शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यमलाल कँडेल : जसलाई विवादमा तान्ने यस्ता छन् तीन काण्ड

आइतबार, ०२ कात्तिक २०७७, १६ : ५१
आइतबार, ०२ कात्तिक २०७७

आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीका सहइन्चार्ज समेत रहेका नेता यामलाल कँडेल अहिले चर्चामा छन् । यद्यपि करिब ४ दशक लामो सक्रिय राजनीतिक जीवन विताएका कँडेल अहिले पहिलोपटकमात्रै चर्चामा आएका भने होइनन् । यसअघि पनि उनी पटक–पटक गलत कामका कारण चर्चामा आएको इतिहास छ । 

‘चेज एयर’ पहिलो काण्ड 
अहिले चर्चामा आएका कँडेल झण्डै २२ बर्षअघि पनि एउटा निर्णयका कारण चर्चाको चुलिमा पुगेका थिए । भर्खर भर्खर आएको प्रजातन्त्र आएको त्यो कालखण्डमा कँडेल नागरिक उड्डयनमन्त्री बनेका थिए  । त्यही बेला मन्त्री कँडेलले एउटा निर्णय गराए । जसलाई ‘चेज एयर काण्ड’ ले चिनिन्छ । जुन काण्ड कँडेलको निधारमा कलंकको टिका लगाउने पहिलो घटना रहेको उनलाई चिन्नेहरु बताउँछन् ।

२०५५ सालमा करिब ४ महिनामात्र नागरिक उड्ययनमन्त्री भएका कँडेलले आप्mनो पार्टी तत्कालीन नेकपा मालेका महासचिव वामदेव गौतमनिकट हङकङ रानामगरलाई नेपाल वायुसेवा निगमको अध्यक्ष बनाए । त्यसपछि जहाज र कार्यालयसमेत नभएको ‘चेज एयर’ नामको कम्पनीबाट बोइङ ७५७ भाडामा ल्याउने सम्झौता भयो । नाममात्रको सो कम्पनीका सिसिल विन्टर्ससँग सम्झौता गरेपछि निगमले ९ लाख अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको थियो । त्यसबेला पहिलोपटक मन्त्री भएका कँडेल छोटो समयमै कलंकको टिका लगाएर बाहिरिन बाध्य भए ।

गैरकानुनी सेवासुविधामा पनि मुछिए कँडेल
त्यसो त कँडेल आर्थिक कारणले नै बढी विवादमा मुछिने गरेका छन् । उनले पछिल्लो समय कर्णाली प्रदेशसभाबाट लिएको गैरकानुनी सेवा सुविधा पनि विवादरहित बन्न सकेन  । मुख्यमन्त्री बन्ने सपना पूरा नभएपछि निरास भएका कँडेललाई सान्त्वना दिन कर्णाली प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दलको नेतासरह सेवासुविधा दिने निर्णय ग-यो । सुरुदेखि नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका कट्टर आलोचक रहेका उनले उक्त सुविधा अस्वीकार गर्नुको साटो निसंकोच ग्रहण गरे । महालेखा परीक्षकको कार्यालयले यसरी लिइएको सुविधालाई कानुनविपरीत भनेर प्रतिवेदन सार्वजनिक ग-यो । 


आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा उनले करिब १६ लाख रुपैयाँ अतिरिक्त रकम लिएका छन् । गाडी प्रयोगको हिसाब त छुट्टै छ । यो सेवासुविधाबारे विरोध भएपछि कँडेलले एक महिनाअघि सुविधा नलिने भन्दै फिर्ता त गरे तर बेरुजु रकम भने तिरेका छैनन् । ‘उहाँ आर्थिक मामिलामा निकै कमजोर हुनुहुन्छ, अहिलेसम्म बेरुजु रकम तिर्नुभएको छैन,’ उनीनिकट एक सांसद भन्छन्, ‘कुरामात्र आदर्शका गर्ने, व्यवहार भने लाजमर्दो देखिन्छ ।’

असफल विद्रोह 
कँडेलको निधारमा लागेको अर्को टिका हो, पार्टीमै गरेको असफल विद्रोह । जुन पछिल्लो समय चर्चामा छ । उनको पछिल्लो प्रकरण आत्मकेन्द्रित बिद्रोह भएको नेकपाका धेरैै नेता कार्यकर्ताको बुझाई छ । जानकारहरुका अनुसार आपूm मुख्यमन्त्री हुनकै लागि उनले १७ जना सांसदलाई पछि लगाएर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनले हस्ताक्षर गराउनकै लागि सांसदहरुलाई छुट्टाछुट्टै भेटेर मन्त्रीको आश्वासन दिएका थिए । एउटै मन्त्रालय तीन जनासम्मलाई दिनेगरी आश्वासन दिएको हस्ताक्षरकर्तामध्येका एक सांसदको भनाइ छ । ‘कसैलाई मन्त्री पद बाँड्नुभयो, कतिलाई निकट मान्छेलाई नियुक्ति र बजेटको बेला सन्तुष्ट पार्ने प्रलोभन दिनुभयो,’ ती सांसदले भने, ‘आपूmले मागेअनुसार पर्याप्त बजेट र मन्त्री पद नपाएका सांसदहरु त्यही कारण उनको पक्षमा लाग्न लालायित भए ।’

अहिले काठमाडौंमा रहेका कँडेललाई दुबै अध्यक्षले अविश्वासको प्रस्ताव गलत भएको जवाफ दिएपछि उनको ओठमुख सक्न थालेको छ । मुख्यमन्त्री नबदलिने भएपछि उनले अविश्वास प्रस्तावलाई आफ्नो सम्मान हुनेगरी अवतरण गरिदिन नेतृत्वसँग अनुरोध गरेको नेकपाका एक नेताको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख, एकपटक केन्द्रीय मन्त्री र दुईपटक संघीय सांसद भए पनि कँडेलले सुर्खेतमा सम्झिनलायक कुनै काम भने गरेको देखिँदैन । राम्रो काम गर्नु र जनता रिझाउनुभन्दा पनि अनेक फण्डा गर्न रमाउने कँडेलका कारण उनको आफ्नै निर्वाचन क्षेत्रका जनता समेत उनीसँग आक्रोशित छन् । ‘उहाँले यति लामो समय राजनीति गर्नुभयो, महत्वपूर्ण ओहोदामा पनि पुग्नुभयो,’ वीरेन्द्रनगरका एक स्थानीयले भने, ‘तर मैले यो काम गरेँ भनेर चुनावमा भजाउने एउटै काम गर्नुभएको छैन ।’

उनको यस्तै छबिले पार्टीलाई चुनाव जित्न पनि हम्मे हुने गरेको छ । चार पटक चुनाव लडेकोमा कँडेलले दुईपटक हारेका छन् । तत्कालीन एमालेको जिल्ला कमिटी निर्वाचनमा पनि दुईपटक उनले समर्थन गरेका उम्मेदवारले अध्यक्षमा हारेका थिए । अघिल्लोपटक धु्रवकुमार शाहीलाई समर्थन गर्दा नवराज रावतले चुनाव जिते, पछिल्लोपटक रावतलाई समर्थन गर्दा शाहीले चुनाव जिते । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप