अनुसन्धानमा अब्बल ‘जोजो’ : सुँघेर पत्ता लगाउँछ अपराधी !
काठमाडौँ । गोङ्गबु चोकबाट गणेश मन्दिरतर्फ छिर्ने बाटोमा एकसय मिटर अघि बढेपछि नवज्योती मार्ग आउँछ । साउन २५ मा त्यहाँ ‘शंकास्पद सुटकेश’ भेटियो । सुटकेशमा टाउको र खुट्टाबाहेक मानव शरीरको बाँकी भाग थियो ।
घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ‘ट्रयाकर डग’ परिचालन गरियो । ४ वर्षीय उक्त कुकुरको नाम हो – जोजो । यस कुकुरले सुटकेशदेखि ३ सय मिटरको दूरीमा रहेको टाउको र खुट्टा पत्ता लगाइछाड्यो ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सुटकेशसँगै नाम्लो भेटिएको थियो । त्यहि नाम्लो जोजोलाई सुँघाइयो । अनि, ३ सय मिटर पर एउटा जेब्रा झोलामा पुगेर जोजो रोकियो । प्रहरीले झोला खोल्यो, त्यहाँ शवको खुट्टा र टाउको थियो !

जोजोले नाम्लोलाई ‘सबुत’ मानेर ट्रयाक समात्यो । त्यसपछि अनुसन्धानमा संलग्न प्रहरीले सो टाउको रोल्पाका कृष्णबहादुर बोहराको रहेको पत्ता लगाए । लगत्तै, उनको हत्या अभियोगमा कल्पना पौडेल (मुडभरी) चितवनबाट पक्राउ परिन् ।
नवज्योति मार्गस्थित कल्पनाको कोठामा प्रहरीले मासु काट्न प्रयोग हुने दाउ र हथौडा भेट्यो । कल्पनाले प्रहरीसँग भनेकी छिन्–‘हथौडाले अन्डकोषमा हिर्काएर मारेपछि दाउले टाउको र खुट्टा काटेर छुट्टाछुट्टै ठाउँमा फालेँ ।’
शवको मुख्य भाग सुटकेशमा प्याक गरेर नाम्लो लगाएर फालेको र जेब्रा झोलामा टाउको र खुट्टा फालेको कल्पनाले साविती बयान दिएपछि ‘गोङ्गबु हत्याकाण्ड’को अनुसन्धान सकिएको छ ।
जोजोले समयमै सुँघेर टाउको र खुट्टा पहिचान गरिदिएकाले अनुसन्धान बेलैमा निष्कर्षमा पुग्यो । त्यसैले प्रहरीले अपरेशनको नाम राख्यो–‘अपरेशन जोजो ।’
अनुसन्धानमा अब्बल
जोजो ब्लड हाउन्ड जातिको कुकुर हो । प्रहरीले यो कुकुर बेलारुसबाट साढे ६ लाखमा खरिद गरेको थियो । ४ वर्षअघि किनेर ल्याउँदा यसको उमेर ४ महिनाको थियो ।

डेढ वर्ष लामो तालिम लिएपछि यसले अन्य कुकुरको सहायक भएर अनुसन्धानमा सहयोग गर्न थाल्यो । अहिले आफै ठूला–ठूला अपरेशनहरुमा प्रयोग हुन्छ ।
जोजोले समयमै टाउको र खुट्टा पत्ता लगाइदिएकाले अनुसन्धान साँघुरिएको बताउँछन्, महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा । ‘समयमा टाउको भेट्न नसेकको भए शव पहिचान गर्न धेरै समय लाग्ने हुनसक्थ्यो’ एसएसपी थापाले भने–‘त्यसबीच आरोपी फरार हुने सम्भावना रहन्थ्यो ।’
अपराध अनुसन्धानका लागि नेपाल प्रहरीसँग अहिले विभिन्न ८ प्रजातिका कुकुर छन् । ब्लड हाउन्डको सुँध्ने क्षमता अन्यको दाँजोमा निकै बढी छ । यो प्रजातिका २ कुुकुर अहिले प्रहरीसँग छ । ब्लड हाउण्डलाई दक्षिण एसियामै नेपाल प्रहरीले मात्र अपराध अनुसन्धानमा प्रयोग गर्ने गरेको छ ।
नेपाल प्रहरी केनाईन महाशाखाकी प्रमुख एसएसपी डा. देउती गुरुङ जोजो निकै क्षमतावान् रहेको बताउँछिन् । डा. गुरुङले भनिन्, ‘सुँघ्न सक्ने क्षमता ब्लड हाउन्डमा अधिकतम हुन्छ, यसको नाकमा ३०० मिलियन सेल्स हुन्छ, ९६ घण्टाको ट्रयाक लिन्छ ।’

जोजोसँगै नेपाल प्रहरी केनाईन महाशाखाले अर्को पोथी कुकुर ‘जोली’ पनि ल्याएको थियो । जोलीले पनि अनुसन्धानमा सफलता हासिल गर्न सहयोग गरिरहेको छ । जोली अहिले पोखरामा छ ।
गोङ्गवुमा शव फेला पर्नुअघिको रात पानी परेको थियो । रातभरको पानीले गन्ध बगाएर नष्ट पारेपनि ‘नाम्लोको पातो’ सँुघेर जोजोले टाउको–खुट्टा भेट्टायो ।
जोजो संलग्न ५ अप्रेशन
प्रहरीको तालिमप्राप्त जोजो आधा दर्जन ठूला अप्रेशनमा सहभागी भएको छ । गोङ्गवु हत्याकाण्ड बाहेक जोजोलाई प्रहरीले अरु पाँच वटा ठुला हत्या अनुसन्धानमा परिचालन गरेको थियो ।
जोजो सहभागी अप्रेशन यस्ता छन् :
अप्रेशन नम्बर १ : ०७५ असारमा भक्तपुरको चाँगुनारायणमा ३५ वर्षीय उमेश कार्कीको हत्या भयो । चाँगुनारायण–८ घर भएका उमेशलाई उनकै घरमा डेरामा बस्ने ५ जनाले चक्कु प्रहार गरेर हत्या गरेका थिए । सो घट्नामा जोजोले १ किलोमिटर सम्म ट्रयाक लिएर टोपी, चश्मा र रगत लतपतिएको मोबाइलको चार्जर भेट्टायो ।
अप्रेशन नम्बर २ : नुवाकोटको दुप्चेश्वर स्थित अम्बाबोटेमा ०७५ असोजमा शिक्षकको हत्या भयो । सो हत्या अनुसन्धानमा परिचालित जोजोले बेलुका सँगै बसेर खाजा तथा रक्सी खाएको भट्टीसम्म ट्रयाक लियो । पछि, अनुसन्धानबाट सँगै बसेर खाएका साथीहरुले नै उनको हत्या गरेको खुल्यो ।
अप्रेशन नम्बर ३ : ०७५ कार्तिकमा काभ्रे नमोबुद्ध नगरपालिका–५ ढुँडिचौरमा पुरुष आफ्नै घरमा मृत फेला परे । सो घटनामा प्रहरीले जोजोलाई परिचालन गरेको थियो । नेपाल प्रहरी केनाईन महाशाखाका अनुसार जोजोले सो घटनामा साढे १ किलोमिटर सम्म ट्रयाक लियो ।

अप्रेशन नम्बर ४ : काभ्रेको नमोबुद्ध–४ डराउने पोखरीमा भएको दम्पतीको हत्या अनुसन्धानमा जोजो परिचालन गरिएको थियो । सो घटनामा जोजोले लिएको साढे १ किलोमिटर ट्रयाकका आधारमा केन्द्रिय अनुसन्धान ब्यूरोले घटना अनुसन्धान गरेको थियो । हत्या आरोपीलाई ब्यूरोले ०७६ सालमा पक्राउ गरिसकेको छ ।
अप्रेशन नम्बर ५ : काभ्रेको पाँचखाल नगरपालिका–१० बेलामा मृत फेला परेका पुरुषको हत्या अनुसन्धानमा जोजो परिचालन गरिएको थियो । ०७७ साउनमा भएको सो हत्यामा यो कुकुर साढे १ किलोमिटर ट्रयाक लिएर पातले गाउँको प्रतिक्षलयसम्म पुगेर रोकियो । सो संकेतका आधारमा अनुसन्धान गरेर प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको छ ।
मुख्य घटनाबाहेक काठमाडौँ उपत्यकामा हुने चोरी, डकैती तथा अपहरण पश्चात भएका हत्याका घटनामा जोजो परिचालन गर्ने गरिएको नेपाल प्रहरी केनाईन महाशाखाले जनाएको छ ।
हेर्नुहोस् भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण