बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको प्रभाव आयातमा देखिएन, साउनभन्दा भदौमा बढी आयात

शुक्रबार, ०९ असोज २०७७, १५ : ०१
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण भदौ महिनाभर देशका धेरैजसो क्षेत्र ठप्प भयो । संक्रमण फैलिएसँगै वीरगञ्ज, विराटनगर हुँदै काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा हुँदै जाँदा जनजीवन प्रभावित भए पनि नेपालको वैदेशिक व्यापारमा भने त्यसको प्रभाव ज्यादै न्यून देखियो । अर्थात्, निषेधाज्ञाको अवधिभर पनि आयात र निर्यात निरन्तर भइरह्यो ।

भन्सार विभागले साउन महिनाको आयात अघिल्लो वर्षभन्दा करिब १९.६० प्रतिशतले घटेको जनाएको थियो । साउन र भदौ महिनामा यस्तो आयातको गिरावट २२.०३ प्रतिशत पुगेको छ । भदौ महिनालाई मात्रै अलग गरेर हेर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष २४.२२ प्रतिशतले आयात घटेको देखिएको छ । साउन महिनाभर लगभग सबैजसो क्षेत्रहरु खुला थिए । भदौ महिनामा निषेधाज्ञाका कारण अत्यावश्यक क्षेत्रबाहेक बन्द भए । यही कारण आयात करिब ४.६२ प्रतिशत प्रभाव परेको देखिएको छ ।

साउन र भदौ महिनामा देशमा १ खर्ब ७८ अर्ब ८४ करोडको आयात भएको छ । यसमध्ये साउनमा ८५ अर्ब ८० करोड र भदौमा भने ९३ अर्ब ३ करोड रुपैंयाको आयात भएको हो । अघिल्लो वर्षको तुलनामा भन्दा भदौको आयातमा गिरावट आए पनि साउन महिनाको तुलनामा भदौमा आयात करिब ७ अर्बले बढेको हो ।

साउन र भदौमा कुल निर्यात व्यापार २० अर्ब ४४ करोड रुपैंया पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा  १०.४९ प्रतिशतले बढी हो । कुल निर्यातमध्ये साउनको हिस्सा ९ अर्ब ६२ करोड र भदौको १० अर्ब ८२ करोड रुपैंया छ । भदौ महिनालाई अलग गरेर हेर्दा अघिल्लो वर्ष भन्दा ११.९८ प्रतिशतले निर्यात बढेको छ । निषेधाज्ञाकै बीचमा पनि निर्यात व्यापार सन्तोषजनक रुपमा बढेको देखिएको छ ।

१ अर्ब ७८ अर्बको कुल आयातमध्ये १७ अर्ब ९७ करोडको इलेक्ट्रिकल मेसिनरी, १७ अर्ब ७९ करोडको इन्धन,  १४ अर्ब २९ करोडको फलाम र स्टिल, १३ अर्ब ७३ करोडको खाद्यान्न,  १३ अर्ब ८ करोडको मेसिनरी र मेकानिकल सामान रहेका छन् ।

भदौमा ९३ अर्बको कुल आयातमध्ये ९ अर्ब १२ करोडको इलेक्ट्रिकल मेसिनरी, ८ अर्ब ८४ करोडको इन्धन, ७ अर्ब ६७ करोडको खाद्यान्न, ७ अर्ब ३५ करोडको मेसिनरी र मेकानिकल सामान र ७ अर्ब १९ करोडको फलाम र स्टिल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप