शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दलित मृत्यु प्रकरण : दोषी प्रहरीलाई कारवाही गर्न प्रभु साहको माग

शुक्रबार, १२ भदौ २०७७, ०८ : ३६
शुक्रबार, १२ भदौ २०७७

रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश–२ का अध्यक्ष तथा  सांसद प्रभु साहले रौतहटमा प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको हत्याराबारे छानबिन गरी दोषी प्रहरीलाई कारवाही गर्न माग गरेका छन् ।  सांसद साहले सोधपुछको नाममा प्रहरीले यातना दिएर अभियुक्तको ज्यान लिइएको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न र कारवाही गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद साहले आर्थिक प्रलोभनमा परी प्रहरीले अपराधको सही अनुसन्धान नगर्ने र निर्दोषलाई यातना दिएर मार्ने प्रवृत्तिले झन् अपराधलाई बढावा दिएको गम्भीर आरोप लगाएका छन् । उनले नेपाल प्रहरीले प्रहरीभित्र रहेका अपराधिक प्रवृतिलाई समयमै नियन्त्रण गरी आम जनतालाई सुशासनको प्रत्याभूति दिलाउनुपर्ने माग राखेका छन् ।

गत साउन ३२ गते गरुडा नगरपालिका–८, जिंगडियाका दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घाँटी रेटी हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले सात जनालाई थुनामा राखेको थियो ।

जसमध्ये विजयराम चमार अस्वस्थ भएपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज उपचारको लागि पठाइएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको थियो । उपचाररत विजय रामको शरीरमा अत्यधिक चोटपटक लागेकोले किड्नीमा समस्या आएर मृत्यु भएको सांसद साहको दाबी छ  । उता जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले भने चमारको प्रहरीको यातनाबाट नभइ दुवै किड्नीले काम गर्न छोडेपछि मृत्यु भएको दाबी गरेका छन् ।

साहले फेसबुकमा लेखेका छन्, ‘पक्राउ अभियुक्तहरु मध्येका एक विजय महरा (चमार) को हिजो राती उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

हिरासतमा रहेको बेला निरन्तर चरम यातना दिएर एक दलित युवालाई मृत्युवरण गराउनु गम्भीर अपराध मात्र होइन, एउटा अमानवीय कार्य पनि हो ।

यो दण्डनीय अपराधमा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी आवश्यक कारवाही अगाडि बढाउन गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप