उदाहरणका लागि ग्राम्स्सी) अथवा देश निकाला भएका वा प्रवासमा रहेका थिए (सिंह र सइद दुवै प्रवासमा रहे र प्रवासमै मृत्यु भयो।) तर, उनीहरू आम बुध्दिजीवीहरुभन्दा फरक थिए।

आत्मज्ञान र सार्वजनिक बुध्दिजीवी
आधुनिक समयमा बौद्धिक अभ्यासको दायरा फराकिलो हुँदै गइरहेको छ। उदाहरणको लागि हामी कहाँ बजार बिशेषज्ञहरू, पत्रकारिता बिशेषज्ञ, राजनीतिक र रक्षा बिश्लेषकहरू रहेका छन्। त्यहाँ काममा लगाईएका बिशेषज्ञहरू, जो सरकार र आफ्ना रोजगारदाता संस्थाको दृष्टिकोणलाई सत्य साबित गर्न सहयोग गरिरहेका हुन्छन्। सिंह र सइदले भनेको फरक किसिमको विज्ञता र व्यक्तित्व त्यो हो, जसले आफ्नो बिषयमा आफ्नो दृष्टिकोणमा आफ्नो सापेक्ष स्वतन्त्रता र स्वायत्तता कायम राख्छ। सार्वजनिक बुध्दिजीवीहरू ती हुन्, जो आफ्नो पृष्ठभूमि, भाषा र राष्ट्रियताको घेरा तोडेर बाहिर रहने जोखिम लिन्छन्। (उदाहरणका लागि नोमचम्स्कीको अमेरिकी विदेश नीतिको आलोचना)। आफ्नो राज्य, संस्कृति र धर्म आदिको आलोचना गर्नुभन्दा अन्य राज्यहरूको आलोचना गर्न सजिलो हुन्छ । तसर्थ, मानवतावाद भनेको आफूलाई अरुमा देख्ने दृष्टिकोण हो ।

सिंह र सइद दुबैले आत्मज्ञानमा मात्र होइन, आत्मालोचनामा पनि विश्वास गरे। सइदको लागि 'आम बुद्धिजिवी आवश्यकता अनुसारको कुनै विज्ञ होईन। तर, ज्ञानको क्षेत्रभन्दा बाहिर रही विचारहरू खोजी गर्ने स्वयंसेवी हो। उसले आफ्ना विचारहरूलाई प्रवाहित गर्छ र शक्तिमा आधारित बौद्धिकताको विरुद्ध विचारहरूको स्थिरता दिएर विना स्वार्थ दृढताका साथ अडान लिन्छ।' यो कुरा किन पनि चाखलाग्दो छ भने सइदको धारणा र सिंहको पूर्ण ज्ञान बुद्धको आत्मछाया अहंकार परीक्षणको अवधारणासँग मिल्दोजुल्दो छ (तथाकथित मारा दानवको नाश)। एक प्रकारको अहंकार र अज्ञानता, जो कुनै पनि आफ्नो जागरणप्रति सचेत बनाउन कुनै पनि ब्यक्तिद्वारा प्रयोग गर्न सकिन्छ। सायद, बुद्ध पहिलो सामाजिक विज्ञान अनुसन्धानकर्ता थिए, जसले आत्मछाया परीक्षण विधि मार्फत आफ्ना विचारहरूको परीक्षण गरे। स्वछायाका साथ बुद्धले ब्रह्माको सर्वोच्च अथवा साँचो सत्यतालाई चुनौती दिए, जुन त्यतिबेला प्रचलनमा थियो। बुद्धले तथ्यहरूले समर्थन नगर्ने धारणाहरूलाई अस्वीकार गरेका थिए, जसले हामीलाई आधुनिक भौतिक विज्ञान र दर्शन शास्त्रको अवधारणासम्म पु-याएकोछ।

जिज्ञासु मन र ज्ञानको खोज
जयपृथ्वी बहादुर सिंहले अनुसन्धानमुखी मष्तिष्क प्रयोग गरेर, अज्ञेयवादी दृष्टिकोणको साथ, उचित शिक्षाको लागि ज्ञान, सीप र समान अनुभूतिपूर्ण दृष्टिकोणमा जोड दिए। 'हयुमानिज्म' लेख्ने क्रममा सिंहले मानव समस्याहरू र निरिहताको उपचारको बारेमा उनी कसरी निष्कर्षमा पुगे भन्ने कुराको व्याख्या गर्छन्, 'यद्यपि म कुनै पनि हिसाबले वैज्ञानिक होईन। मसँग विज्ञानको बारेमा धेरै कम जानकारी थियो, जो मलाई स्कुलको अध्ययनको क्रममा जानकारी प्राप्त भएको थियो। मलाई चाँडै नै महसुस भयो कि यो जस्तो छ अथवा यो अरु बेला पनि हुन सक्छ। यसले मानव मात्रको समस्यालाई समाधान गर्न सक्दैन। ...यो तत्व कसरी आउँछ र कसरी भयो भनेर मेरो विज्ञानको कुनै पनि कक्षामा कहिले पनि पढाइएको थिएन।' यो अझै विज्ञान र समाजशास्त्र दुबैद्वारा एउटा अनुत्तरित प्रश्न रहेको छ।

सिंह विश्वास गर्छन्, आत्मालोचना बिना वा अन्य व्यक्ति, परम्परा र विचारहरुको अध्ययन र अनुभवबाट आउने जागरूकता बिना आत्मज्ञान अप्राप्य हुन्छ। सइद धर्म निरपेक्ष थिए र जीवनको उत्तरार्धतिर उनी अज्ञेयवादी भए, जबकि उनी पनि एक ’नास्तिक सूचीको हस्ती'का रूपमा परिचित थिए। किनभने धर्मनिरपेक्ष हुनु भनेको अमुर्त आदेशहरूमा विश्वास गर्नुको सट्टा तथ्यहरूसँग तार्किक बहसको पक्षधर हुनु थियो। सबै बिषयहरूमा स्थिरता र कठोरता बिना समान ज्ञानात्मक परिवर्तनमा दुई विद्वानहरूले प्रयोग गर्ने समभाव रह्यो । सिंहका लागि वैज्ञानिक र मानवीय हुनु भनेको आध्यात्मिकताको विरोधाभासपूर्ण हुनु हैन। सिंह आफ्नो निष्कर्षको लागि, पछि नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा पुगेजस्तै निष्कर्षमा पुगेको देखिन्छ। देवकोटाले अन्तिम कवितामा आफ्नो अन्तिम अवस्थाको वर्णन गरेका थिए, 'म शून्यमा शून्य सरी बिलाएँ।' 

आधुनिक शिक्षा उपयोगितावादी धारणाका साथ सामाजिक र आर्थिक विकासतिर बढी केन्द्रित छ। हाम्रो समयमा एउटा अनुत्तरित प्रश्न झुण्डिरहेको छ- हामी कसरी हाम्रो शिक्षा प्रणाली र पाठयक्रम विकसित गर्न सक्छौँ, जसले विद्यार्थीहरूलाई मष्तिष्कको विकासमा पु-याउन अर्थात् सिंहले सोचेजस्तै अरूमा पनि आफूलाई देख्न सहयोग गरोस्।

जयपृथ्वीको व्यक्तिगत विवरण
जयपृथ्वी बहादुर सिंहको जन्म २१ अगस्त १८७७ मा आधुनिक नेपालको उत्तर–पश्चिमी भागमा अवस्थित सानो प्राचीन बझाङ राज्यको राजकुमारको रूपमा भएको थियो। आठ वर्षको उमेरमा सिंहलाई शिक्षाका लागि काठमाडौं ल्याइएको थियो। उनले विद्यालयस्तरको शिक्षा काठमाडौंमा पुरा गरे र १९०५ मा कलकत्ता युनिभर्सिटीबाट कानूनमा स्नातक डिग्री पूरा गरे । सिंह स्वअध्ययनमा विश्वास गर्थे र समाजशास्त्र, राजनीति विज्ञान, कानून, धर्म, दर्शन र साहित्यको बारेमा आफ्नो ज्ञान स्वअध्ययनबाटै विस्तार गरे।

सिंह पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाकी छोरी रुद्रकुमारीदेवीको छोरा थिए भने उनको विवाह सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका चन्द्रशमशेरकी छोरी खगेश्वरी देवीसँग भएको थियो। सिंहले राणा प्रधानमन्त्रीको भारदारी सभाका राजनीतिक सल्लाहकारको रूपमा समेत काम गरेका थिए। प्रधानमन्त्री चन्द्रशमशेरसँग बेलायतको यात्रामा साथै गएका सिंहलाई बेलायती सम्राट एडवर्ड सातौंले कर्नलको मानार्थ उपाधि दिएका थिए। तर, सुधारवादी जयपृथ्वी बहादुर सिंहको प्रधानमन्त्री चन्द्रशमशेरसँग मतान्तर बढेपछि उनी भारत प्रवासमा जानु प-यो (यी दुइको सम्बन्ध र मतभेद छुट्टै खोजको बिषय हुनसक्छ)।

सिंह एक भाषाविद् र पत्रकार थिए । उनले स्कूलको लागि नेपाली विषयका पाठ्य पुस्तकहरूका साथै पहिलो नेपाली व्याकरण पुस्तक पनि लेखेका थिए। राणा शासनले काठमाडौंमा शिक्षा नियन्त्रण गर्दै गर्दा सिंहले भने नेपालको सुदूरपश्चिमी भागमा माध्यमिक विद्यालयको स्थापना गरेका थिए। उनले बझाङमा स्थापना गरेको श्री सत्यवादी हाई स्कूल अझैँ पनि छँदैछ।

सम्भवतः राणाले धम्की दिएका कारण जयपृथ्वी बहादुर सिंह भारतमा स्वनिर्वासनमा बसे। १५ अक्टोबर १९४० मा सिंहको भारतको बंगलोरमा मृत्यु हुँदा त्यहाँको प्रतिष्ठित अंग्रेजी दैनिक हिन्दूले सम्पादकीय नै प्रकाशित गरेको थियो, 'दोस्रो गौतम बुद्धको निधन' शीर्षकमा।

(बझाङमै जन्मेहुर्केका मल्लले अन्तर्राष्ट्रिय कानुनमा विद्यावारिधि गरेका छन् र स्वीडेनको स्टकहोम विश्वविद्यालयमा अध्यापनरत छन् l मल्लको 'स्पोटलाइट'मा प्रकाशित यो आलेख नेपालीमा श्याम खड्काले अनुवाद गरेका हुन् l )
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कटक मल्ल
कटक मल्ल
लेखकबाट थप