शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकामा दसैँ सुरक्षा योजना : होटल र गेष्टहाउसमा सर्च अप्रेशन, बसपार्क र मलमा ‘डग स्निफिङ’

प्रहरी–कर्मचारीले बिदा नपाउने, १० हजार प्रहरी परिचालन
सोमबार, २६ असोज २०७७, ०९ : ०४
सोमबार, २६ असोज २०७७

काठमाडौँ । कोरोना महामारीविरुद्ध ‘फ्रन्ट लाइन’ मा खटिएको प्रहरीको काँधमा अब दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी आएको छ । कात्तिक १ गतेबाट दसैँ सुरु हुँदैछ । त्यसैले प्रहरीले काठमाडौँ उपत्यकामा चाडपर्व केन्द्रित सुरक्षा योजना लागू गरेको छ ।

दसैं–तिहारमा भीडभाड र आवतजावतका कारण ठगी, कालोबजारी र पाकेटमारी जस्ता घटना बर्सेनि बढ्छन् । त्यस्ता घटना नियन्त्रण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर प्रहरीले ‘सुरक्षा योजना’ लागू गरेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समन्वयमा उपत्यकाका तीनै जिल्लामा ‘चाडपर्व सुरक्षा योजना’ लागू गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशीलकुमार यादवले रातोपाटीलाई बताए । 

दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौँमा ३ हजार ७ सय प्रहरी परिचालन गरिएको छ । चक्रपथ बाहिर र भित्र क्षेत्र छुट्याएर ‘कर्डन एण्ड सर्च अप्रेशन’ गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले बताए । उनले भने, ‘गेष्ट हाउस र होटलमा सर्च अप्रेशन चलाउँछौँ, लामो दुरीका बस छुट्ने र आउने ठाउँमा सादा पोशाकमा प्रहरी खटाएर निगरानी गर्छौँ ।’

धेरै भिडभाड हुने बसपार्क र सपिङ मलमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर ‘डग स्निफिङ’ गराउने सुरक्षा रणनीति तयार गरेको छ । शनिबारसम्म काठमाडौँ प्रहरीले लामो दुरीमा चल्ने सवारी साधनमा यात्रु ठगीमा संलग्न ९७ जनालाई पक्राउ गरेको छ । ‘चाडपर्व सुरक्षा योजना लागू भैसकेको छ,’ ज्ञवाली भन्छन्, ‘३६ ठाउँमा चेकप्वाइन्ट राखेका छौँ ।’

काठमाडौँ उपत्यकामा प्रहरीको २८ ‘एम्बुसिङ टिम’ खटिएका छन् । नियमित ६६ वटा पिकेट ड्युटी बाहेक दसैँ–तिहार लक्षित गरी थप ३० ठाउँमा पिकेट टिम परिचालन गरिएको प्रहरीको भनाइ छ । 

काठमाडौँ प्रहरीले घर–डेरा छाडेर उपत्यका बाहिर जाँदा डेरामा मूल्यवान वस्तु नराख्नसमेत अपिल गरेको छ । सुन, पैसा र मूल्यवान ग्याजेट डेरामा नछाड्न आग्रह गर्दै ज्ञवालीले भने, ‘चोरको निसानामा बहुमूल्य सामान पर्ने हुनाले ती सामानलाई बैंक लकरमा राखेर जाँदा चोरी हुने जोखिम हुँदैन ।’

आर्थिक गतिविधि हुने ठाउँमा निगरानी

महानगरीय प्रहरी परिसर भक्तपुरले धेरै आर्थिक कारोबार हुने स्थानमा निगरानी बढाएको छ । चोरी र लुटपाटका घटना हुनसक्ने भएकाले त्यस्ता ठाउँमा सक्रियता बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरिक्षक (एसपी) तारादेवी थापाले रातोपाटीलाई बताइन् ।

‘सपिङ कम्प्लेक्स र सुन पसललगायत ठूलो परिमाणमा आर्थिक गतिविधि हुने ठाउँमा सचेतता अपनाएका छौँ,’ एसपी थापाले भनिन्, ‘लामो लकडाउनका कारण आर्थिक अपराध बढ्न सक्ने विश्लेषण गरेर त्यस्ता ठाउँमा निगरानी बढाएका हौँ ।’

भक्तपुरमा चाडपर्व सुरक्षामा ९ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । प्रहरी परिसर भक्तपुरले नाला, ब्रम्हायणी, जगाती, मनहरा पुल, चाँगु, नगरकोट, सिरुटार लगायत ११ ठाउँमा चेक प्वाइन्ट राखेको छ ।

चाडपर्व लक्षित पिकेट ड्युटी १२ ठाउँमा, मोबाइल ड्युटी ३ ठाउँमा र ३ वटा स्ट्राइकिङ टोली परिचालन गरिएको भक्तपुर परिसरले जनाएको छ । यस अतिरिक्त १९ वटा क्यूआरटी (क्विक रेस्पोन्स टिम)ले २४ सै घण्टा निगरानी गरिरहने एसपी थापाले बताइन् ।

‘सेफ्टी पिन अभियान अन्तर्गत महिला हिंसाका घटना र पाकेटमारी नियन्त्रण गर्न टिम परिचालन गरेका छौं,’ उनले भनिन्, ‘नाका र व्यापारिक स्थानमा डग स्निफिङ पनि गराउँछौँ, चोरी, लुटपाट र मापसेबाट हुने ग्याङफाइट नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरेका छौँ ।’

अरनिको राजमार्गमा पर्ने भक्तपुर सडकखण्डको दुर्घटना न्युनीकरण गर्न पनि भक्तपुर प्रहरीले सुरक्षा योजना बनाएर लागू गरेको छ ।

ललितपुर प्रहरीको प्राथमिकता : ‘लुटपाट नियन्त्रण र डेराको सुरक्षा’

महानगरीय प्रहरी परिसर ललितपुरले किनमेल हुने ठाउँ र भिडभाडमा लुटपाटका घटना हुने विष्लेषण गर्दै त्यसलाई नियन्त्रण गर्नेगरी सुरक्षा योजना लागू गरेको छ । पर्व मनाउन उपत्यका छाडेर बाहिर जानेको घर, कोठामा चोरी हुने हुनाले ललितपुर प्रहरीले त्यस्तो चोरी रोक्ने विशेष सुरक्षा योजना बनाएको छ ।

चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले रातोपाटीलाई बताए । उनले भने, ‘मोबाइल टिम, साइकल गस्ती र सादा पोसाकका प्रहरी २४ सै घण्टा परिचालन गर्छौँ ।’

दसैं, तिहार लक्षित सुरक्षा योजनाअनुसार कन्ट्रोल रुम भेहिकल (सीआरभी), क्वीक रेस्पोन्स टिम (क्युआरटी) र पिकेट ड्युटी परिचालन गरिएको छ । दसैँ–तिहारको बहानामा जुवा तास खेल्नेलाई पनि कडा निगरानी गरिने एसएसपी राईले बताए । उनले भने, ‘घरसम्पत्ति र परिवारको मुख नै काटेर जुवातास खेल्नेलाई हामी छाड्दैनौँ ।’

महानगरीय प्रहरी कार्यालयको समन्वयमा तीनवटै जिल्लामा बढी भिडभाड हुने ठाउँमा ‘हेल्प डेस्क’ राखिएको छ । कलंकी, बल्खु, कोटेश्वर, गौशाला, बाईपास, सितापाइला, सुन्धारा, सातदोबाटो र जगातीलगायतका स्थानमा त्यस्ता ‘हेल्प डेस्क’ छन् । जहाँबाट सर्वसाधारणले प्रहरी सेवा लिन सक्छन् ।

प्रहरीलाई बिदा छैन, उपत्यकामा १० हजार परिचालन

दसैँको बेला उपत्यकामा कार्यरत प्रहरी–कर्मचारीले बिदा नपाउने भएका छन् । कोभिड–१९ को जोखिम र चाडपर्वमा हुने अपराध नियन्त्रण गर्नुपर्ने दायित्वले गर्दा प्रहरी कर्मचारीले बिदा नपाउने महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले रातोपाटीलाई बताए ।

उनले भने, ‘दसैँ–तिहारको बेला सुरक्षाका लागि उपत्यकामा मात्रै करिब १० हजार प्रहरी परिचालित हुन्छन्, त्यसैले बिदा दिने अवस्था छैन ।’ उपत्यकाका वृत र प्रभाग प्रमुखहरुलाई कार्यालयमा ‘उल्लासपूर्वक’ दसैँ मनाउन महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको छ । काममा ध्यान दिँदै उल्लासपूर्वक दसैँ मनाउन मातहतलाई निर्देशन दिइएको डीआईजी पोखरेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप