शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

सोमबार, २२ वैशाख २०८२, १४ : ३८
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गमा राजनीतिक प्रदर्शन गर्न नदिन परमादेश वा उचित आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ । न्यायाधीश तिलप्रसास श्रेष्ठको इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ ।

कानुनका विद्यार्थी विवेक चौधरीले प्रदर्शनी मार्गमा पद्मोदय माध्यमिक विद्यालय, वाल्मीकि विद्यापीठ, रत्‍न राज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस र विश्‍व भाषा क्याम्पस लगायत शिक्षण संस्था र काठमाडौँ मोडल अस्पताल रहेकाले उक्त क्षेत्रमा हुने राजनीतिक प्रदर्शनले पठनपाठनमा र उपचार गर्न आउने बिरामीहरूलाई गम्भीर असर पुगेको बताउँदै उक्त क्षेत्रमा राजनीतिक प्रदर्शनी रोक्न माग गर्दै आइतबार रिट निवेदन दर्ता गरेका थिए ।

राजनीतिक प्रदर्शनीका कारण नजिकै रहेको पुरानो बसपार्कबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरू पनि छुट्ने गरेको रिट निवेदनमा उल्लेख गरिएको थियो ।

काठमाडौँ महानगरपालिकामा रहेको प्रदर्शनी मार्गमा नेपाल ल क्याम्पस लगायत अन्य शिक्षण संस्थामा अध्ययनरत विद्यार्थी र काठमाडौँ मोडेल अस्पतालमा आउने बिरामीलाई प्रदर्शनी मार्गको सडकमा हुने प्रदर्शनीले विद्यार्थीको स्वच्छ वातावरणमा पढ्न पाउने हक, स्वतन्त्रताको हक र बिरामी उपचार गर्न पाउने हक तथा समग्रमा व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने जीवनको अधिकार नै हनन हुन गएको रिटमा दाबी गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप