शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा प्लाज्मा थेरापी र रेम्डेसिभिरमध्ये कुनले पाउला मान्यता ?

‘कोराना निको हुनेले प्लाज्मा दान गर्नैै मान्दैनन्’
शुक्रबार, १६ असोज २०७७, ११ : ५८
शुक्रबार, १६ असोज २०७७

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हालसम्म विश्वमा कोरोनाभाइरस संक्रमितको उपचारपद्धति पत्ता लागेको छैन ।

संक्रमितको उपचारका लागि विश्वमा तीन प्रकारका औषधि तथा भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ । नेपालमा कोरोना संक्रमण भएर सिकिस्त अवस्थामा पुगेका बिरामीको उपचारमा प्लाज्मा थेरापी र रेम्डेसिभिर नामक औषधिलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले क्लिनिकल ट्रायल गरिरहेको छ ।

कोरोनाभाइरस संक्रमितको उपचारका लागि हाल नेपालमा क्लिनिकल ट्रायलमा रहेका प्लाज्मा थेरापी र रेम्डेसिभिर औषधिलाई कतिपय राष्ट्रले स्वीकृति दिइसकेको एनएचआरसीको अनुसन्धानमा आवद्ध संक्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जनक कोइराला बताउँछन् । कोरोना संक्रमण निको भएको मानिसमा एण्डीबडी विकास हुन्छ । २ देखि ४ हप्तापछि त्यस्तो व्यक्तिको शरीरबाट रगत झिक्न मिल्छ । यसरी झिकिएको रगतबाट रातो सेल हटाएर प्लाज्मा निकालेर कोरोना संक्रमितमा ट्रान्सफर गर्नु नै प्लाज्मा थेरापी हो ।

संक्रमित निको भएको २ देखि ४ हप्तापछि प्लाज्मा लिनुपर्ने भए पनि नेपालको सन्दर्भमा निको भएका व्यक्तिहरू हत्तपत्त प्लाज्मा दान गर्न तयार नहुने संक्रामक रोग विशेषज्ञ प्राध्यापक डा. कोइराला बताउँछन् । प्लाज्मा डोनेसनका बारेका जनचेनतामुलक कार्यक्रममार्फत जानकारी फैलाउन नसकेका कारण प्लाज्मा दिने मानिस फेला पार्न मुस्किल परेको उनी ठान्छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला पनि प्लाज्मा दिन कम मानिसमात्रै तयार हुने गरेको सुनाउँछन् ।

कति संख्यामा प्लाज्मा थेरापीमार्फत उपचार भयो ?

स्त्रीरोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान कार्कीलाई कोरोना संक्रमणका कारण जटिल समस्या देखिएपछि पहिलो पटक त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा प्लाज्मा थेरापीमार्फत उपचार गरिएको थियो । देशभरका विभिन्न ३२ वटा अस्पतालले कोरोना संक्रमणको कारण सिकिस्त बिरामीको प्लाज्मा थेरापीमार्फत उपचार गर्न अनुमति लिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले जनाएको छ ।

यस्तै कारोना संक्रमित बिरामीको अवस्था हेरेर क्लिनिकल ट्रायलमा रहेको रेम्डेसिभिर औषधि दिने गरिएको छ । सरुवा रोग अस्पताल टेकुमा हालसम्म ११ जनाको प्लाज्मा थेरापीबाट उपचार गरेको अस्पतालका प्रवक्ता डा. बास्तोलाको भनाइ छ ।

हालसम्म करिब २ सय जनाले प्लाज्मा डोनेट गरेको एनएचआरसी ले जनाएको छ । अस्पतालहरूले संक्रमितलाई प्लाज्मा ट्रान्सफर गर्ने बित्तिकै एनएचआरसीलाई रिपोर्टिङ नगर्ने भएका कारण पनि यो पद्धतिबाट उपचार पाएकाहरुको यकिन तथ्याङ्क तत्काल भन्न नसकिने एनएचआरसीको भनाइ छ ।

नेपालमा प्लाज्मा थेरापी उपचारको प्रभावकारिता कति ?

नेपालमा कोरोना संक्रमणबाट सिकिस्त बनेका बिरामीको उपचारको लागि प्लाज्मा थेरापी र रेम्डेसिभिर औषधिको क्लिनिकल ट्रायलको प्रभावकारिताबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन गरिरहेको डा. कोइराला बताउँछन् ।

अस्पतालहरूबाट परिषद्मा रिपोर्ट आइपुगेपछि प्लाज्मा थेरापी गरेका बिरामीमा त्यसबाट भएका फाइदा/बेफाइदाबारे थाहा पाउन सकिने उनको भनाइ छ । संक्रमितलाई रेमडिसिभिर औषधिले काम नगरेको अवस्थामा प्लाज्मा थेरापीमार्फत उपचार हुने गरेको छ ।

डा. बाँस्तोलाकाअनुसार आवश्यकता परेको खण्डमा सिकिस्त संक्रमित बिरामीलाई रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीबाट उपचार गरिन्छ ।

रेमडिसिभिर औषधिमात्रै दिँदा वा रेमडिसिभर औषधि र प्लाज्मा थेरापी दुवै दिँदा कति फाइदा वा बेफाइदा हुन्छ बारेमा अध्ययन भइरहेको संक्रामक रोग विशेषज्ञ तथा प्राध्यापक डा.कोइराला बताउँछन् ।

विश्वका कतिपय देशले संक्रमणका कारण सिकिस्त बिरामीलाई दुवै पद्धतिबाट उपचार गरिरहेका छन् । नेपालमा सुरुसुरुमा कोरोना संक्रमित सिकिस्त हुँदा क्लिनिकल ट्रायलको क्रममा रहेको रेम्डेसिभिर औषधि उपलब्ध नहुँदा प्लाज्मा थेरापीमार्फत उपचार गरिएको थियो ।

प्लाज्मा वा रेम्डेसिभिरमध्ये कुन उपयुक्त ? 

प्लाज्मा थेरापी र रेम्डेसिभिर औषधिलाई कतिपय देशमा कोरोना संक्रमितको उपचारका लागि प्राथमिकता साथ मान्यता दिइएको छ भने कतिपय देशमा क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको छ ।

कतिपय देशले ती दुईमध्ये एकलाई मान्यता दिएका छन् । नेपालमा भने ट्रायलको रुपमा थेरापी र औषधि दुवै प्रयोग हुँदै आएको छ । विज्ञहरुका अनुसार कोरोना संक्रमण भएर धेरै सिकिस्त बिरामी नभएकालाई पनि रेम्डेसिभिर दिन मिल्छ ।

प्लाज्मा थेरापी दिँदा कोरोनाभाइरस निको भएको व्यक्तिले डोनेट गरेपछि मात्रै संक्रमित बिरामीलाई ट्रान्सफर गर्नुपर्छ । भन्नेबित्तिकै प्लाज्मा पाउन गाह्रो हुने डा. कोइराला बताउँछन् । जनचेतनाको अभावमा तुरुन्तै डोनर पाउन कठिन हुने उनको भनाइ छ ।

संक्रमण निको भएकामध्ये कोही एचआईभी लगायतका रगतबाट सर्ने रोग लागेका बिरामी हुन्छन् भने कतिपय निको भएर गाउँघर पुगिसकेका हुन्छन् । कोही प्लाज्मा दिन मान्दैनन् । त्यसैले डोनर पाउन गाह्रो हुने गरेको विज्ञहरुको भनाइ छ ।

तर रेमडिसिभिर औषधिको तुलनामा प्लाज्मा थेरापी उपचार पद्धति सस्तो हुन्छ । रेमडिसिभिर महँगो भए पनि संक्रमित बिरामीलाई  आवश्कता परेको खण्डमा स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गर्न सक्ने डा. कोइराला बताउँछन् । हालसम्म ४ सयभन्दा बढी संक्रमित बिरामीले रेम्डेसिभिर औषधि सेवन गरेका छन् ।

रेमडिसिभिर औषधि सेवन गरेका ती ४ सय जनालाई प्लाज्माको आवश्कता नपरेको डा. कोइराला बताउँछन् । ‘सो औषधि सेवन गरेपछि कतिजना निको भएर घर फर्किए, कतिजनाको ज्यान गयो, उपचारको क्रममा रहेकोहरूको प्रभावकारिता लगायतका विषयमा अनुसन्धान गरेरमात्रै रेम्डेसिभिर वा प्लाज्मामध्येलाई कुनलाई मान्यता दिने भन्ने निष्कर्षमा पुग्न सक्ने उनको भनाइ छ ।

यसभन्दा अघि रेमडिसिभिर औषधि र प्लाज्मा थेरापीबाट इबोला भाइरसबाट संक्रमित बिरामीको उपचार गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप