आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

खतिवडाको अभिव्यक्तिले कुलमानको पुनर्नियुक्तिमा कस्तो संकेत गर्छ ?

शनिबार, १३ भदौ २०७७, ११ : २७
शनिबार, १३ भदौ २०७७

काठमाडौं । यो साता सबैभन्दा चर्चाको शिखरमा कुलमान घिसिङको पुनर्नियुक्तिकै विषय रह्यो । घिसिङलाई नियुक्ति दिइएको भन्दै मंगलबार सामाजिक सञ्जालभर व्यापक हल्ला फिँजियो । तर त्यो दिन मन्त्रिपरिषद्मा त्यससम्बन्धी कुनै प्रस्ताव गएको थिएन, जाने तयारी पनि थिएन । सो कुरा ऊर्जामन्त्री वर्षमान पुनले स्पष्ट पारिसकेका छन् । 

मन्त्रिपरिषद्मा कुनै पनि प्रस्ताव दुई तरिकाले आउँछ । पहिलो विभागीय मन्त्रालयले प्रस्ताव लगेपछि त्यो छलफलको एजेन्डा बन्छ । त्यसो होइन भने प्रधानमन्त्री आफैंले ठाडो प्रस्ताव कुनै विषयउपर निर्णय गराउन पनि सक्छन् । मन्त्रालयबाट प्रस्ताव नै नगएको अवस्थामा प्रधानमन्त्रीबाट ठाडो प्रस्ताव आएर निर्णय हुनसक्ने अर्को एउटा विकल्प थियो । तर, त्यसको सम्भावना ज्यादै न्यून मात्रै थियो । 

कुलमान घिसिङ आफैं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यक्ति नभएको र अघिल्लोपटक उनको नियुक्ति तात्कालिन माओवादीको कोटाबाट भएकोले पनि प्रधानमन्त्रीले ठाडो आदेशबाट उनको पुनर्नियुक्ति प्रस्ताव ल्याउने सम्भावना थिएन । अर्कोतिर कुलमान घिसिङले प्राधिकरणमा निकालेको परिणामबाट सरकार असन्तुष्ट नभए पनि उनको कार्यशैली र प्रक्रियामा सरकार सन्तुष्ट नभएको प्रष्टै देखिन्थ्यो । 


तर, पुनर्नियुक्तिको ठाडो प्रस्तावको झिनो सम्भावना सामाजिक सञ्जालको कारणले भने थियो । कार्यकाल सकिन एक महिना बाँकी रहँदैदेखि उनको पुनर्नियुक्तिका लागि विभिन्न दबाव सिर्जना हुँदै आएको छ । सामाजिक सञ्जाल र मिडियाका समाचारलाई राम्रोसँग नियाल्ने प्रधानमन्त्रीको स्वभावका कारण यो सम्भवन थियो । नियुक्ति जति ढिलो हुँदैजान्छ, उति आलोचना बढ्दै जाने अवस्था रहेको र समय हुनुअघि नै उनलाई नियुक्त गर्दा सामाजिक सञ्जालबाट सहानुभूति पाउने उद्देश्यले प्रधानमन्त्रीले यसो गरेको हुनसक्ने अनुमान समेत गरिएको थियो । तर, यो अनुमान गलत साबित भयो । 

तर, बिहीबार सरकारको प्रस्तुति निकै अलग देखियो । सरकारको प्रवक्ताका रुपमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न उपस्थित भएका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कुलमान घिसिङको पुनर्नियुक्तिको हल्लाबारे सोधिएको प्रश्नमा ‘ठाडो’ अभिव्यक्ति दिए । 

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला । सरकारले चाहिँ नियुक्ति दिएको छैन । अब सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन । तर औपचारिक प्रस्ताव पनि छैन । र त्यससम्बन्धी छलफल पनि केही भएको होइन । त्यसैले त्यो लेखाईमा, बोलाइमा वा सूचनामा कुनै सत्यता छैन’ खतिवडाले दिएको जवाफ हो यो । तर, उनको यो जवाफलाई लिएर फेरि पनि खतिवडा र सरकारमाथि सामाजिक सञ्जालमा  विरोध भयो । उता, यही विषयमा कुलमानले समेत आफ्नै समर्थक जनतालाई ‘निराश’ पुग्नेगरी विज्ञप्ति जारी गर्ने अवस्था समेत आयो । 


खतिवडाको अभिव्यक्तिलाई कसरी लिने ? 
पूर्वसचिव भीम उपाध्याय सरकारको प्रवक्ताको हैसियतले खतिवडाको अभिव्यक्ति शोभनीय नभएको बताउँछन् । पत्रकार सम्मेलनमा मिडियाकर्मीले जस्तो प्रश्न पनि सोध्न सक्ने भए पनि जवाफ भने सीमाभित्र बसेर दिनुपर्ने उपाध्याय बताउँछन् । 

‘उहाँले अस्तिको बोलीको शैली ज्यादै असभ्य छ । उहाँले यसबारे कुनै प्रस्ताव आएको छैन मात्रै भन्नुपथ्र्यो । तर, उहाँले त्योभन्दा धेरै बोलेर जनतालाई चिढ्याउने काम गर्नुभयो । उहाँ आफैं बुझेको मान्छे, अहिलेको क्याबिनेटमा सबैभन्दा बढी प्राविधिक विषय बुझ्ने मान्छे पनि उहाँ नै हो । उहाँको शैली हेर्दा उहाँले बोलीमा सन्तुलन गुमाउनुभयो जस्तो लाग्यो ।’

कुलमान घिसिङ जनताको नजरमा कुनै पार्टीको नेताभन्दा लोकप्रिय मान्छे भएको भन्दै अहिलेको अवस्थामा सरकार सबैतिरबाट आलोचनामा पर्दै आएकोमा लोकप्रिय मान्छेलाई हातमा लिन सिक्नुपर्नेमा त्यसो गर्न नसकेको बताए । उनले सामाजिक सञ्जालमा सरकारप्रति आक्रोश मात्रै नभएर घृणा समेत बढ्दै गएको भन्दै यसले भविष्यमा अर्को राजनीतिक परिवर्तनको सम्भावना समेत देखाउने बताए । अघिल्लो दशकमा अरब देशहरुमा भएको क्रान्तिको कारण यही भएको र यसले इजिष्ट लगायतका देशमा सत्ता परिवर्तन गरेको समेत उनको भनाइ छ । 

पुनर्नियुक्तिको सम्भावना टरेको हो ? 
सरकारको प्रवक्ताको रुपमा निर्णय सार्वजनिक गर्न उभिएको मान्छेको शब्दमात्रै होइन, शैली र हाउभाउले समेत सरकारकै प्रतिनिधित्व गरेको हुन्छ । त्यसलाई मान्ने हो भने सरकार कुलमान घिसिङलाई प्राधिकरणमा दोहोर्याउन चाहँदैन भन्ने देखिन्छ । बिहीबार खतिवडाको शैली मात्रै होइन शब्द समेत कुलमानका लागि नराम्रो थियो । 

तर, खतिवडाकै बोलीका कारण सरकारले कुलमानलाई पुनर्नियुक्त गर्दै छैन भन्ने कुरा भने नहुने पूर्वसचिव उपाध्याय बताउँछन् । कसैलाई नियुक्त गर्ने कि नगर्ने भन्ने निणय जहिले पनि अन्तिम समयमा हुने गरेको भन्दै अहिले नै सरकारले उनको पुनर्नियुक्ति नगर्ने धारणा बनाइसक्यो भन्ने आफूलाई नलागेको बताउँछन् । ‘राजनीति गर्ने मान्छे यति चतुर हुन्छ, जनता आफ्नो पक्षमा पार्न वा विपक्षमा पर्न नदिन उसले चारै तिरबाट सोच्छ । त्यसैले अहिलेको अवस्थामा उनको पुनर्नियुक्तिको सम्भावना बलियो नै छ ।’ 


त्यसैले खतिवडाको शब्द र शैलीले सरकारको भनाइले सारमा सरकारको प्रतिनिधित्व गर्ने भए पनि उनको शब्द र शैलीलाई भने व्यक्तिगत मान्नुपर्ने उपाध्याय बताउँछन् । ‘उहाँको कार्यकाल कुलमानको भन्दा अगाडि सकिँदैन । आफ्नो कार्यकालको बारेमा कुनै चर्चा नहुने तर कुलमानको बारेमा गति धेरै चर्चा हुँदा उहाँमा एक किसिमको बेचैनी देखिएको हो, यसैको अभिव्यक्ति हुनसक्छ’ उपाध्याय भन्छन् । 

‘कुलमान ‘पिक’मा पुगिसके, अब झर्ने नै हो’
त्यसो त, कार्यकाल दोहोरिए पनि कुलमानको दोस्रो कार्यकाल पहिलो कार्यकाल जस्तो लोकप्रियता कमाउने खालको नहुने समेत उनको विश्लेषण छ । पहिलो कार्यकालमा निकै राम्रो काम गरेर लोकप्रियताको शिखर हासिल गरिसकेको भन्दै उनले अब त्यो शिखरलाई कायम गर्न मात्रै ध्यान दिन समेत कुलमानलाई सुझाव दिए । 

‘कुनैपनि व्यक्ति चुचुरोमा एकछिन मात्रै बस्न सक्छ । त्यसपछि त झर्ने नै हो । कुलमान घिसिङले लोकप्रियताको चुचुरोमा पुगिसक्नुभएको छ । उहाँले लोडसेडिङ गर्ने माफिया र कर्मचारीलाई तह लगाउनुभयो । लोडसेडिङ मुक्त गराएर जनताको प्रिय बन्नुभयो । बिजुली जसरी सबैसँग जोडिएको हुन्छ, यो ठाउँमा र यो समयमा नेतृत्व पाउनु नै उहाँको लागि अवसर थियो । त्यसलाई उहाँले सदुपयोग पनि गर्नुभयो । तर, त्यो चुचुरो सँधैं भेट्न सकिँदैन, त्यसैले अब उहाँको झर्ने नै पालो हो । अब उहाँ आफ्नो लोकप्रियतालाई गुम्न नदिनेमा मात्रै केन्द्रित हुनुपर्छ’ उपाध्याय भन्छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप