भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
काठमाडौँ । सरकारको नेतृत्व गरेको एमालेले भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण कार्य रोक्न सरकारसँग माग गरेको छ । एमालेको दार्चुला जिल्ला कमिटीले आज त्यहाँका सीडीओमार्फत परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएर सो माग गरेको हो ।
दार्चुलाको महाकाली नगरपालिकाको महाकाली नदी किनारमा भारतले तटबन्धको निर्माण गरिरहेको छ । सो कार्य रोक्नका लागि दार्चुलाका सीडीओ अनिल पौडेलमार्फत परराष्ट्रमन्त्री राणालाई ज्ञापनपत्र बुझाएको छ ।
दार्चुलाका स्थानीयको नाममा रहेको जग्गामा सो तटबन्ध भारतले बनाएको दाबी एमालेले ज्ञापनपत्रमार्फत गरिएको छ । त्यहाँको जग्गा व्यक्तिको मात्र होइन, सरकारी जग्गासमेत रहेकाले परराष्ट्र मन्त्रालयले समन्वय गरेर यसको समाधान गर्नुपर्ने एमालेको माग छ ।
स्थानीय सरकार तथा जनस्तरबाट तटबन्धको कार्य रोक्न पटक पटक आग्रह गर्दा नरोकिएपछि एमालेले आफ्नै सरकारलाई सो कूटनीतिक पहल गरेर निर्माण कार्य रोक्न माग गरेको छ । भारतसँग संवाद गरेर नेपाली भू–भागमा भारतीय पक्षले एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्ध निर्माण कार्य रोक्न एमालेले माग गरेको छ ।
गल्फैपारी र खुल्लामञ्चपारी पट्टीको क्षेत्रमा अन्तर्राष्ट्रिय सीमारेखा मिचेर भारतले तटबन्ध निर्माण गरिरहेको एमालेले दाबी गरेको छ । जनस्तरबाट पटक–पटक दबाबको प्रयास भए पनि सरकार यसबारे मौन देखिएको एमालेले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘सीमा क्षेत्रमा छिमेकीले बलमिच्याँइपूर्वक आफ्नो संरचना निर्माण गरिरहने, सरकारले मौनता देखाइरहने दुखद्, लज्जास्पद र विडम्बनापूर्ण स्थितिले दार्चुलावासी न्यायप्रेमी जनताको मनमा चिसो पसेको छ ।’
महाकाली नदी नियन्त्रण आयोजना खारेज गरेर त्यहाँ सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालय स्थापना गरेको प्रति पनि एमालेले आपत्ति जनाएको छ । भारतले नेपाली भूमिमा संरचना निर्माण गरिरहेको बारे सरकारलाई जानकारी गराइसकेको दार्चुलाका सिडिओ पौडेलले बताए ।
ज्ञापनपत्र बुझ्दै उनले भने, ‘यति मात्र होइन, निर्माण कार्य रोक्न भारतीय पक्षलाई पनि पत्राचार गरिएको छ, तर हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।’ स्थानीय स्तरबाट निर्माण कार्य रोक्ने प्रयास भए पनि भारतीय पक्षले खासै वास्ता नगरेको बताउँदै उनले अब केन्द्रीय सरकारले नै कूटनीतिक पहल गरेर यसको समाधानका लागि पहल गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण