बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर

बिहीबार, २१ जेठ २०८३, १४ : ५९
बिहीबार, २१ जेठ २०८३

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै करिब ८ हजार संघीय कर्मचारीलाई सेवाबाट हटाउन सजिलो हुने व्यवस्था गरेका छन् ।

यो कदम संघीय कर्मचारीतन्त्रमा व्यापक सुधार गर्ने उनको प्रशासनको अभियानअन्तर्गत आएको हो । ह्वाइट हाउस र अफिस अफ पर्सनल म्यानेजमेन्टद्वारा सार्वजनिक गरिएको आदेशअनुसार सरकारको नीतिनिर्माणमा प्रभाव पार्ने वरिष्ठ कर्मचारीहरूको एक समूहबाट विशेष जागिर सुरक्षा हटाइनेछ । ती कर्मचारीहरू वार्षिक करिब २ लाख अमेरिकी डलरसम्म पारिश्रमिक पाउने उच्च तहका सरकारी कर्मचारी हुन् ।

अफिस अफ पर्सनल म्यानेजमेन्टका निर्देशक स्कट कुपरले प्रशासनका नीतिगत प्राथमिकताहरू कार्यान्वयन गर्न सरकारलाई आदेश पालना गर्न इच्छुक र सक्षम कर्मचारी आवश्यक रहेको बताएका छन् । उनका अनुसार कर्मचारीले जुनसुकै राजनीतिक विचार राखे पनि यदि ती विचारले प्रशासनका कानुनी आदेश तथा नीतिगत निर्देशन कार्यान्वयन गर्न बाधा पु‍र्याउँछन् भने त्यस्ता कर्मचारीलाई आवश्यक परे सेवाबाट हटाउन सकिने व्यवस्था यो आदेशले प्रदान गरेको छ ।

यो आदेशले ट्रम्प प्रशासनले आफ्नो राजनीतिक एजेन्डालाई कमजोर बनाएको ठानिएका स्थायी सरकारी कर्मचारीमाथि नियन्त्रण कडा पार्ने प्रयासलाई निरन्तरता दिएको संकेत गर्छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि केही संघीय कर्मचारीहरूले आफ्ना नीतिहरूको विरोध गरेको आरोप लगाएका थिए । नयाँ व्यवस्थाबाट प्रभावित हुने कर्मचारीहरूको संख्या प्रारम्भिक अनुमानमा ५० हजार आसपास रहने बताइएको थियो ।

प्रशासनका वरिष्ठ अधिकारीहरूका अनुसार आवश्यक परे भविष्यमा यो दायरा विस्तार गर्न सकिने भए पनि तत्काल त्यस्तो योजना छैन । उता संघीय कर्मचारी युनियनहरू र उनीहरूका समर्थकहरूले जनवरी महिनामै उक्त नीतिविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

तर ट्रम्प प्रशासनले नियमावलीलाई अन्तिम रूप दिइरहेका बेला संघीय न्यायाधीशहरूले मुद्दाको सुनुवाइ अस्थायी रूपमा स्थगित गरे । विश्लेषकहरूका अनुसार यो कदमले संघीय प्रशासनमा राजनीतिक उत्तरदायित्व बढाउने ट्रम्प प्रशासनको दाबी र सरकारी सेवाको स्वतन्त्रता तथा स्थायित्व जोगाउनुपर्ने पक्षबीचको बहसलाई अझ तीव्र बनाउने सम्भावना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप